नेता र कार्यकर्ता धेरै भैसके !

- साप्ताहिक संवाददाता

फाल्गुन २५, २०७३-  

पत्रकार रवीन्द्र मिश्र राजनीतिमा लाग्ने कुरो आएपछि सरोकारहरू तीनतिर बाँडिएका छन् । एकथरीको विचार छ, देश खाई शेष भएका व्यक्तित्वहरू राजनीतिमा आउनु देशका लागि शुभसंकेत हो । अर्का थरी जनता जो अठार घण्टा श्रम गर्छन् उनीहरूलाई देशमा हुने राजनैतिक परिवर्तनले केही असर गर्दैन, तिनका लागि कागलाई बेल पाक्यो हर्ष न विस्मात । तेस्रो थरीको प्रतिक्रिया छ— पत्रकारले पत्रकारिता गर्ने हो, राजनीति होइन ।

 

गजुरियल विश्लेषक तेस्रो तर्कसँग सहमत छैन । पत्रकारहरूको मात्र होइन, राजनीति सबैको चासोको विषय हुनुपर्छ । त्यसमा पनि जानेका, सुनेका, पढेका युवाहरू राजनीतिमा आउनुपर्छ । ‘राम्रा मान्छेले राजनीति गर्ने होइन’ भन्ने सिद्धान्त गलत छ । राम्रा मान्छेले राजनीति नगर्दा देश स्वत: नराम्रा मान्छेको पकडमा पुग्छ । त्यसैले राजनीतिलाई सफा बनाउन मन, वचन एवं कर्म तीनवटै कुरा सफा भएका मानिसहरू राजनीतिमा जानुपर्छ भन्ने गजुरियल ठम्याइ छ ।

 

वास्तवमा ‘फलानाले राजनीति गर्नु हुँदैन’ भन्नेहरू नै प्रत्यक्ष–अप्रत्यक्ष रूपमा राजनीति गरिरहेका हुन्छन् । भ्रष्ट मानिसलाई राजनीति गर्न प्रेरित गरिरहेका हुन्छन् । शिष्टहरूलाई राजनीतिमा नजान दुष्प्रेरणा दिइरहेका हुन्छन् । कलाकार, पत्रकार, वकिल, इन्जिनियर आदि विभिन्न पेसा आबद्ध व्यक्तिहरूले नेपालको राजनीतिमा हस्तक्षेप गर्नु जरुरी छ । त्यसैले वरिष्ठ पत्रकार रवीन्द्र मिश्रलाई स्वागत तथा शुभकामना दिनुपर्छ भन्ने गजुरियल ठम्याइ छ ।

 

तर पार्टी नै खोलिहाल्ने कुराप्रति भने मेरो भिन्न मत छ । यो देशमा पार्टीको अभाव होइन, नेताको अभाव पनि होइन । सिद्धान्तको अभाव पनि छैन । यसै पनि यो देशमा डेढ सयभन्दा बढी पार्टी छन् । नेताको कुरै नगरौं, फेसबुकमा जति एकाउन्ट छन्, ती सबै नेताभन्दा कम छैनन् । किनभने तिनीहरूका प्रत्येक स्टाटस राजनीतिसँग सम्बन्धित हुन्छन् । स्टाटस लेख्नेलाई नेता र कमेन्ट गर्नेलाई कार्यकर्ता मान्ने हो भने नेपाली नेता–कार्यकर्ता धेरै भैसके ।

 

नेपाली राजनीतिमा नयाँ सिद्धान्तको अभाव पनि छैन । पञ्चायती व्यवस्थाकै कुरा गर्ने हो भने बहुदलीयताबाहेक पञ्चायतलाई नराम्रो भन्न सकिन्न । कांग्रेसको समाजवाद सुन्नमा कति सुन्दर छ ? कम्युनिस्टको साम्यवाद अझ राम्रो छ । राजाले पनि सत्ता हातमा लिँदा मीठो सैद्धान्तिक भाषण गरेकै थिए ।

 

नयाँ ऊर्जासहित खुलेका नयाँ शक्तिदेखि विवेकशीलसम्मका पार्टीले त नयाँ पुस्ताको ध्यान मजाले तानेका छन् । उनीहरूको युवा लक्षित सिद्धान्त, विकास लक्षित कार्यनीति, राष्ट्रियता लक्षित रणनीतिलाई कसैले पनि नराम्रो भन्न सक्दैन । रवीन्द्र सरको सोचलाई सिद्धान्तत: गलत भन्ने ठाउँ छैन । मिश्र सरको अध्ययन, अनुभव एवं ऊर्जा देखेर युवाहरूको ठूलो तप्का आशावादी छ, तर नेपालमा नयाँ पार्टी कमै मात्र सफल भएको इतिहास छ । भएकै पार्टीहरूमध्येबाट राम्रा सिद्धान्त, ऊर्जावान युवा नेता एवं जनमुखी पार्टीहरूसँग सहकार्य गरे साँच्चिकै खान पुग्ने र दिन पुग्ने जनता बनाउन सकिन्छ ।

 

यो विश्लेषकले सुनेको एउटा सिक्किमे कहानी छ । तत्कालीन मुख्यमन्त्री नरबहादुर भण्डारीले दोस्रो पाँचवर्षे कार्यकालपछिको आफ्नो चुनावी भाषणमा भने रे, ‘अघिल्ला दुई कार्यकाल मैले आफ्नो पार्टी र कार्यकर्ताका लागि काम गरें, अब पालो जनताको छ । अर्कोलाई जिताउनुभयो भने फेरि तपाईंको पालो आउन थप दस वर्ष कुर्नुपर्छ ।’

 

एउटा तर्क हो, पुरानालाई सुधार्न सकिँदैन । तर्क नै विज्ञान हो भने त यसरी पनि तर्क गर्न सकिन्छ, जसरी एउटा कुहिएको आलुले सिंगो बोरालाई बिगार्छ त्यसैगरी एक थोपा औषधीले कुहिन सक्ने आलुको सिंगो बोरालाई सुरक्षित बनाउन सक्छ ।

प्रकाशित: फाल्गुन २५, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्