को हो आत्मपौरखी ?

- अविरल थापा

चैत्र १४, २०७३- 

जीवनयापनका क्रममा मानिसलाई एक–अर्काको सहयोग त हरदम चाहिरहन्छ । पश्चिमा समाज र पूर्वीय समाजको पारिवारिक ढाँचा र हुर्काइको तौरतरिकामा धेरै अन्तर छ । उता १८ वर्ष लागेपछि छोराछोरी कानुनी तवरले स्वतन्त्र हुन्छन् र आफ्नो निर्णय आफैं लिन पाउँछन् । यता भने कुनै न कुनै तरिकाले परिवार र समाजले अनेक कुरामा बाँधिरहेको हुन्छ । निकै कमले स्वतन्त्र तरिकाले आफ्नो जीवनमा के गर्ने, के नगर्ने भन्ने निर्णय लिने हिम्मत राख्छन् । यसो हुँदा व्यक्ति चाहेर वा नचाहेर परिवारमा निर्भर वा केन्द्रित रहन्छ ।

 

धन–सम्पत्ति आर्जन गर्न, उपभोग गर्न एवं त्यसको रक्षा गर्नमै मानिसले अधिकांश जीवन बिताउँछ । कति सम्पन्न परिवारमा जन्मन्छन्, कति विपन्न परिवारमा तर धन जोड्नु सबैको प्राथमिक कर्म हो । कतिलाई बाजे–बराजुले सम्पत्ति जोडेर र छोडेर गएका हुन्छन् । बाजे–बराजुले पनि आफ्नो पौरखले जोडे वा छलबलले जोडे त्यो अर्कै विषय भयो । सहर वा गाउँमै पनि जसका प्रशस्त जग्गा–जमिन र सम्पत्ति छ उनीहरूमध्ये धेरैको पृष्ठभूमि केलाउने हो भने बिर्ता पाएर वा तत्कालीन सत्ता र शक्तिको आडमा अरूको हड्पेर नै जोडेको देखिन्छ ।

 

अरूलाई मारेर, शोषण गरेर थुपारेको सम्पत्तिको मालिकलाई के धनी भन्नु, के आत्मपौरखी भन्नु ? अनि त्यही बाजे–बराजुले बटुलिदिएको सम्पत्ति उपभोग गरेर, बेचेर बजारमा रवाफ देखाउँदै हिंड्नेहरूलाई के स्वाभिमानी भन्नु ? ल ठीक छ, जे–जसो गरेर भए पनि पुर्खाले जोडे रे तर यदि अहिले आफ्नो अध्ययन पूरा नगरी र कामको हैसियत आफंैले नबनाई कोही दुनियाँलाई तुजुग देखाउँदै हिंड्छ भने त्यसको के मूल्य ? त्यसको के अर्थ ?

 

आफूले कमाएर खाँदा, लगाउँदा र घुम्दा जुन आनन्द आउँछ बाबु–बाजेको सम्पत्ति उडाउनुमा सायद नआउला । साथ र सहयोग परिवारको पनि लिनुपर्छ तर आफ्नो क्षमता र बर्कत आफैंले बनाउनुपर्छ । कसैको परिवारले बेग्लै घर, मोटरबाइक, गाडी सबै किनिदिने क्षमता पनि राख्लान् रे, तर त्यसको भरणपोषण गर्न योग्य छु कि छैन भनेर सबैले आफैंसँग प्रश्न गर्नु जरुरी छ । आफ्नो मेहनतले आर्जिएको सम्पत्ति उपभोग गर्नु र अरूले किनिदिएकोमा रवाफ देखाएर हिंड्नुमा फरक त पर्ला नै ।

 

