सुरक्षित छैन बैंकमा पैसा

- जनक तिमिल्सिना, राजाराम पौडेल

चैत्र १४, २०७३- 

क्लोन म्याग्नेटिक कार्ड अर्थात डुब्लिकेट एटीएम कार्ड, यही डुब्लिकेट कार्ड प्रयोग गरेर बैंकबाट करोडौं रुपैयाँ चोरी हुने गरेको छ । झट्ट सुन्दा पत्याउन गाह्रो हुन्छ, तर यस्तै प्रकृतिका केही घटना सार्वजनिक भएका छन् । बैंकका खाताहरूमा राखिएको तपाईं–हाम्रो पैसामाथि यतिबेला भर्चुअल चोरहरूले कुदृष्टि लगाउन थालेका छन् ।

 

यस्ता घटनाले हामीले पैसा जम्मा गरेका बैंकको खाता कति सुरक्षित छ ? भन्ने प्रश्नलाई टड्कारो रुपमा सतहमा ल्याइदिएको छ । त्यतिमात्र होइन, पछिल्ला घटनाक्रमले बैंकिङ प्रणालीको सुरक्षामाथि नै प्रश्नचिह्न समेत खडा गरिदिएको छ । गत साता पोखरामा एटीएमबाट विदेशीहरूले पैसा चोरेको घटना सेलाउन नपाउँदै काठमाडौंमै गत मंगलबार प्रहरीले सार्वजनिक गरेको क्लोन म्याग्नेटिक कार्ड अर्थात् डुब्लिकेट एटीएम बनाएर चोरी गर्ने गिरोहको चोरीको शैली जो–कसैलाई झस्काउने प्रकृतिको छ।

 

यसबीच प्रहरीले डुब्लिकेट एटीएम कार्ड प्रयोग गरी विभिन्न व्यक्ति, बैंक तथा वित्तीय संस्थाको खाताबाट ठूलो रकम चोरी गर्ने गिरोहलाई राजधानीका विभिन्न भागबाट पक्राउ गरेको छ । विभिन्न विदेशी व्यक्ति, बैंक तथा वित्तीय संस्थाको खाताबाट म्याग्नेटिक स्ट्रिप कार्ड एन्ड रिडर डिभाइस (एमएसआर) को सहायताले क्लोन म्याग्नेटिक कार्ड बनाई झन्डै ३ करोड ३१ लाख रुपैयाँ चोरी गर्ने कार्यमा सक्रिय ८ जनालाई गत मंगलबार पत्रकार सम्मेलन गरेर प्रहरीले सार्वजनिक गरेको हो ।

 

महानगरीय अपराध महाशाखाले क्लोन म्याग्नेटिक कार्ड प्रयोग गरेर चोरी गर्ने गिरोहका प्रमुख योजनाकार दोलखाका ३४ वर्षीय सुरेश केसी, भारत लखनउ घर भै काठमाडौंको बानेश्वरमा बस्दै आएका आइटी इन्जिनियर ३१ वर्षीय अभिषेक पाण्डे, ललितपुर कुसुन्तीका ३१ वर्षीय केवलप्रताप जबरा, क्षेत्रपाटीका ३० वर्षीय अनुज नकर्मी, २७ वर्षीय अभिषेक नकर्मी तथा २३ वर्षीय रोमन महर्जनलाई पक्राउ गरी सार्वजनिक गरेको हो । उनीहरूमध्ये सुरेश र केवलप्रताप ठगी तथा बैंकिङ कसुरमा प्रहरीबाट यसअघि पनि पटक–पटक पक्राउ परेका व्यक्ति हुन् ।

 

यसका साथै प्रहरीले उक्त गिरोहलाई स्वाइप मेसिन उपलब्ध गराएर चोरीमा मिलेमतो गरेको अभियोगमा पौराणिक थान्का तथा मालाको व्यापार गर्दै आएका भक्तपुरका ३२ वर्षीय विजय लामा दोङ एवं भारत घर भै काठमाडौं क्षेत्रपाटीमा बस्दै आएका डी–सोभिनियरका सञ्चालक २९ वर्षीय नदिम खानलाई समेत पक्राउ गरेको छ ।

