को हुँ ?

- अविरल थापा

फाल्गुन २६, २०७३-  

कसैले ‘तिमी को हौ’ भनेर प्रश्न गर्‍यो भने सुरुमा हामी सबैको पहिलो जवाफ आफ्नो नाम र थर हुन्छ । विदेश जाँदा कसैले सोध्यो भने म फलानो देशवासी भन्छौं । कसैले आफ्नो पेसा पनि भन्लान्, जस्तै— म पत्रकार फलानो, म डाक्टर फलानो, म बैंकर फलानो आदि–आदि । हामी आफ्नो नाम, पहिचान र शक्तिलाई जोडेर आ–आफ्नो परिचय दिन्छौं । सानो पद वा थोरै कमाइ हुने काम छ भने भन्न धकाउँछौं, लजाउँछौं । कोही शक्तिशाली वा प्रभावशाली मानिससँग संगत गर्न वा भेटेको बेला सँगै उभिएर वा कुम जोडेर फोटो खिच्ने लालसा राख्छौं र सामाजिक सञ्जालमा सम्प्रेषण गरिहाल्छौं । हामी त्यसमार्फत आफ्नो पनि पहुँच र सम्बन्ध छ है भनेर दुनियाँलाई देखाउन खोज्छौं । यस्तो लाग्छ हामी सबै शक्तिका पुजारी र भोका छौं । 

 

अरूका लागि कुद्दा–कुद्दै मानिस व्यस्त हुन्छ । चाहे घर–परिवारका लागि होस् वा कार्यालयको कामका लागि । परिवार नभैदिएको भए यस्तो गर्थें, उस्तो गर्थें, जागिरले गर्दा केही गर्न पाइएन, नत्र त मैले पनि जान्या थिएँ जस्ता अनेकन गनगन गरेर मानिस आफूलाई दु:खी, लाचार र पीडित छु भनेर प्रमाणित गर्न खोजिरहन्छ । खासमा मलाई यस्तो गर्न मन लाग्या थियो, खासमा त्यहाँ जान मन लाग्या थियो, मलाई अर्कै मानिस मन पर्‍या थियो तर अरूको खुसीका लागि, बाबुका लागि, आमाका लागि, श्रीमतीका लागि, प्रेमीका लागि सम्झौता गर्नुपर्‍यो भनेर पनि मानिस बकबकिरहन्छ । मानिस आफ्नो कमजोरी लुकाउन अरूलाई दोष दिएर झूटो कुरा गरिरहन्छ । आफूलाई ढाँट्न सक्दैन त्यसैले मैले यसो गर्नुपथ्र्यो, उसो गरें, यसलाई रोज्नुपथ्र्यो, अर्कैलाई रोजें भन्ने कुरा मनमा लिइरहन्छ र भित्रभित्रै पिल्सिरहन्छ ।

 

कतिपय मानिसलाई आफ्नो शक्ति के हो भन्ने हेक्का नै हुँदैन । अरूको लहैलहैमा लागेर धेरै मानिस कठपुतलीजस्तै भैसकेका हुन्छन् । आफूले गरिरहेको कामप्रति, संगत गरिरहेको मानिसप्रति, आफ्ना सम्बन्धहरूप्रति खुसी हुँदैन तर व्यवहारमा उसले त्यसैलाई जारी राखेको हुन्छ । न छोड्ने हिम्मत गर्छ, न भन्ने हिम्मत गर्छ, न फेर्ने हिम्मत गर्छ, किनभने ऊ आफैंसँग कहिल्यै कुरा गर्दैन, आफैंलाई कहिल्यै सोध्दैन । सधैं अरूको धारणा लिएर निर्णय गर्न खोज्छ, सबैलाई खुसी तुल्याउन खोज्छ । समाज एवं भविष्यसँग डराउँछ । 

 

