नारी जागरण हिजो र आज

- भगवति बस्नेत

फाल्गुन २५, २०७३

 

नारी स्वयंमा एक शक्ति हो । नारी भनेको समाजको गहना हुन् । यो  संसारको सृष्टिकर्ता नै नारी हुन् । नारी एक मात्र त्यस्ती आमा हुन् जो आफ्ना सन्तानलाई जीवनभर निस्वार्थ माया गर्छिन् । नारीको इज्जत, सम्मान र साथबिना एउटा परिवार अघि बढ्दैन । समाज र देश विकासको निम्ति नारीले अझ महत्वपूर्ण भूमिका निर्वाह गरिरहेकी हुन्छिन् । नारीबिना यो संसारको अस्तित्व रहँदैन । नारी र प्रकृति दुवै शक्ति र सौन्दर्यका प्रतीक हुन् । 

 

हाम्रो देश पुरुषप्रधान देश हो, जहाँ नारीको अझैंपनि पिडादायी अवस्था नै देखिएको हामी पाउन सक्छौ । कोहि बोक्सिको आरोपमा, कोहि छोरा नपाएको निहुँमा, कोहि दाईजोको निहुँमा या अन्य सामाजिक कुसंस्कारहरुको पक्षमा लागेर महिलामाथी हिंसा भैइरहेको हामी पाउँछौ । अब नारी दिवस नारीले मात्र होइन पुरुषले पनि मनाउनुपर्छ ।

 

पुरुषले जबसम्म नारीको योगदान स्वीकार गर्न सक्दैन तबसम्म घर समाज र देश बन्न सक्दैन । जुन परिवारमा महिला सक्षम भएका हुन्छन् त्यस घरका बच्चाहरु स्वस्थ शिक्षित अनुशाशित हुने गर्छन् । जुन ठाउाका महिलाको नेतृत्व हुन्छ त्यहाा धेरै राम्रो काम गरेको पाइन्छ । महिलाले पुरुषको अस्तित्व स्वीकारेजस्तै पुरुषले पनि समान स्थान, हैसियतमा महिलालाई स्वीकार गर्न सक्ने फराकिलो दायराको मन बनाऔं । 

अझैपनि देशका हरेक क्षेत्रमा नारीकै पहुँच थोरै छ नारीले आफूभित्र भएका इच्छा, चाहनाहरु पनि आफ्नो परिवारको मान मर्यादाको लागि मनभित्रै गुम्स्याएर राखेका हुन्छन्, तर पनि एउटा नारी नै अर्को नारीको खिल्ली उडाएर मुस्कुराएको पाउँछौ  । सासूले बुहारीप्रती गर्ने व्यवहार होस् या बुहारीले सासुलाई त्यहाँ एक नारीकी विपरीतमा एक नारी नै भएको हुन्छ । एक नारीले अर्को नारीको खुल्ला ह्दयले सहयोग गर्न सक्नुपर्छ ।

एउटी नारी नै हुन् जसले एउटा पुरुष बिबाहित हो भन्ने थाहा हुँदाहुँदै दुलही भएर अर्को नारीको खुशी खोस्न पछि पर्दैनन् । त्यसैलाई संसारको ठूलो उपलब्धी सम्झिदै मख्ख भएर बसेका बग्रेल्ती उदाहरण भेटिन्छन् । आफ्नो खुशिको लागि अरुको खुशी खोस्नु त्यो कदापी नारीको परिचय हुन सक्दैन ।

एउटा नारीलाई परेको पीडामा अर्को नारीले साथ, सहारा दिनुपर्नेमा उल्टै नारी नै बिपरितमा उभिएको पाउँछौ । हो, यस्तै गल्तिहरुकै कारण कतिपय पुरुषहरुले नारीबाट फाईदा मात्र लुटिरहेको पाईन्छ । एक नारी भएर अर्को नारिको सहयोग र साथ नदिनु नै सबैभन्दा ठूलो कमजोरी हुन पुगेको छ । आफै एक नारी भएर अर्को नारीको समस्या बुझ्न सक्दैनौ भने पुरुषले त झनै कहिले र कसरी बुझ्न सक्लान् भन्ने आशा गर्नु ?

जबसम्म एक नारीले अर्को नारीको ईज्जत, सम्मान, साथ र सहयोग गर्दैनन् तब सम्म नारी अधिकारका कुराहरु केवल कुरामै सिमित रहन्छ । त्यसैले आफूभित्र भएका स्वार्थ त्यागेर नारीहरु नै एकजुट भई आफ्ना अधिकारको आवाज उठाउनु उपयुक्त हुन्छ । लगभग दुई दशक अघिसम्म नारी हक अधिकारका कुरा अलि अपाच्य हुन्थ्यो । 

 

अशिक्षा, पितृसत्तात्मक, चेतनाको कमि एवं सामाजिक रुढिवादीका कारण त्यसबेला केहि महिलाहरु मात्र आफ्नो हक अधिकारबिरुद्ध आवाज उठाउँथे तर अहिले समयले धेरै फड्को मारिसकेको छ । आज लाखौं हजारौं नारीहरु चुलो–चौको छोडेर देश–विदेश पुगेका छन् । स्वालम्बी भएर नारी हक अधिकारका लागि मैदानमा उत्रेका छन् । हामी महिलाहरुले आजको यो समयसम्म आइपुग्दा समय  निकै संघर्ष गर्नु परेको छ । हाम्रो संघर्षको उद्देश्य हरेक क्षेत्र र समुदायका नारीहरुले समान अवसर र अधिकार पाउन् भन्ने हो ।

हामी महिलाले आफ्नो क्षमता पहिचान गरि आफूसँग उपलब्ध स्रोत र साधनको सहि प्रयोग गर्ने हो भने स्वपहिचान बनाउन धेरै गाह्रो पर्दैन । साथै हामीले  सम्मानित जीवन बाँच्न सक्छौ । घर, समाज तथा देश हुँदै बिदेसिएका नारीहरूले  पनि आफ्नो परिवारको सम्वृद्धिको साथै समाज र देशलाई समेत टेवा दिनमा मद्दत पुराईरहेका छन् । 

 

नारीले पुरुषलाई र पुरुषले नारीलाई समान रुपले हेर्न सकेमात्र नारी दिवस सार्थक हुनेछ । महिलाले पुरुषको अस्तित्व स्वीकारेजस्तै पुरुषले पनि महिलालाई समान रुपमा स्वीकार गर्न सक्ने फराकिलो मन बनाएर हातेमालो गरी सहअस्तित्वलाई सम्मान गरौं ।

प्रकाशित :फाल्गुन २५, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्