रंगहरू

- सुविन भट्टराई

फाल्गुन २९, २०७३

 

होलीको दिन । सानुमाया र उनकी साथी सहारा आपसमा होली खेलिसकेर सानुमायाकै घरअगाडिको सडकमा बसेर रमिता हेरिरहेका थिए । सडकमा रंगी–बिरंगी मानिसहरू होहल्ला गर्दै, गीत गाउँदै, नाच्दै, झुम्दै, एक–अर्कालाई रंग दल्दै वारपार गरिरहेछन् । यस्तो देखिइरहेको थियो मानौँ, सडक कुनै सुन्दर खोला हो र त्यहाँ क्षण–क्षणमा इन्द्रेणी पौडी खेलिरहेछ । 

 

परबाट आइरहेका एक हूल केटा उनीहरूको अघिल्तिर ट्याक्कै अडिए । उक्त हूलमा एउटा केटा सानुमायाको स्कुल पढ्दाको क्लासमेट रै’छ । साथीलाई देखेपछि सानुमाया मुस्कुराइन् । उसले गोजीबाट एकमुठी रंग झिकेर सानुमायाको गालामा दलिदियो । उसका साथीहरू अघि सरेर सहाराको गाला रंगाए । 

हूलमूलको मौकामा चौका हान्दै केही हातहरू सहाराको गालाबाट घाँटीमा अनि घाँटीबाट छातीसम्म पुगेर मनोमानी गर्न थाले ।

 

एकैचोटि असंख्य हात उनको छातीमा स्याउँस्याउँ कीराझैँ सल्बलाएको महसुस गरिरहेकी थिइन् सहारा । उनलाई टाँस्सिएको जुका उक्काएर मिल्काउनुझैँ अप्ठेरो भयो । चिच्याइन्, तर हूलमूलको होहल्लालाई उछिन्ने सामथ्र्य उनमा भएन । रुँदै, कराउँदै के–कसो गरेर उम्किइन् उनी । यता सानुमायाले पनि केही केटाको हात आफ्नो छातीतिर बढेको चाल पाइन् । उनी आफ्ना अघिल्तिर आइपर्ने सम्भावित बिपत्ति देखेर कुलेलाम ठोकिन् । यसकारणले उनलाई सजिलो भयो कि भीडले उनलाई पूरै घेरा हाल्न पाएको थिएन । सहारालाई त्यो घटनाको चोटबाट उम्कन करिब तीन महिना लाग्यो ।

यो केवल एक ठाउँमा घटेको घटना हो । सहरमा यस्ता घटना धेरै सुनिन्छन् । हाम्रा दिदीबहिनी एवं साथीहरूले धेरै ठाउँमा यस्तो समस्या भोगेका छन् । कसैले घरमा आएर परिवारलाई वा साथीलाई सुनाएका छन् । कसैले त्यो पनि नसकेर भित्रभित्रै, हीनताबोधले पिल्सिएर, आफैँ–आफैँमा रोएर दबाएका छन् । होली एउटा बहाना हुन्छ, केही उद्दण्ड र कामपिपाशु हातका लागि आफ्नो यौनकुण्ठा निकास गर्ने । रंग एउटा माध्यम हुन्छ, कसैको अनुहारमा दल्ने अनि त्यहाँबाट अन्यत्रै, ठाउँ–कुठाउँ प्रवेश गर्ने मौका खोज्ने । यस्तो बेला अरूको शरीरमा दलिने रंगभन्दा मानिसकै नियतले बद्लेको रंग बढी गाढा देखिन्छ, घिनलाग्दो देखिन्छ । 

 

उसैलाई मात्र रंगाउनुहोस् जो रंगिन चाहन्छ । उसैलाई मात्र भिजाउनुहोस्, जो भिज्न चाहन्छ । किनभने रंग सबैलाई मन नपर्न सक्छ । भिज्न हरकोही तयार नहुन सक्छन् अथवा रंग मन परे पनि, कसैलाई रंगाउने हात मन नपरिरहेको हुन सक्छ । भिज्न मन लागे पनि भिजाउने मन सङ्लो नपाएर भिज्नुभन्दा रुख्खा–सुख्खा बस्नै मन लागिरहेको हुन सक्छ । एउटाका लागि उल्लास र रमाइलो बनेको होली अर्काका लागि घाइते बनाउने गोली साबित नहोस् । उसैसित मात्र होली खेल्नुहोस्, जो तपाइंको साथमा रमाउँछ । होलीमा माया प्रीति देखाउँm, विकृति नफिजाउँm । किनभने होलीले कसैको पनि शरीरसित मनलागी खेल्ने लाइसेन्स दिँदैन ।

 

केही अर्थमा होली र प्रेम उस्तै हो, जो एकतर्फीभन्दा दुईतर्फीमै मजा हुन्छ । कमसेकम प्रेममा त छुट छ एकतर्फी गर्नलाई, होलीमा त त्यो पनि गैरकानुनी मानिन्छ । आफूले दलेको रंग आफूसम्म फिर्ता आयो भने रंगिएको पनि सार्थक हुन्छ, रंगाएको पनि अर्थ हुन्छ । होलीले कसैलाई पनि असुरक्षाका घीनलाग्दा र टीठलाग्दा रंगहरूले बिरुप पारेर नजाओस् । मानिसका आँगनमा खै कुन्नि कसरी आउँछ, तर हरेक मनमा होली सद्भावको रंग बनेर आओस्, आतंक बनेर नछाओस्, होलीले हामीमा उमंगको पंख फिँजाओस्, असुरक्षाको शंख नफुकोस् । रंगले मानिसलाई रंगीन सिकाओस्, रंगाउन सिकाओस्, नाङ्गिन नसिकाओस् । नङ्ग्याउन नसिकाओस् ।अनि दिदीबहिनीहरूसँग आग्रह, होली त्यहीँ खेल्नुहोस्, जहाँ आफू पूर्ण सुरक्षित महसुस गर्नुहुन्छ । उसैसित खेल्नुहोस् जोसँग विश्वस्त हुन सकिन्छ । 

 

मन परेको मानिसलाई लगाइदिउँm, रंग हुन्छ । मन नपरेको मान्छेलाई लगाइदिऊँ, दाग बन्छ । होली भन्नु नै के हो र ? अलिकति पानी, अलिकति रंग, ठाउँमै दलौँ, नभए यही पानी र रंग पनि तेजाब सावित हुनसक्छ ।

 

प्रकाशित :फाल्गुन २९, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्