जीवनको अर्को अध्याय सुरु भएको छ

- अश्विनी कोइराला

फाल्गुन २५, २०७३-  

श्वेता खड्का यस्ती अभिनेत्री हुन्, जोसँग लामो कुरा गर्न ठूलै आँट चाहिन्छ । श्वेता आफैंले पनि भावुक किसिमका मानिस लामो समयसम्म उनका अघि टिक्न नसकेको अनुभव गरेकी छिन् । नायक श्रीकृष्ण श्रेष्ठसँग वैवाहिक जीवनमा बाँधिएको ३१ औं दिन एक्ली भएकी यी अभिनेत्रीको अनुहारमा त्यो घटनाको दुई वर्ष नपुग्दै अनौठो मुस्कान देखिन थालेको छ । मानिसले उनी यति चाँडै सामान्य जीवनमा फर्कलिन् भन्ने कल्पना गरेका थिएनन्, तर उनको आत्मविश्वास यति बलियो भएर आएको छ, त्यसलाई देख्दा हरेक व्यक्ति त्यसको कारण थाहा पाउन लालायित देखिन्छन् । आखिर के छ, उनको मुस्कानको रहस्य ? श्रीकृष्ण श्रेष्ठको पहिलो वार्षिकीसम्म करिब–करिब मूच्र्छित अवस्थामा रहेकी श्वेतासँग साप्ताहिकले केही समय बिताउने मौका पाएको थियो ।     

 

तपाईंको हाँसोमा पीडा मुछिएको देखिन्छ । कतै अरूलाई देखाउन मात्र हाँस्ने प्रयास गर्नुभएको त होइन?
हामी जुन समाजमा हुर्कियौं, बढ्यौं, त्यो समाजले अरूका लागि बाँच्न प्रेरित गर्छ । सम्पूर्ण जीवन अरूका लागि होमिदिन्छ । म पनि त्यही परिवेशमा हुर्किए । जब श्री दादा रहनुभएन, मलाई लाग्यो, अब जीवनको उद्देश्य समाप्त भयो । म सकिएँ । अब मेरो कोही छैन, केही छैन भन्ने लाग्यो । यो सोच मेरो अचेतन मनभित्र यसरी गढेको छ, जसले मलाई कहिल्यै अर्को कुरा सोच्न दिँदैन । वास्तवमा जुन दिनदेखि मैले उहाँलाई माया गर्न थाले, आफूलाई उहाँमै अनुवाद गरेकी रहेछु । जब मैले उहाँलाई गुमाए, उहाँसँगै मभित्रको सम्पूर्ण खुसी, उद्देश्य, सपना, हाँसो सारा कुरा हराए तर खासमा त्यो मेरो भ्रम थियो । मैले सोचेका कुरा अन्तिम सत्य होइन रहेछन् । म फेरि हाँस्न सक्ने रहेछु, जिजिभिषा पलाउने रहेछ । यो नक्कली हाँसो होइन, तर म हाँस्दा–हाँस्दै अचानक रुन्छु । कारण अर्को सत्य पनि छ, म जसलाई संसारमा सबैभन्दा बढी माया गर्छु, उहाँ यो संसारमा हुनुहुन्न ।

 

तपाईं जुन मोबाइल बोक्नुहुन्छ, त्यो नम्बर कुनै बेला श्री कृष्णजीको थियो । यो फोन नम्बरप्रति किन यति मोह ?
यो त्यही नम्बर हो, जुन नम्बरबाट फोन आउँदा मलाई आफ्नो अभिभावकको फोन आएझैं लाग्थ्यो । धेरै पटक यही फोनबाट उहाँले मप्रति माया प्रकट गर्नुभएको छ, सम्झाउनुभएको छ । हामीले यही फोनबाट ठूला–ठूला बिजनेस डिल गरेका छौं । म उहाँका कुनै पनि कुराबाट पर हुन चाहन्नँ, यो फोन त्यसको उदाहरण हो ।

 

