तन्नेरी होली

- जनक तिमिल्सिना

फाल्गुन ३०, २०७३

 

वाउ फेस्टिब अफ कलर’ होलीका सम्बन्धमा नवलपरासीकी नूतन अधिकारीले भनिन्, ‘यसले त फ्रेन्ड्सलाई निकट ल्याउँछ ।’ नूतनको मन आउँदो होलीले रंगीन बनाइसकेको छ । त्यसैले त होस्टेल जीवन बिताइरहेकी अधिकारी एकदिन खुल्ला हुनेछिन् र काठमाडौंका सडक नै भिजाउने होलीमा मस्ती गर्नेछिन् । ‘अहिले पनि नरंगिए कहिले रंगिने,’ साप्ताहिकसँगको भलाकुसारीमा यी १९ वर्षीया तन्नेरीले भनिन्, ‘होली त सुरु भैसक्यो । मोनोटोनस जीवनलाई एक दिन भए पनि साथीसंगीसँगको भेटघाटले रंगीन बनाइदिन्छ ।’

 

गोल्डेनगेट कलेजमा बीएसडब्लू अध्ययनरत नुतन मात्र होइन, उनका सहपाठीहरू पनि होलीलाई लिएर उत्तिकै उत्साहित छन् । बानेश्वरकी स्टेला मैनाली हुन् वा मिथिलाबाट काठमाडौं आएका बलराम । नेपालगन्जका एजन खड्का हुन् वा दोलखाबाट पढाइ पूरा गर्न काठमाडौ झरेका मोहनबहादुर विक सबैमा एउटा उमंग छ । अध्ययनका क्रममा काठमाडौं बाहिरबाट आएका तन्नेरीहरूलाई आफ्नो ठाउँको होलीको पनि सम्झना हुने गरेको छ । धनुषाका बलराम मिथिलाको होलीलाई मिस गरिरहेका छन् । उनी भन्छन्, ‘होली त सबैतिर हुन्छ, यद्यपि हाम्रो मिथिलाको होलीको रंग बिछट्टै फरक छ,’ २० वर्षीय तन्नेरी बलरामका अनुसार ‘यस पटक त्यो होली खुब मिस हुनेछ ।’ जनकपुरको होली मिस गरे पनि उनी यस पटक काठमाडौंको होलीको रंगमा रंगीन उत्साहित छन् । 

 

केही तन्नेरी भने काठमाडौंको लामो बसाइका क्रममा यतैको संस्कृतिका अंग भैसकेका छन् । तिनै तन्नेरीहरूमध्येका एक हुन्, एजन । केही वर्षदेखि काठमाडौंको होलीमा रंगिने बानी परिसकेका एजनलाई नेपालगन्जको होली उति मिस हुँदैन । बरु, उनी अहिले नै काठमाडौंमा टेलिभिजन, रेडियो तथा कर्पोरेट हाउसहरूले गर्ने होली कार्यक्रमहरूलाई कसरी सेलिब्रेट गर्ने भनेर योजना बनाइरहेका छन् । ‘धेरै ठाउँमा कर्पोरेट हाउसहरूले होली कार्यक्रम आयोजित गर्छन्,’ उनले भने, ‘साथीहरू मिलेर विभिन्न होली कार्यक्रम हेर्न गइन्छ । वसन्तपुरको होली त कसरी छुटाउनु र ?’ 

 

मैतीदेवीस्थित एक कलेजकी आकृति गुरुङलाई पनि होलीले छोइसकेको छ । ‘हिजो नै लोला हाने, के साह्रो अचम्म’ कपनकी यी १९ वर्षीया तन्नेरी आश्चर्य मिश्रित भावमा भन्छिन् । होली सुरु नहुँदै लोला हान्ने केटाकेटीहरूको शैली भने उनलाई मन पर्दैन् । ‘होली त रमाइलोका लागि मनाउने हो, रमाइलो तरिकाले खेल्नु नि, लोला किन हान्नु ?’ उनी जंगिइन् । 

 

लोला हानेको मात्र मन नपरेको हो आकृतिलाई तर होली भने असाध्यै मन पर्छ । ‘एकछिनलाई भएपनि आफ्नो– बिरानो भुल्ने पर्व होलीमा रंगसँगै खुसी साट्नु, एकअर्कालाई रंगाउनु विशेष लाग्छ,’ उनले भनिन्, । बीआइटी फष्ट सेमेस्टरकी विद्यार्थी आकृति साथीहरूसँगै होली सेलिब्रेसनको योजना बनाइरहेकी छिन् । ‘हाम्रो १५ जनाको ग्याङ छ, साथीभाइ भएनन् भने त मज्जै आउँदैन्,’ उनले भनिन्, ‘के गर्ने अझै प्लान बन्ने क्रममै छ, एकैछिनमा त बनिहाल्छ नि ।’ 

 

