जेल परेका सबै अपराधी हुँदैनन्

- अश्विनी कोइराला

चैत्र ९, २०७३-  

उमेर सानो भए पनि ठूलो कथा बोकेका युवक हुन्! विवेक उपाध्याय । एक जना व्यवसायी–उद्यमीका कान्छा सन्तान विवेकले प्लस टु पढ्दा–पढ्दै करोडौं रुपैयाँ कमाए र स्नातकमा उक्लन नपाउँदै उल्टो परिवारको समेत करोडौं डुबाए । परिवार नै व्यापारमा लागेका कारण पैसा कमाउनु र डुबाउनु उनका लागि ठूलो कुरा थिएन, तर यही पैसाको कारोबार मिलाउन नसक्दा उनी जेल परे । त्यसअघि उनको परिवारबाट कोही प्रहरी चौकीसमेत गएका थिएनन् । २३ वर्षको उमेरमा दुई महिना जेल परेर फर्कंदा समाजमा उनलाई मात्र होइन, उनको परिवारलाई हेर्ने दृष्टिकोणमा समेत परिवर्तन आइसकेको थियो । उनी परिवार, प्रेमिका र समाज सबैबाट टाढिए । यही रनाहमा उनले फरक–फरक समयमा दुई पटक आत्महत्या गर्ने प्रयास गरे तर भाग्यको लेखा अर्कै रहेछ । दुवै पटक उनी बाँच्न सफल भए । पैसा, इज्जत र प्रेम समाप्त भएपछि पनि बाँच्ने चाहनाले उनी एक पटक फेरि उठे । यही उठ्ने क्रममा अहिले उनी हिडेन लाइफ फाउन्डेसनको अध्यक्ष भएका छन् । यो संस्थाले जेल सुधारका लागि काम गरिरहेको छ ।

 

सानै उमेरमा करोडौं रुपैयाँ कमाउनुभएछ, कसरी ?
म नेपालको एउटा सामान्य व्यवसायिक घरानासँग सम्बन्ध राख्छु । मेरा बुवाले मात्र होइन, हजुरबुवाहरूले समेत व्यवसाय गरेर राम्रो नाम–दाम कमाउनुभएको थियो । हाम्रो व्यवसाय पोखरा र काठमाडौंमा थियो । परिवारको यही विरासत थाम्दै म पनि एसएलसीपछि पोखरामा आफ्नो व्यवसाय गर्दै पढ्न थाले । एउटा क्याफेबाट सुरु भएको मेरो व्यक्तिगत व्यवसाय रेडिमेड कपडा, बहुउद्देश्यीय सहकारी संस्था, विद्यालय हुँदै इन्भेस्टमेन्ट कम्पनीसम्म पुगेको थियो । एक–दुई वर्षमै मैले करोडौं रुपैयाँ कमाए ।

 

अनि कसरी डुब्नुभयो ?
कच्चा उमेर थियो । पैसा आएको देखिन्थ्यो, तर कसरी आइरहेको छ, स्टाफहरूले कसरी संस्था चलाइरहेका छन्, त्यसको भने ख्याल गर्न सकेको रहेनछु । पैसा कमाउँदै गएपछि संस्था बिस्तार गर्दै स्टाफको जिम्मा लगाउँदै जान्थेँ । कसले कस्तो भूमिका निर्वाह गरिरहेका छन्, त्यतातिर ध्यान पुर्‍याउन सकिनछु । एक वर्षपछि सबै संस्था डुब्न थाले । कस्तोसम्म हुन थाल्यो भने मैले तिर्नुपर्ने पैसाको चेक पनि साटिन छाड्यो । अर्को वर्षसम्ममा त मैले कमाएको मात्र डुबेन, परिवारलाई समेत अप्ठ्यारो पर्ने गरी हाम्रो व्यवसाय बिग्रियो ।

 

जेल कसरी पर्नुभयो ?
मैले पार्टी पेमेन्टका लागि जुन चेकहरू जारी गरेको थिएँ, व्यवसाय डुबेपछि ती चेक साटिन छाडे । मेरो हालत बिग्रिएको थाहा पाएपछि एक जना व्यवसायीले चेक बाउन्ससम्बन्धी मुद्दा हाले । त्यही ठगी मुद्दामा म जेल परेको हुँ ।

 