छोराछोरीलाई काममा जान बाइक, गाडी वा अन्य सुविधाका साधन किनिदिंदा तेरो कमाइबाट प्रत्येक महिना यति बुझाउनुपर्छ है भनेर जिम्मेवार बनाउन सके र तिर्छन् पनि भने ऊ आत्मपौरखी बन्ने मार्गमा लाग्छ, अन्यथा छँदैछ मोज गर न भनेर छोडिदिए कालान्तर न आफू बन्छ न भएकै रक्षा गर्छ । बाबुको सम्पति देखाएर म धनी छु भन्नेलाई धनी भन्ने कि आफ्नो कमाइमा बाँचेकोलाई धनी भन्ने ? राम्रो लगाउने, खाने, नयाँ–नयाँ ठाउँ घुम्ने रहरहरू आफैंले कमाएर पूरा गर्न सक्नुको आनन्द बेग्लै हुन्छ ।

 

आत्मपौरखी बन्न परिवारबाट बेग्लै बस्नुपर्छ भन्ने छैन । सँगै रहेर पनि हरेक कुरामा योगदान गर्न सकिन्छ । आफ्नो कमाइ र मेहनतले आफ्नो हैसियतको विकास गर्दै लानुपर्छ । डेरामा बस्ने पनि आत्मपौरखी बन्न सक्छ भने दरबारमा बस्ने पनि परनिर्भर हुन सक्छ । राजाको छोरा पनि काम नगरी डुकुलण्ठक भएर उपद्रो गर्दै हिंड्छ भने केही काम लागेन, तर भरियाले दिनभर भारी बोकेर आफ्नो साथै परिवारको पेट पाल्छ, छोरा–छोरी पढाउँछ भने ऊ पौरखी हो । अब म फलानो खलकको, मेरो बाबु यस्तो, मेरो बराजु यस्तो भनेर धक्कु लगाउने जमाना गए ।

 

समाजमा सम्मान कमाउन र सानले हिंड्न आफैले मेहनत गर्नुपयो । मेरा श्रीमान्ले यति कमाउँछन्, मेरी श्रीमतीले यति कमाउँछिन् भन्नुको पनि अर्थ छैन । आफूले गर्ने खर्च आफ्नो हैसियतको र आफ्नो आर्जनको हो कि होइन, त्यसमै आफू कुन धरातलमा छु थाहा हुन्छ । उडाएँ त आफ्नै बाउको उडाएँ भन्ने मूर्खहरूको पनि कुनै कमी छैन । एउटा कहावत छ नि, ‘छोराछोरी गतिला भए आफैं कमाइहाल्छन्, सम्पति नजोडिदिए पनि के भो र, छोराछोरी कुलंघार भए भएको नि सकिहाल्छन्, जोडिदिए पनि के काम लाग्यो र ?’

 

सानैदेखि आत्मनिर्भर बन्नुपर्छ, अनावश्यक खर्च गर्नु हुँदैन भनेर घर तथा विद्यालयमा सिकाउन सके साथै पौरखी बन्न प्रेरणा दिन सके सन्तानले पनि सही बाटो समात्न सक्छन् । सबैको जीवन यति सानदार होस् कि कसैले पनि आफूलाई चिनाउन पूर्खाको नाम लिनु नपरोस् । पुर्खाको सम्पत्ति बेचेर होइन, आफूले जोडेकाले आफ्नो जिन्दगी सुखसयलमा बितोस् । अरूको कमाइमा धाकधक्कु लगाएर होइन, आफ्नै पौरखले आवश्यकता र सुविधा प्राप्त होस् ।

 

घरपरिवारमा, समाजमा, देशमा र आफ्नै जिन्दगीमा आफूले चाहिं के गरें ? आफ्नो मेहनतले कति पढें, कति सिकें, कति सिकाएँ, कति कमाएँ र कति दिएँ ? यी प्रश्नहरूको जवाफ दिन सक्नुभयो भने तपाईं आत्मपौरखी हो । यति बुझ्नुहोस् कि धनी परिवारमा जन्मदैमा कोही धनी हुँदैन, गरिबको घरमा जन्मदैमा कोही गरिब हुँदैन । कहाँ जन्मिएँ होइन, जन्मिएर मैले चाहिं के गरें भन्ने कुरामा तपाईंको पौरखको कदर हुनेछ । हामी आत्मपौरखी बनौं, देश आफैं बन्नेछ ।

Facebook.com/abeeralthapa

Twitter@abeeralthapa

प्रकाशित :चैत्र १४, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्