चैत्र १८ गतेदेखि २४ गतेसम्मको राशिफल

- रामप्रसाद सिटौला (फलित ज्योतिष)

चैत्र १८, २०७३-  

मेष
साताका सुरुका दिनहरूमा दोधारे मनस्थिति भए पनि कार्य सम्पादनमा कुनै बाधा सिर्जना हुनेछैन । बुधबारदेखि काममा गति आउनुका साथै साथीभाइसँग रमाइलो गर्ने अवसर प्राप्त हुन सक्छ । स–साना कुराले पनि पारिवारमा खटपट उत्पन्न गर्न सक्छ । रात्रिको यात्रामा सावधानी अपनाउनुहोला।

 

वृष
आम्दानी तथा खर्च बराबर हुनाले बचत हुने सम्भावना कम छ । सहयोगी मित्रहरू फेला पर्नुका साथै सभा–सम्मेलनमा उपस्थिति हुने अवसर हात पर्ला । बौद्धिक क्षेत्रमा आफ्नो कार्यको परिचर्चा हुन सक्छ । खानपिनमा सजगता अपनाउनुहोला । सवारी साधन चलाउँदा विशेष ध्यान पुर्‍याउनुपर्नेछ ।

 

मिथुन
पदोन्नतिको सम्भावना छ । घर–जग्गा तथा अचल सम्पत्ति जोडिने योग देखिन्छ । आफूले गरेको निर्णयले अधुरा कार्यलाई सहजै सम्पन्न गर्न सघाउन पुर्‍याउनेछ । प्रियजनसँग यात्रा गर्दा मन खोलेर भलाकुसारी गरिनेछ । साताको अन्त्यमा धन अभाव हुनसक्छ ।

 

कर्कट
बोलीको प्रभावले सबैको मन छुँदासमेत आलोचनाको सामना गर्नुपर्नेछ । मंगलबारपछि भाग्यले साथ दिनुका साथै नसोचेको कार्यमा प्रगति हुनेछ । पूण्य कार्यप्रति आकर्षित भइनेछ । साताको अन्त्यमा मान–सम्मान प्राप्त हुने देखिन्छ ।

 

सिंह
व्यवसायमा उन्नति हुनुका साथै धन सञ्चित गर्न सकिनेछ । प्रेमी–प्रेमिकाको इच्छामुताबिक नयाँ स्थानको यात्रा तय हुनेछ । आर्थिक कारोबारमा झन्झट आइलाग्न सक्छ । तैपनि आम्दानीका बाटोहरू रोकिने छैन । स्वास्थ्यप्रति विशेष ध्यान दिनुहोला ।

 

कन्या
आत्मविश्वास वृद्धि भै मन प्रसन्न रहनेछ । व्यवसायिक सफलताका कारण सामाजिक प्रतिष्ठा बढ्नेछ । पूण्य कार्यमा सहभागी हुने अवसर प्राप्त हुनेछ । आफन्तहरूसँगको सम्बन्धमा खटपट देखिन सक्छ । साताको अन्त्यमा भोज–भतेरमा सरिक हुदाँ सञ्चित धनमाल गुम्न सक्छ ।

 

तुला
तपाईंको कामको मूल्यांकन हुनुका साथै आकस्मिक धन लाभ हुन सक्छ । स्वास्थ्यसम्बन्धी समस्याले मनमा नैराश्यता सिर्जना गर्नेछ । साताको अन्त्यमा स्वास्थ्यमा सुधार आउनेछ भने बोलीको प्रभावका कारण महत्त्वपूर्ण कार्य सम्पन्न हुनेछन् । सेयर कारोबारमा आकर्षित भइनेछ ।

 

वृश्चिक
सफलताका लागि कडा मेहनत गर्नुपर्नेछ । अध्ययनमा बाधा सिर्जना हुनुका साथै तपाईंको भनाइको आलोचना हुन सक्छ । चोटपटक लाग्ने सम्भावना पनि टरिसकेको छैन । पश्चिमतर्फको यात्रा फलिफाप हुनेछ । आफ्नो एकल निर्णयका आधारमा गरिएका काममा सफलता प्राप्त होला ।

 

धनु
आलोचना गर्नेहरू सक्रिय भए पनि काममा सफलता हात पर्नुका साथै सबैले प्रशंसासमेत गर्नेछन् । प्रेम जीवनमा खटपट सिर्जना हुनसक्छ । आफन्तहरूसँगको सहकार्यमा धनलाभ गर्ने अवसर जुट्नेछ । विलासी खानपानले स्वास्थ्यमा गडबडी ल्याउन सक्छ । घरायसी व्यवहारमा नफस्नुमै भलो छ ।

 

मकर
आफ्नै पराक्रमद्वारा काम सम्पन्न हुनेछन् । मन प्रसन्न रहनेछ । पर्याप्त विचार नपुर्‍याई गरिएका निर्णयमा विवादको सामना गर्नुपर्ला । आम्दानीका मार्गहरू पहिल्याउन सकिनेछ । पूर्वतर्फको यात्रा गर्ने साइत जुर्नेछ । साताको अन्त्यमा पुराना मित्रसँग मनोरञ्जनपूर्ण भेटघाट हुनेछ ।

 

कुम्भ
प्रियजनको सहयोगमा वैदेशिक यात्रा हुनसक्छ । पराक्रमको प्रशंसा हुनुका साथै सबैले आफ्नो कामको मूल्यांकन गर्नेछन् । प्रेमी–प्रेमिकाबीच विवाद उत्पन्न हुने देखिन्छ । साताको अन्त्यमा बहुमूल्य उपहार प्राप्त हुनेछ । सुनौलो रंग प्रेरणादायक साबित होला ।

 

मीन
साताको प्रारम्भमै अनपेक्षित कार्यमा खर्च बढ्नाले मन खिन्न हुनेछ । मंगलबारपछि विवादको सामना गरे पनि निर्णय आफ्नै पक्षमा होला । कर्मचारी वर्गले कार्य सम्पन्न गर्ने क्रममा विशेष ध्यान पुर्‍याउनुपर्नेछ । खानपानका क्रममा स्वास्थ्यमा ख्याल राख्नुहोला ।

प्रकाशित :चैत्र १८, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्