जेलको अलग संसार

- जनक तिमिल्सिना

चैत्र ७, २०७३-  

सामान्य मानिसका लागि सुन्दै कठिन र डरलाग्दो लाग्छ— जेल । स्वतन्त्र जीवनको अवसानबाट सुरु हुने जेल जीवन डरको कारण बन्नु अस्वभाविक पनि होइन । अग्लो पर्खालभित्रको सीमितता, भिन्न नियम, कडा अनुशासन, आर्थिक अभाव, फरक स्वभाव र भिन्न विशेषता बोकेका व्यक्तिसँगको सहकार्यजस्ता कारणले पनि जेललाई बाह्य संसारभन्दा अलग र भिन्न बनाएको छ । 

 

‘सिरियल बिकिनी किलर’ चाल्र्स शोभराज केन्द्रीय कारागारको गोलघरमा २०६० देखि बन्दी जीवन बिताइरहेका छन् । निकै चतुर र खुराफाती दिमाग भएकाले उनलाई विशेष सुरक्षा व्यवस्थासहित गोलघरमा राखिएको हो । धेरै समय टिभी हेरेर बिताउने चाल्र्स बाँकी समय फोन एवं भेटघाटमा बिताउँछन् । कहिलेकाहीं मेसमा समेत खाना खाने उनी बाहिरबाट आउने ड्राई फुड पनि उत्तिकै प्रयोग गर्छन् । युवावस्थामा क्राइम गर्दै डुलेर हिड्ने उनको संसार ७२ वर्षको उमेरमा निकै साघुरिएको छ । अहिलेको उनको सिंगो संसार केन्द्रीय कारागारको गोलघर हो । 

 

दीपक सुनार (३२) को संसार एकदमै सानो छ । नौ वर्षदेखि उनी डिल्लीबजार सदरखोरको सानो र चापयुक्त संसारमा एकनासको जिन्दगी बिताइरहेका छन् । साढे ४ बजे नै उठ्ने दीपकको वास्तविक दैनिकी ७ बजेपछि मात्र प्रारम्भ हुन्छ । उनी मेन गेटभित्रै नित्यकर्म सक्छन् । सुनार त्यस क्रममा शारीरिक अभ्यास गर्छन्, ब्याडमिन्टन खेल्छन् । नुहाएपछि पूजापाठ गर्छन् । सुनार काठमाडौंको एक रेस्टुराँमा भएको झगडामा एक जनाको ज्यान गएपछि कर्तव्य ज्यान मुद्दामा नौ वर्षअघि जेल परेका थिए । उनी डिल्लीबजार सदरखोरको एउटा ब्लकका चौकीदार हुन् । नित्यकर्मबाहेक बचेको समय उनी आफ्नो ब्लकको आन्तरिक व्यवस्थापन मिलाउने काममा तल्लीन हुन्छन्, जसका कारण उनको हिंडडुल तथा भेटघाटको दायरा अरूभन्दा अलि फराकिलो छ । अरू धेरै बन्दीले भने यति सुविधा पनि पाउँदैनन् । अन्य बन्दीहरू साँघुरो घेरामा रहेर बाँसको मुढा बनाउने, पत्रपत्रिका एवं पुस्तक पढ्ने, कपडा सिलाइ–बुनाइ गर्ने, लेख्ने जस्ता विविध काम गरेर दिन बिताउँछन् । 

