चैत १८ गते बिग आइकनको ग्राण्ड फिनाले

- रेम बिक

चैत्र ४, २०७३-

सातौं संस्करणको बिग आइकन फाइनल राउण्डमा प्रवेश गरेको छ । उत्कृष्ट ४ प्रतिस्पर्धी मध्येबाट लेखनाथकी सौजन्या तामाङ बाहिरिएपछि प्रतियोगिताले ‘ग्राण्ड फिनाले’ राउण्डमा प्रवेश पाएको हो । 

बिग आइकनको ग्राण्ड फिनालेमा चितवनका सागर आले, लेखनाथका सुवास गुरुङ र पोखराकी प्रिया गुरुङ प्रतिस्पर्धा गर्दैछन् । सातौं संस्करणको बिग आइकनको ‘ग्राण्ड फिनाले’को विशेष कार्यक्रम आगामी चैत १८ गते शुक्रबार पोखरा सभागृहमा हुने एफएमले जनाएको छ । 

५४ जिल्लाका ११ सय ५२ प्रतिस्पर्धीमध्येबाट छानिएर तीन जना प्रतिस्पर्धीहरू ग्राण्ड फिनालेमा आएका हुन् । करिब २ महिनाको अन्तरालमा भएको २२ भन्दा बढि विभिन्न राउण्ड पार गरेपछि मात्रै उनीहरु ग्राण्ड फिनालेमा आइपुगेका हुन् । तीनै जना प्रतिस्पर्धीले ग्राण्ड फिनाले राउण्डका लागि विहिबारै आ–आफ्नो प्रस्तुती दिए । विहिबार भएको ग्राण्ड फिनाले राउण्डमा प्रतिस्पर्धीहरुले २/२ वटा गीत गाएका थिए । 

विहिबार नै बिग आइकनका निर्णायकहरुले पनि फाइनलिस्टलाई शुभकामना दिए । फाइनलिस्ट चयन गर्नका लागि निकै मेहेनत र विवेकका साथ आफुहरुले निर्णय लिएको बताउँदै उनीहरुले ३ जनै प्रतिस्पर्धी विजेताका दाबेदार भएको बताए । यो पटकको बिग आइकनमा गायक श्यामसुङ तामाङ, विवेक श्रेष्ठ र संगीतकार सुनील थापा निर्णायक रहेका थिए । 

प्रतियोगिताको सम्पूर्ण राउण्ड सकिएपछि बिग आइकन ग्राण्ड फिनालेको तयारीमा जुटेको छ । आगामी चैत १८ गते हुने ग्राण्ड फिनाले कार्यक्रम भव्य हुने एफएमले जनाएको छ । १८ गतेको सो कार्यक्रममा फाइनलिस्टसँगै उत्कृष्ट १० मा परेका सम्पूर्ण प्रतिस्पर्धीले प्रस्तुती दिनेछन् । 

बिग आइकनको ग्राण्ड फिनालेबाट सर्वोत्कृष्ट एक जनालाई छनौट गर्न अब पूर्ण रुपमा एसएमएस भोटको भर रहने एफएमले जनाएको छ । भोटिङको आधारमा सातौं सास्करणको बिग आइकन छनौट हुनेछन् ।

यो पटकको बिग आइकन बिजेताले पुरस्कार स्वरुप १ लाख ८५ हजार रुपैयाँ बराबरको स्कुटर सहित बेलायतको सांगीतिक भ्रमण गर्ने अवसर प्राप्त गर्ने एफएमले जनाएको छ । त्यस्तै फस्ट रनरअपले ७५ हजार र सेकेन्ड रनरअपले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । 

प्रकाशित :चैत्र ४, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्