वाइल्ड होली

- अश्विनी कोइराला

फाल्गुन २९, २०७३-  

लाज पनि थोरै लजाउँछ, जब उनका छाती रंगले होइन, सङ्लो पानीले भिजाउँछ ।’गएको वर्ष कान्तिपुर एफएमको होली विशेष कार्यक्रमपछि गायक थानेश्वर गौतमले फेसबुकमा एउटा स्टाटस राखे । स्टाटससँगै उनले थुप्रै तस्बिर पोस्टगरेका थिए, तर त्यो स्टाटस ती तस्बिरप्रति लक्षित थिएन, त्यो एउटै दृश्यप्रति लक्षित थियो जसलाई कान्तिपुर एफएमको होली कार्यक्रममा क्लिक गरिएको थियो । त्यो स्टाटस एउटी सेलिब्रेटीको पहिरन पानीले भिजेर भित्री दृश्यहरू दृष्टिगत भएपछि आएको भावना थियो ।
सङ्लो पानीले छाति भिजाउनु होलीमा देखिने समान्य दृश्य हो । भाङ र बियरले आफ्नो करामत देखाउन थालेपछि काठमाडौंमा धेरै युवा–युवतीको छाती पानीले मात्र होइन, रंग र वियरले समेत भिजाउँदै लान्छ । बढ्दै गएको गर्मीमा होली नै यस्तो दिन हो, जहाँ पारदर्शी पहिरनमा होली खेलिएको दृश्य सजिलै 
देख्न सकिन्छ । 

 

काठमाडौंको होली वाइल्ड हुन थालेको धेरै भैसकेको छ । होलीमा रंग खेल्न पर्यटकहरूलाई उक्साउने ट्रेकिङ एजेन्सीहरूले हनुमानढोका दरबार क्षेत्रमा स्थान र पर्याप्त अबिरको व्यवस्था मिलाउन थालेपछि होलीको नयाँरूप देखिन थाल्यो । जति बेला काठमाडौंमा बन्द समाज थियो, त्यति बेला पर्यटकहरू गाँजा तान्दै आफ्नी प्रेयसीसँग रंग र अबिर खेल्थे । त्यति बेला रंग र अबिरको कुहिरोभित्र पर्यटकीय जोडीले जे–जस्तो खुला व्यवहार गर्थे, त्यो दृश्य हेर्न लायक हुन्थ्यो । सम्भवत: होली उनीहरूका लागि यसअघि कहिल्यै नखेलिएको खेल थियो । त्यहि भएर उनीहरू होलीमा निकै रमाइलो गर्थे । फोटो पत्रकार मिन बज्राचार्य भन्छन्– होली पहिलेदेखि नै वाइल्ड रहँदै आएको छ । होली युवा–युवतीहरूलाई एक–अर्काको नजिक ल्याउने अवसर पनि हो ।’

 

होली वाइल्ड हुनुको कारण मिलोमतोमा रंग खेल्ने व्यवस्था हुनु मात्र होइन, लुकी–चोरी अरूलाई भिजाउन खोज्ने प्रवृत्ति पनि हो । केही वर्षअघिसम्म होली आउँदा–नआउँदै काठमाडौंका बाटो तथा गल्लीमा युवती हिँडेको देख्यो कि घरमाथि र गल्लीका कुनाबाट फोहोर पानी फ्याँकिन्थ्यो । परपिडक स्वभावका धेरैले बाटो हिँड्ने युवतीहरूका सुन्दर पहिरन बिगारेर मज्जा लिन्थे । यस्तै प्रवृत्तिका कारण लामो समयसम्म काठमाडौंको होली बद्नाम भयो । केही वर्षदेखि प्रहरीले त्यस्ता अवाञ्छित गतिविधिविरुद्ध कारबाही गर्न थालेपछि भने त्यस्तो विकृतिमा कमी आउँदै गएको छ ।

 

अहिले होलीमा नचिनेका व्यक्तिलाई फोहोर पानी खन्याउने जस्तो विकृति त्यति देखिँदैन, त्यस्तो खबर आउने बित्तिकै प्रहरीले कारबाही चलाएका कारण त्यस्तो प्रवृत्तिको अन्त्य हुँदैछ ।’ होलीमा महिला हिंसाको अनुसन्धानमा केही वर्ष खटिएका प्रहरी निरीक्षक रञ्जन श्रेष्ठ भन्छन्, ‘हामीलाई काठमाडौंको वसन्तपुरदेखि टेकुसम्मको क्षेत्रमा विशेष चनाखो हुन आदेश थियो । हामीले दर्जनौं युवालाई पक्रेर कारबाही चलाएका थियौं । फलस्वरूप बिस्तारै त्यस्ता अवाञ्छित क्रियाकलाप कमजोर भएर गए । 

 

