होली खेल्दा लड्डुको गडबडी

- साप्ताहिक संवाददाता

फाल्गुन २८, २०७३

 

सी. ताराम कट्टेल ‘धुर्मुस’, हास्यकलाकार 

कुरा वि.सं २०६० सालको हो । म साथीसँग मिलेर थापाथलीमा बस्थेँ । त्यतिबेला एक्लै बस्ने आँट र औकात नै कहाँ थियो र ? जंगबहादुरले बनाएको दरबारमा कोठा थियो । उक्त दरबार दाँत फुक्लिएको वृद्धजस्तो देखिन्थ्यो । त्यो पनि बल्ल–बल्ल हास्यकलाकार खेम शर्माले मिलाइदिनुभएको । सुविधा नभए पनि त्यो कोठा सुविधासम्पन्न थियो । घाम देख्न नपाए पनि आमाको न्यानो काखझैँ लाग्थ्यो । किनभने कोठा भाडा सस्तो थियो । दुई जना मिलेर मासिक ७ सय तिरे पुग्थ्यो ।फागुन लाग्यो । होली आयो । रमाइलो गर्ने योजना बन्यो । लोला किन्ने सल्लाह भयो । लाग्यो कोकाकोलाजस्तै कुनै खानेकुरा होला, लोला । सहजै मुन्टो हल्लाउँदै सहमति जनाएँ । साथीले हातमा प्लास्टिकको पोको बोकेर आयो । प्लास्टिकभित्र हेर्छु, पातलो प्लास्टिक नै प्लास्टिक पो छ । साथीले भन्यो, यही हो लोला । प्लास्टिकमा पानी भर्ने, पानी भरिएको पोकाले मान्छे ताकेर ठोक्ने ।

 

इनारबाट पानी झिकियो । बाल्टीको पानी बोकेर माथि छतसम्म पुर्‍याइयो । त्यसै त धमिलो पानी उत्पातै लेदो गन्हाउँथ्यो । जीउमा पर्दा लुतोझैँ चिलाउन थाल्थ्यो ।  राम्रा–राम्रा केटीलाई ताकेर पानी भरिएको प्लास्टिकको पोका बर्साउने सल्लाह गरियो । मलाई भने त्यो होलीमा लोलाको कला नौलो लागिरहेको थियो।

 

झापामा हुँदा फागुपूर्णिमा नमनाएको होइन । सिन्दूर र अबिर साथीहरूको गालामा दल्दै हिँडिन्थ्यो । रातो बाँदरको जस्तो हूल बाँधेर डुलिन्थ्यो । डेढुको जस्तो एक–अर्काको अनुहार हेर्दै खुब हाँसिन्थ्यो । केटाहरूले केटीलाई अबिर र सिन्दूर लगाइदिने आँट हत्तपत्त गर्न सक्दैनथे । बरु केटीहरूले चाहिँ केटाहरूलाई रंगाइदिन्थे । केटामान्छेले केटीलाई रंगाउनु सिन्दूर हाल्नुसरह मानिन्थ्यो । साथी लोलाका पोका दुवै हातमा लिएर सिकारको पर्खाइमा थियो । म उसकै क्रियाकलाप हेर्न व्यस्त थिएँ । घरको छत–छतमा ऊजस्ता लोला बोक्ने धेरै र मजस्ता हेरेर बस्ने थोरै थिए । बाटोमा हिँड्ने बटुवाहरू लडाइँको सिपाहीझैँ चनाखो देखिन्थे । चुर्ना परेझैँ वल्लो छेउ र पल्लो छेउ गर्दै हिँड्थे ।

 

छतबाट फोहोर पानीको लोला बर्साउँदै होहल्ला गर्नेहरूै रमाइरहेका थिए । एक जना महिला होहल्ला र लोलाको वास्ता नगरी मत्ता हात्ती जसरी आउँदै थिइन् । उनमा मैले चुर्ना पनि देखिन किर्ना पनि देखिन् । किनभने उनी पटक्कै नडराएजसरी हिँड्दै थिइन् । साथीले भएभरको बल लगाएर इनारको पानी भरिएको प्लास्टिकको पोको भुइँतिर बर्सायो । ऊ हुत्तिँदै फुत्तै बाल्टीनजिक आयो । म छेउतिर पुगेँ । बाटोतिर हेर्ने क्रममा ती महिलासँग मेरो आँखा जुधि हाल्यो । पानीको पोको ती महिलाको ढाडमा लागेर फ्याट्टै फुटेछ । ढाड पानीले भिजेछ ।  

 

उनको अवस्था देखेर माया पनि लागेको थियो । मायालु तरिकाले नै हेर्दै थिएँ, तर उनी त मलाई धारे हात लाउँदै सराप्न पो थालिन् । उनको नजरमा मै दोषी देखिएँ । उनी गालीको वर्षा गर्न थालिन् । होलीको रमिता हेर्न बसेकाहरू मज्जा मानेर हेरिरहेका थिए । मलाई चाहिँ डरले पिसाबै छुट्ला जस्तो भैरहेको थियो । माथि आएर छतबाटै भुइँमा हुत्याइदिने पो हुन् कि ? डरले मनमा डेरा जमाइरहेको थियो तर उनी माथि आइनन् । सात पुस्तालाई पुग्ने गरी सराप्नु सरापिन् ।  म पनि सहन नसकेर छेलिएँ । उता साथी डल्लो परेर हाँस्यो । मलाई नौलो लागेको त्यो होली जीवनकै सर्वाधिक खल्लो होली थियो ।

 

