भाङको पेडा

- साप्ताहिक संवाददाता

फाल्गुन २९, २०७३

 

प्रमोद अग्रहरी, अभिनेता

मतराईवासी, होली भनेपछि हुरुक्कै हुन्छु । होली खेल्दा भाइचारा बढ्छ र रमाइलो हुन्छ । रंगहरूको यो पर्वमा एक–अर्कामा रंग दलेर दिइने शुभकामनाले वर्षभरिका सानातिना झगडा वा रिसराग मेटिदिन्छ र जीवनलाई नयाँ ढंगबाट जिउन सिकाउँछ । मेरो घर परासीमा हामी केटाहरूको होली सबैभन्दा रमाइलो हुन्थ्यो । साथीहरूको समूह बनाएर घर–घरमा गएर रंग लगाइदिने देखि मिठाई र घोट्टा पिउँदै ‘जोगिरा सरर’ भन्दै नाच्नुको मज्जा वर्णन गर्न सकिँदैन ।

 

म लागूपदार्थबाट टाढै रहने व्यक्ति हुँ, तर जीवनमा सबै चिजको स्वाद लिन मन लाग्छ । होली आएपछि परासीका मिठाई दोकानहरूमा भाङ मिसाइएको पेडा र लड्डु उपलब्ध हुन् थाल्छ । एउटा खाएपछि तीन त्रिभुवनको दर्शन हुन्छ भन्ने केटाहरूको मुखबाट सुनेको थिएँ । त्यो वर्ष यति मज्जाले होली मनाइयो कि मिठाई दोकानमा गएर मैले पेडा किनेर खाएँ । त्यो पनि एउटा होइन, तीनवटा ।

भाङले एकैपटक झ्याप्प पार्दैन, बिस्तारै लाग्छ, अनि उत्पातै गर्छ । पेडा खाएपछि बिस्तारै नशा लाग्दैथियो । बाटोमा पानी साँप भेटे ।

 

दौडदै गएर च्याप्प समाते । अनि त के चाहियो ? भेटे जति सबैलाई साँप घाँटीमा बेरिदिएर तर्साउन थालेछु । कतिपय मानिसको त पाइन्ट र सर्ट भित्र साँप छिराइदिएछु । पानी साँप विषालु हुँदैन, त्यसैले कसैलाई केही भएन । बिषालु साँप भएको भए ? अहिले आफ्नो त्यो बदमासी सम्भँmदा हाँसो उठ्छ । विस्तारै भांगको नशा बढ्दै गयो । घर पुगेकोसम्म सम्झना छ । त्यसपछि आकाशै खस्न लागेजस्तो, आफू हावामा तैरिएजस्तो हुन थाल्यो । निदाउन खोज्दा उडेजस्तो पो हुन थाल्यो । मन डराउन लाग्यो । त्यस्तो एकैछिनमा हिम्मत बढाउने र क्षणभरमै डर लगाउने कुरा अब आइन्दा कहिल्यै खान्नँ भनेर कसमै खाएँ मैले ।

प्रकाशित :फाल्गुन २९, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्