अदालतमा छोडपत्र, घरमा सँगै

- आनन्द गौतम

चैत्र ८, २०७३-  

ताप्लेजुङका तारा साँवा तथा चन्द्रकला साँवा व्यवहारिक रूपमा श्रीमान्–श्रीमती हुन । उनीहरू एउटै घरमा बस्छन् । सँगै व्यवहार गर्छन् । चन्द्रकला खाना पकाउने तथा घरधन्दाको काम गर्छिन् । तारा पशुचौपाया स्याहार एवं अलैंची बगानको हेरचाह गर्छन् भने भेडाबाख्रासमेत चराउँछन् । तारा चन्द्रकलालाई तिमी भनेर सम्बोधन गर्छन्, चन्द्रकला तपाईं । पूर्वी नेपालका गाउँमा श्रीमान्–श्रीमतीबीच हुने सम्वोधन हो यो, तर उनीहरू कानुनी रूपमा दम्पती भने होइनन् ।

 

२०५१ साल फागुनमा नौमती बाजा तथा च्याब्रुङ बजाएर जोर नाल बन्दुक पड्काउँदै लिम्बू संस्कृति र संस्कारअनुसार उनीहरूको सम्बन्ध जोडिएको थियो । त्यो सम्बन्ध व्यवहारिक रूपमा अहिले पनि त्यस्तै छ । सँगै जिउने, सँगै मर्ने कसम खाएका दुवैले व्यवहारमा आफूलाई त्यसरी नै प्रस्तुत गरिरहेका छन्, तर कानुनी रूपमा भने २०६७ सालमै उनीहरूबीचको सम्बन्ध तोडिएको छ । चन्द्रकलाको अनुरोधमा जिल्ला अदालत ताप्लेजुङले उनीहरूको सम्बन्ध–बिच्छेद गरिदिएको हो, जुन सम्बन्ध फेरि जोडिएको छैन । 

 

दुई छोराका अभिभावक साँवा दम्पतीले रिसइबी वा झैझगडा भएर सम्बन्ध तोडेका भने होइनन् । वैदेशिक रोजगारीको मोह बढेका बेला तारा हङकङ जान पाउने भए । उनले गाउँमा बसिरहनु भन्दा उतै जाने निधो गरे । चन्द्रकलाले पनि उनको निर्णयमा साथ दिइन् । हङकङ जान चन्द्रकलासँग सम्बन्ध–बिच्छेद गरी हङकङ आइडी भएकी युवतीसँग विवाह गर्नुपर्ने थियो । त्यही प्रयोजनका लागि चन्द्रकलाले श्रीमान्ले कुटपिट गर्ने, दुव्र्यवहार गर्ने जस्ता समस्या दर्साउदै छोडपत्रका लागि निवेदन दिइन् । छोराछोरी बाबुले नै हेर्ने गरी भएको उक्त छोडपत्र अहिलेसम्म पनि कायम छ ।
यद्यपि तारा चन्द्रकलालाई छोडेर हङकङ जान पाएनन् । मलाई लाने भनिएकी युवतीको बीचैमा मृत्यु भयो । त्यसपछि उता जाने योजना तुहियो, ताराले भने— उता पनि सम्बन्ध जोडिएन, यता पनि जोडिएको छैन । दुई छोरा प्रज्वल र पुजन पनि सँगै छन् । अव सम्बन्ध जोडिँदैन भन्ने भएर त्यत्तिकै बसेको ताराले बताए ।

 

कानुन व्यवसायी राम थापाका अनुसार यसरी जानाजान छोडपत्र गर्नेहरूको संख्या थोरै मात्र छ । थापा भन्छन्, ‘अब उनीहरूले फेरि सम्बन्ध जोड्न गाविसमा गएर विवाह दर्ता गराउनुपर्छ ।’ पहिले छोडपत्र गर्दा छोराछोरीको अभिलेख हुने भएकाले छोराछोरीका विषयमा केही समस्या नहुने थापाले बताए । 

प्रकाशित :चैत्र ८, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्