केन्द्रिय महिला कारागार / तस्विर : एजेन्सी 

२०६२ वैशाख १८ मा ५ जनाको ज्यान जाने गरी भएको जनकपुर बमकाण्डमा संलग्न सद्भावना पार्टीका उपाध्यक्ष तथा पूर्वराज्यमन्त्री सञ्जय साहले डिल्लीबजार सदरखोरमा केही समय बिताए । रमाइलो त के छ भने साह जेलभित्र अधिकांश समय पूजापाठमै बिताउँथे । ‘सञ्जयजी दिनको झन्डै पाँच–छ घण्टा त पूजापाठमै बिताउनुहुन्थ्यो,’ डिल्लीबजारमा उनीसँगै रहेका कैदी राजेन्द्रप्रसाद केसरीले भने । दीपकको भन्दा अलि पृथक् दैनिकी छ, नख्खुस्थित जेलमा १२ वर्षको कैद सजाय भोगिरहेका नुवाकोटका प्रमोद थापा (३२) को । २०६६ सालमा अपहरण तथा लागूऔषध अपराधमा पक्राउ परेपछि जेल सजाय भोगिरहेका प्रमोद साढे ५ बजे उठ्छन् । त्यसपछि जिम जान्छन्, नुहाइधुवाइ गर्छन् । जेलभित्रै बीबीएस पढिरहेका उनको बाँकी समय खेलकुद र अध्ययनमा बित्छ । 

 

सुन्धारास्थित केन्द्रीय कारागारमा ११ वर्षदेखि बन्दी जीवन बिताइरहेकी सिन्धुपाल्चोककी सन्ध्या तामाङ (३१) को दिनचर्या अझ भिन्न छ । १९ वर्षकै उमेरमा साथीहरूसँगै काठमाडौंको एक गेस्ट हाउसबाट १ केजी ब्राउन सुगरसहित पक्राउ परेपछि उनलाई अदालतले १५ वर्षको जेल सजाय सुनाएको थियो । जेलभित्र सन्ध्या प्राय:जसो कपडा सिलाउने काम गर्छिन् ।  कहाँबाट पक्राउ परेकी थिएँ भन्नेसमेत थाहा नभएको बताउने संध्याले भनिन्, ‘अरू पनि काम गरिरहेकी हुन्छु । आम्दानी पनि राम्रै भैरहेको छ ।’ उनले जेलभित्रै ब्युटिपार्लर, बेकरीको तालिम पनि लिइसकेकी छिन् । 

 

उपत्यकाका तीन फरक जेलभित्र आफ्नो अपराधको सजाय भोगिरहेका पात्र हुन्— दीपक, प्रमोद र सन्ध्या, जसले पर्खालभित्रको सानो तथा अलग संसारमा आफूलाई अभ्यस्त गराइसकेका छन् । कारागार ब्यवस्थापन विभागको माघको तथ्यांकअनुसार उपत्यका तीन जेलमा रहेका झन्डै ४ हजार बढी कैदी/बन्दीको दैनिकी पनि यसभन्दा फरक छैन । बन्दीहरूका लागि जेलभित्रै पुस्तकालय, क्यान्टिन, क्याफेदेखि चौबीसै घण्टा उपचारको व्यवस्थासमेत उपलब्ध गराइएको जेल प्रशासनका अधिकारीहरू बताउँछन् । उनीहरूलाई आफ्नो ब्लकमा घुम्ने, उपलब्ध भएको मनपर्ने खेल खेल्ने, टिभी हेर्ने, पुस्तक पढ्ने तथा सीपमूलक तालिम लिने अवसर उपलब्ध छन् । 

रसुवा कारागार / तस्विर : एजेन्सी 

बन्दीहरूकै लागि भनेर कहिलेकाहीं विभिन्न आईएनजीओ, एनजीओहरूले सीपमूलक तालिमहरूसमेत सञ्चालन गर्छन् । जसमा सिलाइकटाइ, पर्स बनाउने, कपडा बुन्ने, पोते बुन्ने, इलेक्ट्रिकल, प्लम्बिङ, बेकरी, ब्युटिसियन, पेन्टिङ आदि प्रमुख भएको केन्द्रीय कारागारका शाखा अधिकृत श्रवण साह बताउँछन् । यस्ता तालिमले सरकारले दैनिक दिने ४५ रुपैयाँ सिदाका कारण असहज बनिरहेको कैदीहरूको आर्थिक जीवन सहज बनाउन टेवा पुगिरहेको छ । कैदीहरूको स्वास्थ्यलाई ध्यान दिँदै तीनवटै जेल प्रशासनले जेलभित्र नै  उपचारको व्यवस्थासमेत गरेका छन् ।  थप उपचारका लागि भने सरकारी अस्पतालमा पुर्‍याइन्छ । बिरामी बस्ने ठाउँको अवस्था भने सबै जेलहरुमा दयनीय छ । 