म को हुँ ? म के गर्दैछु ? कता जाँदैछु ? म किन दु:खी छु ? म के गर्‍यो भने सुखी हुन्छु ? म किन असुरक्षित महसुस गर्छु भनेर फुर्सदमा आफैंलाई सोध्ने हो भने हरकुराको जवाफ आउँछ । आफ्नो कमजोरी स्वीकार गर्ने साहस निकै कमसँग हुन्छ, जसले स्वीकार गर्छन् र सुधारतर्फ लाग्छन् उनीहरूले आफैंलाई जित्छन् । आफू कति असल र कति खराब छु, आफ्नो बलियो पक्ष र दुर्बल पक्ष आफूलाई जति अरूलाई थाहा हुँदैन । दुनियाँलाई ढाँट्न सकिएला, आफूलाई ढाँट्न सकिँदैन । आफूले आफैंलाई नसम्झाई र आफैंले आत्मबल नदेखाई कसैले केही गर्न सक्दैन । अरूले बाटो देखाइदिन सक्छन् तर यात्रा आफैंले गर्नुपर्छ । अरूले ढाडस दिन सक्छन् तर मन आफैंले बुझाउनुपर्छ ।

 

कतिलाई लाग्छ आफू भइनँ भने आफ्नो घर परिवार नै डुब्छ, कार्यालय नै डुब्छ, कसैको जिन्दगी डुब्छ । यो मानिसले पाल्ने सर्वाधिक ठूलो भ्रम हो । केही दिन वा केही समय तल–माथि पर्ला तर कोही भएर वा नभएर कुनै कुरा रोकिँदैन । संसार चलिरहन्छ । केही समय कोही दु:खी होला तर सधंै यो भैदिएको भए यस्तो हुन्थ्यो भन्ने सम्झेर कोही बस्दैन । अरूको जिन्दगी बनाउन खोज्दा–खोज्दै आफ्नै जीवन भताभुंग भएको हेक्का कतिलाई हुँदैन । अरूको डाह गर्दागर्दै आफ्नो सकिएको पनि थाहा हँुदैन । अरूको जिन्दगीसँग आफूलाई दाँजेर दु:खी हुनेहरू धेरै हुन्छन् । अरूजस्तो बन्न खोज्नेहरू न अरूजस्तो हुन सक्छन्, न आफूजस्तो नै हुन्छन् । यहाँ कोही कोहीजस्तो हुनै सक्दैन, आफू आफैंजस्तो बन्ने हो । हामी सबै फरक र विशेष छौं ।

 

आफूले गरेको कर्म र कमाइप्रति सन्तुष्ट छौं भने त्यही ठूलो कुरा हो । जोसुकैलाई जे पनि अरूले गरेको राम्रो र सजिलो लाग्छ, अरूको जिन्दगी हराभरा लाग्छ । सबैले आफनो कर्मअनुसार सुख–दु:ख भोग्छन् । तनाव जोसँग पनि हुन्छ फरक यत्ति हो जान्नेहरू तनावलाई विर्सजन गर्दै आफूलाई ताजगीकरण गर्दै अघि बढ्छन्, नजान्नेहरू गनगन गरेर रोइरहन्छन् । 

 

सबैभन्दा ठूलो कुरा हामी के चाहन्छौं पत्ता लगाउनु जरुरी हुन्छ । कहाँ पुग्न खोजेको हो भन्ने थाहा पाएपछि बल्ल बाटो खन्न थालिन्छ वा बाटो पत्ता लगाउन थालिन्छ । सबैको आ–आफ्नो यात्रा हुन्छ । कसैले पनि अचानक कुनै कुरा प्राप्त गरेको हुँदैन, त्यसका लागि पृष्ठभूमिमा उसले लामो संघर्ष र मेहनत गरेको हुन्छ । धेरैलाई फल लागेपछि आँखा लाग्छ तर त्यो फल लाग्नुपूर्व उसले खेपेको हुरी–बतास, असिनापानीको मूल्यांकन गरिँदैन । अरूको देखासिकी गर्न छाडेर, अरूलाई दोष दिन छोडेर ‘म को हुँ र के गर्न सक्छु’ भनेर प्रश्न गर्न थाल्ने हो भने आफूजति शक्तिशाली मानिस अरू कोही फेला पर्नेछैनन् ।

 

facebook.com/abeeralthapa
Twitter@abeeralthapa 

प्रकाशित :फाल्गुन २६, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्