भोलिपल्ट बिहानै प्रसाद भन्दै साथीहरूले मिठाई ल्याए । मिठाईसँगको मेरो दोस्ती काठमाडौँ आएपछि बढेको हो । सोलुमा ढिँडोले वाक्क भएर चामलको भात खान झापा झरेको मेरो मुखमा मिठाईको स्वाद मज्जाले झुन्डिएको थियो । बल्लतल्ल पाएको मिठाई जतिसक्दो छिटो कपाकप तीन–चारवटा खाइयो । एकै छिनपछि त भनन्न रिंगटा चल्न थाल्यो । ओठ मुख च्याप्पै सुक्यो । खेम दाइकी श्रीमती (भाउजू) ले साथीहरूलाई कहिल्यै नखाएको मान्छेलाई किन भाङ हाल्या मिठाई दिएको ? भन्दै कराएपछि पो बल्ल थाहा भयो । साथीहरूले अनेक स्वाङ पार्न मन लाग्ने भाङ हाल्या लड्डु मलाई ख्वाएछन् ।

 

एकछिनपछि त अचम्मै भयो । साथी मलाई देखेर हाँस्न थाल्यो, म साथीलाई हेरेर । साथीको नाक कहिले लामो देख्छु अनि हाँस्छु । कहिले आँखा कमिलाको जस्तो सानो देख्छु र हाँस्छु । किन हाँसिरहेको छु भन्ने नै बिर्सन्थे कहिले । नहाँस्दा पनि हाँसिरहेजस्तो लाग्थ्यो । कहिले पेट फुट्लाजसरी हाँसेर पनि चुपचाप रहेको भ्रम पथ्र्यो । त्यसपछि त आफ्नो लिखुरे ज्यान पनि भयङ्कर लाग्न थाल्यो । सुकेनास संघको अध्यक्ष नै बनाए पनि हुने खालको मान्छेलाई ठूलै साहस पलायो । दुई–चार जनालाई त मकै फाँडेजस्तो फाँड्छु भन्ने बल आयो । 

 

भाङको सुरमा तलबाट माथि कोठासम्म मुस्किलले पुगें । भर्‍याङको दुई खुड्किलो नउक्लिँदै उक्लिसकेँ त, न तान न भन्दै कराउँदो रहेछु । कोठामा पुगेर पल्टिँदा ढोका त सिलिङतिर देख्छु । नाक छाम्छु भन्दा हातले गाला छामिरहेको हुन्थ्यो । खुट्टामा लगाइरहेको चप्पल फुकालेर ढोकातिर फ्याँकेको आफ्नै टाउकोमाथि बज्रिन्छ । रिसले अर्कातिर फालेको चप्पल कहाँ पुग्यो पत्तो भएन । एक जोर मात्र होइन, ऋषिराम दाइले अघिल्लो दिन मात्र किनेर ल्याएको चप्पल पनि झ्यालबाट हुइँक्याइदिएछु ।  त्यो दिन भान्से हुने पालो मेरै थियो । खाना पकाउने समयमा मस्तले निदाएछु । जब निद्राले छोड्यो साथी पनि त्यही लडिरहेको देखेँ । उसलाई पनि उठाएँ, तर उभिनै सकिन्न त । टाउको दुखेर गिदी निक्लेलाझैँ भैरहेको थियो । भोकको कुरै नगरौँ । पाएदेखि चार थाल भात हसुर्थें जस्तो लागेको थियो । खाना पकाएर खाने सामथ्र्य थिएन । साथीले बाहिर होटलमै ख्वाउने वाचा गर्‍यो । हामी कोठाबाट बाहिर निस्कियौँ । बाटो काट्ने बेलामा साथी बीच बाटोमै ढल्यो । न उसलाई उचाल्न सक्छु न त तान्न नै । बाटो जाम भयो । के भयो भनेर मानिसहरूको भीड लाग्यो ।

 

बल्लतल्ल होटलमा पुगियो । खाना अर्डर गरियो । मेच तानेर भोको भेट भर्न बसियो । खाना निकै मीठो लागिरहेको थियो । स्वाद लिँदै खाँदै थियौँ । लड्डु खाएपछिको गतिविधि फिल्म झैँ रिप्ले हुन थाल्यो । हाँसोको फोहोरा छुट्न थाल्यो । मुखभरि खानाको गाँस थियो । गाँस हालेको साथीले हाँसो थाम्न सकेन । उसको मुखको भात वरपर खाना खाइरहेकाहरूको थालसम्म छरियो । खानाले भन्दा पहिले गालीले भुँडी भरियो । हातपात नै गर्छन् कि भन्ने डर थियो । धन्न कसो–कसो बचियो । दुई जनाले डकारुन्जेल खान नपाए पनि चार–पाँचवटा खानाको पैसो तिरियो । लिखुरे ज्यान बचेकोमा छाती फुलाएर कोठातिर हिँडियो।

 

जब होली आउँछ मलाई यिनै कुराको सम्झना आउँछ । अहिले त झन् होलीमा ढलको पानी हालिन्छ । जबर्जस्ती रंग दल्नुलाई साहस मानिन्छ । पुरुषको डरले महिलाहरू होलीमा बाहिरै निस्कन छाडिसके । होली रंगीन पर्व हो कि विकृतिको पोको हो ? छुट्याउन गाह्रो भैसक्यो । त्यसैले अब हामीले चाहनाविपरीत लोला हान्ने, फोहोर पानी छ्याप्ने, रिस फेर्ने पर्वका रूपमा विकास हुँदै गएको होलीको हुलिया बदल्न सक्नुपर्छ– जय होली !

प्रकाशित :फाल्गुन २८, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्