 

उक्त गिरोहले आईसीक्यू एप्समार्फत ह्याकरबाट विभिन्न व्यक्ति, बैंक तथा वित्तीय संस्थाका एटीएम कार्डका डिजिटल डाटाहरू किनेर नेपाल तथा भारतका विभिन्न बैंकबाट प्वाइन्ट अफ सेल (पिओएस) मेसिन लिएर कारोबार गर्ने ठूला व्यापारी तथा व्यवसायिक कम्पनीमार्फत बैंकमा रहेको विदेशीहरूको रकम चोर्ने गरेको थियो । प्रहरीले उक्त गिरोहले पीओएस लिएर विभिन्न व्यवसाय सञ्चालन गरिरहेकाहरूसँगको मिलेमतोमा डेबिट कार्ड, क्रेडिड कार्ड, सेक्युरिटी कार्ड, प्रिपेड कार्ड तथा ब्ल्यांक कार्डलाई किर्ते गरी करोडौं रकम चोरेको जनाएको छ ।

 

अनौठो ठगीको र्‍याकेट पक्राउ परेको छ भन्दै महाशाखाका प्रमुख एसएसपी दिनेश अमात्य भन्छन्– यो नेपालमा चोरीको हालसम्मकै सर्वाधिक नयाँ शैली हो । अमात्यले उक्त गिरोहले चोर बजारबाट डाटा हायर गरेर ल्यापटप, म्याग्नेटिक स्ट्रिप कार्ड रिडर एन्ड राइटर डिभाइसको सहायताले चोरी गर्दै आएको पनि बताए । यसअघि प्रहरीले एटीएम बुथमा सिसी क्यामेरा राखेर पिन नम्बर चोरी एटीएमबाट अनधिकृत रूपमा पैसा निकाल्ने गिरोहलाई पटक–पटक पक्राउ गर्दै आएको थियो, एटीएम नै नक्कली बनाएर चोरी गर्ने गिरोह भने पहिलो पटक प्रहरीको फन्दामा परेको हो ।

उक्त गिरोहले २ वर्षअघि नयाँदिल्लीको ४ वटा कपडा पसलबाट ३ लाख भारतीय रुपैयाँ, पोखराको टीका रिसोर्टबाट २ करोड रुपैयाँ, १ वर्षअघि क्षेत्रपाटीस्थित डि–सोभिनियरबाट ३० लाख रुपैयाँ, ९ महिनाअघि चाबहिलस्थित चाँदनी ज्वेलर्सबाट ४७ लाख रुपैयाँ, ३ महिनाअघि भक्तपुरको पौराणिक थान्का तथा माला पसलबाट ४५ लाख रुपैयाँ एवं १५ दिनअघि महाराजगन्जस्थित एक लिक्वायर कम्पनीको स्विप मेसिन प्रयोग गरेर ४ लाख रुपैयाँ चोरी गरेको थियो ।

 

प्रहरीका अनुसार उक्त गिरोहले थप चोरीका भयानक योजनाहरूसमेत बनाएको थियो । सिटी सेन्टरस्थित एडिडासको शोरुममा रहेको स्विप मेसिन प्रयोग गरेर प्रत्येक दिन १० लाख रुपैयाँ निकाल्ने र उपत्यकाका विभिन्न क्यासिनोका स्विप मेसिन प्रयोग गर्दै प्रत्येक दिन ५० लाख रुपैयाँ निकाल्ने योजना बनाइएको प्रहरीको दाबी छ । एसएसपी अमात्यका अनुसार उक्त गिरोहको अपराधको तार अझै धेरैतिर जोडिन सक्छ । यो र्‍याकेटले करोडौं रुपैयाँ चोरी गरेको देखिन्छ, हामी थप अनुसन्धान गर्दैछौं ।

 

