होलीका सदावहार गीत

- एजेन्सी

फाल्गुन २७, २०७३- 

होली भन्नेबित्तिकै हरेकको मन–मस्तिष्कले रंग तथा भाङको स्मरण गर्छ । त्यसै पनि हर्ष, उल्लास तथा मोजमस्तीको यो पर्वमा जो–कोही रंगिन चाहन्छन् । यही उमंगलाई मध्यनजर गर्दै बलिउडका चलचित्रमा विगतदेखि नै होली गीतलाई प्राथमिकता दिइँदै आइएको छ । बलिउडमा करिब ५८ वर्षअघिदेखि हिन्दी चलचित्रमा होली गीत समावेश गर्न थालिएको हो ।

 

राता–पहेंला–हरिया तथा गुलावी अनुहारहरू जब सम्पूर्ण रूपमा रंगमा रंगिएर होली गीतमा नाच्न थाल्छन्, त्यतिबेला मात्र उनीहरू सम्पूर्ण रूपमा होली मनाएको अनुभव गर्छन् । रमाइलो कुरा के छ भने आजको होलीमा समेत केही पुराना हिन्दी चलचित्रका उत्कृष्ट गीतले नै स्थान पाइरहेका छन् । बालबालिकादेखि वयष्क तथा वृद्धवृद्धासम्म सबैलाई तीनै होली गीतमा नाचिरहेको देख्न पाइन्छ । होलीको अवसरमा सर्वाधिक बजाइने ती गीतहरू कस्ता छन् त ?

 

होलीका गीतको चर्चा हिन्दी चलचित्र ‘नवरंग’ को ‘जा रे हट नटखट...’ आउँछ, जसमा अभिनेत्री सन्ध्याले पर्दामा अभिनेता तथा अभिनेत्री दुवैको चरित्र निर्वाह गरेकी छिन् । होली गीतमा लिजेन्ड अफ हिन्दी सिनेमा ‘मदर इन्डिया’ को गीत ‘होली आई रे...’ पनि अत्यधिक लोकप्रिय छ किनभने यो गीतको धुन तथा बोल आज  पनि सबैलाई उत्तिमै मन पर्छ । होलीको अवसरमा सर्वाधिक सुनिने गीतमध्ये एक हो बलिउडका ट्रेजेडी किङ दिलिप कुमारको गीत जुन चलचित्र ‘कोहिनूर’ मा समावेश छ । उक्त गीतमा एउटा प्रेमी (दिलीप) आफ्नी प्रेमिका (मिना कुमारी) लाई होलीको अवसरको सदुपयोग गर्दै भन्छ, –‘तन रंग लो जी आज मन रंग लो...।’

 

समय परिवर्तन भयो । हिन्दी चलचित्रको क्यानभास श्याम–श्वेतबाट रंगीन भयो, तर होलीको मस्तीमा कुनै कमी आएन, यसको चमक अझ बढ्दै गयो । बलिउडका सर्वाधिक सफल चलचित्र ‘सोले’ बाट होली गीत झिकिदिने हो भने उक्त चलचित्र नै अपूरो लाग्न सक्छ । सोलेमा धर्मेन्द्र तथा हेमा मालिनीसँगै पूरै गाउँ होलीको रंगमा रंगिदै गाउँछ— ‘होली के दिन दिल खिल जाते है...।’ आजको पुस्ताका दर्शकहरूसमेत होलीको अवसरमा यही गीतमा कम्मर मर्काइरहेका छन् ।

 

चलचित्रको पर्दामा केटा–केटीले एक–अर्काको शरीरमा हात हालाहाल गरेका होली गीतलाई पनि दर्शकले मन पराएका छन् । चलचित्र ‘नदिया के पार’ को गीत ‘जोगी जी धीरे धीरे...’ होली गीत त्यस्तै शैलीको छ । आज पनि यो प्रेम गीतसँग कसैले प्रतिस्पर्धा गर्न सकेका छैनन् । चलचित्र ‘कटी पतंग’ को होली गीत ‘आज ना छोडेंगे हम जोली...’ ले जो–कसैलाई प्रेमरसमा डुब्न बाध्य बनाउँछ । हरेक उमेरका दर्शक–श्रोतालाई यो गीतका शब्द तथा संगीतले झुमाउँछ ।

 

हिन्दी चलचित्रको क्यानभास परिवर्तन हुँदै जाँदा दर्शकले आधुनिक शैलीका चलचित्र मन पराउने थाले, जसमा अग्रणी रह्यो यशराज ब्यानर । यो ब्यानरले होली गीतको महत्व बुझेकै कारण आफ्ना विशेष चलचित्रमा विशेष शैलीकै होली गीत तयार पार्‍यो । तीमध्ये कतिपय होली गीतले होलीको त्यस्तो रंग सजाएका छन्, जसमा मानिसहरू आज पनि रंगीन मन पराउँछन् । चलचित्र ‘सिलसिला’ को ‘रंग बरसे भीगे चुनरवाली...’ गीतमा अमिताभ बच्चनले यति धेरै नशा भरेका छन् कि आज पनि उक्त गीत सुनेर, गाएर अनि हेरेर नरमाउने मानिस कमै छन् । चलचित्र ‘मशाल’ को ‘यही दिन था यही मौसम जवाँ जब हमने खेली थी’ गीत आज पनि उत्तिकै लोकप्रिय छ ।

 

चलचित्र ‘डर’ को ‘अंग से अंग लगाना...’ गीतले पनि होलीमा रामै्र स्थान पाउँछ । त्यसैगरी चलचित्र ‘बागबान’ को होली गीत पनि उत्तिकै मन पराइएको छ । यो गीतमा शाहरूख खान तथा जुही चावलाको होली केमेस्ट्रीले राम्रै चर्चा पाएको थियो । चलचित्र ‘वक्त : रेस अगेन्स्ट टाइम’ को ‘डू मि अ फेवर लेट्स प्ले होली..’ आजका युवाहरूको रोजाइको होली गीत बनेको छ । अनु मलिकको स्वरको यो गीतमा अक्षय कुमार तथा प्रियंका चोपडाले आकर्षक नृत्य गरेका छन् । यसैगरी रणवीर कपुर–दीपिका पादुकोण अभिनीत ‘बलम पिचकारी’ पनि युवाहरूबीच उत्तिकै प्रिय छ ।

प्रकाशित :फाल्गुन २७, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्