सांगीतिक वातावरण जगाउँदै बिग आइकन

- साप्ताहिक संवाददाता

चैत्र १३, २०७३

 

सुस्ताउँदै गएको पोखराको सांगीतिक वातावरणलाई जगाउने काम गर्दै आएको छ बिग आइकनले । यो प्रतियोगिता सन् २०१० देखि प्रारम्भ भएको हो । अहिले बिग आइकनको साँतौं संस्करण चलिरहेको छ । बिग आइकनको आयोजना पोखराको बिग एफएमले गर्दै आएको छ । पोखरामा सांगीतिक वातावरण जगाउँदै प्रतिभावान् कलाकारलाई प्लेटफर्म दिने उद्देश्य यो प्रतियोगिताको छ । बिग आइकनमा सहभागी हुनेहरूको संख्या हरेक वर्ष बढ्दै गएको छ । बिग आइकनका लागि यो वर्ष ५४ जिल्लाका १ हजार १ सय ५२ जनाले फर्म भरे । छैटौँ संस्करणमा ४२ जिल्लाका ९ सय ३ जनाले सहभागिता जनाएका थिए । 

 

पाँचौ संस्करणमा ८ सय १० प्रतिस्पर्धीले सहभागिता जनाएका थिए भने चौथो संस्करणमा ४८ जिल्लाका ७ सय ७० जना प्रतियोगीले भाग लिए । तेस्रो संस्करणको बिग आइकनमा ४६ जिल्लाका ६ सय ७० जना प्रतियोगी सहभागी थिए भने दोस्रो बिग आइकनमा ४ सय ६५ जनाले सहभागीता जनाए । सन् २०१० को पहिलो संस्करणको बिग आइकनमा ६ सय ३० जनाको सहभागिता थियो । 

सातौँ संस्करणको बिग आइकनको ‘ग्रान्ड फिनाले’ आगामी चैत १८ गते शुक्रबार पोखरा सभागृहमा हुनेछ । सातौ बिग आइकनको ग्रान्ड फिनालेमा चितवन पटिहानीका सागर आले, लेखनाथका सुवास गुरुङ तथा कास्की याम्जाकोटकी प्रिया गुरुङ भिड्दैछन् । दुई महिना चलेको २२ भन्दा बढी अडिसनबाट ती उत्कृष्ट ३ को छनौट गरिएको हो । सातौ संस्करणमा ५७ प्रतिशत महिला तथा ४३ प्रतिशत पुरुष प्रतियोगीको सहभागिता थियो । 

 

बिग आइकनको ग्रान्ड फिनालेबाट सर्वोत्कृष्ट एक जना छनौट गर्न अब पूर्ण रूपमा एसएमएस मतले भूमिका निर्वाह गर्नेछ । लगातार सात संस्करणदेखि बिग आइकनका मुख्य निर्णायक संगीतकर्मी सुनिल थापा छन् । उनीसँगै यसपटक गायक श्यामसुङ तामाङ तथा विवेक श्रेष्ठ निर्णायकको भूमिकामा छन् । 

बिग आइकन नेपाली कला तथा संगीत क्षेत्रका सेलिब्रेटीलाई फाइनल कार्यक्रमको प्रमुख अतिथि बनाइन्छ, जसअनुसार पहिलो बिग आइकनमा दीपक जंगम, द्वितीयमा राजेश हमाल, तृतीय रेखा थापा, चौथोमा निमा रुम्बा, पाँचौंमा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य तथा छैटौंमा करिश्मा मानन्धरले प्रतियोगिताको रौनक बढाए । 

 

म्याग्दीका गगन पुन पहिलो, पोखराका सुमन गौतम दोस्रो, सर्लाहीका नवीन काफ्ले तेस्रो, बिरौटा पोखराकी मुस्कान रानाभाट चौथो, मुस्ताङका कुन्साङ गुरुङ पाँचौं तथा चितवन पटिहानीका साजन आले छैटौं बिग आइकन हुन् । बिग आइकनको माध्यमबाट सांगीतिक फाँटमा उदाएका ती कलाकारले देश–विदेशमा रहेर आफ्नो संगीतकर्मलाई निरन्तरता दिइरहेका छन् । 

 

प्रकाशित :चैत्र १३, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्