यसरी पर्‍यो गिरोह प्रहरी फन्दामा

विगतमा पनि एटीएम कार्डमार्फत चोरी गर्ने विदेशीहरूसँगै पक्राउ परेका थिए, यो चोरी गिरोहका मुख्य योजनाकार सुरेश केसी । प्रहरीबाट छुटेपछि उनी सुध्रिनुको साटो आफैं त्यस्तो र्‍याकेट चलाउन कस्सिए । त्यसका लागि उनले भारत पुगेर ५० हजार भारतीय रुपैयाँमा डुब्लिकेट एटीएम कार्ड बनाउन प्रयोग हुने म्याग्नेटिभ स्टिप कार्ड रिडर एन्ड राइटर डिभाइस (एमआरएस) किनेर ल्याए । यसै क्रममा उनको भेट क्षेत्रपाटीका अनुज नकर्मीसँग भयो । त्यसपछि उनीहरूले ठगीका लागि स्वाइप मेसिन प्रयोग गर्ने व्यवसायी तथा कम्पनीहरूलाई फसाउन थाले । स्वाइप मेसिन प्रयोग गर्ने महाराजगन्जको एक लिक्वायर कम्पनीका सञ्चालकका भाइ मिङमा शेर्पा अनुजका भाइ अभिषेक नकर्मीसँग परिचित थिए । त्यसैले उक्त लिक्वायर कम्पनी उनीहरूको सजिलो निशाना बन्न पुग्यो ।

 

त्यसपछि उनीहरूले अभिषेकका साथीलाई प्रयोग गर्दै लिक्वायर कम्पनीको स्वाइप मेसिनलाई नै पैसा चोर्ने माध्यम बनाउने निर्णय गरे । यसका लागि अभिषेक र उनका साथी रोमन महर्जन मिलेर मिङमा शेर्पालाई आफ्नो योजना सुनाए । उनीहरूको योजनामा मिङमाले पनि साथ दिने भएपछि पैसा चोर्ने क्रम सुरु भयो । त्यसपछि मिङमाका दाइले विश्वास गर्ने राम्रो पर्सनालिटी भएका व्यक्तिका रूपमा यो गिरोहका सदस्य ललितपुर कुसुन्तीका केवलप्रताप जबरालाई ग्राहकका रूपमा पसलमा पठाउने निधो भयो । उनी डुब्लिकेट एटीएम कार्ड लिएर उक्त लिक्वायर कम्पनी पुगे ।

 

केवलप्रतापले त्यहाँ एउटा कार्ड देखाउँदै उक्त कार्ड होल्डर अमेरिकी भएको, ऊ टोटल्ली बेड रेस्टमा रहेको त्यसैले पसलमा आउन असमर्थ भएको भन्दै बेडमै लगेर कार्ड घोट्नुपर्ने कुरामा मिङमाका दाइलाई सहमत गराए । त्यसपछि केवलप्रतापले मिङमासँग स्वाइप मेसिन पठाइदिन अनुरोध गरे । सामान्यत: स्वाइप मेसिनलाई एक ठाउँबाट अर्को ठाउँमा लान पाइँदैन, तर केवलप्रतापले मिङमासँगै मेसिन पठाइदिन भनेपछि मिङमाका दाजु तयार भए ।

 

मिङमा र केवलप्रताप मेसिन लिएर गए । उनीहरूले स्वाइप मेसिनमा ४७ लाख रुपैयाँ घोटे तर उक्त मेसिनबाट ४ लाख रुपैयाँ मात्र ट्रान्सफर भयो । त्यसपछि उनीहरूले उक्त रकम लिक्वायर कम्पनीको खातामा ट्रान्सफर गराएर त्यही मूल्य बराबरको रक्सी लिएर गए । उक्त रक्सी मिङमाले बेचे र त्यसबाट आएको पैसा सबैले भागबन्डा गरे । पर्सिपल्ट लिक्वायर कम्पनीका मालिक अर्थात्

