नेपाली विषयमा बढी अंक कसरी प्राप्त गर्ने ?

- साप्ताहिक संवाददाता

चैत्र १, २०७३- 

टंकप्रसाद गैरे, नेपाली शिक्षक, बाघभैरव मावि, कीर्तिपुर

 

एसएलसी (हालको एसईसी) परीक्षामा अन्य विषयको तुलनामा नेपाली विषयमा कम नम्बर आउनुका कारण के–कस्ता छन् ? एसएलसीको तयारीमा जुटेका विद्यार्थीहरूले कसरी अन्य विषयको तुलनामा राम्रो नम्बर प्राप्त गर्न सक्छन् ? माध्यमिक तहको नेपाली भाषाको पाठ्यक्रम विद्यार्थीको शारीरिक, मानसिक, संवेगात्मक, सामाजिक तथा नैतिक पक्षको समग्र विकाससँग सम्बन्धित छ । कक्षा १० को अनिवार्य नेपाली पाठ्यपुस्तक विद्यार्थीहरूमा सुनाइ, बोलाइ, पढाइ, लेखाइजस्ता भाषिक सीप तथा क्षमताको विकास गर्ने उद्देश्यका साथ निर्धारण गरिएको पाइन्छ । परीक्षार्थीहरूले प्रश्नपत्रको ढाँचा, प्रश्नसंख्या र अंकभारको समेत ख्याल गरी नहडबडाई धैर्यताका साथ सबै प्रश्नको उत्तर लेख्नुपर्छ । 

 

(क) समय व्यवस्थापन

नेपाली विषयमा अधिकांश विद्यार्थीले समय व्यवस्थापनमा ध्यान नदिँदा अन्य विषयको तुलनामा कम अंक प्राप्त गरेको देखिन्छ । त्यसैले परीक्षामा दिइएका सबै प्रश्नको उत्तर लेख्नु अनिवार्य छ । उत्तर लेख्दा मौलिक रचना गरेजस्तो गरी कुरा पुर्‍याएर लेख्न सक्नु नै सफलता प्राप्त गर्नु हो । परीक्षार्थीले उत्तर लेख्दा प्रश्नले खोजेको उत्तर नै लेख्नुपर्छ । प्रश्नले सोधेको भन्दा बढी लेख्ने हो भने परीक्षकले उत्तरपुस्तिका जाँच गर्दा परीक्षार्थीको कमजोर पक्ष थाहा पाउँछन् भने परीक्षार्थीले समयको व्यवस्थापन पनि गर्न सक्दैनन् । दुईमध्ये एक–आफूलाई जुन रचनामा पूर्ण ज्ञान छ, त्यसको समाधान १८ मिनेटमा गर्नुपर्छ । प्रश्नको अंकभार १० लाई १८ मिनेट, प्रश्नभार ५ लाई ९ मिनेट दिनुपर्छ ।

 

विवेचनात्मक उत्तरको मूल्यांकनको आधार विषयवस्तुको ज्ञान ३, विश्लेषणात्मक प्रस्तुति ३ मौलिकता र प्रस्तुतिकरण शैलीलाई २ तथा भाषिक शुद्धतालाई २ नम्बर प्रदान गरिन्छ । यसरी विद्यार्थीहरूले प्रश्नको समाधान गर्दा विषयवस्तु, मौलिकता, प्रस्तुति एवं शैलीलाई विशेष ध्यान दिएर लेख्नुपर्छ । विवेचनात्मक उत्तर आदि, मध्य तथा अन्त्यको संरचनागत स्वरूपमा लेख्नुपर्छ । सुरुमा विषयको परिचय, मध्यमा व्याख्या र विश्लेषण गर्दै पाठले खोजेको कुरा र प्रश्नले खोजेको कुरा निष्कर्षमा प्रस्तुत गर्नुपर्छ ।

 