सीतापाइलाकी सदीक्षा श्रेष्ठ (२१) आफू बस्ने कोलनीमै होली मनाउँछिन् । ‘विगत केही वर्षदेखि हामी बस्ने स्टार कोलनीले होली कार्यक्रम सञ्चालन गर्दै आएको छ,’ श्रेष्ठले भनिन्, ‘कलर, पानी र भाङसहितको होली विशेष हुनेछ– वाउ ।’ ब्याचलर इन कम्प्युटिङ इन्फर्मेसन सिस्टम अध्ययनरत बौद्धका सुवास श्रेष्ठ रेष्टुराँमा होली मनाउने तरखरमा छन् भने धनगढीका निर्मल रिजाल साथीहरूसँग रंग र खुसीहरू एक्सचेन्ज गरेर होली मनाउँदैछन् । ‘दाइको रेन्टुरेन्टमा होली मनाउने कार्यक्रम छ, कलरले ह्याप्पिनेशको संकेत गर्छ, होलीले एकतामा बाँध्छ,’ सुवासले भने । ‘कलर र खुसी एक्सचेन्ज गर्नु राम्रो हो, तर जबरजस्ती लोला हान्ने, पानी फाल्ने र रंग लगाइदिनेजस्ता काम गर्नुहुँदैन्,’ निर्मलले होलीमा बढ्दै गएको विकृतीप्रति आपत्ति जनाए । 

 

सबैलाई धार्मिक एवं सांस्कृतिक महत्व बोकेको पर्व होली लागेको छ, त्यो पनि तन्नेरी होली । नयाँ पुस्ताका जवान तन्नेरीहरूलाई धार्मिक मान्यता, कारण र परम्पराभन्दा पनि रमाइलो र खुसी साट्ने पर्वका रूपमा होली विशेष अवसर बन्ने गरेको छ । मनाउने शैली, उनीहरूले गर्ने क्रियाकलाप आदि हेर्ने हो भने तन्नेरी होलीका विशेषता हुन्— ‘मस्ती र मादकता’ । ‘एक दिनलाई भए पनि कलेज छुट्टी हुन्छ,’ स्टेला भन्छिन्, ‘साथीभाइ एवं घरपरिवारसँग मस्ती गरिन्छ ।’ 

 

साथीभाइहरूसँग भेट्ने, एकअर्काको अनुहारमा रंग दलेर रमाइलो गर्ने, गेट दुगेदर गर्ने, कन्सर्ट र होली पार्टीहरूमा रमाउने, रेस्टुराँ एवं कर्पोरेट हाउसहरूले गर्ने होली कार्यक्रममा सहभागी हुने तन्नेरी होलीका खास योजना हुन् । तन्नेरीहरू कोही बारमा रमाउने, कोही कन्सर्टमा झुम्ने त कोही ह्याप्पी होली भन्दै खुसी साट्न काठमाडौं चहार्ने तयारीमा छन् । 

 

पूर्व–पश्चिम तथा उत्तर–दक्षिण चारैतिरबाट काठमाडौंमा जम्मा भएका र सहपाठी बनेर कलेज पढिरहेका तन्नेरीहरूमध्ये सबैजसोले एकता, भ्रातृत्व एवं सामाजिक मेलमिलापको पर्वका रूपमा होलीको प्रवद्र्धन गरिनुपर्नेमा जोड दिए । सांस्कृतिक एवं धार्मिक महत्वको यो पर्वले घरपरिवार र आफन्त जमघट हुने, साथीभाइ भेला पार्ने तथा समाजलाई एकताको सूत्रमा बाँध्ने महत्वपूर्ण काम गरिरहेको उनको बुझाइ छ । 

होलीको अवसर पारेर काठमाडौंमा आयोजना हुने कर्पोरेट होलीका कार्यक्रम, सडकमा मनाइने होली एवं वसन्तपुर, ठमेल, दरबारमार्गमा हुने होलीसँगै कलेजले आयोजना गर्ने होली कार्यक्रमहरू तन्नेरीहरूका होली मनाउने थलो हुन् ।

 

सफटरिका कलेजको विद्यार्थी काउन्सिलले कलेजमै होली कार्यक्रमको आयोजना गरेको छ । ‘सहज र सुरक्षित तरिकाले साथीहरू रमाउन र खुसीहरू साट्न सकुन भनेर कलेजमै होली कार्यक्रम आयोजित गरेका हौं,’ काउन्सिलका अध्यक्ष सौरभ प्रसाई भन्छन्, ‘यसको मुख्य उद्देश्य विद्यार्थीहरूबीच भातृत्वको विकास गर्नु र सेक्युरिटी नै हो ।’ सफटरिका मात्र होइन, राजधानीमा अन्य धेरै कलेजले पनि यस्ता होली कार्यक्रम आयोजित गर्छन् । 

 

तन्नेरीहरू जति मस्ती गर्छन्, उति नै सचेत पनि देखिन थालेका छन् । नुतन, स्टेला, आकृति तथा सदीक्षाहरूले फोहोर पानी फ्याक्ने, जबरजस्ती रंग दलिदिने, अनुहारमा केमिकल दल्ने, लोला हान्ने, जथाभावी मादक पदार्थ सेवन गरेर झैझगडा गर्ने र धेरै मात्तिदा उत्पन्न हुने समस्यातर्फ पनि सचेत हुन सुझाव दिए । एजन, बलराम, मोहनबहादुर, सुवास र निर्मलले पनि उनीहरूको मतमा समर्थन जनाए । 

‘कतिपयले त जोशमा होस् गुमाउँदा ज्यान नै गुमाउनु परेका घटना पनि छन्,’ स्टेला भन्छिन्, ‘त्यसैले हामीले संयमित भएर होली मनाउनुपर्छ ।’ ड्रिक्स एवं होहल्ला गर्नेहरूप्रति पनि उनीहरूको असहमति छ । तन्नेरीहरूमा आएको यही परिवर्तनको परिणाम नै मान्नुपर्छ, केही वर्षयता काठमाडौंमा लोला हान्ने र घरको छतमाथिबाट पानी छ्याप्ने क्रम घटेको देखिन्छ । 

प्रकाशित :फाल्गुन ३०, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्