बूढो भइयो !

- सुविन भट्टराई

चैत्र १७, २०७३

 

दुई युवक एउटा चियापसलमा बसेर गफ गरिरहेका छन् । धेरै शीर्षकमा गफ भैसकेपछि एक युवकले अर्को युवकसँग भन्यो, ‘यार, २५ वर्ष पुगिसकियो । एउटा गतिलो जागिर पनि खान पाइएन । केही गरौँ, नाम कमाउँm, बा–आमालाई सुख–सुविस्ता दिउँm, एउटी राम्री केटी खोजेर बिहा गरौँ, घरजम गरौँ भनेको केही पनि गर्न सकिएन ।’ ‘हो यार,’ अर्कोले सही थाप्यो, ‘मलाई एउटा एल्बम निकाल्न मन थियो । संगीतमा केही गरेर देखाउने रहर थियो । यो जुनीमा त सकिएला जस्तो छैन, बूढो भइयो ।’

 

‘बूढो भइयो !’

युवाहरूमा एउटा समय यस्तो आउँछ, जुन बेला उनीहरूलाई भित्रैदेखि लाग्छ, ‘बूढो भइयो ।’ मलाई उदेक लाग्छ, बूढो भएँ भन्ने यस्ता युवाहरू देखेर । उमेर उनीहरूको पच्चीसको तर कुरा सुन्दा पचहत्तरझैँ लाग्ने । पच्चीसकाले नै यस्तो कुरा गरेपछि पैँतीस, चालीस वा पचासकाले त आफूलाई काल पर्खेर बसेको माने भैगो नि । उनीहरूको संवादलाई म भक्तपुरकी ७० वर्षीया वृद्धा मीठु खनालको समाचारसँग तुलना गरिरहेको छु, जो आफूलाई बूढी नमानी एसईई परीक्षा दिँदै छिन् । त्यसो त हरेक वर्ष एसएलसीको परीक्षा हुँदा यस्ता समाचार आइरहन्छन् । साठीका, सत्तरीका, असीका वृद्धवृद्धाले पनि एसएलसी दिइरहेका हुन्छन् ।

 

उनीहरूको आँट, साहस र लगनले तमाम युवापुस्तालाई भनिरहेको हुन्छ, ‘हे युवा हो ! हेर, तिमीहरू थाक्नु हुन्न है । यी हेर त, म त अझै थाकेको छैन ।’ उमेरले साँच्चिकै बूढो बनाएको मानिसचाहिँ अझै केही गर्नु छ भनेर एसईईको परीक्षा दिन निस्किरहेको छ, उमेर हुने मानिसचाहिँ चियापसलमा निराशाका सुस्केरा फ्याँकिरहेको छ । विवाह गरेर दुईवटा सन्तान जन्माइसकेकी तर पैँतीस पनि नपुगेकी गृहिणी महिला, जो कुनै बेला कलेजमा कविता प्रतियोगिता हुँदा प्रथम हुन्थिन्, आज आएर भन्छिन्, ‘बूढी भइयो, के पो गर्न सकिन्छ, अब त छोराछोरीले गरे मात्र हो ।’

 

कसैले सिउँदोमा सिन्दूर भरिँदैमा मानिसका रहर रित्तिन्छन् र ? सन्तान जन्मदैमा उसले देखेको सपना मर्छ र ? यो त आफूलाई जबरजस्ती बूढो बनाएको भएन र ? मानिसहरूको यस्तो सोच देखेर उसको उमेरले पनि उसलाई खिसी गर्दो हो । पाउलो कोएल्हो, जसले अठ्तीस वर्षको उमेरमा पहिलो पुस्तक लेखे । केही असफलताका बाबजुद एकचालीस वर्षको उमेरमा आएर उनले पहिलो सफल र संसार हल्लाउने पुस्तक लेखे । पाउलो अठ्तीस–चालीसको भइयो भन्दै रिटार्यरमेन्टको सोच लिएर बसेका भए संसारले एउटा संसारै हल्लाउने लेखक पाउँदैनथ्यो ।

 

कसैलाई पनि थाहा छैन, उसको बाँच्ने उमेर कति हो ? तर हरेकको अन्तरआत्मालाई थाहा छ उसलाई बाँचुञ्जेल गर्न मन लागेको के हो ? हामी थाहा भएको कुरा पूरा गर्नतिर नलागेर थाहा नहुने कुराको अनुमानमा किन अल्झने ? उमेर त भ्रम मात्र हो । एक दिन सबैको शरीर गल्छ, तर त्यही मानिसले केही गर्छ, जसले सधैँ मुटुमा हौसलाको दियो बाल्छ ।

 

एक दिन करिब ७० वर्षका बुजु्रकसित भेट हुँदा, अनायासै ‘बूढेसकाल’ भन्ने शब्द फुत्कियो, जो उनीप्रति लक्षित थियो । ती वृद्ध जवान रिसाए, ‘कसलाई बूढो भन्यौ बाबू ? तिम्रो मनमा जे–जति रहर छ नि, त्योभन्दा कम ममा छैन । लौ भन, के कुरामा मसित प्रतिस्पर्धा गर्न चाहन्छौ ? आऊ, म च्यालेञ्ज गर्छु तिमीलाई ।’मलाई ती बुजु्रकको कुरा शक्तिशाली लाग्यो । उनको आँखामा तेज थियो, आवाज बुलन्द थियो तर सबैभन्दा ठूलो कुरा उनमा आँट र हौसला बढी थियो ।

 

मान्छेको उमेर बूढै भए पनि के ? अनुभवहरू त जवान हुन्छन् । उमेर केवल एउटा अंक हो, मानिसले अंकमा होइन अनुभवमा बाँच्नुपर्छ । हो, ती अनुभवका लागि हामी बाँच्ने हो । ७० वर्षको उमेरमा गरेको नौलो कामले उत्तेजना र रमाइलो दिँदैन भनेर कसले भन्छ ? ६० वर्षमा नयाँ ठाउँ घुम्न जानेलाई १५ वर्षकोले घुम्न गएभन्दा बढी रमाइलो अनुभव त नहोला तैपनि हरिद्वार गएर हरेराम गर्ने उमेरमा पनि मानिस सिर्जनशील काम गरेर बस्न सक्छ । उमेर जसको जति होस्, कोही मरोस् त यसरी मरोस् कि, मर्दा पनि जवान ह्दय लिएर मरोस् । ऊ मरेको देखेर कसैले शंका गर्दै भनोस् ‘बूढा बुढेसकालमा होइन, जवानीमै मरे !’

प्रकाशित :चैत्र १७, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्