टिन पार्टीको रन्को
कुनै बेला गल्ली–गल्लीमा लुकेर अरूलाई रंग छ्याप्ने प्रवृत्ति विस्थापित हुनुको एउटा कारण टिनएज पार्टीको विकास पनि हो । अहिले हरेक ठूला–साना रेस्टुराँले आफ्नो व्यवसाय प्रवद्र्धन गर्न होलीका अवसरमा विशेष पार्टीको आयोजना गर्दै आएका छन् । यस्ता कार्यक्रमका लागि स्कुल–कलेजमा टिकट बेचिन्छ । टिकट बेच्ने काम ती कलेजकै विद्यार्थीले गर्ने भएकाले प्रत्येक विद्यालयबाट ठूलो संख्यामा विद्यार्थीहरू होली खेल्न जम्मा हुन्छन् । त्यस्ता कार्यक्रममा खानपिन र रमाइलो गर्ने व्यवस्था समेत मिलाइएको हुन्छ । समूहमा नयाँ–नयाँ विद्यालयका विद्यार्थीसँग घुलमिल भएपछि त्यसले नृत्य र नृत्यसँगै पेयपदार्थको माग बढाउँछ । यस्तै कार्यक्रमका लागि विभिन्न कम्पनीले ‘फुच्चे बियर’ को उत्पादन प्रारम्भ गरेका हुन् । तीन वर्षअघि होलीकै दिन टुबोर्गले फुच्चे टुबोर्ग लञ्च गरेको थियो । यस्ता कार्यक्रममा पानी, रंग र अबिरको व्यवस्था पनि यिनै पेय पदार्थ उत्पादकहरूले गर्दै आएका छन् । 

 

पार्टी जान नभ्याउनेहरूले आफ्ना चोक तथा गल्लीमै रमाइलो गर्ने गरेका छन् । यो बेला काठमाडौंमा कहिल्यै नदेखिने मानिसहरू पनि होली खेल्न सडकमा उपस्थित हुन्छन् । घर, कार्यालय तथा अन्य कामको चापले यसअघि एक–अर्कासँग नचिनिएका व्यक्तिहरू पनि होली खेल्न आइपुग्ने भएकाले एक–अर्कासँग चिनजान हुने गरेको पाइन्छ । अलिकति त होलीको मौसम नै त्यस्तै हुन्छ, जसले एक–अर्काको नजिक जाऊँ, खुसी बाँडौं भन्ने भाव पलाउँछ । समाजशास्त्रका प्राध्यापक नवराज भण्डारी भन्छन्– त्यसमाथि खुला समाजले एक–अर्कासँग अपरिचित भैरहन पनि दिँदैन ।

 

होलीको दिन फुर्सद हुने भएकाले पनि टोलेहरूको जमघट हुने गरेको हो । यस्ता खेलमा कसैले कार्यक्रम आयोजना गरेका हुँदैनन् । कसैले कसैलाई बोलाएका हुँदैनन् । यस्ता कार्यक्रम स्वत:स्फूर्त हुने गरेका छन् । भण्डारीको अनुभवमा सुरु–सुरुमा नचिनेको मानिससँग होली खेलिहाल्न अप्ठ्यारो हुन्छ, तर एक–अर्कालाई रङ दल्दादल्दै त्यो संकोच हराउन थाल्छ । केही क्षणपछि उनीहरू एक–अर्कासँग वर्षौंदेखि परिचितझैं रंग र अबिर खेल्ने मात्र होइन, खाने कुरा पनि साटासाट गर्न थाल्छन् । 

 

काठमाडौंभन्दा तराई वाइल्ड 
काठमाडौं राजधानी मात्र होइन, विदेशबाट भित्रिने संस्कृति खुला रूपमा फैलने पहिलो गन्तव्य पनि हो, तर होलीको विषयमा भने तराई क्षेत्र जति खुला देखिन्छ, त्यति खुला काठमाडौं पनि देखिँदैन । प्राचीनकालदेखि नै होलीलाई वसन्तोत्सवका रूपमा मनाइँदै आएका कारण यस्तो देखिएको हो । तराई क्षेत्रमा होली प्राचीनकालदेखि नै प्रेम गर्ने पर्वका रूपमा परिचित छ । फागुन सुरु भएपछि किशोरहरूमा स्वभाविक रूपमै यौन इच्छाहरू जागृत हुने भएकाले बूढापाकाहरू यो पर्वमा युवा–युवतीहरूलाई खुला रूपमा होली खेल्न दिन्थे । अरू बेला युवा–युवतीलाई नजिक हुन नदिने त्यो बेलाको समाजमा पनि होलीमा खुला रूपमा एक–अर्काको नजिक जान छुट थियो । उनीहरूका क्रियाकलाप हेरेरै कसको जोडी कोसँग बाँधिदिने तय गरिन्थ्यो ।

 