एउटा स्नातक अध्ययनरत र करोडौंमा खेलिरहेको युवक जेल पर्दा कस्तो महसुस हुँदो रहेछ ?
एउटा व्यवसायीको धेरैतिर कारोबार हुन्छ । जेल पर्नेबित्तिकै ती सबै कारोबारी एकै ठाउँ आएर कसरी पैसा असुल गर्ने भनेर चिन्तन गर्दा रहेछन् । परिवारका मानिसलाई दबाब दिन पुग्दा रहेछन् । समाजले हेर्ने दृष्टिकोण पनि परिवर्तन हुँदो रहेछ । म एउटी युवतीको प्रेममा थिएँ । उक्त काण्डपछि मेरो प्रेम टुट्यो । मेरा कारण परिवारको व्यवसायमा समेत केही दिन ताला लाग्यो । पत्रपत्रिकामा करोडौं ठगी गर्ने युवक पक्राउ भनेर समाचार प्रकाशित भएपछि प्रहरीहरूमा पनि केही असुल गर्न सकिन्छ कि भन्ने लोभ जाग्दो रहेछ । त्यसपछि त सबै कुरा तासको घर ढलेजस्तै गल्र्यामगुर्लुम ढल्दो रहेछ ।

 

आज तपाईंलाई हाँसी–खुसी देखिन्छ, यस्तो दिन फर्केर आउला भनेर कल्पना गर्नुभएको थियो ?
पटक्कै थिएन । नत्र दुई–दुई पटक आत्महत्याको प्रयास किन गर्थें ? त्यो बेला साथी–भाइ, आफन्त सबैले अब तँ बरबाद भइस्, तेरो कुनै भविष्य छैनभन्दा मलाई ठूलो मानसिक यातना हुन्थ्यो । कसैले पनि जे भयो भयो, अब नयाँ जीवन यसरी सुरु गर्न सकिन्छ भनेर सुझाव दिँदैनथें ।

 

तर अहिले नयाँ जीवन सुरु भयो, त्योचाहिँ कसरी ?
जेलबाट फर्किएको एक वर्षपछि म आफूले पढेका पुस्तकहरू पल्टाइरहेको थिएँ । ती पुस्तकहरूको भीडमा मैले जेलमा आफैंले लेखेको डायरी फेला पारेँ । वास्तवमा जेल अर्कै संसार हो । त्यो संसारमा के–के हुन्छ के–के । त्यहाँ मानिसहरू कसरी बाँचिरहेका छन्, जेललाई कसरी सुधार गर्न सकिन्छ भनेर मैले धेरै कुरा लेखेको रहेछु । म धेरै दिन जेल बसिनँ तर त्यहाँ यति धेरै समस्या थिए कि म चुप लागेर बस्न सकिनँ । जेल सुधारका केही काम सुरु गरेँ । बाहिर निस्किएपछि म जेल सुधारका लागि केही न केही गर्छु भनेर प्रतिबद्धता पनि लेखेको रहेछु ।

 

जेलभित्र रहँदा तपाईंले गरेका काम के–के हुन् ?
दुई–चार हजार धरौटी तिर्न नसक्दा पनि मानिसहरू वर्षौं जेलमा सडिरहेका हुँदा रहेछन् । यो कुरा मैले सुनेको पनि थिइनँ । दुई–चार हजार तिरिदिँदा कोही जेल जीवनबाट मुक्त हुन्छन् भने मैले केही किन नगर्ने भनेर परिवारले मलाई पठाएको पैसाले तीन जना कैदीलाई मुक्त गरिदिएँ ।

 

डायरी भेटेपछि तपाईंले गरेका काम के–के हुन् ?
सुरुमा त मैले बाँच्ने उद्देश्य फेला पारेँ । जेलभित्र कैदीले भोग्ने समस्या अन्त्य गर्न म एउटा संस्था खोल्छु र उनीहरूको जीवनमा सकारात्मक प्रभाव पार्न सक्छु भनेर काम सुरु गरेँ । सुरुमा मैले संस्थाका लागि आवश्यक पर्ने सातवटा नागरिकता पनि पाइनँ । मैले नागरिकता लगेर कुनै गलत काममा प्रयोग गर्छु कि भनेर मानिसहरू डराए । परिवारका सदस्यहरूले समेत विश्वास गरेनन् । टाढाका मानिसको नागरिकता लिएर संस्था खोलेँ । त्यसपछि केही पैसा जम्मा गरेर थोरै धरौटी जम्मा गर्न नसकेका कैदीहरूलाई धमाधम छुटाउन थालेँ ।

