होलीले मधेसी–पहाडीको भावना हटाइदियो

- अश्विनी कोइराला

फाल्गुन ३०, २०७३- 

गर्मी बढेसँगै वातावरणलाई होली र यसका क्रियाकलापले उत्साहबद्र्धक बनाएको छ । होलीलाई आधार बनाएर काठमाडौं र तराई क्षेत्रमा विभिन्न सामाजिक कार्यक्रमहरू सञ्चालन भैरहेका छन् । त्यसमध्ये जनकपुरियाहरूको होली कार्यक्रमको तामझाम विशेष हुने गरेको छ । जनकपुर र त्यस क्षेत्र आसपासबाट काठमाडौं आएका हजारौं व्यक्तिले एक साताअघि नै होलीसँग सम्बन्धित सामाजिक भेटघाट गरिसकेका छन् । त्यसको संयोजन जनकपुरिया नागरिक समाजका अध्यक्ष सञ्जय ढुंगाना तथा उनको टिमले गरेको थियो । जनकपुरमा जन्मिएर त्यहीं हुर्की–बढेका सञ्जय दुई दशकदेखि काठमाडौंमा छन् । काठमाडौं र पहाडिया समाजलाई पनि राम्रोसँग बुझेका ढुंगानासँग यसपटक साप्ताहिकले नेपाली समाजको होलीलाई केन्द्रमा राखेर लामो कुराकानी गरेको थियो । 

 

सञ्जय ढुंगाना, अध्यक्ष, जनकपुरिया नागरिक समाज

जनकपुरमा सामान्यत: मधेसीहरूको बाहुल्य छ । जनकपुरिया नागरिक समाजको अध्यक्षमा पहाडिया हुनु अनौठो कुरा होइन ?

नेपाली राजनीतिमा यो जात र क्षेत्रको कुरा कहाँबाट घुस्यो, हामीले बुझेका छैनौं । हाम्रो टिममा तपाईंले भन्नुभएका मधेसी पनि हुनुहुन्छ र हामी पनि छौं, तर हामीलाई कहिल्यै हामी पहाडी र उहाँहरू मधेसी भन्ने लागेन, न त उहाँहरूले त्यस्तो व्यवहार नै गर्नुभयो । अलिकति राजनीतिक फाइदाका लागि बाहिर त्यो कुरा आइरहेको छ तर हामी विशुद्ध जनहितकारी, गैरराजनीतिक एवं मुनाफारहित सामाजिक संस्था हौं । त्यसैले यो संस्थामा मधेसी–पहाडीको कुरा छैन । हामी जनकपुर वरपरका मिथिल साहित्य, भाषा एवं संस्कृति संरक्षणको काममा छौं । त्यसबाहेक दुई जातबीच कुनै असमझदारी हुन नदिन पनि सक्रिय छौं । 

यो संस्था, होलीमा जुन सामाजिक सन्देश र सौहार्दको कल्पना गरिन्छ, त्यसैको रूप जस्तो देखियो, होइन ?

मैले अघि नै भनिसकेँ, मेरा बाजेहरू नै जनकपुर र त्यस क्षेत्र वरपरका बासिन्दा हुन् । न उहाँहरूले आफू अलग भाषा र क्षेत्र भएको महसुस गर्नुभयो, न त बुवाले, न त मैले । यो त अस्ति भर्खर राजनीतिक रूपमा आएको नारा हो । यसले हाम्रो समाजलाई खलबल्याउन सक्दैन । हामी पहिले पनि एक थियौं र अहिले पनि छौं । यस्ता संस्थाले त्यसलाई अझ एक बनाउन मद्दत गरेको छ । हामीले गएको वर्ष पहाडेहरूको तीज र मधेसीहरूको जितिया पर्व एकसाथ मनायौं । पहाडी महिलाहरू तीजको व्रत बसेर भोलिपल्ट दर खान्छन् । उता मधेसी महिलाहरूको जितिया पर्व पनि तीजजस्तै छ । हामीले दुवैलाई एक ठाउँमा राखेर एउटै भावनाका साथ मनाएका थियौं । 

 

तपाईं दुई दशकदेखि काठमाडौंमा हुनुहुन्छ र प्राध्यापन पनि गर्नुहुन्छ । मधेसको होली र पहाडको फागु पूर्णिमामा के फरक पाउनुहुन्छ ?

