पोखरामा बढ्दैछन् संगीत सिक्नेहरु...

- राजाराम पौडेल

चैत्र ७, २०७३-  

संगीतका लागि उर्वर भूमि मानिएको पोखरामा अहिले संगीतको औपचारिक प्रशिक्षण लिने क्रम ह्वात्तै बढेको छ । प्रशिक्षण लिएर सांगीतिक क्षेत्रमा सक्रिय हुन खोज्ने युवापुस्ताको चाहनाअनुसार यतिबेला पोखरामा झन्डै एक दर्जन संगीत प्रशिक्षण केन्द्र सक्रिय छन् ।

 

पोखरामा अहिले त्रिवेणी संगीतालय, जोजिजु म्युजिक सेन्टर रानीपौवा र चिप्लेढुङ्गा, संगीत प्रशिक्षण केन्द्र विध्यवासीनी, जेइ म्युजिक सेन्टर, गुरुकुल संगीत पाठशाला, तराना म्युजिक सेन्टर, पोखरा म्युजिकल हाउस आदिले संगीतका नयाँ प्रतिभाहरूलाई प्रशिक्षण दिइरहेका छन् । संगीत सिक्नेहरूको संख्या बढेसंगै संगीत सिकाएर जीवन धान्न केही संगीतकर्मीलाई सहज स्थिति सिर्जना भएको छ । यी केन्द्रहरूमा महिनाको एक हजार देखि पच्चिस सय रुपैयाँसम्म शुल्क लिइन्छ । नीजि विद्यालयहरूमा समेत संगीत प्रशिक्षक राख्न थालिएकाले संगीत प्रशिक्षण केन्द्रमा प्रशिक्षकको अभावसमेत देखिँदैछ ।

 

पोखरामा नवराज बराल र सुनिल बरालले त्रिवेणी संगीतालयमा, विनित जोजिजु र करण तामाङले जोजिजु म्युजिक सेन्टरमा, रामभक्त जोजिजु र इतु जोजिुजुले जेइ म्युजिक सेन्टरमा, तीर्थराज पोखरेलले गुरुकुल संगीत पाठशाला, श्रीमान थुलुङले तराना म्युजिक सेन्टरमा, काजिमान तामाङले पोखरा म्युजिकल हाउसमा, रोम तामाङ, धनबहादुर गायक, राजा मुखियाले संगीत प्रशिक्षण केन्द्रमा संगीतका विभिन्न विधाको ज्ञान दिइरहेका छन् ।

 

नयाँ प्रतिभालाई सजिलो होस् भन्ने उद्देश्यले २०६० सालमा जोजिजू म्युजिक सेन्टर/म्यूजिक स्कूल स्थापना गरी नवप्रतिभालाई अघि बढ्न हौसला प्रदान गरिरहेका संगीतकर्मी विनीत जोजिजु संगीत जीवनको अभिन्न अंग भएको कुरा बताउँछन् । शास्त्रीय संगीतअन्तर्गत गायन, तबला, बाँसुरी, पश्चिमेली संगीतअन्र्तगत ड्रम, गीतार, कि–बोर्ड भ्वाइलेन तथा नेपाली संगीतमा सारङ्गी, मादल आदिको प्रशिक्षण दिइने उनले जानकारी दिए ।

 

केही अघिसम्म लोकगीत, दोहोरीगीत तथा पपगीत सिक्नेहरूको संख्या बढी भएको तर हाल क्लासीकल अनि सुगम संगीततर्फ समेत आकर्षण वृद्धि भएको विनीत बताउँछन् । हाल आफूले मासिक रूपमा १ सय भन्दा बढीलाई संगीत सिकाउने उनले जानकारी दिए । सयपत्री संगीत प्रशिक्षण केन्द्रमा ९ वर्ष संगीत प्रशिक्षकका रूपमा काम गरीसकेका तथा विगत चार वर्षदेखि तराना म्युजिक सेन्टर संगीत सिकाइरहेका श्रीमान थुलुङ युवा पुस्तामा संगीतप्रतिको आकर्षण निकै बढेको बताउँछन् ।

 

२०५० सालदेखि संगीत सिकाउन थालेका संगीतकर्मी नवराज बरालले पहिले सयपत्री संगीत प्रशिक्षण केन्द्र तथा जोजिजू म्युजिक सेन्टर रानीपौवामा लामो समयसम्म संगीत सिकाएपश्चात् २०६१ मा आफैले त्रिवेणी संगीतालय स्थापना गरेका हुन् । करिब सात हजार जनालाई संगीत सिकाइसकेका बरालले मासिक ८० जनालाई प्रशिक्षण दिँदै आएका छन् । भारतको बनारसमा संगीत अध्ययन गरी पोखरामा व्यवसायिक रूपमा संगीत सिकाइरहेका संगीतकर्मी तीर्थराज पोखरेल संगीत सिक्ने चार्म पहिलेभन्दा बढेको बताउँछन् ।

प्रकाशित: चैत्र ७, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्