युवाहरूमा दुव्र्यसनको बढ्दो जोखिम

- साप्ताहिक संवाददाता

फाल्गुन २३, २०७३

काठमाडौंको हुनेखाने परिवारका सदस्य रमेश (नाम परिर्वतन) कहिलेकाहीं चुरोटसम्म तान्थे तर त्यसभन्दा अघि बढेका थिएनन् । उनका मिल्ने केही साथी भने उनीभन्दा अघि बढेर गाँजासम्म पुगिसकेका थिए । कक्षा १० का विद्यार्थी रमेशका साथीहरू प्राय: स्कुलको हाफटाइममा हल्का गाँजा तान्थे । गुड फ्राइडे मनाउन नगरकोट जाँदा रमेशलाई पनि गाँजा तानूँ–तानूँ लाग्यो । 

‘खै एकपटक ट्राइ मारौं त’ भन्दै गाँजामा प्रवेश गरेका रमेशको यात्रा त्यसैमा रोकिएन । चरेस, नियन्त्रित लागूऔषधी ब्रुपिनर्फिन, डाइजेपाम हुँदै दुई वर्षमै उनी लागूऔषधको दलदलमा निस्कनै मुस्किल हुने गरी फसे । रमेश अहिले ३ महिनादेखि राजधानीको एक उपचार केन्द्रमा लागूऔषध त्याग्ने संघर्षमा छन् ।

खै खै भन्दै रहरै–रहरमा लागूऔषध चाख्दाचाख्दै दुव्र्यसनमा जाकिएका हजारौं युवामध्ये रमेश प्रतिनिधि पात्र मात्र हुन् । सरकारी अध्ययनअनुसार नेपालका कुल ९१ हजार दुव्र्यसनीमध्ये खै त एकपटक ट्राइ मारौं भन्दाभन्दै लागूऔषधको दलदलमा फस्नेहरूको संख्या ५१ प्रतिशत छ । ‘लागूऔषध प्रयोग गर्ने साथीसँगको संगतमा एकपटक लिंदा केही हुँदैन भन्दाभन्दै लतमा फसेका दुव्र्यसनी प्रशस्तै भेटिन्छन्,’ लागूऔषध नियन्त्रण ब्युरोका एसएसपी गणेश केसी भन्छन्, ‘जब उनीहरूले आफू लागूऔषधको जालोमा फसेको चाल पाउँछन् त्यति बेलासम्म फर्कनै नसक्ने अवस्थामा पुगिसकेका हुन्छन् ।’

जोखिममा युवा

लागूऔषधको दलदलमा फस्ने उमेरसमेत रमेशझै समान देखियो । 

गृहमन्त्रालयले ३ वर्षअघि गरेको लागूऔषध प्रयोगकर्तासम्बन्धी अध्ययनअनुसार नेपालमा लागूऔषधका प्रयोगकर्तामध्ये २१ प्रतिशत विद्यार्थी छन् । प्रतिवेदनअनुसार ९१ हजार १ सय ३४ जना लागूऔषध प्रयोगकर्तामध्ये ७० हजार ३ सय ९० जनाको उमेर ३० वर्षभन्दा कम देखिएको थियो । त्यसमा पनि २० देखि २४ वर्ष उमेर समूहकाहरूको संख्या बढी छ । ‘८१ प्रतिशत दुव्र्यसनीको यो दुव्र्यसन यात्रा २० वर्ष उमेर नटेक्दै प्रारम्भ भएको देखियो,’ गृहको प्रतिवेदनमा उल्लेख छ, ‘१५ वर्षको उमेरमा पहिलो पटक लागूऔषध लिनेहरूको संख्या पनि उस्तै छ ।’

‘अहिलेसम्मको ट्रेण्ड हेर्दा दुव्र्यसनमा १८ देखि २५ वर्ष उमेर समूहकाहरूको संख्या उच्च छ,’ लागूऔषध नियन्त्रण ब्युरोका एसएसपी गणेश केसीले भने, ‘त्यसमा पनि ९० प्रतिशत 

साथीको संगतमा परेर दुव्र्यसनमा फसेको देखियो ।’

ब्युरोको अनुसन्धानले विद्यार्थीको संख्या नै सबैभन्दा उच्च देखाएको थियो । नियमित रुटिन, शिक्षक/ शिक्षिकाको निरन्तर निगरानी एवं अभिभावकहरूको चासोका कारण विद्यालयका युवाहरू लागूऔषधमा फस्ने सम्भावना कम भएपनि उच्चशिक्षामा प्रवेशसँगै उक्त संख्या ह्वात्तै बढ्ने ब्युरोका एक अधिकारीले बताए । 