होली तराई–मधेसमै बढी मनाइन्छ र त्यसको लामो परम्परा छ । जबकि पहाडमा फागुपूर्णिमा मधेसबाटै उक्लिएको हो । तिरहुतबाट उपत्यका पसेका राजाहरूले नै काठमाडौंमा होली भित्र्याएका हुन् । त्यतिबेला काठमाडौंको मूल भाषा पनि मैथली नै थियो । तिरहुते राजाहरूले मधेसबाट ल्याएको होली पर्व काठमाडौंमा लोकप्रिय भयो । अहिले पनि काठमाडौंमा चीर ठड्याइन्छ, तर जति पवित्रता मधेसको होलीमा छ, त्यति काठमाडौं वा नेपालको पहाडी क्षेत्रमा देखिँदैन । यताको होली विकृतितर्फ बढेको छ भने तराईको होलीमा संस्कृतिको रंग भेटिन्छ । 

 

मधेसको होली कति पुरानो हो, यसको कुनै अध्ययन भएको छ ?

जनकपुरको कथा स्पष्ट रूपमा त्रेता युगसम्म पुग्छ । सीताको विवाह र रावण बधपछि अयोध्या र मिथिलामा रंगी–विरंगी फूल एवं प्राकृतिक अबिर जात्रा भएको कुरा पौराणिक ग्रन्थहरूमा उल्लेख छ । मिथकहरूको अध्ययनबाट भारतमा भन्दा नेपालको होली पुरानो भएको बुझ्न सकिन्छ । भारतको मथुरा र बृन्दावनको होली भगवान् श्रीकृष्णको जन्मभन्दा पर जाँदैन, तर मिथिला क्षेत्रको होली त्रेता युगसम्म जान्छ। 

जनकपुरको होली पुरानो भएका कारणले चर्चित भएको हो कि अन्य कारण पनि छन् ?

खासमा मिथिला क्षेत्र नै फागुको जननी भएका कारण त्यो क्षेत्रमा फागुले गहिरो जरो गाडेको छ । होली कामको पर्व हो । यो प्रेम मिलनको पर्व हो, सद्भावनाको पर्व हो । त्यति बेला लडाइँ गरेर राज्य जित्ने चलन थियो । राज्य–राज्यबीच प्रत्यक्ष लडाइँ हुन्थ्यो । त्यस्तो बेला वर्षभरिको रिस–राग फाल्न फागुलाई माध्यम बनाइन्थ्यो । समाजमा पनि मानिस–मानिसबीच हुने बैमनस्यलाई फागुको दिन पार लगाइन्थ्यो । अर्कातर्फ वसन्त ऋतु लागेपछि पुरुष मनले स्त्री र स्त्री मनले पुरुषको चाहना गर्छ । यो प्राकृतिक कुरा हो । त्यतिबेला मानिस बाहिरी कुराबाट होइन, मन एवं शारीरिक आवश्यकताले एक–अर्काप्रति आकर्षित हुन्थे । यी सबै कारणले होली पर्वको जन्म भयो र बिस्तारै यो समाजको आवश्यकता बन्न पुग्यो । स्त्री पुरुषको प्रेम, समाज–समाजको प्रेम, राष्ट्र–राष्ट्रको प्रेम प्रकट गर्ने माध्यम बन्ने भएकाले यो समाजमा गहिरो रूपमा जम्यो । मधेसमा होली पर्वको महत्त्वलाई त्यसै रूपमा बुझ्नुपर्ने हुन्छ । 

 

तपाईंले सम्झिएका होलीका रमाइला पक्ष के–के हुन् ?

हामी सानो छँदा होलीमा लगाइने रंग जडीबुटीबाट बनाइन्थ्यो । प्राकृतिक रंग प्रयोग हुने भएकाले यस्तो रंग लगाउँदा रोग–व्याधि हट्थ्यो । अझ ठूलाबडाको हातबाट रंग लगाउन पाउनु गौरवको विषय हुन्थ्यो । बिस्तारै बजारमा कृत्रिम रंग तथा अबिरहरू आउन थाले । तैपनि बुवाले बनारसबाट हानिकारक वस्तु नमिसिएका रंग–अबिर किनेर ल्याउनुहुन्थ्यो । समयसँगै बजारमा नयाँ रंगहरू आए र प्राकृतिक वस्तु हराए । अर्कातर्फ जसरी पहाडमा दसैं आउनुपूर्व त्यसको तयारी गरिन्छ, त्यस्तै तयारी मधेसको होलीमा गरिन्छ । नयाँ तर पूर्ण रूपमा श्वेत वस्त्र लगाएर होली खेल्नुपर्छ । यसको अर्थ पवित्रतामा जोड दिनु हो । दिनभर रंग खेलेका व्यक्तिहरू पनि साँझ परेपछि नुहाइ–धुवाइ गरेर सेतो कुर्ता–पाइजामा लगाउँछन् र अबिर खेल्छन् । 

 