 

काठमाडौंको डिल्लीबजारस्थित जेलका लेखा अधिकृत सन्तोष दाहाल जेल भिन्दै संसार भएकाले आफूहरूले बन्दीहरूलाई त्यहीअनुसार परामर्श दिने गरेको बताउँछन् । ‘सुधारगृहका रूपमा हामीले बन्दीहरूलाई परामर्श दिने गरेका छौं,’ दाहालले भने । जेलजीवन बिताइरहेकाहरू बाहिरी संसारको स्वतन्त्रता र घरपरिवार सबैभन्दा बढी मिस हुने बताउँछन् । सात वर्षदेखि सेन्ट्रल जेलमा सजाय भोगिरहेकी काठमाडौं सीतापाइलाकी अनिला लामा (३१) लाई आफ्नै गल्तीले बच्चाहरूसँग बिछोडिनुपरेकोमा सबैभन्दा बढी ग्लानी हुन्छ । ब्राउन सुगर प्रयोग गरेका कारण पक्राउ परेकी लामाका १४ वर्षका छोरा तथा १२ वर्षकी छोरी छन् । ‘छोराछोरी सम्झेर साह्रै नियास्रो लाग्छ,’ साप्ताहिकसँगको कुराकानीमा उनले भनिन्, ‘जिन्दगीमा अब भुलेर पनि यस्तो गल्ती गर्दिनँ ।’ कतिपय कैदीबन्दी भने आफ्नो प्रगति र समय बर्बाद भएकोमा चिन्तित देखिन्छन् । युनिटीकाण्डमा जेल परेका चितवनका भीम गुरुङ (४७) आफ्नो समय बर्बाद भएकोमा सबैभन्दा दु:ख लागेको बताउँछन् । ‘६ वर्ष समय बर्बाद भएकोमा निकै दु:खी छु,’ उनले भने, ‘जेललाई मैले अर्को विश्वविद्यालयका रूपमा बुझेको छु ।’ उनी जेलभित्रै ‘युनिटी विथ माई प्रिजन जर्नी’ शीर्षकको पुस्तक लेखिरहेका छन् । 

 

छुट्टै आन्तरिक प्रशासन 
कारागारभित्र बन्दीहरूको छुट्टै आन्तरिक प्रशासन छ । हरेक वर्ष असार मसान्तपछि चौकीदार, नाइके तथा भाइ नाइकेको चयन कैदीहरूको संख्याका आधारमा हुन्छ । जेलको आन्तरिक प्रशासनको सबैभन्दा ठूलो व्यक्ति चौकीदार हो । कारागारमा एउटा वा ब्लक भएको कारागारमा ब्लकको नेतृत्व गर्न चौकीदार तोकिएको हुन्छ । चौकीदारभन्दा तल २५ जना कैदी बराबर एक नाइके तोकिन्छन् भने त्यसभन्दा तल १० जना बन्दी बराबर एक भाइ–नाइके वा सह–नाइकेको व्यवस्था गरिएको हुन्छ । 

 