 

कतिजना छुटाउनुभयो ?
६ महिनामा ३४ जना कैदी छुटाएँ । ती मानिस ४ हजारदेखि १८ हजार रुपैयाँ तिर्न नसकेर जेल परेका रहेछन् । त्यसका लागि प्रहरी अधिकृत विज्ञान राज शर्माको सहयोग लिएँ । सुरुमा हामीलाई दोर्जे छिरिङ् शेर्पा र उनको स्काई मेमोरियल फाउन्डेसनले सहयोग गर्‍यो । थप पैसा भने साथी–भाइसँग सहयोग मागेँ । धेरै साथीलाई मानिस दुई चार हजारको अभावमा पनि जेल बस्नु परेको कुरा अनौठो लागेछ । जब दुई चार हजारले नै काम गर्न थाल्यो त्यसपछि सहयोग जुट्दै गयो । यसरी हामीले थोरै रकम आवश्यक पर्ने कैदीहरूलाई धमाधम बाहिर निकाल्ने काम गर्‍यौं ।

 

अदालतले फैसला गरेपछि एउटा व्यक्ति कैदी मात्र रहदैन, अपराधी ठहर्छ । त्यस्ता अपराधीलाई वाहिर निकाल्दा समाजमा अपराध बढ्दैन ?
नेपालमा सानो अपराध गर्ने कैदी र ठूला अपराध गर्ने अपराधी दुवै एउटै जेलमा राखिन्छन् । विदेशमा यस्ता जेल फरक–फरक हुन्छन् । जब सामान्य अपराधी ठूला अपराधीको संगतमा पर्छन्, उनीहरूमा अपराध गर्नु सामान्यजस्तो हुन थाल्छ । यस कारण हामीले गर्ने काम सामान्य होइन, असमान्य हो । मैले निकालेका ३४ कैदीमध्ये तीन जना पुन: पक्राउ परे । यो मेरा लागि निकै गम्भीर कुरा थियो । एक मनले त मैले गल्ती गरेँ कि भन्ने पनि लाग्यो । प्रहरी अधिकृत विज्ञानराज शर्मा तथा कारागार विभागका प्रमुखहरूले मलाई त्यसका सकारात्मक पाटो हेर्न आग्रह गरे ।

 

तीन जना पुन: अपराध गरेर जेल फर्किए पनि बाँकी ३१ जनाको जीवन राम्रोसँग चल्न थालेको थियो । त्यो देखेपछि मैले संस्थालाई अघि बढाउनुपर्छ भनेर पुन: काम सुरु गरेँ । अर्को कुरा जेल परेका सबै मानिस अपराधी नहुँदा रहेछन् । धेरैलाई त के काम गर्दा अपराध हुन्छ भन्ने समेत थाहा छैन । कतिपय युवक राजीखुसीले यौन सम्पर्क गर्दा समेत पक्राउ परेका छन् । उनीहरू युवतीले आफ्नो इज्जत जोगाउन ‘उसले मलाई जबरजस्ती गरेको हो’ भनेका कारण पक्राउ परेका छन् । केही विवाहितहरू कुनै अर्की युवतीसँग प्रेम गर्न पुगे तर उक्त प्रेमलाई विवाहमा परिणत गर्नु हुँदैन भन्ने थाहा नपाएर बहुविवाहमा समातिए । अज्ञानतवश गरेको अपराधलाई पनि राज्यले अपराध नै मान्छ तर म उनीहरूलाई अपराधी मान्ने पक्षमा छैन ।

 

जेलका मुख्य समस्या के–के हुन् ? तपाईंहरूले अरु के–के गर्नुभयो ?
जेल समस्याको गोलो भएको ठाउँ हो । हाम्रा धेरैजसो जेल राणाहरूको तबेला, पुराना घर वा भत्कन लागेका ठूला संरचनाका अवशेषहरूमा छन् । गएको वर्ष गएको ठूलो भूकम्पमा परेर सेन्ट्रल जेलमा दर्जनभन्दा बढी कैदीले ज्यान गुमाए । जेलमा खानेपानी, सरसफाइ, खानपिन, संस्कार सबै कुराको समस्या छ । खेलकुद, लाइब्रेरी सबै कुराको समस्या छन् । स्वास्थ्यसम्बन्धी समस्या विकराल छ । सुरुमा हामीले सानोतिनो धरौटी बुझाउन नसकेका कैदीहरूलाई छुटाउन पहल गर्‍यौं, तर जति पटक जेल भिजिट गर्न थाल्यौं, नयाँ–नयाँ समस्या देख्न थाल्यौं । कतै ट्वाइलेट छैन, कतै खानेपानीको समस्या छ । खेल मैदान छ तर खेल सामग्री छैनन् ।