तपाईंको हातमा पहिले टाटु थिएन, अहिले टाटु खोपाउनुभएछ । त्यसमा श्रीजीको नाम लेख्नुभएको हो?
होइन, त्यसमा दुईवटा मिति खोपेको छु । एउटा असार २३ गते र अर्को डिसेम्बर २७ तारिख । डिसेम्बर २७ तारिखका दिन उहाँ र मेरो पहिलो भेट भएको थियो । त्यो बेला मैले भर्खरै प्लस टु सकेकी थिएँ र नृत्य एवं शरीरिक व्यायाम गर्न वसन्त श्रेष्ठ सरको क्लास जान थालेकी थिएँ । श्री दादा कहाँ भेटिएला चलचित्रका लागि नयाँ अनुहार खोज्दै हुनुहुँदो रहेछ । डिसेम्बर २७ तारिखका दिन उहाँ मलाई भेट्न आइपुग्नु भयो । म त्यो दिन बिर्सन चाहन्नँ ।

 

डिसेम्बर २७ मै श्रीजीको भेट तपाईंसँग भएको हो भन्ने कुरा कसरी याद भयो ?
किनभने त्यो दिन सलमान खानको बर्थ डे थियो जसको चर्चा नृत्य सेन्टरमा भैरहेको थियो । सलमान खान मलाई पनि मनपर्ने कलाकार भएकाले त्यो कुरा मेरो मनमा गढ्यो । एकै छिन्मा श्री दादा आएर चलचित्रमा अभिनय गर्ने प्रस्ताव राख्नुभयो । त्यसैले पनि त्यो मिति बिर्सन सकिनँ ।

 

अनि असार २३ ?
हाम्रो विवाह भएको दिन । यो मिति त कसरी बिर्सन सक्छु र ? तैपनि मैले यसलाई टाटुमा खोपाएँ । कुनै दिन मेरो पनि मृत्यु हुन्छ । मेरो शरीर जल्दा मानिसले मेरा यी दुई मिति जलेको देखून् ।

 

साउन २४ तपाईंको सबैभन्दा पीडाको मिति हो । त्यसलाई किन खोपाउनुभएन ?
म उहाँसँग बिछोड भएको कुरा सम्झन चाहन्नँ । आखिर प्रेममा मृत्युको कुराले त्यति ठूलो महत्व पनि राख्दो रहेनछ । म उहाँसँगका स्वर्णीम पलमात्र सम्झन चाहन्छु ।

 

आम विवाहित महिलाझैं तपाईंहरूको अवस्था हनिमुन मनाउने खालको भएन । तपाईंले उहाँसँग खुसीका क्षण बिताउन पाउनुभएन । तपाईंको मनले कस्ता कुरा सम्हालेर राखेको छ ?
सत्य हो । धेरैलाई यो कुरा थाहा छैन । हामीले हनिमुन मनाएनौं । खासमा विवाहको अघिल्लो दिनदेखि नै उहाँलाई सन्चो भएन । विवाहअघि हामी बिजनेस पार्टनर थियौं । मिल्ने साथी मात्र थियौं । उहाँको दाजुले अचानक तिमीहरू विवाह गर भन्नुभयो । हामी त्यो कुरा सुनेर हाँसेका थियौं । यसरी भएको थियो हाम्रो मिलन । विवाह नजिकिँदै जाँदा उहाँ बिरामी पर्न थाल्नुभयो । विवाहमा उहाँ सीधा उभिन सकिरहनुभएको थिएन ।

 