दैनिक आवश्यकता पूर्ति, रेखदेख, बसोबासको प्रबन्ध, आन्तरिक शान्ति–सुरक्षाको व्यवस्थापन, मेसहरूको सञ्चालन, बिरामीहरूको व्यवस्थापनलगायत जेलभित्रका सबै आन्तरिक कार्य यही आन्तरिक प्रशासनले हेर्छ । पानी, सरसफाइ, भान्सा, आर्थिक, बिजुली, पुस्तकालय, टेलिफोन, खाद्यान्नजस्ता नाइकेहरू तोकिएका हुन्छन् । ती नाइकेले नै जेलका ती पक्ष कमाण्ड गरिरहेका हुन्छन् ।जेलभित्रको आन्तरिक प्रशासन सम्हालेबापत चौकीदारलाई वर्षमा दुई महिना जेल सजाय मिनाहा र मासिक ४५ रुपैयाँ तलब प्रदान गरिन्छ । नाइकेले महिनामा ३० रुपैयाँ तलब, वर्षमा ४५ दिन सजाय मिनाहा पाउँछन् भने सह–नाइकेलाई मासिक २८ रुपैयाँ तलब तथा १ महिना जेलसजाय मिनाहा आन्तरिक प्रशासन सम्हालेबापत सुविधाका रूपमा प्राप्त गर्छन् । 

 

विद्यालयदेखि जिमहलसम्म 
 काठमाडौं उपत्यकाका जेलभित्र अध्ययन सामग्रीका लागि पुस्तकालय, शारीरिक अभ्यास गर्न जिम हल, टेलिफोन, खेलकुद मैदान जस्ता सुविधा उपलब्ध छन् । भलै, ती बन्दीको संख्याको अनुपात र ठाउँका हिसाबले अनुकूल र पर्याप्त छैनन् । डिल्लीबजारस्थित जेलमा तीनवटा पुस्तकालय, क्याफे तथा पसलहरू छन् । खेलकुद मैदान, हिन्दू तथा बौद्ध मन्दिर जेलभित्रै छ । इन्डोर गेमहरू ब्याडमिन्टन, क्यारेमबोर्ड, टेबलटेनिस, लुडो, पुल स्नुकरलगायतका खेल खेल्ने वातावरण उपत्यकाका तीनवटै जेलभित्र छ ।  केन्द्रीय कारागारमा बन्दीहरूकै लागि कक्षा १ देखि प्लस टुसम्मकै विद्यालय सञ्चालन गरिएको छ । यसबाहेक तीनवटा पुस्तकालय, खेलकुद मैदानका साथै बन्दीहरूले सञ्चालन गरेका पसलहरूसमेत छन् । केन्द्रीय कारागारमा बन्दीहरूका लागि छुट्टै अस्पताल पनि छ । 

 

जेलभित्रै सञ्चालन गरिएका विद्यालयमा सीमित स्रोतसाधन, समयको व्यवस्थापनजस्ता समस्या छन् । ‘भेटघाट सहज हुँदैन । स्रोतहरू सीमित छन्,’ केन्द्रीय कारागारमा कैदीहरूका लागि सञ्चालन गरिएको जगन्नाथ माविका प्रधानाध्यापक अनुप श्रेष्ठले भने, ‘उच्च शिक्षा अध्ययन गर्ने अवसर त छ, तर विद्यार्थीले पढिसकेपछि सेफ ल्यान्डिङ कहाँ गर्ने ? भन्ने प्रश्न पनि छ ।’ ललितपुरको नख्खु जेलभित्र ८ कक्षासम्मको पढाइ हुन्छ । नख्खुस्थित जेलका जेलर टेकबहादुर केसी आफूहरूले सक्नेजत्तिकै सबै सुविधा बन्दीहरूलाई उपलब्ध गराइरहेको बताए । ‘हामीले सक्नेजति सबै सुविधा उपलब्ध गराइरहेका छौं,’ उनले भने, ‘नख्खुजेल केही खुला छ र बस्ने ठाउँ पनि राम्रो छ ।’ नख्खुमा बन्दीहरूका लागि तीनवटा जिम हलको समेत व्यवस्था रहेको उनको भनाइ छ । त्यहाँ अध्यात्मको कक्षासमेत सञ्चालन गर्न थालिएको छ । 