मिङ्माका दाजु उक्त ४ लाख रुपैयाँ निकाल्न बैंक गए, तर बैंकले फ्रड भएर आएको रकम भन्दै दिन मानेन । त्यसपछि उनी प्रहरीकहाँ पुगे । प्रहरीले उनको उजुरीमाथि अनुसन्धान गर्दै जाँदा उक्त गिरोह नै फन्दामा पर्‍यो । गिरोहमा संलग्न मिङमा भने अहिलेसम्म फरार छन् ।

 

चोरीको नयाँ शैली

यसरी चोरी गर्ने गिरोहले ल्यापटप, एमआरएस तथा खाली एटीएम कार्डहरू प्रयोग गरेको पाइन्छ । महानगरीय अपराध महाशाखाका प्रहरी नायब उपरीक्षक अजय केसीका अनुसार भर्चुअल चोरहरूले गुगलको बिट क्वाइन सेल एन्ड बाइबाट पैसा पे गरेर आईसीक्यू एपमा फेला पर्ने डाटा ब्रोकर (ह्याकर) हरूबाट डेबिट क्रेडिट कार्डका डिजिटल डाटाहरू प्राप्त गर्ने अनुसन्धानले देखाएको छ ।केसीका अनुसार भर्चुअल चोरी गिरोहमा संलग्नहरूले गुगलको बिट क्वाइन सेलमार्फत आईसीक्यु एपमा ह्याकरसँग सम्पर्क गरेर तोकिएको पैसा दिएर विभिन्न व्यक्ति, बैंक तथा वित्तीय संस्थाका डेबिट एन्ड क्रेडिट कार्डका डाटा खरिद गर्छन् । चोर बजारबाट किनिएका उक्त डाटालाई ल्यापटप र एमआरएस (म्याग्नेटिक स्ट्रिप कार्ड रिडर एन्ड राइटर डिभाइस) को सहायताले नयाँ खाली एटीएम कार्डमा भरिन्छ।

 

यस्तो एटीएमको पिन कोड ह्याकरहरूले पहिले नै ह्याक गरिसकेका हुन्छन् । खाली एटीएम कार्डमा डाटा भरेपछि उक्त गिरोहले ठूला व्यवसायी समूह वा व्यापारीहरूसँग मिलोमतो गर्ने वा उनीहरूलाई प्रभावमा लिने काम गर्छन् । आखिर किन त्यस्ता व्यवसायीहरूसँग गिरोहले मिलेमतो गर्छ त ? प्रहरीका अनुसार यसको एउटै उद्देश्य हुन्छ— आफूले किर्ते गरी बनाएका अवैध एटीएम कार्डमार्फत ठूलो रकम अर्को एकाउन्टमा ट्रान्सफर गर्नु ।

 

बैंकले ठूला व्यवसायीहरूलाई मात्र ठूलो रकम कारोबारका लागि प्वाइन्ट अफ सेल (पीओएस) मेसिन राख्ने इजाजत दिएको हुन्छ । पोइन्ट अफ सेल भनेको स्वाइप मेसिन हो । त्यस्ता गिरोहले सम्बन्धित व्यवसायीहरूलाई प्रलोभनमा पार्छन् वा उनीहरूलाई पनि आफ्नो गिरोहमा सामेल गर्छन् । त्यसका लागि ठूलो कमिसनको लोभ देखाइन्छ । यो गिरोहको मिलोमतोमा आफ्नो स्वाइप मेसिन प्रयोग गरेर ४७ लाख रुपैयाँ निकालेको अभियोगमा चाबहिलस्थित चाँदनी ज्वैलर्सका मालिक र २ करोड रुपैयाँ निकालिएको पोखरास्थित टीका रिसोर्टका सञ्चालकलाई अहिले प्रहरीले खोजिरहेको छ भने यस्तो स्वाइप मेसिन प्रयोग गरी गिरोहसँग मिलेर ३० लाख रुपैयाँ निकाल्ने क्षेत्रपाटीस्थित डि–सोभिनियरका सञ्चालक नदिन खान तथा ४५ लाख रुपैयाँ निकाल्न मिलोमतो गरेका भक्तपुरका विजय लामा दोङलाई भने प्रहरीले पक्राउ गरिसकेको छ ।

के हो क्लोन म्याग्नेटिक कार्ड ?