विवाहको भोलिपल्ट हनिमुन मनाउने निहुँले उहाँको उपचारका लागि हामी गुपचुप रूपमा दिल्ली पुग्यौं । त्यो बेला अस्पतालमा मैले जुन प्रेमको अनुभूति गरेँ, ती कुरा मनमा सजाएर राखेको छु । मेरो खटाइ, समर्पण र त्याग देखेर चिकित्सकहरू छक्क पर्दै भन्थे, ‘बहुतोंको सेवा करते हुए देखें है पर आपने सावित गरदिया, प्यार क्या होता है ?’ म मेरो सेवा र प्रेमले उहाँको रोगलाई जितेर देखाउँछु भन्ने विश्वासमा थिएँ । मैले कुन ब्रत लिइन ? के भाकल गरिनँ ? कुन ईश्वर सम्झिन ? पैसा पानी सरी बगाएँ । यसरी खर्च गरेँ कि उहाँलाई एक घण्टाको पीडाबाट मुक्ति दिन एक लाख रुपैयाँ पर्ने इन्जेक्सन छ भन्ने सुनेपछि बहुलाई झैं ठाउँ–ठाउँ पुगेर त्यो सुई खोजेर ल्याएँ । त्यतिबेला मेरो मनमा एउटा मात्र कुरा थियो, म उहाँलाई जसरी पनि ठीक पार्छु ।
 

तर ठीक हुनु भएन...अनौठो सत्य । अहिले सम्झँदा कस्तो लाग्छ ?
एक साताअघि उहाँलाई क्यान्सर भएको थाहा भयो । त्यो बेला म ४ घण्टा बेहोस भएछु । यो मेरा लागि पत्यारै गर्न नसकिने सत्य थियो तर उहाँका अघि मैले हाँसी–हाँसी पूर्ववत् सेवा गरेँ । उहाँ पटक–पटक हनिमुन मनाउने बेला मैले तिमीलाई अस्पतालमा राख्नुपर्‍यो भन्दै रुनुहुन्थ्यो । म क्यान्सरको खबर कुनै पनि मूल्यमा उहाँलाई थाहा नहोस् भन्ने चाहन्थे । नभन्दै उहाँलाई थाहा हुन दिइन तर म आफैंलाई कसरी लुकाउन वा ढाँट्न सक्थे ? अस्पतालको ट्वाइलेटमा घन्टौं रोएर बस्थें अनि नुहाएर फर्कन्थें । सम्भवत: पानीभन्दा बढी त्यहाँ आँसु बग्यो होला ।

 

कहिलेकाहीँ लाग्यो, मेरो पनि अब अन्तिम समय आयो भन्ने कुरा ?
त्यस्तो त केही लागेन तर संसार अब मेरा लागि बाँच्न योग्य रहेन भन्नेचाहिँ लागिरह्यो । उहाँको अन्त्यको खबरसँगै मैले आफूलाई छाडिदिएँ कारण अब कसको सेवा गर्ने ? अब कसलाई बोलाउने ? मैले आफूलाई त्यागिदिएछु । मलाई न त श्री दादाको अन्त्येष्टिको सम्झना छ । न काठमाडौं आएको सम्झना छ । न त अरू कुरा नै सम्झन्छु । ३–४ दिनपछि मलाई कसैले बोलाए, श्वेता आँखा खोलिदेऊ भने तर मैले आँखा खोल्न सकिन । यद्यपि फिल्म इन्डस्ट्रीका केही अभिभावकको बोली कानमा पर्‍यो । बल्ल थाहा भयो, म काठमाडौंमा रहेछु ।

 

तपाईंको त्यो अवस्था देख्नेमध्ये हामी धेरैले यसरी हाँसेको देख्न पाइएला भन्ने कल्पना गरेका थिएनौं । कुन कुराले तपाईंलाई बाँच्ने प्रेरणा दियो ?
म ६ महिनासम्म गहिरो शोकमा परें । मेरो शरीरले खाना पचाउन छाड्यो । औषधिले काम गरिरहेको थिएन । म सानैदेखि ढाडको बिरामी थिएँ । अस्पतालको बसाइ र त्यसपछिका घटनाले लामो समय खान सकिनँ । डिप्रेसनमा त थिएँ नै, यी सबै कारणले मेरो शरीरका अङ्गहरूले पनि काम गर्न छाडे । मलाई ट्वाइलेट पनि समातेर पुर्‍याइदिनुपथ्र्यो । ६ महिनासम्म निद्राको औषधिले पनि काम नगरेर जाग्राम बस्नु पथ्र्यो । ६ महिनापछि विस्तारै आत्मबल बढ्दै आयो । विदेशमा गएर मानसिक उपचारसँगै अन्य उपचार गरेपछि म ठीक हुन थालेँ । मलाई म ठीक छु भन्न एक वर्ष लाग्यो ।