यस्ता सुविधाहरूले जेल जीवनलाई सहज बनाएको मान्छन्, बहुचर्चित रोजी हत्याकाण्डमा संलग्न रहेका कारण कर्तव्य ज्यानमा मुद्दामा जेलजीवन भोगिरहेका कुमार तामाङ (३०) । ‘यो बाहिरको भन्दा छुट्टै र फरक संसार हो । बुझेर बस्यो र आफूलाई क्रियाशील राख्न सकियो भने सहज नै छ,’ उनी भन्छन्, ‘तनाव लिएर बस्नेहरूलाई गाह्रो छ ।’ उनी जेलभित्रै फर्निचर बनाउने, कपडा बुन्ने, मैनबत्ती बनाउने, पर्स बनाउने काममा गर्न छुट रहेको बताउँछन् । स्व–अध्ययनमा शिक्षा हासिल गर्नेहरूका लागि परीक्षा दिने व्यवस्था पनि जेल प्रशासनले मिलाइदिने गरेको छ ।
 

समस्या पनि उस्तै 
मुलुकका ७२ जिल्लामा अहिले ७४ वटा कारागार सञ्चालनमा छन् । तर, धेरै जेलको अवस्था नाजुक छ । सानो भौगोलिक संरचना, बन्दीहरूको चाप, भूकम्पले भत्किएका संरचनाको निर्माणमा ढिलाइ, सुत्नका लागि अपर्याप्तता, विरामीको रेखदेखको अभाव, एकदमै कम सिदा रकमजस्ता समस्यासँग काठमाडौंमात्र होइन, देशैभरिका बन्दीहरू जुधिरहेका छन् । केन्द्रीय कारागार जगन्नाथ देवलको क्षमताभन्दा दोब्बर बढी कैदी/बन्दी छन् ।  १ हजार ५ सय क्षमता रहेपनि त्यहाँ २ हजार ५ सय बढी कैदी छन् । 

 

कर्तव्य ज्यान मुद्दामा आठ वर्षदेखि केन्द्रीय कारागारमा बसिरहेका गोरखाका रेशम पुलामी (३३) पनि जेलको बसाइ असहज ठान्छन् । ‘जेलको बसाइ निकै गाह्रो छ,’ उनी भन्छन्, ‘एउटै कोठामा ८५ देखि ९६ जनासम्म बस्नुपरिरहेको छ ।’ भीडभाड देखिने केन्द्रीय कारागारमा भूकम्पपछि बिरामीहरू राख्न बनाइएको टहरामा मार्मिक दृश्य देख्दा जो–कोहीको मन भावुक बनेर आउँछ ।  केन्द्रीय कारागारमा कैदीहरूका लागि ओहोर–दोहोर गर्ने खुल्ला क्षेत्रको मात्र अभाव छैन, १६ सयभन्दा बढी कैदीका लागि पर्याप्त ट्वाइलेट, बाथरुम तथा खानेपानीको पनि समस्या छ । 

 

काठमाडौंका तीन जेलका झन्डै एक दर्जन बन्दीसँग साप्ताहिकले गरेको कुराकानीका क्रममा पनि उनीहरूले सिदा रकमका रूपमा दैनिक पाउने ४५ रुपैयाँ अपर्याप्त भएको गुनासो गरे । यही ४५ रुपैयाँबाट बन्दीहरूले दैनिक उपभोग्य सामान ब्रस, साबुन, तेल, दाल, तरकारी, मसला तथा खाजाको जोहो गर्नुपर्छ । सरकारले बन्दीहरूलाई वर्षमा दुई पटक गर्मी याम र जाडो याममा लुगा वितरण गर्छ भने प्रत्येक २ वर्षमा एकपटक सिरक, डस्ना तथा तन्ना दिन्छ । 

धुलिखेल कारागार /तस्विर : कल्पना खनाल 

कैदीहरूले दसैं तथा चाडपर्व खर्चका रूपमा ३ सय रुपैयाँ पाउने गरेका छन् । दैनिक रूपमा दिइने ७ सय ग्राम चामल पर्याप्त भए पनि सिदा रकम भनिने दैनिक नगद नपुगेको भन्दै केन्द्रीय कारागारमा बन्दी जीवन बिताइरहेका चाल्र्स शोभराजले सर्वोच्चमा मुद्दा नै हालेका थिए । उक्त मुद्दामाथि सुनुवाइ गर्दै सर्वोच्चले सिदा रकम पुनरावलोकन गर्न निर्देशन दिइसकेको छ । 