क्लोन म्याग्नेटिक कार्ड एक प्रकारको डुब्लिकेट एटीएम कार्ड हो, जसमा चोरी गर्ने गिरोहले म्याग्नेटिक स्ट्रिप कार्ड रिडर एन्ड राइटर डिभाइस (एमएसआर) मार्फत ह्याकरबाट किनिएका विभिन्न व्यक्ति, बैंक एवं वित्तीय संस्थाका डाटाहरू भर्छन् । डाटा भरिसकेपछि यही डुब्लिकेट एटीएमलाई स्विप कार्डमा घोटेर सम्बन्धित व्यक्तिको एकाउन्टबाट आफ्नो एकाउन्टमा रकम ट्रान्सफर गरिन्छ । यस्ता कार्डमा ह्याकरहरूबाट अनलाइन मार्फत् किनिएका डाटा भरिएपछि पिन कोडको आवश्यकता पर्दैन ।

 

बिट्क्वाइन

बिट्क्वाइन एक प्रकारको डिजिटल मुद्रा हो । अस्ट्रेलियाली उद्यमी क्रेग राइटको आविष्कार मानिने बिट्क्वाइन डिजिटल लेनदेन प्रणालीमा आबद्ध हुन्छ ।

 

आईसीक्यू एप्स

अंग्रेजीको ‘आई सिक यू’ लाई छोटकरीमा आईसीक्यू नाम दिएर बनाइएको यो एप्स इजरायली कम्पनी मिराबिलिसले सन् १९९६ मा निर्माण गरेको हो । पछि मिराबिलिसले त्यसको स्वामित्व एओएल कम्पनीलाई हस्तान्तरण गरेको थियो । एन्ड्रोइड र आईओएस दुवै भर्सनमा उपलब्ध आईसीक्यू एप्स फ्री भ्वाइस कल, भिडियो कल एवं च्याटका लागि चर्चित छ ।

 

एटीएम प्रयोगमा ध्यान दिनुपर्ने कुरा

ए.टीएम प्रयोगमा सावधानी अपनाउन सके अरूले ठगी गर्न पाउँदैनन् । त्यसका लागि एटीएम बुथबाट रकम निकाल्दा वरपर कतै अस्वाभाविक उपकरण जडान भए नभएको हेरेर मात्र पैसा निकाल्नुपर्छ । यदि एटीएममा अनावश्यक उपकरण जडान भएको देखिए पैसा निकाल्नु हुँदैन । कुनै एटीएम बुथमा अस्वाभाविक उपकरण जडान भएको शंका लागे अर्को एटीएम बुथसँग तुलना गरेर हेर्नुपर्छ ।

 

एटीएम बुथभित्र विशेषगरी

कि प्याड नजिक प्वाल जस्तो देखिए उक्त प्वालभित्र पिनहोल क्यामेरा जडान गरिएको हुनसक्छ । एटीएम कार्डको म्याग्नेटिक स्ट्रिपमा रहेको डाटा कपी गर्न जेन्युअन कार्डबाहेक अन्य कार्ड स्लट पनि जोडिएको हुनसक्छ । एक भन्दा धेरै कार्ड स्लट देखिए त्यस्तो एटीएम बुथबाट पैसा निकाल्नु हुँदैन । खातामा पैसा हुँदाहुँदै पनि पैसा आएन भने नक्कली कार्ड स्लटमा आफ्नो कार्ड छिराइएको हुनसक्छ । आफ्नो कार्ड नक्कली कार्ड स्लटमा छिराइएको थाहा पाउनेबित्तिकै तत्काल अर्को एटीएम बुथमा गएर आफ्नो पिन नम्बर परिवर्तन गर्नुपर्छ । कि प्याड अस्वाभाविक जस्तो लागे तथा मेसिनमा राम्रोसँग फिट नभएजस्तो लागे उक्त एटीएम बुथबाट कारोबार नगर्ने । एटीएम बुथभित्र अस्वाभाविक उकरणहरू जडान गरिएको देखिए तत्काल नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित बैंकमा खबर गर्ने । पिन नम्बर हान्ने बेलामा कोही कसैले हेरे–नहेरेको यकिन गर्ने । पिन नम्बर डायल गर्दा हातले छोपेर सुरक्षित तरिकाले मात्र डायल गर्ने ।

