अंग्रेजीमा राम्रो नम्बर ल्याउन घोकेर हैन, बुझेर पढौं

- साप्ताहिक संवाददाता

फाल्गुन ३०, २०७३-  

कुमार प्याकुरेल, अंग्रेजी शिक्षक, समरा सामुदायिक स्कुल, बारा

सामुदायिक विद्यालय अध्ययन गरेका धेरै विद्यार्थीलाई अंग्रेजी विषय हाउगुजी नै हो । सामान्यत: तल्लो तहमा राम्रो जग नबस्दा माथिल्लो कक्षामा अप्ठ्यारो हुने गरेको देखिँदै आएको छ । निजी विद्यालयहरूले सुरुवाती अवस्थादेखि नै अंग्रेजीलाई प्राथमिकतामा दिने हुँदा उनीहरूले एसएलसीको रिजल्टमा पनि राम्रो नम्बर ल्याउने गरेका छन् । पछिल्लो समय सामुदायिक विद्यालयहरूले पनि तल्लो कक्षादेखि नै अंग्रेजीलाई प्राथमिकता दिन थालेका छन् । सरकारले पनि यो विषयलाई प्रथमिकतामा राखेको छ । यो विषयका पुस्तक पूर्वप्राथमिक तहदेखि नै तयार गरिएका छन्, त्यसैले क्रमिक रूपमा यो भाषामा सुधार हुँदै आएको छ । 

 

एसएलसी परीक्षामा अंग्रेजीको तयारी कसरी गर्ने र कसरी राम्रो नम्बर ल्याउने सबै विद्यार्थीको चिन्ता र चासो हो । सामान्य अंग्रेजी बोल्न तथा लेख्न सक्ने विद्यार्थीका लागि अंग्रेजीको परीक्षा त्यति गाह्रो हुँदैन । घोकेर परीक्षाको तयारी गर्नेहरूभन्दा पनि बुझेर उत्तर दिन सक्नेले राम्रो नम्बर ल्याउने गरेका छन् । 
अंग्रेजी विषयलाई परीक्षामा विशेषत: दुई समूहमा बाँडिएको छ । विद्यार्थीले यी दुवै समूह अनिवार्य उत्तीर्ण गर्नुपर्ने हुन्छ । साढे दुई घण्टा समय छुट्याइएर लेखाइको परीक्षण गरिन्छ भने ३० मिनेटको समयमा सुनाइ तथा बोलाइ जाँच गरिन्छ । यी दुई समूहलाइ ७५ पूर्णांक तथा २५ पूर्णांकमा विभाजन गरिएको छ ।

 

सुनाइ तथा बोलाइ समूह
यो समूहमा मल्टिमिडया प्रयोग गरी सुनाइको जाँच लिइन्छ । यसमा विद्यार्थीले त्यहाँ भनिएको कुरा राम्रोसँग सुन्नुपर्ने हुन्छ र भनिएका कुरालाई सही तरिकाले व्यक्त गर्न सक्ने खुबी हुनुपर्छ । जसले राम्रो उच्चारण गर्न सक्छ र सुनाइमा आधारित प्रश्नको उत्तर दिन सक्छ उसले राम्रो नम्बर ल्याउँछ । यो समूह २५ पूर्णांकको हुन्छ । त्यसमा २० मिनेटको सुनाइमा १० पूर्णांक हुन्छ भने १० मिनेटको बोलाइको परीक्षणमा २० पूर्णांकको परीक्षा लिइन्छ । यसका लागि पाठ्यक्रमअनुसार तयार गरीएका अडियो टेपहरू सुन्ने तथा त्यसलाई बुझ्ने बानीको विकास गर्नुपर्छ ।

 

लिखित परीक्षा 
अंग्रेजीको लिखित परीक्षा ७५ पूर्णांकको हुन्छ, जसमा उत्तीर्ण गर्न २४ अंक अनिवार्य ल्याउनुपर्ने हुन्छ । अहिलेको प्रश्नपत्रको मोडल हेर्दा यति अंक ल्याउनु सामान्य नै हो । पाठ्यक्रमलाई आधार मानेर लिखित परीक्षाको तयारी गर्ने भन्दा पनि अघिल्ला वर्षहरूमा आएका प्रश्नपत्रहरू हेरी तयारी गर्दा लिखित परीक्षा सहज हुन्छ ।
 

प्यासेज रिडिङ
प्रश्नपत्रको मोडलअनुसार ४० नम्बरको चारवटा प्यासेज सोधिएको हुन्छ । २ वटा पाठ्यपुस्तकमा आधारित १५ पूर्णांकका प्रश्न सोधिएको हुन्छ । अरू २ वटा २५ पूर्णाङ्कका पुस्तक बाहिर (अनसिन) प्यासेज दिइएको हुन्छ । दिइएका प्यासेजलाई राम्रोसँग अध्ययन गरी सोधिएका प्रश्नको उत्तर दिनुपर्छ । प्यासेजभित्रबाट खोजेर त्यही सम्बन्धित प्रश्न–उत्तर, उस्तै अर्थ दिने शब्द, विपरीत अर्थ दिने शब्द तथा खाली ठाउँ भर्ने जस्ता समस्या समाधान गर्नुपर्छ । ती प्रश्नको उत्तर छोटकरीमा दिनु उपयुक्त हुन्छ र उत्तर सही भए शतप्रतिशत अंक प्राप्त गर्न सकिन्छ । 

 

फ्री राइटिङ
१२ नम्बरको फ्री राइटिङ (खुल्ला लेखाइ) लेख्नुपर्ने हुन्छ, जसमा एस्से लेख्ने, समचार तयार गर्ने, चिठी लेख्ने जस्ता कुरा हुन्छन् । यस्तो लेखाइका लागि शब्द तोकिएको हुन्छ । शब्दको उक्त परिधिभित्र रहेर विशेष कुरा लेख्न सके राम्रो नम्बर आउँछ । त्यस्तै १२ अंकको थप २ वटा गाइडेट (निर्देशन दिइएका) विषयवस्तुलाई आधार बनाई कुनै पनि कुराको व्याख्या गर्नुपर्ने हुन्छ । कतिपय अवस्थामा चित्र दिइएको हुन्छ भने कतिपय अवस्थामा क्लुका आधारमा चिठी तयार गर्न वा समाचार तयार गर्न भनिएको हुन्छ । फ्री तथा गाइडेड राइटिङ घोकिएको भन्दा पनि प्रश्न र त्यहाँ दिएका विषयवस्तु बुझेर आफ्नो भाषामा ढाली उत्तर दिन सके राम्रो नम्बर आउँछ । 

 

ग्रामर
अंग्रेजी विषयमा राम्रो नम्बर आउन सक्ने अर्को समूह ग्रामर (व्याकरण) हो । परीक्षामा यो समहूबाट ११ पूर्णांकको प्रश्न सोधिन्छ । त्यसमा विशेष गरी बहुवैकल्पिक प्रश्नहरू सोधिन्छन् । ग्रामरमा आर्टिकल, प्रिपोजिसन, ट्याग कोइसन, ट्रान्सफर्मेसन, टेन्स, रिपोर्टेड स्पिच, भ्वाइस, कन्जक्सनजस्ता प्रश्न सोधिएका हुन्छन् । सही उत्तर छान्न सके यो समूहमा पनि शतप्रतिशत 
नम्बर आउँछ ।

प्रकाशित :फाल्गुन ३०, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्