 

यद्यपि अदालतको उक्त आदेशलाई सरकारले कार्यान्वयनमा ल्याइसकेको छैन । कारागारभित्र जेलर र चौकीदार मिलेर खाद्यान्न र पैसामा शोषण गर्ने भन्दै बेला–बेलामा असन्तुष्टि पनि सुनिने गरेको छ । कतिपय अवस्थामा जेलजीवन बिताइरहेका महिलाहरूका नाबालक सन्तानको पनि उचित प्रबन्ध भएको देखिँदैन । केही एनजीओ तथा आईएनजीओहरूले त्यस्ता बालबालिकालाई पढाइरहेका भए पनि त्यो अझै अपर्याप्त देखिन्छ । उपत्यकाबाहिरका केही जेलको अवस्था त अझ भयावह छ । केही महिला पहिले मात्र राष्ट्रिय मानवअधिकार आयोगले खोटाङ, ओखलढुंगा, सोलखुम्बु भोजपुरको कारागार, हिरासत र न्याय प्रशासनको अवस्था एकदमै नाजुक रहेको प्रतिवेदन सार्वजनिक गरेको छ ।

 

जेलले ल्याएको परिवर्तन 
जेलभित्र लामो समय रहेका कैदीहरू आफू छुटेलगत्तै विभिन्न काम गर्ने योजना र सपना छन् । ०६२ सालमा काठमाडौंमा प्लस टु अध्ययनरत छँदै बाराका राजेन्द्रप्रसाद केसरी (३४) ड्रग्स सप्लाईका क्रममा कोठैबाट पक्राउ परे । त्यसपछि उनलाई अदालतले १५ वर्षको जेलसजाय गर्‍यो । जेल पुगेपछि छात्र केसरीले आफ्नो गल्ती महसुस गरे । जेलभित्र लेख्ने, पढ्नेहरू कम थिए । त्यसैले उनी अन्य कैदीहरूका निवेदन लेख्ने, निवेदन पढ्ने, कानुनी सल्लाहकार राख्न नसक्ने कैदीहरूलाई सहयोग गर्ने काम गर्न थाले।

 

डिल्लीबजारस्थित कारागारमा १२ वर्ष बिताउँदा उनले आफूमा धेरै परिवर्तन आएको बताए । ‘आफूलाई निकै सुधार्ने अवसर पाएको छु,’ उनले भने, ‘मैले स्नातक र स्नातकोत्तर स्तरको अध्ययन पूरा गरें ।’  
नाइके भएका कारण उनको सजाय अवधि वार्षिक डेढ महिना घटिरहेको छ । जेल सजाय सकिन अढाई वर्ष बाँकी रहेका राजेन्द्र जेलबाटै एलएलबी सकेर बाहिर निस्किएपछि वकिल बन्न चाहन्छन् । ‘मेरो यहाँको काम भनेको सामान्य प्रशासन र कानुनमन्त्रीको जस्तै हो,’ उनले भने, ‘यो अनुभवले मलाई वकिल बन्न सहयोग पुर्‍याउँछ ।’ 

 

सुन्धारास्थित केन्द्रीय कारागारमा रहेकी सन्ध्या भने जेलबाट छुटेलगत्तै विवाह गर्ने योजनामा छिन् । ‘साथीहरूको लहैलहैमा लागेर प्लस टु नसक्दै जेल परे,’ उनले भनिन्, ‘१५ वर्षको जेल सजाय काट्दा विहे गर्ने उमेर नै घर्किसक्यो । जेलबाट निस्किएलगत्तै पहिलो योजना विवाह गर्ने हो ।’ साथीको लहैलहैमा लागेर यस्तो अवस्थामा आइपुग्नु परेको बताउँदै उनले कहिल्यै भुलेर पनि अब यस्ता कार्यमा नलाग्ने बताइन्। 

