परीक्षाअघिको परामर्श

- भिषा काफ्ले

चैत्र १७, २०७३-  

प्लस टु पढिरहेका विद्यार्थीहरू घर–परिवार र शिक्षकको कसिलो बन्धनबाट केही खुकुलो महसुस गर्छन् तर उनीहरू पूर्ण व्यवहारिक भैसकेका हँुदैनन् । त्यसैले अरूले भनेको कुरा मान्ने भन्दा पनि आफै निर्णय लिन खोज्छन् उनीहरू, तर विचार नपुर्‍याउँदा सही बाटो पहिल्याउन गाह्रो हुन्छ । आफूले जानेका सामान्य कुरालाई बढाइचढाइ गर्ने, समयको ख्याल नगर्ने, प्राथमिकता छुट्याउन नसक्ने जस्ता समस्या यही उमेरमा देखा पर्छ । यी समस्याको समाधानमा अभिभावक तथा शिक्षकहरूको भूमिका महत्वपूर्ण हुन्छ । यो समयमा उनीहरूलाई राम्रो परामर्शको खाँचो हुन्छ जसले गर्दा उनीहरूले गर्न खोजेको कुरा सहज रूपमा सफल होस् ।

 

हाम्रो देशमा विद्यार्थी सफल/असफल भन्ने कुरा परीक्षाको माध्यमबाट जाँच्ने चलन छ । त्यही भएर एउटा निश्चित समयपछि समय–समयमा परीक्षा लिइँदै आएको छ । परीक्षामा सामेल भएर त्यसलाई पार लगाउन सक्ने सफल र उत्तीर्ण नहुनेलाई असफल भन्ने चलन छ । परीक्षाफलकै आधारमा धेरै कुरा मापन गरिनुका साथै यसलाई विद्यार्थीको भविष्यसँग समेत जोडेर हेरिन्छ । पहिले एसएलसी (हालको एसईई) लाई महत्वपूर्ण खुड्किलो मानिन्थ्यो भने अब त्यो विस्तारै सर्दै कक्षा ११/१२ को परीक्षामा पुगेको छ । अबको माध्यमिक तह १२ कक्षासम्मलाई मान्ने भएपछि यसको महत्व थप बढ्ने निश्चित छ ।

 

यो वर्षको कक्षा १२ को परीक्षा आगामी वैशाख १० देखि हुँदैछ भने कक्षा ११ को परीक्षा ३१ वैशाखमा हुने भनिए पनि स्थानीय निकायको निर्वाचनका कारण पछि सारिएको छ । १२ कक्षाको परीक्षा आउन १ महिना बाँकी छँदा परीक्षामा विद्यार्थीले कसरी प्रस्तुत हुने, विद्यालय तथा शिक्षकले कसरी सहयोग गर्न सक्छन् एवं परिवारले परीक्षामा कसरी अनुुकूल वातावरण निर्माण गर्न सक्छन् भन्ने विषय महत्वपूर्ण रहेको जिलेट कलेजकी काउन्सिलर राधा जीसी बताउँछिन् । ‘परीक्षा नजिकिँदै जाँदा विद्यार्थीहरूका लागि सहज वातावरण बनाउन सबैको उत्तिकै भूमिका हुन्छ ।’ जीसी भन्छिन् ‘यो एक महिनामा सबैको सकारात्मक सहयोग भए एउटा कर्णधारको भविष्य उज्ज्वल हुन्छ ।’ यो विद्यार्थीहरूको भविष्यको कुरा मात्र नभएर अभिभावकहरूको लगानी, विद्यार्थीको समय र शिक्षकहरूले विद्यार्थीमाथि गरेको मेहनतको परिणाम मापनको समय पनि भएको जीसीको बुझाइ छ ।

 