पाठगत संक्षिप्त उत्तर कथा, कविता, निबन्ध, प्रबन्ध तथा जीवनीमध्येबाट भाव, घटना, सन्देश, चरित्र आदिका सम्बन्धमा तीनवटा प्रश्न सोधिएको हुन्छ, जसमध्ये दुईवटा छोटो उत्तर लेख्नुपर्ने हुन्छ । संक्षिप्त उत्तर तीन अनुच्छेद बनाएर एक पृष्ठमा लेख्नुपर्छ । तार्किक प्रश्न निर्धारित विधाका कुनै प्रसङ्ग, पात्र, घटना एवं चरित्रमध्येबाट ५ अङ्कको प्रश्न सोधिएको हुन्छ । ९ मिनेटमा विद्यार्थीहरूले लेखक र पाठ्य विषयको सामान्य परिचयसहित सम्बन्धित पात्रको चरित्रचित्रण पहिलो अनुच्छेदमा गर्नुपर्छ । दोस्रो अनुच्छेदमा तर्कहरूको प्रस्तुति दिँदै निर्णयात्मकता, मौलिक प्रस्तुतिका साथ सकभर सकारात्मक विचार प्रस्तुत गर्नुपर्छ । अन्त्यमा यदि म यस्तो भए इमान्दार, कर्तव्यनिष्ठ नागरिक, असल छोरो, समाजको असल पात्र बनेर इज्जतपूर्वक जीवन निर्वाह गर्थें भन्ने खालको निष्कर्ष प्रस्तुत गर्न सकिन्छ । तार्किक प्रश्न यदि तपाईं दोषी चश्मा कथाको केशवराज भएको भए आफ्ना तर्फबाट के–कस्तो भूमिका निर्वाह गर्नुहुन्थ्यो ? तर्क दिनुहोस् भन्ने खालका प्रश्न सोधिएको हुन्छ । 

 

प्रश्न नं. १५ मा सप्रसंङ्ग व्याख्या गर्दा पाठको शीर्षक, विधा, सन्दर्भ र रचनाकारको परिचय पहिलो अनुच्छेदमा दिनुपर्छ । दोस्रो अनुच्छेदमा व्याख्या, विषयको ज्ञानसम्बन्धी प्रस्तुति दिनुपर्छ । तेस्रो अनुच्छेदमा निष्कर्ष दिएर समाधान गर्नुपर्छ ।

 

(ख) भाषिक ज्ञान 

शब्द भण्डार भाषाको महत्त्वपूर्ण पक्ष हो । माध्यमिक तहमा उच्चतम अंक ल्याउने आधार नै व्याकरण हो । व्याकरणको महत्त्वपूर्ण अंग भन्नु नै शब्द भण्डार हो । शब्दभण्डारअन्तर्गत शब्दार्थ, शब्द ज्ञान, वाक्यमा प्रयोगजस्ता विषयवस्तु हुन्छन् । शब्दार्थमा तत्सम ४, तद्भव २, आगन्तुक २ गरी ८ वटा शब्दको उत्तर पहिचान गर्ने प्रश्न सोधिएको हुन्छ । उक्त प्रश्नको समाधान ७ मिनेटमा गर्नुपर्छ । शब्द ज्ञानअन्तर्गत अनेकार्थी, पर्यायवाची, विपरीतार्थी तथा श्रृतिसम भिन्नार्थीबाट ६ वटा शब्द निर्देश गरिएको हुन्छ । यसको समाधान निकै सावधानीपूर्वक गर्नुपर्छ ।

 

वाक्यमा प्रयोगअन्तर्गत अनुकरणात्मक शब्द, पारिभाषिक शब्द, उखान–टुक्का र निपात दिइएको हुन्छ । परीक्षार्थीहरूले वाक्यमा प्रयोग गर्दा पाठमा प्रयुक्त विषयमा ध्यान दिनुपर्छ । यसका लागि पाठमा प्रयुक्त शब्दभण्डार जान्नु, बुझ्नु र कण्ठ गर्नुपर्छ । शुद्धीकरणमा ५ नम्बरको प्रश्न सोधिएको हुन्छ, जसमा ह्रस्वदीर्घ, पदयोग, पदवियोग, पञ्चम वर्ण र विराम चिन्हसम्बन्धि ६ वटा अशुद्धि दिइएको हुन्छ ।

 त्यस्तै शब्दवर्ग, उपसर्ग, प्रत्यय, समास, विग्रह, काल, भाव, पद संगति वाच्य, करण–अकरण, प्रेरणार्थक, वाक्य परिवर्तन, वाक्य सश्लेषण तथा विश्लेषण गरी जम्मा ३५ नम्बरको प्रश्न सोधिएको हुन्छ ।

 

व्याकरण खण्ड प्रश्न नं. १ देखि ८ सम्म हुन्छ । उक्त खण्डलाई ४५ मिनेटमा समाधान गर्नु उपयुक्त हुन्छ । व्याकरणसम्बन्धी प्रश्नको उचित समाधानले मात्र विद्यार्थीको अंक प्राप्तिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ । त्यसैले विद्यार्थीहरूले नेपाली विषयको परीक्षा दिँदा भाषिक शुद्धता एवं व्याकरणसम्बन्धी नियम ख्याल गरी निर्धारित समयभित्र सम्पूर्ण प्रश्नको उत्तर दिन सके मात्र अपेक्षित अंक प्राप्त गर्न सक्छन् ।

प्रकाशित :चैत्र १, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्