 

युनिटीकाण्डमा जेल परेका भीम गुरुङ चितवनको नारायणी र राप्तीको दोभानमा कलात्मक बेम्बो रिसोर्ट बनाउने योजना बनाइरहेका छन् । ‘रिसोर्टको कलात्मक डिजाइन तयार पारिरहेको छु,’ उनले भने, ‘नारायणघाट–गोलाघाट–जगतपुर साइकल ट्रयाक बनाउने रहर छ ।’

 

 

जेलभित्रका सांगीतिक कार्यक्रमले ट्रिटमेन्टको काम गर्छ 

सुमित खड्का, पेसाले गायक हुन् । ३० वर्षदेखि गायन क्षेत्रमा सक्रिय खड्का अरू कलाकारहरूभन्दा फरक कारागार र गाउँ–गाउँमा पुगेर सांगीतिक कार्यक्रम गर्छन् । दुई दर्जन चलचित्रका गीतमा आफ्नो स्वर दिइसकेका यी गायक राष्ट्रिय भावका गीत गाउन रुचाउँछन् । मोरङ कारागारबाट जेलभित्र सांस्कृतिक कार्यक्रम गर्न थालेका खड्का अहिले इटहरीस्थित झुम्का कारागारमा नियमित रूपमा वर्षमा चारवटा सांगीतिक कार्यक्रम प्रस्तुत गरिरहेका छन् । ती सांगीतिक कार्यक्रमले ट्रिटमेन्टको काम गर्ने उनको बुझाइ छ । 

 

कहिलेदेखि जेलमा सांगीतिक कार्यक्रम सञ्चालन गर्दै हुनुहुन्छ ? 
विगत १० वर्षदेखि जेलमा सांगीतिक कार्यक्रम दिइरहेको छु । मोरङ जेलमा आजभन्दा १० वर्ष पहिले पहिलो सांगीतिक कार्यक्रम प्रस्तुत गरेको थिए । त्यहाँ नियमित रूपमा तीन वर्ष प्रस्तुति दिएँ । त्यसपछि विगत तीन वर्षदेखि नियमित रूपमा झुम्का जेलमा कार्यक्रम गर्दै आएको छु । 

 

जेलमा सांगीतिक कार्यक्रम गर्ने योजना किन बनाउनुभयो ? 
म अरूभन्दा फरक गर्ने सोच भएको कलाकार हुँ । कैदीहरू बाहिर निस्कन पाउँदैनन्, उनीहरूको दिमाग मोनोटोनस भएको हुन्छ । खासगरी कलाकार प्रकाश ओझा पहिलोपटक जेल परेपछि ममा यो कन्सेप्ट फुरेको हो । जेल जीवन बिताइरहेकाहरूका लागि यो म्युजिकल ट्रिटमेन्ट हो । मेरो कार्यक्रमले म्युजिकल ट्रिटमेन्टको कार्य गरिरहेको छ । 

 

जेलसँग कसरी समन्वय गर्नुभयो ? 
जेलरमार्फत जिल्ला प्रशासनले कार्यक्रमका लागि स्वीकृति दिन्छ । भित्रको कार्यक्रमको म्यानेजमेन्टका लागि चौकीदारहरूले सहयोग गर्छन् । 

 

क–कसलाई लिएर कार्यक्रम दिनुभयो ? 
गाउने, हँसाउने टिम नै लिएर कार्यक्रम गर्छु । कोमल वली, ज्योति मगर, मिलन अमात्य, प्राश्ना शाक्य, मनोज गजुरेल, आस्था राउत, माण्डवी त्रिपाठी, जुना प्रसाईं आदि कलाकारलाई लिएर मैले जेलभित्र सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिसकेको छु । 

 