कलेज
विद्यार्थीका लागि सबैभन्दा ठूलो र महत्वपूर्ण भूमिका सम्बन्धित कलेजको हुन्छ । कलेजप्रतिको आशा एवं भरोसाका कारण नै अभिभावकहरूले विद्यार्थीमाथि प्रशस्त लगानी गरेका हुन्छन् । समयमै पाठ्यक्रमअनुसार अध्ययन–अध्यापन, बेलाबेलामा युनिट टेस्ट, त्रैमासिक जाँच तथा विद्यार्थीको शैक्षिक अवस्थाका बारेमा पृष्ठपोषणलाई कलेजले निरन्तरता दिनुपर्छ । परीक्षा नजिकिँदै जाँदा विगतका प्रश्नहरूको संग्रह गरी अभ्यास गराउनुपर्छ । किनभने कक्षा १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्ड (पहिलेको उच्च माध्यमिक शिक्षा परिषद्) ले लिने हुँदा पहिले आएका प्रश्नपत्रको अभ्यास अत्यावश्यक मानिन्छ ।

 

शिक्षकले विद्यार्थीलाई परीक्षामा सहभागी हुनुअघि परीक्षासम्बन्धी परामर्श दिनु आवश्यक छ । जीसी भन्छिन्— विद्यार्थीलाई परीक्षा दिनुपर्छ भनेर दबाब दिनुभन्दा पनि किन परीक्षा दिने र त्यसको महत्व के हो भन्ने कुरा बुझाउनु आवश्यक छ । परीक्षा विद्यार्थीहरूको उज्ज्वल भविष्य सुनिश्चित गर्ने खुड्किला हो । यसले कुनै पनि विद्यार्थीको भविष्य निर्धारण गर्छ । अभिभावकहरूले पनि उनीहरूमाथि प्रशस्त लगानी गरिसकेका हुन्छन् । यदि यो समयमा विद्यार्थीले लापरबाही गर्ने हो भने आफ्नो भविष्यसँगै अभिभावकको आशामा पनि तुषारापात हुन्छ । परीक्षामा उत्तर लेख्दा त्यसको अंकभारका आधारमा लामो वा छोटो लेख्ने कुरामा ध्यान पुर्‍याउनुपर्छ । यसले परीक्षा हलमा समय व्यवस्थापन गर्न सहयोग पुर्‍याउँछ ।

 

विद्यार्थी
विद्यार्थीले सवैभन्दा ध्यान दिनुपर्ने कुरा भनेको समय हो । जसले सही समयमा सही निर्णय लिन सक्छन्, उनीहरूले सधै सफलता प्राप्त गर्छन् । समयअनुसार चल्न सक्नुपर्छ । निश्चित समयमा अध्ययन, निश्चित समयसम्म आराम, निश्चित समयमा खानपान तथा निश्चित समयमा मनोरञ्जन गर्नुपर्छ । यी सबै कुरा मिलाउँदा मस्तिष्कमा नकारात्मक असर पर्दैन ।मस्तिष्कमा नकारात्मक असर नपरेपछि विद्यार्थीहरूले परीक्षामा खुल्ला रूपमा सहभागी भएर राम्रो अंक हासिल गर्न सक्छन् । अर्को कुरा परीक्षाका बेला अनावश्यक कुरा सोच्नु हुँदैन । यो आफ्नो भविष्यका लागि सबैभन्दा महत्वपूर्ण समय हो भन्ने कुरा मनभित्रैबाट जागृत गराउनुपर्छ । आफूभन्दा सिनियर तथा शिक्षकहरूसँग नबुझेका कुरामा तत्काल छलफल गर्नुपर्छ ।  परीक्षाको तयारी गर्दा अघिल्ला वर्षमा धेरै पटक आएका प्रश्नलाई प्राथमिकतामा राखी पटक–पटक अभ्यास गर्नुपर्छ ।

 

