के दुस्मनी छ मसँग ?

- साप्ताहिक संवाददाता

चैत्र २, २०७३- 

‘छक्का पन्जा’ तीन दिन पनि हलमा नटिकेको भए के गर्नुहुन्थ्यो ? 

फिल्मको नाम चेन्ज गरेर ‘दुवा तिर्की’ राखिदिन्थें ।

 

‘छक्का पन्जा’को सफलता मात्र एउटा सपना भैदियो भने के होला ? 

बैंकबाट फोन आउँथ्यो होला, त्यो गाडीको किस्ता चाँडै तिर, पैसा नहुनेले किन गाडी चढ्नु भन्थे होलान् ।

 

प्रधानमन्त्री प्रचण्डलाई ‘छक्का पन्जा’ खेलाउनैपर्ने बाध्यता भए कुन भूमिका दिनुहुन्थ्यो ? 

शिवहरि पौडेलको रोल दिन्थें । दृश्यमा पछाडि आएर पनि हिरो हुने, कति वर्ष गायब हुने, आएपछि बदला लिने ।

 

बिहान उठ्दा अचानक सुन्दर युवती बन्नुभयो भने ? 

तुरुन्त भुवन केसीलाई फोन लगाउँथे, ‘दाइ, सहरमा नयाँ चिज आ’को छ’ भनेर ।

 

बिग्रिएको सामान ठोकठाक पारेर बनाउन सक्ने भए के गर्नुहुन्थ्यो ? 

नेता हुन्थें । 

 

दीपाश्रीसँग कलेजमै लभ परेको भए ? 

दीपाजीसँग कलेजमै लभ परेको भए पनि खासै फरक पर्दैनथ्यो । दासको दास नै हुन्थें, मालिक फरक हुन्थ्यो । 

 

चीन वा अफ्रिकामा जन्मिएको भए तपाईंको नाम के हुन्थ्यो ?

दिचाइ हु वा काम नो झुन्डेला हुन्थ्यो होला ।

 

एउटी सुन्दर युवती आएर आई लभ यू भनिन् भने तपाईंको प्रतिक्रिया के हुन्छ ? 

यू आर लेट भन्थे । 

 

सन्तान आफ्ना राम्रा श्रीमती अर्काकी राम्री किन भनिएको ?

स्वास्नीको हकमा चाहिँ खुकुरीले घाइते भएको मान्छेले बन्दुकले हानेको भए चाहिँ मर्न सजिलो हुन्थ्यो होला भनेजस्तो मात्र होला । सन्तानचाहिँ था’ भएन । 

 

जब पर्‍यो राति अनि बूढी ताती उखान किन चल्या होला ? 

आफ्नो आवश्यकताको समय र बूढीको सर्तको समय एउटै भएर होला ।

 

महाभारतको द्रौपदी भएको भए तपाईंको भूमिका के हुन्थ्यो ? 

द्रौपदी भएको भए दुशासनलाई साडी तान्ने अवसर दिन्नथें, पहिल्यै हाफ पेन्ट लगाएर बस्थें । 

 

आकाश जमिनतिर र जमिन आकाशतिर पल्टियो भने ?

साप्ताहिकको दुब्लो हाकिम आकाशमा उडेर ‘खडानन्द’ ‘खडानन्द’ भनेर चिच्याएको हेरेर बसिरा’को हुन्थे होला ।

 

थानकोटको तपार्इंको घरमा अचानक त्रिशूलीको बाढी पस्यो भने ? 

अस्ति भुइँचालो पस्यो, फेरि बाढी पसाउने तपाईं को ? यो प्रश्न कसले सेट गर्‍या ? ‘छक्का पन्जा’ नचल्या भए, घरमा बाढी पस्यो भने .. के दुस्मनी छ मसँग तपाईंहरूको ?

 

एक दिनका लागि ऋषि धमला बन्नुभयो भने के गर्नुहुन्छ ? 

पारस खड्कालाई फुटबल क्याप्टेन बनाई विश्वकपमा पुर्‍याइदिन्थें ।

 

जुन जोगी आए पनि कानै चिरेका भन्ने उखान कुन सन्दर्भमा बनेको होला ? 

जोगी रे... यही एउटा प्रश्न बाँकी थ्यो, त्यो पनि आयो.. गिरी हुँ भनेर जानी—जानी यो प्रश्न गरेरै छोड्नु भो होइन ? दिन्नँ जवाफ यसको । 

 

प्रकाशित :चैत्र २, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्