होलीको अर्को रमाइलो पक्ष के हो भने यो अवसरमा युवाहरू मज्जाले भाङ खान्छन् । जो बढी मात्तिन्छ, उसलाई साथीहरूले बाँसमा बाँधेर मृत व्यक्तिलाई झैं घाटमा पुर्‍याउँछन् । भाङ लागेको मानिस कि त हाँसिरहन्छ कि त रोइरहन्छ । यता उसका साथीहरू भने राम नाम सत्य हो भन्दै घाटतिर लागेको दृश्य साँच्चै रमाइलो हुन्छ । त्यसबाहेक देवर–भाउजूबीचको नोक–घोच निकै रमाइलो हुन्छ । प्रेममा परेका युवा–युवतीहरू त्यसदिन खुलेर अभिभावककै अघि रंग खेल्छन् । त्यो देखेर अभिभावकले यी दुई बीचप्रेम छ भन्ने कुरा पत्ता लगाउँछन् । गाउँघरतिर भने ससुराली आएको ज्वाइँलाई गधामा राखेर गाउँ परिक्रमा गराउने तथा गाली–गलौज गरेर रमाइलो गर्ने चलन छ । यता सहरतिरका प्रतिष्ठित व्यक्तिलाई मञ्चमा राखेर मुर्ख सम्मेलन गरिन्छ र तत्काल दिएको उत्तरका आधारमा उनीहरूलाई विभिन्न पदले विभूषित गरिन्छ । 

 

हिजो तपाईंले मनाउने होली र आज तपाईंका छोराछोरीले मनाउने होलीमा केही भिन्नता अनुभव गर्नुहुन्छ ?

गाउँमा अहिले पनि केटाकेटीहरू त्यसरी नै रमाइलो गर्छन् तर सहरमा हुर्किरहेका केटाकेटीहरूमा होलीप्रति त्यति ठूलो आकर्षण देखिँदैन । सायद हामीले होलीको प्राचीन महत्व र यसले दिन खोजेको भाइचाराको सन्देश राम्रोसँग नयाँ पुस्तामा सञ्चार गर्न सकेनौं । हामीलाई बुवाले होली खेल्न नयाँ पहिरन किनिदिनुहुन्थ्यो तर आज होलीमा नयाँ लुगा लगाउनुपर्छ भन्दा केटाकेटीहरू हाँस्छन् । यसको कारण के भने काठमाडौंमा होली खेल्नु भनेको पानी वा फोहोर वस्तुको प्रयोग गर्नु हो भन्ने बुझ्न थालिएको छ । मैले खेलेको होली र आज केटाकेटीले अनुभव गर्ने होलीमा धेरै फरक अनुभव गर्छु । यस्ता कुरा हटाउने अभियानस्वरूप नै हामीले जनकपुरिया भेला गरेका हौं ।

 

जनकपुरमा होलीको भोलिपल्ट त्यहाँका पोखरीमा पानीभन्दा रंग बढी हुन्छ भनिन्छ । यो पर्वको आर्थिक पक्षमा केही टिप्पणी गर्न चाहनुहुन्छ ?

खासमा जनकपुर पोखरीहरूको सहर हो । प्राचीन कालमा मिथिला क्षेत्रमा हजारौं पोखरी खनिएको चर्चा पाइन्छ । अहिले जनकपुर क्षेत्रमा मात्र ५२ वटा ठूला पोखरी छन् । जसमध्ये, गंगा सागर, धनुष सागर, अर्गजा, रत्न सागर, विहार कुण्ड, दशरथ तलाउ निकै प्रसिद्ध छन् । ती कुण्ड कहिले खनिए, त्यसमा कसले नुहाउँथे भन्ने आ–आफ्नै कथा पनि छ । होलीका बेला पुरा सहरले लाखौं होइन, करोडौंको रंग किनेर एक–अर्कामा सद्भावपूर्वक लगाउँछन् । प्रत्येक व्यक्तिले एक–दुई हजार त खर्च गर्छ नै । यसरी हेर्दा करोडौंको कारोबार हुन्छ । ती सबै व्यक्ति घरमा नुहाउनु भन्दा पोखरीमै नुहाउन मन पराउँछन् । यस अर्थमा पोखरीहरू रंगीन हुनु स्वभाविक हो । 

 

यो अन्तरवार्ता लिने क्रममै मधेस अशान्त भएको खबर आएको छ, के भन्नुहुन्छ ?

होली प्रेमको पर्व हो । यो राजनैतिक विद्वेषलाई होलीले पखाल्छ । होली र यसको सन्देशमाथि हामीलाई पूर्ण विश्वास छ ।

प्रकाशित :फाल्गुन ३०, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्