बैंकबाट एसएमएस अलर्ट सेवा लिने, जसका कारण कसैले पैसा निकाल्नेबित्तिकै आफूलाई थाहा होस् । आफूले गर्दै नगरेको कारोबारका बारेमा मोबाइलमा एसएमएस अलर्ट तथा खाता विवरणका बारेमा जानकारी देखिए तत्काल सम्बन्धित बैंकमा खबर गर्नुपर्छ । समय–समयमा पिन नम्बर परिवर्तन गर्ने । आफ्नो एटीएम सकभर कसैलाई प्रयोग गर्न नदिने, कसैलाई नदेखाउने । बैंकले एटीएम बुथभित्र तथा बाहिरको गतिविधि सूक्ष्म रूपमा सिसिटिभीमार्फत निगरानी गर्छ । त्यस्तो कुनै अस्वाभाविक तथा शंकास्पद गतिविधि देखिए तुरुन्त प्रहरीलाई खबर गर्नुपर्छ । म्याग्नेटिक स्ट्रिप एटीएम कार्डभन्दा सुरक्षित भएकाले बैंकहरूले इएमभी चिप प्रयोगमा ल्याउनुपर्छ ।

 

एटीएमबाट पैसा निकालेपछि प्रिन्ट भएर आउने स्लिप पनि त्यसै फ्याल्नु हुँदैन । धेरैले उक्त स्लिप एटीएम काउन्टरमै फाल्छन् । त्यसरी स्लिप फाल्दा आफ्नो पैसा चोरिने सम्भावना वृद्धि हुन्छ । त्यस्तो स्लिपका आधारमा सूचना लिएर पनि नेपालमा एटीएमको पैसा अनधिकृत रूपमा निकालिएको बताइन्छ ।

 

एटीएमबाट डाटा चोरी गरी पैसा चट

अहिले बैंक खाता भएका अधिकांश व्यक्तिले एटीएम प्रयोग गर्छन् । हामीले दु:ख गरेर कमाएको वा सञ्चित गरेर बैंकमा राखेको रकम निकाल्ने क्रममा सावधानी अपनाएनौं भने हाम्रो रकममा अरूले नै मोज गर्न सक्छन् भन्ने हेक्काचाहिँ राख्नुपर्छ । नेपालमा यस्ता घटना बढ्दै गएका छन् । बैंकको एटीएमबाट डाटा चोरी गरी अर्काको पैसा निकाल्ने समूह निकै सक्रिय रहेको कुरा निरन्तर बाहिर आइरहेका समाचारले पुष्टि गर्छन् ।

 

यसै क्रममा बैंकको एटीएमबाट डाटा चोरी गरी अर्काको पैसा निकाल्ने दुई विदेशी पोखरामा पक्राउ परेका छन् । पोखरा लेखनाथ महानगरपालिकाको लेकसाइडबाट उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

बुल्गेरियन नागरिक ४६ वर्षीय इमानो मार्टिन तथा ३३ वर्षीय लुसियानुभ रेमनडिमोभलाई लेकसाइडको बाराही गल्लीस्थित राइनस अपार्टमेन्टबाट नियन्त्रणमा लिइएको हो । एटीएमबाट पैसा चोरी गर्ने गिरोह पोखरामा पनि सक्रिय रहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई गिरफ्तार गरेको बताइन्छ ।

 

