मोबाइल कंग्रेसका चर्चित मोबाइलहरू

- साप्ताहिक संवाददाता

फाल्गुन २६, २०७३- 

बार्सिलोनामा वार्षिक रूपमा आयोजना हुँदै आएको मोबाइल वल्र्ड कंग्रेसले यसपटक पनि ग्याजेट प्रेमीहरूको ध्यान आकर्षित गर्‍यो । मोबाइल कंग्रेसमा धेरै नयाँ किसिमका ग्याजेट आए पनि अधिकांशको ध्यान मोबाइलले नै तान्यो । यो कंग्रेसमा ध्यान खिच्न सफल केही मोबाइल सेट : 

 

नोकिया–३३१०

सन् २००० मा बजारमा आउँदा करोडौं प्रयोगकर्ताको मन जितेको नोकिया–३३१० मोडललाई परिमार्जन गरेर नोकियाले फेरि बजारमा उतारेको छ । मेलाको मुख्य आकर्षण एवं कौतूहलको विषय बनेको यो सेटको ब्याट्री क्षमता पहिलेको भन्दा कम भए पनि अहिले बजारमा पाइने मोबाइलको तुलनामा बढी नै छ । पहिलेको तुलनामा पातलो आकारमा उपलब्ध हुने यो सेटमा २२ घण्टासम्म कुराकानी गर्न सकिन्छ । ओपेरा मिनी ब्राउजरबाट केही वेबसाइट सुस्त गतिमा चलाउन सकिने यो सेटमा २ मेगा पिक्सेलको क्यामेरा पनि छ । २४०ह्३२० पिक्सेल रिजोलुसन युक्त यो सेट ४ रंगमा उपलब्ध छ । माइक्रो एसडी कार्ड राख्न मिल्ने यो सेटको अन्तर्राष्ट्रिय बजार मूल्य करिब ६ हजार रुपैयाँको हाराहारीमा रहने अनुमान गरिएको छ ।

 

 

एलजी जी सिक्स

एलजीले यो मेलामा जी सिक्स सार्वजनिक गर्ने घोषणा गरेर आफ्नो यो नयाँ सेट अझ आकर्षक भएको दाबी गरेको छ । गत वर्ष यही मेलामा जी फाइभ सार्वजनिक गरेको एलजीले उक्त मोडलमा धेरै सुधार गरेको छ । ५ दशमलव ७ इन्चको स्क्रिन युक्त यो सेटमा डोल्बी भिजन छ, जसले कलर, ब्राइटनेस एवं कन्ट्रासलाई स्वचालित रूपमा बढाउने–घटाउने काम गर्छ भने यसको एउटै स्क्रिनलाई दुईवटा बनाएर दुई फरक एप एकै पटक चलाउन सकिन्छ । यो सेटमा एचडीआर टेक्नोलोजी भएका कारण १ अर्ब रंग प्रस्ट रूपमा हेर्न मिल्छ । ५ मेगा पिक्सेल फ्रन्ट र १३ मेगा पिक्सेलको दुईवटा वाइड र स्ट्यान्डर लेन्स युक्त यो सेटको क्यामेराले पानारोमिक फोटो खिच्न सक्छ । ४ जीवि रोम एवं ३२ तथा ६४ जीबी स्टोरेज क्षमताको यो सेट १ दशमलव ५ मिटर गहिरो पानीमा झर्दा अथवा वर्षामा ३० मिनेट भिज्दा पनि पानी नछिर्ने किसिमको छ ।

 

सोनी एक्सपेरिया एक्सजेड

सोनीले आफ्नो एक्सपेरिया एक्सजेड सिरिजको मोबाइल सेटलाई पनि यही मेलामा सार्वजनिक गर्‍यो । सोनीले यो सेटको स्क्रिन फोर के एचडीआर रहेको तथा यो क्षमताको यही पहिलो स्मार्टफोन भएको दाबी गरेको छ । 

 

यसको ५ दशमलव ५ इन्चको स्क्रिनमा प्रयोगकर्ताले फोर के फिल्म एवं कार्यक्रम हेर्न सक्छन् । यो सेटको भिडियो क्यामेराले प्रतिसेकेन्ड ९ सय ६० फ्रेममा भिडियो खिच्न सक्छ । यसको अर्थ सुस्तगतिमा भिडियो खिच्नु हो । यत्तिको सुस्तगतिमा भिडियो खिच्ने यो नै पहिलो क्यामेरा भएको सोनीले जनाएको छ । चार रंगमा उपलब्ध गराइने यो सेट यो अंग्रेजी वर्षको मध्यतिर बजारमा आउनेछ ।

 

 

हुवे पी टेन

चिनियाँ मोबाइल निर्माता हुवेले बार्सिलोनामा सार्वजनिक गरेको पी टेन मोडलको सेटले एप्पलको आइफोन सेभेनलाई चुनौती दिनेछ । हुवेले जर्मनीको लेन्स निर्माता कम्पनी लाइकासँग पहिलो पटक सहकार्य गर्दै निर्माण गरेको पी टेनमा दुईवटा रिअर क्यामेरा तथा एउटा फ्रन्ट क्यामेरा छ । रिअर क्यामेरामा एउटा स्ट्यान्डर र अर्को वाइड एंगल छ भने फ्रन्ट क्यामेराले सेल्फी खिच्न खोज्दा कति जना मान्छे छन् भनेर गन्ने काम गर्छ । एकभन्दा बढी व्यक्ति भए लेन्स स्वचालित रूपमा वाइड एंगलमा परिणत भएर फोटो खिच्छ । यो सेटले फोटो खिच्नुभन्दा अघि थ्रिडी डेफ्थ सेन्सर टेक्नोलोजी प्रयोग गर्दै प्रोट्रेट फोटोलाई अझ आकर्षक बनाउने काम गर्छ । एप्पल र सामसुङको बढ्दो अन्तर्राष्ट्रिय बजारमा आफूलाई बलियो सावित गर्न पनि हुवेले यो सेटको दुई भर्जन सार्वजनिक गरेको हो । 

प्रकाशित :फाल्गुन २६, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्