जेलभित्र सांस्कृतिक कार्यक्रम गर्दा कस्तो अनुभव गर्नुहुन्छ ? 
कलाकारहरूले जेलभित्र पुगेर कार्यक्रम दिँदा उनीहरू निकै खुसी हुन्छन् । जेलभित्रका जस्तो कार्यक्रम नेपालबाहिर कतै पनि हुँदैन, त्यहाँ त्यति अनुशासनमा कार्यक्रम हुन्छ । झुम्का कारागारमा १६–१७ सय कैदी–बन्दी छन् । उनीहरू दुईवटा ब्लकमा बाँडिएका छन् । त्यहाँ ब्लकअनुसार छुट्टाछुट्टै कार्यक्रम हुन्छन् । हामी कलाकारहरू त्यहाँ कार्यक्रम गर्दा निकै आनन्द महसुस गर्छाैं । 

 

कार्यक्रमको खर्च कसरी जुटाउनुहुन्छ ? 
कैदी बन्दीहरूले १०, २० तथा ५० रुपैयाँ स्वेच्छाले दिनुहुन्छ । केही गन्यमान्य व्यक्तिले पनि फण्डिङ गरिदिनुहुन्छ । 

 

वातावरण कस्तो पाउनुभयो ? 
त्यहाँभित्र छिरेपछि त मलाई सबैभन्दा राम्रा मान्छे त जेलभित्रै हुन्छन् कि जस्तो लाग्छ । उनीहरू एकदमै अनुशासनमा हुन्छन् । यस्ता राम्रा मान्छे कसरी जेल परे होलान्, यिनीहरूले कसरी अपराध गरे होलान जस्तो लाग्छ । 

 

झुम्कामा एक वर्षमा कतिवटा कार्यक्रम गर्नुहुन्छ ? 
चाडवाडको अवसर पारेर चार वटा कार्यक्रम हुन्छन् । तिहारमा मोरङ कारागारमा पनि कार्यक्रम चलाए । चाडबाडका अवसरमा कैदीहरू छुट्ने भएकाले उनीहरूलाई बिदाइजस्तो पनि हुन्छ । 

 

विस्तार गर्ने योजना छ कि ? 
हो, अरू जेलमा पनि कुरा भैरहेको छ । 

 

झुम्का कारागार के कारणले रोज्नुभयो ? 
झुम्का कारागार नेपालकै नमुना कारागार हो । त्यहाँ बन्दीहरूलाई सुविधा छ । संगीत सिक्नेलाई संगीत, खेलकुदमा लाग्नेलाई खेलकुद, पढ्नेलाई पढने वातावरण । त्यहाँ आध्यात्मिक कार्यक्रमहरू पनि हुन्छन् । त्यहाँ धेरै पेसाकर्मी पनि छन् । ती सबै आ–आफ्नो पेसा पनि गरिरहेका छन् । 

 

जेलभित्र कार्यक्रम गर्दा कस्ता अप्ठ्यारा आउँछन् ? 
समयको एकदमै ख्याल गर्नुपर्छ । त्यहाँ निश्चित समयमा भित्र छिर्नुपर्छ र निश्चित समयमा कार्यक्रम सकेर बाहिर निस्कनुपर्छ । हामी प्राय:जसो १० बजे जेलमा प्रवेश गर्छौं भने ४ बजेभित्र कार्यक्रम सक्नैपर्छ । 

नख्खु जेल /तस्विर : नवराज वाग्ले 

नेपालमा जेल
कुल जेल संख्या : ७४
जेल भएका जिल्ला : ७२
२–२ वटा जेल भएका जिल्ला : काठमाडौं र दाङ
जेल नभएका जिल्ला : धनुषा, भक्तपुर र बारा
नमुना कारागार : इलाम
देशभरका जेलको कुल क्षमता : ७ हजार १ सय 
देशभरका कैदी बन्दीको संख्या : १९ हजार ८ सय ७३ 
(केन्द्रीय कारागार विभागको गत माघको
मस्केवारीमा आधारित)

प्रकाशित: चैत्र ७, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्