अभिभावक
परीक्षाको समयमा अभिभावकले खेल्ने सबैभन्दा ठूलो भूमिका भनेको अध्ययनका लागि सहज वातावरण तयार पारिदिनु हो । परीक्षाको समयमा विद्यार्थीलाई तनाव हुने काम दिनु हुँदैन । साना–मसिना पारिवारिक समस्याहरूका बारेमा जानकारी नदिनु नै उपयुक्त हुन्छ भने कलेजमा बुझाइने शुल्कका बारेमा पनि जानकारी दिनु हुँदैन । यसमा कलेजले पनि सीधै अभिभावकसँग संवाद एवं परामर्श गर्नुपर्छ । परीक्षाको समयमा विद्यार्थीहरू पढाइमै व्यस्त हुने भएकाले उनीहरूले समयमा खाना खाए–नखाएको, आराम गरे–नगरेको वा अन्य कुनै तनावमा भए–नभएको ख्याल गर्नुपर्छ । परीक्षाका लागि आवश्यक सवै सामग्रीको व्यवस्था परीक्षा सुरु हुनुभन्दा एक दुई दिनअघि नै गरिदिनु उचित हुन्छ ।

 

परीक्षाको तयारी कसरी गर्ने ?

वि.विद्यार्थीले अध्ययनको समयतालिका बनाएर तयारी गर्नुपर्छ । त्यसबाहेक आत्मविश्वास बढाउने, चिन्ता नलिने तथा परीक्षाको रुटिनअनुसार विषयगत तयारी तथा अभ्यासलाई प्राथमिकता दिनुपर्छ ।

 

तयारी विधि
परीक्षा नजिकिँदै जाँदा विद्यार्थीहरू कसरी पुर्नपठन गर्ने भन्ने सन्दर्भमा अन्योलमा हुन्छन्, तर यो छोटो समयमा पनि सामान्य अध्ययनविधि अपनाउँदा प्रसस्त फाइदा लिन सकिन्छ । आफूलाई गाह्रो लाग्ने विषयलाई प्राथमिकता दिएर अध्ययन गर्नुपर्छ । सबै विषयलाई आवश्यकताअनुसार कम–बढी समय छुट्याएर नियमित अध्ययन गर्नुपर्छ । अध्ययन गरेको विषय स्मरण गर्न बेग्लै समय छुट्याउनुपर्छ, जसका लागि सरसर्ती पुस्तक एवं नोट हेर्नुपर्छ । योजनाबद्ध र नियमित अध्ययन गर्ने विद्यार्थीले परीक्षाको समयमा पाठ घोक्ने होइन, आफूले अध्ययन गरेको विषय एवं पाठका सम्बन्धमा चिन्तन गर्नुपर्छ ।

 

आत्मविश्वास
परीक्षाकोठा चाहिने सबैभन्दा महत्त्वपूर्ण कुरा आत्मविश्वास हो । जस्तोसुकै कठिन प्रश्न सोधिए पनि, अप्ठ्यारो अवस्था आए पनि त्यसलाई समाधान गर्छु भन्ने आत्मविश्वास परीक्षार्थीमा हुनुपर्छ । कतिपय विद्यार्थीमा आफूलाई आएको उत्तर पनि लेख्न नसक्ने र अरूको उत्तरपुस्तिका हेर्ने बानी हुन्छ, त्यसले थप अन्यौल सिर्जना गर्छ । यस्तो बानी त्याग्नुपर्छ । हलमा पुगेपछि कुनै–कुनै विद्यार्थी आफूले जानेको कुरा पनि बिर्सन्छन्््, डरले काम्ने, चिढ्चिढाउने प्रवृत्ति हुन्छ । यस्तो समस्या आत्मविश्वासको कमीले हुन्छ ।

 

चिन्ता नलिने
जब परीक्षा आउँछ, विद्यार्थीलाई चिन्ताले सताउन थाल्छ । राम्रा विद्यार्थी कम नम्बर आउने हो कि भनेर चिन्ता गर्छन् भने मध्यम खालका विद्यार्थी उत्तीर्ण हुन नसकिएला कि भन्ने चिन्तामा हुन्छन् । आफूलाई कमजोर मान्ने विद्यार्थी कसरी परीक्षामा सामेल हुने विषयमै चिन्तित हुन्छन्, तर यसरी परीक्षाको घडीमा चिन्ता लिँदा सिकेको र जानेको कुरा पनि लेख्न नसकिने हुन्छ । तसर्थ सिकेको र जानेको कुरालाई नयाँ ढंगले प्रस्तुत गर्ने सोच बनाउनुपर्छ । त्यसले चिन्तालाई केही हदसम्म कम गर्छ । तनाव कम गर्दै कसरी परीक्षामा राम्रो अंक ल्याउने भन्नेतर्फ आफूलाई केन्द्रित गर्नुपर्छ । सकारात्मक सोच एवं परिश्रमको फल मीठो हुन्छ भन्ने भावना मनमा जगाउनुपर्छ ।

