चाल्र्स शोभराज भन्छन् हाम्रो प्रेम खहरे खोला होइन

- साप्ताहिक संवाददाता

चैत्र १९, २०७३-  

‘सिरियल बिकिनी किलर’ फ्रान्सेली नागरिक चाल्र्स शोभराज केन्द्रीय कारागारमा जन्मकैदको सजाय भोगिरहेका छन् । उनलाई ७ पुस २०३२ मा अमेरिकी नागरिक कोन्निजो ब्रान्चिजको हत्या गरेको ठहर गर्दै सर्वोच्च अदालतले २०६६ सालमा जन्म कैदको फैसला सुनाएको हो । २०६० मा काठमाडौंको रोयल क्यासिनोबाट पक्राउ परेपछि सेन्ट्रल जेलको गोलघरमा विशेष सुरक्षा पहरासहितको उनको जीवन टिभी हेर्ने, फोन गर्ने र धेरैजसो सुतेर–बसेर बितिरहेको छ । कहिलेकाहीं मेसमा त धेरैजसो बाहिरबाट आउने ड्राइफुड उनको आहार हो । 

 

जेलभित्रै उनको जीवनमा नाटकीय घटना घट्यो । २०६५ को दसैंमा उनलाई जेलभित्रै आफूभन्दा ४५ वर्ष कान्छी युवतीको प्रेम प्राप्त भयो । चाल्र्स शोभराजसँग विवाह–बन्धनमा बाँधिँदा उनकी श्रीमती निहिता विश्वासको उमेर १९ वर्षमात्र थियो, तर यो उनको न त पहिलो विवाह हो, न त पहिलो अफेयर्स नै । यसअघि नै चाल्र्सले विवाह गरिसकेका छन्, उनकी एक छोरीसमेत छिन् । उनको रोमान्सको चर्चा दुनियाँबाट छुपेको छैन । प्रेम गर्ने, रोमान्स गर्ने र हत्या गर्ने अनौठो शैलीका शोभराजले बुढेसकालमा जेलभित्रै विवाह गरेर सबैलाई चकित पारिदिए ।

 

सर्वोच्चले जन्मकैदको फैसला सुनाएपछि उनको दाम्पत्य जीवन रंगीन र सुखद भने रहन सकेन । यसबाट रुष्ट निहिताले त्यतिबेला वकिलहरूलाई नै तथानाम गाली गरेकी थिइन् । केही दिनअघि साप्ताहिक संवाददाता सेन्ट्रल जेलमा पुग्दा चाल्र्स शोभराजसँग भेट गर्ने अवसर जुरेको थियो । त्यस क्रममा २३ मिनेट लामो भलाकुसारीमा उनले साप्ताहिकसँग आफ्नो प्रेम, जीवन र आफूमाथि लागेका अभियोगका विषयमा खुलेर कुरा गरे । चाल्र्स शोभराजको प्रस्तुति हेर्दा लाग्थ्यो उनको जवानीलाई अझै बुढेसकालले छोएको छैन । उनले व्यक्त गरेको प्रेमसम्बन्धी धारणा सुन्दा त लाग्थ्यो— चाल्र्स शोभराज बिकिनी किलर होइनन्— प्रेमका पुजारी हुन् । 

 

तपाईंको हालखबर के छ ? 
विन्दास छ । अरूका लागि जेल साह्रै गाह्रो ठाउँ हो, तर म कहिल्यै अप्ठ्यारोसँग डराउने मान्छे होइन । त्यसैले म जेलमा पनि सहज रूपमा जिउने प्रयत्न गरिरहेको छु । 

 

दिनहरू कसरी बिताउँदै हुनुहुन्छ ? 
टिभी हेर्ने, कहिलेकाहीं अन्य कैदी बन्दीहरूसँग गफ गर्ने, बाहिरका आफन्त र साथीभाइसँग कुराकानी गर्ने, ओशोका पुस्तक पढ्ने यस्तै–यस्तै तरिकाले दिनहरू बितिरहेका छन् । त्यसबाहेक लयर तथा मेरी सासू शकुन्तला पनि मसँग भेटघाट गर्न आउनुहुन्छ । अँ साँच्ची सबैभन्दा धेरै समय उनकै यादमा बित्छ । 

 

कसलाई त्यति धेरै सम्झना गर्नुहुन्छ ? 
निहितालाई । 

 

तपाईं फोनमा पनि खुबै झुन्डिनुहुन्छ रे । कसलाई फोन गर्नुहुन्छ ? 
धेरैजसो त निहितालाई नै गर्छु । केही समययता उनी मलाई भेट गर्न आएकी छैनन् । त्यसबाहेक संसारभर मेरा धेरै महिला साथी छन्, जो मलाई असाध्यै माया गर्छन् । उनीहरूसँग कुरा गर्छु । फोन पनि चाहेजति गर्न पाइँदैन । जेलमा अनेकन असुविधा छन् । त्यसका बारेमा मैले कानुनी लडाइँसमेत लडें, केहीमा सफलता पाएको छु । केही विषयमा अझै लडिरहेको छु ।

