सिमानामा कला–साहित्य

- किशोर नेपाल

फाल्गुन २६, २०७३-  

केही वर्षअघिसम्म कसैले सोचेको पनि थिएन होला, नेपालको पूर्वी सिमानाको अन्तिम बिसौनी काँकडभिट्टा, मेची नगर साहित्य, कला, गीत, कविता, विचार, विश्लेषण र संश्लेषणको अपूर्व जमघट होला, तर भयो । सिमानाको सानो र संकुचित बजारबाट कला–साहित्य उत्सवका माध्यमले अध्ययन र अभिव्यक्तिको विशाल आवाज घन्कियो । काँकडभिट्टामा कला–साहित्य उत्सव । साँच्चै, यो कसैले सोचेको थिएन । रिडर्स झापालाई केन्द्रबिन्दुमा राखेर काँकडभिट्टाका युवाहरूले यसलाई वास्तविकतामा अनुवाद गरे । युवावर्गको वृत्तमा अध्ययनशीलका रूपमा चर्चित उज्ज्वल प्रसाई हर्ताकर्तामध्येका देखिए । यो निकै लामो यात्राको प्रारम्भ थियो । यात्रा कठिन त थिएन । बेला–बेलामा हतासाका क्षणहरू आउँथे । ती सबैलाई मिच्दै र पेल्दै काँकडका युवाहरूको पाइला अघि बढ्यो ।

 

देश निर्गतिमा छ । कुनै नयाँ काम हुन लाग्यो भने अप्रासंगिक प्रश्न सोधिन्छ, ‘कुन पार्टीको रहेछ ?’ पार्टीसँग नजोडिएसम्म कुनै कार्यक्रम हुनै सक्दैन भन्ने मनस्थितिमा छन् जनता । यसैलाई हामी ‘लोकतान्त्रिक गणतन्त्र’ भनेर बुद्धिविलास गरिरहेका छौं । अभिव्यक्ति स्वतन्त्रताका हाम्रा सीमाहरू खुम्चिएका छन् । यो अवस्थामा रिडर्स झापाका साथीहरू कुनै गुट, समूह वा पार्टीबाट लाञ्छित भए भने आश्चर्य छैन । आश्चर्य त यसमा छ, पठन संस्कृतिको तेस्रो खुड्किलो बिना कुनै व्यवधान उक्लियो रिडर्स झापाले ।

 

मेची किनाराको सानो नाकाबाट मेची नगरपालिकाको ठूलो फ्रेममा अटाउँदासम्म काँकडभिट्टा र कार्यक्रम कला–साहित्य उत्सवको कायाकल्प भैसकेको छ । तैपनि बजारको आकार त्यति विस्तृत भैसकेको छैन कि यसमा कला–साहित्य उत्सव आफ्नो पूरै आकारसहित समाहित होस् । मेची नगरमा अलिकति सुविधा थपियो भने, यसको व्यवसाय विस्तार भयो भने र आर्थिक गतिविधिमा लाग्नेहरूले उदार भाव राखेर यस प्रकारका संयोजनहरूलाई टेको चढाउन सके भने काँकडभिट्टाले कला साहित्य उत्सवलाई अहिलेको भन्दा राम्रो तवरले धान्नेछ ।

 

अहिले पनि यसले धान्यो र जेनतेन धान्यो, यो अलग कुरा हो, तर जुन गतिमा कला–साहित्य उत्सवको आकारमा विस्तार भैरहेको छ त्यसका आधारमा भन्ने हो भने काँकडभिट्टा सहरको विकास र विस्तार नभएसम्म उत्सवलाई जेनतेन मात्र धान्नेछ । मेची नगरका विकासका सम्भावनाहरू हेर्दा मेचीको प्रमुख सहर बन्ने तरखरमा छ काँकडभिट्टा । कला–साहित्य उत्सव त यो नगरपालिकको पहिलो उत्सव बनिसकेको छ । राजनीतिले हस्तक्षेप नगर्ने हो भने यो सहर सिमानाको संयुक्त सांस्कृतिक केन्द्रका रूपमा विकसित हुन सक्छ । भारतीय नेपाली स्रष्टा एवं नेपाली स्रष्टाहरूबीच एउटा सांस्कृतिक चौतारीका रूपमा यसको विकास हुन सक्यो भने वारिपारिको संयुक्त साहित्यिक क्रियाकलापले नेपाली भाषा, साहित्य, संस्कृति तथा शिल्पको विकास एवं विस्तारमा निकै ठूलो योगदान हुनेछ ।

 

कला–साहित्य उत्सवको मूल नारा थियो, ‘गतिशीलताका लागि निरन्तर अध्ययन ।’ मानिसलाई अध्ययन र चिन्तनका लागि अभिप्रेरित मात्र नगरेर विचार र विश्लेषणमा विशेष जोड दिएको थियो उत्सवले । डा. देवेन्द्रराज पाण्डे, प्रदीप गिरी, चैतन्य मिश्र, सी.के. लालका विचारहरू सम्यक् थिए । उत्सवमा विचारका नयाँ मूल त खासै फुटेका होइनन्, तर विचारका प्रवाहहरू नयाँ गतिमा अघि बढ्न भने पक्कै खोजेका थिए । उत्सवमा काँकडभिट्टाका स्थानीय व्यक्तिहरू संलग्न थिए । त्यो संलग्नता चित्रकलामा, पुस्तक प्रदर्शनीमा, कवि र कवितामा तथा गीत–संगीतमा 
देखिएको थियो ।
विषयहरू नयाँ पुराना दुवै थिए । विद्वान्हरू दोहोरिएका पनि थिए । विचारको अविरल वर्षा रमाइलो आयाम थियो उत्सवको । महिलाहरूको पक्षमा थुप्रै विचारको खेती भयो । उमा सुवेदी, सरिता तिवारी, सावित्री गौतम तथा अर्चना थापाले नेपाली महिला लेखनका आन्तरिक चहल–पहल र गतिविधिहरूलाई राम्रैसँग उजागर गर्नुभयो । सावित्री गौतमले आफ्ना कुरालाई निकै बोल्ड हिसाबले प्रस्तुत गर्नुभएको थियो । छलफलका लागि विषयहरू राम्रैसँग समेटिएका थिए– गीतदेखि पत्रकारितासम्म । हास्यव्यंग्यको विधालाई पनि समेट्न सकिएको भए अझ राम्रो हुने थियो ।

 

कला–साहित्य उत्सव फरक चरित्रको थियो । अपनत्व र सरलताका बीच सञ्चालित यो उत्सव आफैंमा उपलब्धि थियो । उत्सवका सहभागीहरू बेग्लै आनन्द महसुस गर्दै थिए । औपचारिक लन्च–डिनरबाट अचानक अनौपचारिक दालभातमा आइपुगेका मित्रहरूका लागि काँकड एउटा उपमा बन्यो ।

 

प्रकाशित: फाल्गुन २६, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्