कञ्चनजंघा हिमालमा महिला पाइला

- साप्ताहिक संवाददाता

चैत्र ६, २०७३-  

ताप्लेजुङमा स्थित विश्वको तेस्रो अग्लो हिमशिखर (८ हजार ५ सय ८६ मिटर) कञ्चनजंघामा यही सिजनभित्र महिला पाइला पर्ने भएको छ । ‘थ्री वुमेन, थ्री टप’ नामक अभियानका तीन जना नेपाली महिलाले उक्त हिमाल आरोहणको तयारी गरेका हुन् । ओखलढुङ्गाकी माया शेर्पा, सोलुखुम्बुकी पासाङ ल्लामु शेर्पा तथा दोलखाकी दावा याङजोम शेर्पा चैतको तेस्रो साता आरोहणका लागि त्यता जाने तयारीमा छन् ।

 

जलवायु परिवर्तन न्यूनीकरणको सन्देश बोकेर अप्रिल ७ तारिख (चैत २५ गते) काठमाडौंबाट हिँड्ने तयारी भएको माया बताउँछिन् । ‘अहिले खर्चको बन्दाबस्त मिलाउने, सामान खरिद गर्ने जस्ता काम भैरहेका छन,’ मायाले भनिन्, ‘४५ देखि ५० लाख रुपैयाँसम्म खर्च हुने भएकाले व्यवस्थापनमा समय लागेको छ ।’ कञ्चनजंघा हिमाल आरोहणका क्रममा ४५ देखि ५० दिन लाग्न सक्छ ।

 

२००७ मा विश्वको सर्वोच्च शिखर (८ हजार ८ सय ४८ मिटर) सगरमाथा तथा २०१४ मा पाकिस्तानमा रहेको दोस्रो अग्लो हिम शिखर (८ हजार ६ सय १२ मिटर) माउन्ट केटुको आरोहण गरिसकेको उक्त समूहले विश्वको तेस्रो अग्लो हिमाल आरोहण गर्न लागेको हो । कम आरोहण हुने र तुलनात्मक रूपमा अप्ठेरो भएकाले तयारी पनि त्यही अनुसार भैरहेको आरोहण दलका सदस्यहरूको भनाइ छ । यो हिमालको पाँचौं क्याम्प निकै अप्ठेरो र लामो भएको आरोही नादा शेर्पा बताउँछन् ।

 

‘महिलाहरू सजिलो हिमाल मात्र आरोहण गर्छन् भन्ने भ्रम चिर्नु छ । जलवायु परिवर्तनले पारेको प्रभावका विषयमा जनस्तरसम्म जानकारी गराउनु छ । त्यो सन्देश तल्लो क्षेत्रदेखि हिमाली बस्तीसम्म पुर्‍याउँछौं,’ आरोहण दलकी सदस्य पासाङ ल्हामुले भनिन्, त्यससँगै महिलाहरू पनि कञ्चनजंघाको सफल आरोहण गर्न सक्छन् भन्ने सन्देश प्रवाह गर्नुछ ।’

 

पर्यटन मन्त्रालयको पर्वतारोहण शाखाका नायव सुब्बा ज्ञानेन्द्र श्रेष्ठका अनुसार सन् २०१५ देखि कञ्चनजंघा हिमालको आरोहण भएको छैन । आरोहणका लागि स्वदेशी तथा विदेशी कसैले पनि प्रयास गरेका छैनन् । सन् २०१३ र १४ मा आरोहणका क्रममा त्यहाँ लगातार दुर्घटना भएका थिए । २०१३ मा तीन र १४ मा पाँच जनाको आरोहणकै क्रममा ज्यान गएको थियो । उनीहरूको शव पनि निकाल्न सकिएको छैन । महिला टोलीले भने व्यवस्थित ढंगले चुनौतीहरू सामना गर्दै आरोहण गर्ने तयारी गरेको छ । सगरमाथामा सरकारले नै बाटो बनाइदिन्छ, भर्‍याङ लगाइदिन्छ । कञ्चनजंघामा आफैंले बाटो बनाउँदै हिँड्नुपर्ने भएकाले पनि आरोहीले कम चासो राखेको पटक/पटक सगरमाथा आरोहण गरेका ताप्लेजुङ लेलेपका मिङमा शेर्पा बताउँछन् । उनको बुझाइमा दुर्घटना सगरमाथा, मकालुजस्ता हिमालमा पनि भैरहेकाले कञ्चनजंघालाई मात्र जोखिमपूर्ण मान्नु पर्दैन । जलवायु परिवर्तनका कारण दुर्घटना बढेको उनको बुझाइ छ ।

 

कञ्चनजंघामा आरोहीहरू पठाइरहेका सेभेन समिट ग्रुपका प्रबन्धक मिङ्मा शेर्पा चौथोदेखि पाँचौ बेसक्याम्पमा विशेष ध्यान दिनुपर्ने बताउँछन् । कञ्चनजंघा आरोहणसमेत गरेका शेर्पाले उक्त भाग खाल्डोजस्तो भएको र दुर्घटना भए उद्धारमा पनि कठिनाइ हुने बताए । ८ हजार २ सय मिटर उचाइको यो क्याम्प अरूको तुलनामा लामो पनि छ ।

प्रकाशित :चैत्र ६, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्