 

तपाईंलाई भेट्न को–को आउँछन् ? 
मैले अघि नै भनिहालें । पछिल्लो समयमा डार्लिङलाई जेलमा मेरो अवस्था देख्दा निकै पीडा हुन्छ । त्यसैले उनी अहिले उति आउँदिनन् । विदेशबाट पनि कैयांै शुभेच्छुक मलाई भेट्न आइरहनुहुन्छ । चाल्र्स शोभराजका साथी संसारभर छन् । 

 

को सधैं भेट्न आइदिए हुन्छ जस्तो लाग्छ ? 
डेफिनेट्ली निहिता । म बूढो भए पनि मेरो मन त बूढो भएको छैन नि । निहिता नै सधैं आइदिए हुन्थ्यो जस्तो लाग्छ । उनलाई सधैं देख्न पाए हुन्थ्यो, हेर्न पाए हुन्थ्यो भन्ने लागिरहन्छ । कहिलेकाहीं उनकी आमा आउँदा उनी पनि सँगै आउँछिन् कि जस्तो लाग्छ, तर धेरै भयो उनी आएकी छैनन्, न्यास्रो लाग्छ । 

 

पहिले उनी कति–कति दिनमा तपाईंलाई भेट्न आउँथिन् ? 
मैले गनेर बसिनँ, तर बारम्बार आइरहन्थिन्, मेरो स्वास्थ्यका बारेमा, खानपानका बारेमा निकै चिन्ता र चासो राख्थिन् । कहिलेकाहीं आफ्नै हातले बनाएको खाना हो भन्दै आफैं ख्वाइदिन्थिन् । अहिले त्यो क्षण सपनाजस्तो लाग्न थालेको छ । अहिले आउँदिनन्, फोनमा पढाइमा व्यस्त छु भन्छिन् । करियर बनाउने अवस्थाको मान्छे त्यसैमा व्यस्त होलिन् । उनको सफलता नै मेरो खुसी हो ।

 

तपाईंहरूको के विषयमा कुरा हुन्छ ?
म उनको कुरा सुनिरहन मन पराउँछु । जब उनलाई फोनमा सुन्छु, प्यासले तड्पिरहेको अवस्थामा चिसो पानी खाएझंै हुन्छ । पहिले पनि हामीलाई जेलमा बढीमा सात मिनेट भेट्न दिइन्थ्यो । त्यो सात मिनेट मेरा लागि स्वर्गीय क्षण हुन्थ्यो । हामी एक–अर्कालाई हेरेर बस्थ्यौंं । केही मिनेटको त्यही हेराइमै हामी औधी सुख प्राप्त गथ्र्यौं । फोनमा पनि त्यस्तै–त्यस्तै त हो नि । मेरा बारेमा खुब चिन्ता जाहेर गर्छिन् ।

 

पहिले तपाईंहरूबीच भेटघाट हुँदा स्पर्श हुन्थ्यो कि हुँदैन्थ्यो ? 
मलाई उनका आंैला स्पर्श गर्न मन लाग्थ्यो । उनका आँखामा घोरिरहन मन लाग्थ्यो । हग गर्न मन लाग्थ्यो, तर त्यस्तो केही गर्न सकिँदो रहेनछ । अहिले म सोच्छु— प्रेम फक्रन पनि एकान्त चाहिँदो रहेछ । 

कतिपयले त तपाईंको प्रेमविवाह ट्रयाजेडीतर्फ उन्मुख भएको बताइरहेका छन् ? 
उनीसँगको प्रेम र विवाह मेरो जिन्दगीकै यादगार क्षण हो । हाम्रो प्रेम खहरे खोला होइन, समुद्र हो । चर्को घाम लागेपछि समुद्र सुक्छ भनेर गरिएको टिप्पणीजस्तै हो हाम्रो ट्रयाजेडीको कुरा । 

 

निहिताको के कुराले सबैभन्दा बढी आकर्षित गर्छ ? 
उनका आँखा र मन मलाई सबैभन्दा मन पर्छन्, किनभने तिनै आँखाले मलाई देखे र मनले आफ्नो बनायो । उनी यो संसारकी सबैभन्दा धनी युवती हुन्, जसले थुप्रै अभियोग लागेको, जेलमा परेको र आफूभन्दा बढी उमेरको व्यक्तिलाई प्रेम दिइन् । कोही छिन् अरू त्यस्ती युवती यो संसारमा ? छिन् भने बताइदिनुहोस् । 

 

