लोला

- साप्ताहिक संवाददाता

फाल्गुन २९, २०७३

 

वर्षा राउत, अभिनेत्री

अचेल लोला हान्ने क्रम धेरै कम भएको छ । प्रहरी प्रशासनले कडाइ गरेकाले पनि होला, बाटोमा हिँडिरहेकाहरूलाई त्यति लोला हानिदैन, अन्यथा सीधै जेलको हावा खाइन्छ । म स्कुल–कलेज पढ्दा भने होली आउनुभन्दा दुई हप्ताअघिदेखि सहरका उरन्ठेउलाहरूलाई होली लाग्थ्यो । बाटोका गल्लीहरूमा लुकेर बसेका त्यस्ता केटाहरूको निशाना हामीजस्ता केटीहरू हुन्थ्यौं । होली भनेको भाइचारा र सदभाव बढाउने चाड पो हो त । त्यस्ता केटाहरूले नै यस्तो राम्रो चाडलाई बदनाम गर्थे ।

त्यतिबेला म नौ कक्षामा पढ्थें ।

 

होली आउन अझै नौ–दश दिन बाँकी थियो । म स्कुल जाँदै थिएँ । स्कुलको गेट नजिकै केही केटा बसेका थिए । म नजिकै पुग्ने लाग्दा उनीहरूले लोलाको वर्षात गरे । मेरो स्कुल युनिफर्म निथ्रुक्क भिज्यो । मेरो कम्पारा तात्यो । रिसको झोंकमा आँखा देखिन । केटाहरूमाथि जाई लागें । मेरो ठुलो स्वर सुनेर वरपर मानिसहरू भेला भए । स्कुल भित्रबाट टिचरहरू पनि आउनुभयो । सबैलाई देखेपछि केटाहरूको अनुहार रातो–नीलो भयो अनि उनीहरू त्यहाँबाट कुलेलम ठोके । म भने भिजेकै युनिफर्ममा स्कुल छिरेँ।

 

त्योभन्दा दुई वर्षअघि मैले पनि त्यस्तै गरेकी थिएँ । होलीभन्दा दुई दिनअघि मैले बाइक चलाइरहेको एक व्यक्तिलाई लोला हाने र लुकेँ । पछि त्यो व्यक्ति यस्तो रिसायो कि मलाई बाहिर निस्कनै डर लाग्यो । उसले कराएको सुनेर टोलका धेरै मानिस जम्मा भए । म पनि थाहा नपाए जस्तो गरी ‘के भयो, के भयो’ भन्दै भिंडमा मिसिए । पछि मेरो एक जना भाईले त्यही व्यक्तिलाई ताकेर लोला हान्यो र भाग्यो । अहिले मलाई लाग्छ— मैले गलत गरेकी थिएँ । होली आपसमा प्रेमपूर्वक खेलिनुपर्छ, कसैलाई जबरजस्ती खेल्न बाध्य पार्दा वा रंग हाल्दा होलीको मज्जा पनि खल्लो हुन्छ ।

प्रकाशित :फाल्गुन २९, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्