 

पढ्न नपाएर मानिसहरू छट्पटाइरहेका छन् तर पढ्ने पुस्तक छैन । सरकारले कैदीबन्दीलाई दैनिक ४५ रुपैयाँ भत्ता दिन्छ । त्यही ४५ रुपैयाँमा जीवन चलाउनुपर्ने बाध्यता छ । ह्यान्डिक्राफ्ट वा कुनै पैसा कमाउने कला सिकाउने हो भने उनीहरूले पनि आफूले खान र लगाउन मन लागेको कुरा गर्न पाउँथे । यी सबै कुरालाई सम्बोधन गर्दै जेल भएका प्रत्येक जिल्लामा हामीले एक–एक जना व्यवस्थापक नियुक्त गर्न थालेका छौं । कतै खानेपानीको समस्या समाधान गर्न थालेका छौं, कतै लाइब्रेरी त कतै शौचालय बनाइदिन थालेका छौं ।

 

जेल र यससँग सम्बन्धित काम गर्ने संस्था दर्जनौं छन् तर किन जेल सुधार भैरहेका छैनन् ?
नेपालका ७४ वटा जेलमा १८ हजार कैदी छन् । यहाँ दुईवटा वाल सुधार केन्द्र छन् । जेलबाहिर रहेका आम जनताको समस्या त समाधान गर्न नसक्ने सरकारले कैदीहरूको समस्यामा ध्यान पुर्‍याउन नसक्नु सामान्य कुरा हो । जेलसँग सम्बन्धित केही संस्था नभएका होइनन् तर धेरै जेल, जेलभित्र दर्जनौं समस्या र जेलभित्र काम गर्न गाह्रो हुने भएकाले सजिलै काम हुन नसकेको हो । म आफैं जेल परेर त्यहाँ भित्रका समस्या र उनीहरूले भोग्ने मानसिक कुराहरू राम्रोसँग महसुस गर्न सकिरहेको छु ।

 

अरुले पूर्ण रूपमा त्यहाँ भित्रको समस्या बुझ्न कठिन छ । उनीहरू समाज र परिवारबाट बहिष्कृत छन् । धेरैजसोका आफन्त वा परिवार भेट्न समेत आउँदैनन् । यस्तोमा उनीहरूलाई अँगालो मारिदिने र आश्वासन दिने मानिस पाउनु पनि ठूलो कुरा हो । यो काम केही गैरसरकारी संस्थाले गरिररहेका छन् । हामीले ती सबै काममा हात हालेकाले हाम्रो दायरा धेरै फराकिलो छ । अर्को कुरा, हामीले कसैबाट पैसा जुटाएर नभै, आफ्नै पकेटमनी छुट्याएर काम गरेका छौं । त्यसैले हाम्रो संस्थाले काम गर्दा प्रपोजल लेख्ने, पैसा जुटाउने जस्ता काममा समय खेर फाल्नु पर्दैन ।

 

कहिलेसम्म जेलका समस्या समाधान गर्न तिर लाग्नुहुन्छ ?
बल्ल त जीवनको लक्ष्य फेला पर्‍यो, अब त सधैं यही काम गर्ने । देश–विदेशबाट राम्रो प्रतिक्रिया पाइरहेका छौं । हामीले विदेशका जेलमा रहेका नेपालीहरूका लागि पनि काम सुरु गरेका छौं । यसका लागि समस्या परेका प्रत्येक देशमा एक–एकजना प्रतिनिधि नियुक्त गरेका छौं । अब म आफ्नो     जीवन यसैमा लगाउनेछु । जीवनमा खान लगाउन समस्या छैन । सानोतिनो व्यापार गरेकै भरमा पनि जीवन चल्दो रहेछ । वास्तविक खुसी त जेलभित्र रहेका मानिसलाई हँसाउन सक्नुमा छ । त्यसका लागि म सधैं काम गरिरहनेछु ।

प्रकाशित :चैत्र ९, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्