 

तपाईंलाई यो अवस्थामा फर्काउने श्रेय कसलाई दिनुहुन्छ ?
अमेरिकाका मानसिक रोग विशेषज्ञ डा. मुन तथा नेपाली चिकित्सक डा. व्यापक पौडेललाई । पछिल्लो समय जब मैले हिलारी क्लिन्टनको बायोग्राफी ‘हार्ड च्वाइस’ पढें, लाग्यो, मेरो जस्ता दु:ख धेरै महिलाले भोगेका छन् । विशेषगरी डा. मुनले मलाई जीवनका सकारात्मक पाटाहरूका बारेमा धेरै कुराहरू देखाए, बुझाए । मैले पनि म के गर्न सक्छु भन्ने सोच्न थालेँ । सोच्दा मलाई कुरेर मेरो बिजनेस बसिरहेको छ । मेरा दर्शक बसिरहनु भएको छ । मेरा शुभचिन्तकहरू छन् भन्ने लाग्यो ।

 

त्यही कारणले समाजसेवातिर आउनुभएको हो ?
समाजसेवामा म पहिलेदेखि नै थिएँ । चलचित्रबाट आएको एक पैसा पनि मैले आफ्नो व्यक्तिगत सुख–सुविधामा लगाएकी छैन । समाजसेवी मेनुका थापाको संस्थामा म लामो समयदेखि जोडिएकी थिएँ तर अमेरिकाबाट फर्किएपछि भने त्यसको रफ्तार बढाएकी हुँ । चलचित्र बनाउने निर्णय पनि त्यसपछि गरेकी हुँ । अहिले त धेरैवटा व्यवसायमा हात हालेकी छु । डा. मुनले भन्नुभएको छ, ‘जुन कुराले पीडा दिन्छ, त्यता नहेर । बरु त्यही गर, जुन मनले भन्छ । नसोच, समाजले के भन्छ, सोच, मनले के भन्छ ?’ मलाई लाग्छ, यो जीवन मैले उपहारमा पाएकी हुँ, म यसमा इन्जोय गर्न चाहन्छु ।

 

अब तपाईंलाई कुन रूपमा देख्न पाइन्छ ?
कान्छी चलचित्र निर्माण गरिरहेकी छु । दयाह्याङ राई मेरो अपोजिटमा हुनुहुन्छ । यो चलचित्रलाई मैले विशेष समय छुट्याउन थालेकी छु । अर्कातर्फ म नायिकाभन्दा बढी बिजनेस वुमन हुँ । मेरा सबै व्यवसाय सफलताका साथ चलिरहेका छन् । यसलाई अझ फैलाउन चाहन्छु ।

 

तैपनि तपाईंका यी कुरा पछि पनि सबैको मनमा अझै एउटा प्रश्न आइरहन्छ । के तपाईं पुन: कसैको प्रेममा पर्नुहोला, फेरि श्रीजीजस्तै कुनै हँसिलो युवकसँग तपाईंको विवाह हुन सक्ला ?
जीवनमा मलाई धेरैले फलो गरे । धेरैले प्रेम प्रस्ताव राखे । १७ वर्षको उमेरदेखि श्रीदादासँग विवाह हुने बेला २६ वर्षको उमेरसम्म सयौं युवकमध्ये मैले कसैलाई प्रेम गर्न सकिनँ । सायद म श्रीदादा जस्तै परिपक्व पुरुषलाई मात्र माया गर्न सक्थेँ । अहिले पनि म आफूलाई नवविवाहित नारी नै अनुभव गर्छु र सम्भवत: कुनै विवाहित नारीले पुन: अरू कसैसँग विवाहको कल्पना गर्दिनँ । जीवनको नयाँ अध्याय सुरु भएको छ तर पुरानो च्याप्टर सकिएको छैन ।
 

प्रकाशित: फाल्गुन २५, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्