 

लगनशीलता

लगनशीलताबिना कुनै पनि क्षेत्रमा सफल हुन सकिँदैन । त्यसैले परीक्षार्थीले विषयवस्तुमा ध्यान दिनैपर्छ र ती विषयवस्तुलाई कसरी नयाँपनका साथ प्रस्तुत गर्ने भन्ने चिन्तन गर्नुपर्छ । कुनै विद्यार्थी लगनशील छ भने उसले नतिजामा पछुताउनु पर्दैन । जान्नका लागि सधैं उत्सुक हुने, आफूलाई मन लागेको बेला पढ्ने र अल्छी लागे पनि त्यही विषयसँग सम्बन्धित अनौपचारिक क्रियाकलापहरू गर्दा स्थिति सहज हुन्छ । नयाँ कुरा सिक्न र जान्न खोज्ने बानीको विकासले लगनशील हुन प्रेरित गर्छ । सिक्दै जाँदा नजानेको र अप्ठ्यारो विषय आए शिक्षक वा आफूभन्दा जान्ने साथीसँग सोधीखोजी गर्नुपर्छ ।

 

अभ्यास
लगनशीलताले मानिसलाई नयाँ–नयाँ कुरा खोज्न प्रेरित गरेझंै अभ्यासले त्यो कुरालाई पूर्ण बनाउन मद्दत गर्छ । विशेष गरी गणित, विज्ञानजस्ता प्रयोगात्मक विषय बारम्बार अभ्यासले परीक्षामा सहज बनाउँछ । परीक्षा नजिकिँदै जाँदा पाठ्यपुस्तकभन्दा पनि विगतका परीक्षामा सोधिएका प्रश्नपत्रहरूको संकलन गरी अभ्यास गर्नु फलदायी हुन्छ । आफूले अध्ययन गरिसकेपछि ती विषयको अभ्यासलाई पटक–पटक दोहोर्‍याउनु लाभदायक हुन्छ ।

 

विद्यार्थीले यस्तो लापरबाही गर्छन्

  • समयमा नपुग्ने,
  • प्रवेशपत्र हराउने वा च्यात्ने, घरमै छोड्ने ।
  • प्राक्टिकलका सबै सामग्री नल्याउने ।
  • डडपेन, पेन्सिल, क्यालकुलेटरजस्ता सामान्य कुरा नबोक्ने ।
  • कुन विषयको परीक्षा दिन जाँदैछु ख्याल नगर्ने ।
  • समयमा परीक्षा कक्षमा प्रवेश नगर्ने ।

 

कस्तो तयारी गर्ने ?

  • परीक्षा स्थलमा कम्तीमा ३० मिनेटअघि पुग्ने ।
  • कक्षा कोठामा १५ मिनेट पहिले प्रवेश गरिसक्ने ।
  • सो समयमा सिम्बोल नम्बर, परीक्षा दिने विषयलगायत उत्तरपुस्तिकामा लेख्नुपर्ने कुरा नछुटाई लेख्ने ।
  • उत्तरपुस्तिकालाई सही तरिकाले फोल्ड गर्ने ।
  • उत्तरपुस्तिकामा लेखिएका परीक्षाका नियम पनि राम्रोसँग अध्ययन गर्ने ।
  • परीक्षा हलमा पाठ्यपुस्तक वा नोटबुक लानु हुँदैन ।

प्रकाशित :चैत्र १७, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्