तपाईंले विवाह त गर्नुभयो, सुहागरात मनाउन पाउनुभएको छैन नि ? 
सम्भवत: को मेरो जीवनको सबैभन्दा दु:खद् पक्ष हो, तर म यसमा रिग्रेट गरिरहेको छैन । केही पर्खाइहरू जीवन जिउनका लागि प्रेरणा भरिरहेका हुन्छन् । यो त्यस्तै एक कारण हो । 

 

तपाईंले त आफूले जीवनमा धेरै यौन अनुभव लिनुभयो, तर श्रीमतीसँग विवाह गरेको यति दिनसम्म सँगै बस्न पाउनुभएन हैन ?
मानिसहरूले त्यस्तो सोच्छन् । फरक–फरक अनुभवको कुरा गर्छन्, तर यौन सम्बन्धहरू खासमा स्मरणीय हुँदैनन् । यो एउटा प्यास हो, खायो, मेटायो र सकियो तर प्रेम फरक कुरा हो । उनीसँग प्रेम भएको हो, प्रेममा शारिरीक सुखको उति धेरै महत्व हुँदैन । बुढेसकाल लागेर पनि होला, आजकाल म निकै भावुक हुन थालेको छु । विगतका कतिपय कार्यप्रति रिग्रेट पनि छ । 

 

कस्तो कार्यप्रति ? 
खासगरी सन्तान र श्रीमतीप्रति जुन भूमिका निर्वाह गर्नुपर्ने हो, त्यसबाट म विमुख भएजस्तो लाग्छ । 

 

तपाईंले आफ्नी श्रीमतीलाई सन्तुष्ट गर्न नसक्दा कस्तो लाग्छ ? 
दु:ख लाग्छ । हरेक हसबेन्डलाई जस्तै मलाई पनि लाइफ पार्टनरलाई सुख दिन नसक्दा पीडा हुन्छ । 

 

यदि तपाईं अहिले बाहिर हुनुभएको भए श्रीमतीलाई के गरेर खुसी बनाउनुहुन्थ्यो ? 
म उनका लागि सानो घर बनाउँथे । हाम्रो सानो दुनियाँ हुन्थ्यो । तपाईंलाई नढाँटी भन्दा मलाई उनीबाट एउटा सन्तान जन्माउन रहर छ । जुन हाम्रो प्रेम सम्बन्धको निसानी हुनेछ । 

 

राति श्रीमतीसँग भएको सपना देख्नुहुन्छ कि ? 
कहिलेकाहीँ सपना देखिन्छ । सपना भनेकै यादहरू र धेरै सम्झिने कुराहरू रहेछन् । जब उनी मेरो सपनामा आउँछिन्, संसार जितेजस्तो आनन्द हुन्छ तर जब बेडमा ब्युँझिन्छु, लाग्छ जीवन सपनाजस्तो किन हुँदैन । 

 

तपाईंको यौन जीवनमा कति युवती आए ? 
मानिसहरूले मलाई दर्जनौं युवती घुमाएको, हत्या गरेकोजस्ता अभियोग लगाउँछन्, तर मैले जति युवतीसँग संगत गरे, उनीहरूलाई चोखो प्रेम मात्र दिए । नभए म कसरी एक १९ वर्षीय युवतीको मनमा बस्न सक्थें, कसरी हत्याको अभियोगमा जेल परेको एउटा व्यक्तिसँग कोही प्रेम र विवाह गर्न तयार हुन्छ ? मलाई लाग्छ, म संसारको त्यस्तो मानिस हुँ, जोसँग प्रेमसिवाय अरू केही छैन । 

 

जेलमा बस्नुपर्दा गल्ती गरेको महसुस हँुदैन ? 
मैले किन गल्ती महसुस गर्ने ? मलाई राष्ट्रिय–अन्तर्राष्ट्रिय तत्वहरू मिलेर फसाइएको हो । मेरा विरुद्ध खासै  गतिला प्रमाण छैनन् । उनीहरूले मलाई अनेकन बहानामा फसाएका छन् तर जेलबाट बाहिर आएपछि म सबैलाई जवाफ दिनेछु । 

 

जेलबाट बाहिर आउन निकै आतुर हुनुहुन्छ ? 
हो, म चाँडोभन्दा चाँडो जेलबाट बाहिर निस्कन चाहन्छु । अझ उनीसँग विवाह भएपछि त मलाई जति सक्यो चाँडो बाहिर आउन मन छ । 

(लौ, तपाईं पनि अप्रिल फुल हुनुभयो–ह्यापी अप्रिल फुल । अप्रिल फुलका सन्दर्भमा अन्तर्राष्ट्रिय तथा राष्ट्रिय संचार माध्यमहरूमा चलेको पछिल्लो ट्रेन्डअनुरूप यो काल्पनिक अन्तर्वार्ता तयार पारिएको हो । यो वार्तालापको यथार्थसँग कुनै साइनो छैन ।)

 

 

प्रकाशित :चैत्र १९, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्