नेपाली फुटबलको परीक्षा

- साप्ताहिक संवाददाता

चैत्र १४, २०७३- 

कागजी विश्लेषणमै सही, नेपाल एसियाकै सर्वोच्च फुटबल प्रतियोगिता एसियापकको यति नजिक कहिल्यै पुगेको थिएन । एकाध राम्रो नतिजाले नेपाली फुटबललाई अहिलेसम्मकै सबैभन्दा ठूलो उपलब्धिसम्म पुर्‍याउन सक्छ । यद्यपि सबैलाई थाहा छ, त्यो सजिलो भने हुने छैन । एसिया कप–२०१९ को तेस्रो चरणको छनौट आउने सातादेखि प्रारम्भ हुनेछ र नेपाल यसको समूह ‘एफ’ मा छ । समूहमा नेपालका प्रतिद्वन्द्वी हुन्— फिलिपिन्स, ताजाकिस्तान र यमन ।

 

एसिया कप छनौटको यो चरणको समीकरण निकै सहज छ । समूहमा शीर्ष दुई स्थानमा रहने देश सीधै युएईमा हुने प्रतियोगिता खेल्न योग्य हुनेछन् । यही यात्राको पहिलो खुड्किलाका रूपमा नेपालले आउने मंगलबार फिलिपिन्सको सामना गर्दैछ । छनौटको यो समूहको पहिलो खेल फिलिपिन्सको मनिलामा हुनेछ । रियाज मेमोरियल स्टेडियममा हुने उक्त खेलले नै प्रस्ट पार्नेछ, छनौटमा नेपालको यात्रा कस्तो हुनेछ ?

 

मोफसलमा हुने प्रतियोगितालाई छाडेर नेपालको घरेलु फुटबल शून्यकै स्थितिमा रहेको परिवेशमा नेपालले यति ठूलो प्रतियोगिता खेल्न लागेको हो । लिग नभएको पनि लामो समय भैसकेको छ, त्यसैले नेपाली राष्ट्रिय टिमका जापानी प्रशिक्षक ग्योतुको कोजुले खेलाडी छनौटका लागि मोफसलकै प्रतियोगितालाई आधार बनाएका थिए । घरेलु फुटबल कमजोर रहेको स्थितिमा पनि नेपालका लागि अन्तर्राष्ट्रिय अनुभव सुखद छ । पछिल्लो समय नेपालले तीन अन्तर्राष्ट्रिय प्रतियोगिता जितिसकेको छ ।

 

ती हुन्— राष्ट्रिय टिमले जितेको बंगबन्ध गोल्डकप र एएफसी सोलिडारिटीकपसँगै यू–२३ टिमले हात पारेको दक्षिण एसियाली खेलकुदको फुटबलमा स्वर्ण । ती भाग्यले जितिएका प्रतियोगिता हुन कि त्यसका पछाडि नेपाली टिमको परिपक्वता र राम्रो प्रदर्शन जिम्मेवार छ ? यी सबै प्रश्नको उत्तर खोज्ने काम हुनेछ, यो छनौटका क्रममा । एसिया कप छनौटको प्रक्रिया निकै लामो छ र यो दुई वर्षजति चल्नेछ । यसको पहिलो पाइला फिलिपिन्सविरुद्धको खेल हो ।

 

नेपालले पछिल्लो पटक जितेको सोलिडारिटी कप यिनै जापानी प्रशिक्षकको नेतृत्वमा खेलेको थियो । यही प्रतियोगिता जितेर नेपालले एसिया कप छनौट खेल्ने अवसर जुटाएको थियो । नेपालका लागि एसिया कप छनौट खेल्ने अवसर वास्तवमै अप्रत्यासित रूपमा आएको थियो । नेपाल एसिया कप छनौटको सुरुवाती चरणबाट बाहिरिसकेको अवस्थामा एसियाली फुटबल महासंघ (एएफपी) ले यो अवसर उपलब्ध गराएको हो । कुवेत कारबाहीमा परेपछि र ग्वामले आफ्नो सहभागिता फिर्ता लिएपछि नेपालको भाग्य खुलेको हो ।

 

छनौटमा प्रशिक्षक कोजुले आफ्नो समूहका सबै टिमलाई बलियो मानेका छन् । यसबीच उनी सबै खाले सम्भावनालाई जीवन्त राख्न चाहन्छन् । तय छ, नेपालका लागि फिलिपिन्स निकै बलियो प्रतिद्वन्द्वी हो । फिलिपिन्सविरुद्ध खेलिएका पछिल्ला खेलमा नेपालको लगातार कमजोर प्रदर्शन देखिँदै आएको हुनाले पनि छनौटको पहिलो खेल उत्तिकै गाह्रो हुन सक्ने अनुमान गर्न सकिन्छ । यसपल्ट फिलिपिन्सविरुद्ध उत्रने टिममा यसअघिका कप्तान अनिल गुरुङ हुने छैनन् ।

प्रशिक्षक कोजूले घोषणा गरेको टिमको अन्तिम सूचीमा अनिल परेनन् ।

 

यसलाई धेरैले नेपालका लागि अनिलको खेल जीवनको अन्त्यका रूपमा पनि हेरेका छन् । यस्तोमा टिम कप्तान विराज महर्जन नै हुनेछन् । यसपल्टको टिमको मजबुत पक्ष दक्षिण पूर्वी एसियाली फुटबलको राम्रो अनुभव बटुलेका रोहित चन्दको पुनरागमन रहनेछ । नवयुग श्रेष्ठ घाइते रहेको र अनिल पनि नभएको स्थितिमा नेपालको आक्रमणको जिम्मेवारी कर्ण लिम्बूको काँधमा हुन सक्छ ।

प्रकाशित :चैत्र १४, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्