उनीहरूबाट ८ वटा एटीएम कार्ड, एटीएमबाट डाटा चोरी गर्न प्रयोग गरिने कार्ड रिडर, तीन वटा ल्यापटप तथा ३ लाख नगद बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक खड्गबहादुर खत्रीले बताए । ती बुल्गेरियन नागरिकहरू लेकसाइडस्थित हिमालयन बैंक तथा नबिल बैंकको एटीएममा जडित सिसी टिभी फुटेजका आधारमा समातिएका हुन् । उनीहरूविरुद्ध नबिल बैंकको जाहेरीका आधारमा बैंकिङ कसुर ऐनअनुसार उच्च अदालत बुटवल वाणिज्य इजलासबाट म्याथ थप गरी थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख घनश्याम अर्यालले जानकारी दिए । उनीहरूबाट बरामद गरिएका मेसिनका सम्बन्धमा केन्द्रीय अनुसन्धान ब्युरोले जाँच गर्दैछ ।

 

कसरी पक्राउ परे ?

एक महिनाअघि पोखराको नबिल बैंकमा एटीएम ठगी भएको खबर कास्की प्रहरीमा पुग्यो, जसले प्रहरीको ध्यान खिच्यो । प्रहरीले सचेत हुँदै निगरानी सुरु गर्‍यो । निगरानी गर्ने क्रममा एक विदेशी शंकाको घेरामा परे । कारण उनले लेकसाइडमा रहेका एटीएम बुथमा गएर देखाउने क्रियाकलाप शंकास्पद थिए । उनले एटीएम बुथमा केही हाल्ने र झिक्ने गरेको सिसिटिभी फुटेज नबिल बैंकले प्रहरीलाई दियो ।

 

उक्त फुटेज प्राप्त गरेपछि कास्की प्रहरीले आफ्नो अनुसन्धानलाई अघि बढायो । त्यसबीच काठमाडौंको नबिल बैंकबाट अवैधानिक रूपमा रकम निकालिएको खबर कास्की प्रहरीले पायो । त्यसले प्रहरीलाई चुनौती थप्यो भने प्रहरी सक्रियतासमेत वृद्धि गरियो । जिल्ला प्रहरी कार्यालयसँगै बैदाम क्षेत्रमा घटना भएकाले वडा प्रहरी कार्यालय बैदामले पनि आफ्नो सक्रियता बढायो ।

 

यसै क्रममा अघिल्लो बिहीबार जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी घनश्याम अर्याललाई काठमाडांैबाट फोन आयो । फोनमार्फत आएको नयाँ जानकारीअनुसार उनले आफ्नो मातहतका प्रहरीलाई खबर गरे । त्यस क्रममा एक विदेशी प्रहरीको शंकाको घेरामा परे । ती विदेशी नागरिकको फलो गर्न जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामको टोली सक्रिय भए । शुक्रबार साँझ ७ बजे ती विदेशी लेकसाइड, गौरीघाटस्थित एटीएम बुथमा छिरे । त्यसपछि बाहिर निस्किए र स्कुटर चढे । प्रहरीले उनलाई पछ्याइरहेको थियो ।

 

उनी लेकसाइडमा रहेका विभिन्न एटीएम बुथमा पुग्दै पस्ने–निस्कने गर्दै थिए । झन्डै १० वटा एटीएम बुथमा उनले गरेको हर्कत निहालिरहेको प्रहरीको शंका प्रमाणित हुन थाल्यो । ती विदेशीले लेकसाइडका विभिन्न पसलमा पुगेर सामान खरिद गरेको दृश्यलाई समेत प्रहरीले नजिकबाट नियालिरहेको थियो । झन्डै राति १० बजे ती विदेशी एक होटलबाट खाना खाएर बाहिर निस्किए । स्कुटर चलाएर लेकसाइडस्थित बाराही गल्लीतिर छिरे । उनको स्कुटर गौरीघाटको राइनस अपार्टमेन्ट बाहिर रोकियो । उनी अपार्टमेन्टभित्र छिरे ।

 