कतिपयले त होलीलाई कामोत्सव पनि भन्ने गरेका छन् । पहिले–पहिले होलीको दिन युवा–युवतीहरू खुला रूपमा यौन क्रियाकलापमा सहभागी हुन्थे भन्ने कुरा पनि कतिपय समाजशास्त्री बताउँछन् । विकिपिडियामा उल्लेख भएअनुसार होली पर्वका विषयमा नारद पुराण तथा भविष्य पुराणमा विशद वर्णन गरिएको छ । कतिपय संस्कृत साहित्यमा काम महोत्सवका दिन प्रेमी–प्रेमिका मिलन र विवाह भएको कुरा उल्लेख छ । प्राचीन कालदेखि नै सरस्वती पूजाका दिनदेखि फागु पूर्णिमासम्मको दिनलाई वसन्तोसवका रूपमा व्याख्या गरिएको छ । यो समयमा युवा–युवतीमा अतिसय कामवासना उत्पन्न हुने भएकाले उनीहरूबीच प्रेम तथा विवाह हुने चलन थियो ।

 

होली नेपाल र भारतमा मात्र मनाइन्छ, तर नेपाली तथा भारतीय हिन्दूहरू संसारभरि छरिँदै गएपछि होली पनि विश्वब्यापी बन्दै गएको छ । अहिले संसारका १ सय १६ देशमा होली खेलिने तथ्यांक छ । त्यति मात्र होइन, भारत र नेपालका मुसलमानहरूले पनि होली खेलेको पाइन्छ । तत्कालीन भारतीय शासक अकबर आफ्नी श्रीमती जोधासँग होली खेल्थे भन्ने कुराको उल्लेख इतिहासमा पाइन्छ । दिल्लीको अलवर संग्रहालयमा राजा अकबरले आफ्नी श्रीमती तथा भारदारहरूसँग होली खेलेको ठूलो चित्र टाँगिएको छ । तत्कालीन समयमा हिन्दू र मुस्लिमबीचका कतिपय समस्या होलीकै दिन समाधान गरिन्थ्यो भनेर इतिहासकारहरूले उल्लेख गरेका छन् । त्यतिबेला मुस्लिमहरू होलीलाई ‘इद ए गुलाबी’ भन्थे । 

 

गधाको सवारी, ज्यूँदाको मलामी
होलीको वाइल्डनेस तराई क्षेत्रमा पाइन्छ, तर गाउँमा आएको ज्वाइँलाई रंग दलेर गाउँमा गधाको सवारी गराएको दृश्यले यसको गहिरो अर्थ खोज्न बाध्य बनाउँछ । मैथली ग्रामीण भेगमा ज्वाइँलाई गधाको सवारी गराउने चलन छ । उक्त सवारी गराउन गाउँका अविवाहित युवतीहरूको सक्रियता देखिन्छ । होलीका अवसरमा भर्खरै विवाह भएका छोरी–ज्वाइँलाई ससुराली बोलाइन्छ । यसरी निम्तोमा आएकी छोरीलाई घरभित्र राखेर मीठो–मीठो खान दिने तर ज्वाइँलाई भने सालीहरूको जिम्मा लगाइदिने चलन छ । जनकपुरिया समाजका अध्यक्ष संजय ढुंगाना भन्छन्– त्यस क्रममा ज्वाइँलाई गाली–गलौज गर्ने चलन पनि छ ।

 

पाहुनाको सत्कार गर्ने हिन्दू परम्पराविपरीत किन यस्तो अनौठो चलन चल्यो भन्ने कुराको केही अनुसन्धान त भएको छ, तर त्यो पर्याप्त छैन । जसरी काठमाडौंमा गाईजात्राका दिन आफूभन्दा माथिका व्यक्तिको खुलेर आलोचना गर्ने चलन छ, झन्डै–झन्डै त्यस्तै चलन तराई क्षेत्रको होलीमा देख्न पाइन्छ । यो दिन आफूले सम्मान गर्नुपर्ने व्यक्तिको आलोचना गर्न पाइने र त्यसो गर्दा रिसाउन नपाइने अघोषित नियम नै छ । 

 

अझ जनकपुर बजार र त्यस वरपरका क्षेत्रमा त ज्यूँदा मानिसलाई खटमा राखेर घाटतिर लाने चलन छ । भाङ खाएर रमाइलो गरिरहेका युवाहरूमध्ये केहीले चिता बनाउन थाल्छन् । समूहमा जो सबैभन्दा बढी मात्तिएको छ, उसलाई पक्रेर खटमा राम्रोसँग बाँधिन्छ । यसरी बाँधिएको मानिस मात्तिएका कारण आफैं पनि रमाइलो मान्न थाल्छ । खट बोक्नेहरूले शंख फुक्दै अनि राम नाम सत्य हो भन्दै जिउँदो मानिसलाई घाटतर्फ लान्छन् । 

प्रकाशित :फाल्गुन २९, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्