आफैंलाई चिन्नु

- सुविन भट्टराई

चैत्र ५, २०७३-  

मेरो जीवनमा मैले सबैभन्दा धेरै समय आफैंसित बिताएको छु । धेरै ठाउँमा आफैंलाई चिन्ने प्रयत्न गरेको छु । कतै, केही अंश चिनेको पनि छु । कतै–कतै चुकेको पनि छु । भागदौड र प्रतिस्पर्धाको दुनियाँमा हामी आफूलाई बिर्सेर अरूको बढी ख्याल राख्छौँ । को कहाँ पुग्यो ? खुब हेर्छौं । कसको रफ्तार कस्तो छ ? ध्यानदिएर विचार गर्छौं । हामी दौडिरहेका छौँ, अरू दौडिरहेको देखेर । यो बिर्सेर कि आफू दौडिनु कत्तिको जायज छ ? हामी हरकदममा अरूकै बढी वास्ता गर्छौं, आफ्नो बेवास्ता गरेर । अरूलाई सम्झनामा धेरै ल्याउँछौं, आफूलाई आफ्नै वास्तविकताबाट धपाएर । 

 

मलाई यस्तो प्रतिस्पर्धा कहिल्यै मन परेन । म अरूले उछिन्ला भन्ने भय लिएर कहिल्यै बाँचिनँ । अरू सित दाँजिन मलाई कहिल्यै मन परेन । किनभने म जितको नशा र हारको पीडा दुवै खप्न सक्दिनँ । आ–आफ्नो स्वभाव हो । मैले प्रथम हुनका लागि कहिल्यै पढिनँ । चुचुरोमा सबैभन्दा पहिले पुग्नु छ भनेर कहिल्यै यात्रा गरिनँ । 

 

हो, यसकारण म अरूको स्थान र रफ्तार हेर्दै कहिल्यै अल्मलिनँ । म आफूलाई प्रेम गर्छु । मेरो अधिकांश समय म आफैंलाई हुन्छ । म एकान्तमा आफ्नै गुण र दोषको समीक्षा गरिबस्छु । हो, म स्वार्थी हुँ । मलाई आफ्नो रफ्तारसित मतलब छ । मलाई आफ्नो दिशा, आफ्नो गतिसित सरोकार छ । मलाई आफैंलाई चिनेर पुगेको छैन अझै । म आफू को हुँ ? अझैँ आफैंलाई आफूसित राम्रोसँग साक्षात्कार गराउन पाएको छैन । आफैंलाई दिने समयले म अघाएको छुइँन अझै । आफैँसित व्यस्त हुन मन लाग्छ मलाई । आफैंले निखार ल्याउन पुगेको छैन भने किन राखौँ म अरूको सरोकार ?

 

अरूले कति कमाए ? अरू कहाँ पुगे ? अरूले के–के गरे ? मलाई कुनै पर्वाह छैन । खुसी न पैसामा छ न पद प्रतिष्ठाको उचाइमा । मस्तिष्कमा डर र कर नहोस् । लोभ र क्षोभ नहोस् । मान्छे आफ्नो जीवनसित सन्तुष्ट होस्, रुष्ट नहोस् । बस्, जीवनमा यति भए मान्छे सुखी हुन्छ । आफ्नो दिमागबाट अरूले गरेको प्रगतिको बहिखाता मात्र झिकेर फ्याँक्न सक्यौं भने हामी दु:खी हुँदैनौं । कसैले आएर भनिदिन्छ, ‘फलानाका छोरा सरकारी अफिसर भए । तिमी यस्सै हल्लिरहेका छौं ।’ अर्को आएर भन्छ, ‘फलानाले यति सम्पत्ति जोड्यो ।’

 

हो, म समाजका यिनै फलाना र चिलानाहरूसित दाँजिएर आफ्नो निजी जीवनलाई मन नपरी–नपरी अरू जस्तो किन बनाउँm ? यिनै फलाना र चिलानाले बाँचेको जीवनलाई मेरो पनि त यो भन्ने हैसियत छ कि तिनीहरू के जीवन बाँचिरहेछन्, जोसँग आफूलाई दिने समय पनि छैन । जो आफ्नै नजरमा पराइझैँ छन् तिनीहरूको जीवन पनि के जीवन ?

 

म आफ्ना रहर र उद्देश्यहरूको बगैंचालाई मासेर आफ्नै जीवन उजाड बनाउन चाहन्न । म आफ्नो बगैंचा गोड्न छाडेर अरूको बगैंचा पनि यस्सै चिहाउन्नँ । हो, म स्वार्थी हुँ यस अर्थमा । अरू प्रतिदिने ध्यानको ऊर्जाले आफ्नो अन्तरआत्मालाई चिहाउने हो भने, केही न केही त पक्कै फेला पर्छ । 

 

मेरो सबैभन्दा मिल्ने साथी म आफैं हुँ । आफूलाई दु:ख पर्दा म आफैंसित गुनासो गर्छु । मभित्र अनेकन मानिस छन् । मभित्रका भावनामा बिचलन आए अरू भावनाहरू खडा भएर सहयोग गर्छन् । म रुन्छु कहिलेकाहीँ र मेरो आँसु पुछिदिने म आफैं हुन्छु । म हाँस्छु कहिलेकाहीँ मेरो हाँसोमा आफैंलाई मुछिदिने पनि म नै हुन्छु । म रिसाउँछु अक्सर । ‘धेरै नरिशा’ भनेर मैभित्र अर्को मले मलाई सम्झाइरहेको हुन्छ । 
यो हो, आफैंलाई चिन्नु भनेको । तर यहाँ मानिस यति व्यस्त र अस्तव्यस्त छ कि आफूभित्र के छ भन्नेसम्म थाहा पाउन सक्दैन ।

 

आफूमा मात्र केन्द्रित भएर, दायाँ–बायाँ कसैको वास्तै नगरी पनि सकिँदैन । यति त सक्छौँ, कि अरू जीवनमा कहाँ र कसरी पुगे, जानकारी राखे पनि आफूभित्रको मान्छे कहाँ छ ? कस्तो अवस्थामा छ ? बुझ्न सकौं । मलाई दु:ख यही कुराको लाग्छ कि मान्छे अरूतिर ध्यान दिँदा–दिँदा आफू भित्रको मान्छे अन्तरध्यान भएको पत्तै पाउन छाडिसक्यो । मान्छे रिसाहा भएको छ अरू रिसाएको देखेर । मान्छे जाली, फटाहा भएको छ अरूको जालझेल र फटाहीँ सहेर । मान्छे ढोँग गर्छ, अरूको ढोँग गर्ने 
कला देखेर । तर अक्सर यस्तो कमै हुन्छ— मान्छे कहाँ खुसी हुन्छ अरूको खुसी देखेर ?

प्रकाशित: चैत्र ५, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्