राति ११ बजेतिर प्रहरी अपार्टमेन्टमा छापा मार्ने निष्कर्षमा पुग्यो । छापा मार्ने क्रममा उनी सँगै अर्का एक विदेशी पनि फेला परे । उनीहरू गत जनवरी ३० देखि लेकसाइडमा बस्दै आएका थिए । पुष २ गते नेपाल आएका ती विदेशी नागरिकको भिसा आगामी वैशाख ५ गतेसम्म छ । उनीहरूले आफूहरूले ठगी गरेको कुरा स्वीकार गरेका छैनन् ।

 

नेपालमा एटीएम ठगीका घटना

नेपालमा एटीएममार्फत ठगी गर्ने क्रमको सुरुवात एउटा चिनियाँ समूहले गरेको थियो । करिब सात वर्षअघि भर्खरै नेपाल भित्रिएको यो प्रविधिलाई चुनौती दिँदै उक्त चिनियाँ समूहले पिन कोड चोरी गरी एटीएममार्फत अनधिकृत रूपमा पैसा निकालेको घटना बाहिर आएको थियो । त्यतिबेला आफूहरूले एटीएमबाट पैसा निकाल्न नजानेको भन्दै पैसा निकाल्न सिकेको बहाना गरी उनीहरू पिन नम्बर चोरी गर्थे । उनीहरूले एटीएम मेसिनमा डाटा चोर्ने प्रविधि राखेर समेत ठगी गरे ।

 

नबिल बैंकका पूर्वकर्मचारी सबिन रिमालको योजनामा करिब एक करोड ठगी भएको खबरले समेत एक समय बैंकिङ क्षेत्रमा हंगामा मच्चियो । रिमालले आफ्ना भाइ रितेशसँग मिलेर नक्कली एटीएम बनाई ठगी गरेका थिए । हिमालयन बैंकको आईटी विभागमा काम गर्ने अनिशभक्त सुवालले पनि एटीएम प्रविधिको दुरुपयोग गरी ५ करोडभन्दा बढी रकम अनधिकृत रूपमा निकालेको खबर बाहिर आयो ।

 

तीन वर्षअघि प्रहरीले धनगढीबाट तीन जना युवकलाई नक्कली एटीएमसहित पक्राउ गरेको थियो, जसमा नैनीतालका सुरेशसिंह विष्ट, मोहनसिंह विष्ट तथा चन्द्रसिंह विष्ट थिए । सुरज गुरुङ नामका भारतीय नागरिकले उनीहरूलाई पैसा निकाल्न पठाएका थिए । त्यसैगरी बुल्गेरियन नागरिक भेसिलिन जर्जलेर तथा पेट्रोस्लाभ रिस्टोभ पनि एटीएम ठगीको आरोपमा पक्राउ परेका थिए । टर्किस नागरिक मेहमत गुलेमलाई पनि प्रहरीले यस्तै घटनामा पक्राउ गरेको थियो ।

 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बैंकका एटीएम बुथहरूमा हिडन क्यामेरा र चिप्स प्रयोग गर्दै रकम झिक्ने बुल्गेरियन डिमो एटानासोभ स्टाफनोभलाई समेत पक्राउ गरेको थियो ।

गत साउन ४ गते विराटनगरका कोषराज भट्टराई तथा दोलखाका लीलाबहादुर बाँडालाई एटीएममार्फत अवैधानिक रूपमा रकम निकालेको आरोपमा कास्की प्रहरीले पक्राउ गरेको थियो । दुई महिनाअघि अर्काको एटीएमबाट पैसा निकालेर ठगी गरेको आरोपमा दुई भारतीय निरञ्जन मेहता तथा इत्तेदार खान पक्राउ परेका थिए ।

 

काठमाडौंमा एटीएम ठगीमै बुल्गेरियन, टर्किस, भारतीय, बंगलादेशी तथा पाकिस्तानी नागरिकहरू पनि पक्राउ परिसकेका छन् । बैंक कर्मचारीहरूकै मिलेमतोमा नेपालमा एटीएममार्फत ठगी भएका घटना पनि बेलाबेलामा बाहिर आउने गरेका छन् ।

प्रकाशित :चैत्र १४, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्