एसएलसीको नतिजासँगै कलेज क्षेत्रमा लागूऔषध कारोबारीको चहलपहल बढ्ने गरेको छ । उनीहरू नयाँ ग्राहकको खोजीमा कहिले कलेज छान्ने परामर्शदाताको आवरणमा युवाहरूको समूहको निकट पुग्ने प्रयासमा हुन्छन् वा विद्यालयमै दुव्र्यसनमा फसाइएका युवामार्फत नयाँ सदस्यको खोजीमा सक्रिय हुन्छन्— अनुसन्धानमा संलग्न अधिकारीहरूको निष्कर्ष छ ।

नतिजा वास्तै नगरी जोखिम उठाउन रुचाउने स्वभाव, ट्राइ मारौं न त भन्ने लहड, असफल प्रेमसम्बन्ध, फिल्म–टेलिभिजन आदिको प्रभाव तथा साथीभाइको सिको नै हुन् युवा समूह लागूऔषधमा फस्ने–ब्युरो अधिकारीको तर्क छ । 

साथीभाइको प्रस्ताव नमान्दा समूहबाटै अलग्गिनुपर्ने चिन्ता, निर्णय क्षमतामा परिपक्व नभए पनि परिपक्व भएको देखाउने दुष्प्रयास, अनुभवको अभावमा सामान्य असफलतालाई समेत व्यवस्थापन गर्न सक्नु तथा कमजोर क्षमताले युवा समूहलाई दुव्र्यसनमा धकेल्दै लगेको छ । 

किशोर तथा युवा उमेर समूहमा नयाँ विषयप्रतिको जिज्ञासा, जोखिमप्रतिको रुचि एवं आत्मीय व्यक्तिको खोजीले समेत यो उमेर समूहकाहरूलाई सजिलै दुव्र्यसनमा फसाउने तथ्यहरूले देखाउँछन् । 

विद्यालय पार गरेपछि आर्थिक रूपमा आफैं सक्षम हुनुपर्ने, बढी स्वतन्त्रता र अभिभावक तथा विद्यालयको लचिलो निगरानीका कारण दुव्र्यसनीको संख्या बढाउनेहरूले उनीहरूलाई सहजै जालोमा फसाउँदै आएका छन् ।

‘योजनाबद्ध रूपमै कोही लागूऔषधमा फस्दैनन्, चलाख कारोबारी र ट्राइ गरौं न भन्ने जिज्ञासाले युवाहरूलाई त्यता धकेल्छ,’ ब्युरोका डिएसपी अपिल बोहोराले भने । शारीरिक एवं मानसिक विकास तथा परिवर्तनसँगै बढ्ने तनावबाट छुट्कारा पाउने मेसोको खोजीमा लागेकाहरूलाई समेत चलाख कारोबारीहरूले सहजै फसाउने अनुभव प्रहरी अधिकारीहरू सुनाउँछन्

एकल परिवारका युवा जोखिममा 

गृहको प्रतिवेदनअनुसार अभिभावकसँगै बस्ने दुव्र्यसनीको संख्या उच्च देखिन्छ । कुल 

दुव्र्यसनीमध्ये ५५ प्रतिशत अभिभावकसँगै बस्ने गरेका छन् । ब्युरोले दुई वर्षअघि गरेको लागूऔषध दुव्र्यसनसम्बन्धी अनुसन्धानले यस्ता अभिभावकमा कामकाजीको संख्या बढी रहेको देखाएको थियो । 

‘लागूऔषध दुव्र्यसनीमध्ये ३० प्रतिशतका अभिभावक कामकाजी रहेको देखिएको छ,’ ब्युरोको अनुसन्धानमा उल्लेख छ, ‘त्यसमा २५ प्रतिशतका परिवार व्यापारमा संलग्न छन् ।’

सिंगल फेमिलीका सदस्यको संख्या पनि कम छैन । यसमा आमासँग मात्र बस्नेहरूको संख्या उच्च छ । २० प्रतिशत दुव्र्यसनी आमासँग बस्ने गरेको खुलेको थियो भने बाबुसँग मात्र बस्नेहरूको संख्या शून्य दशमलव ४ प्रतिशत देखिएको थियो ।

कुल दुव्र्यसनीमध्ये २२ प्रतिशतले स्कुल–कलेज अध्ययन गरेका छन् भने १० कक्षासम्म पढेका दुव्र्यसनीको संख्या उच्च छ । ४१ प्रतिशत दुव्र्यसनी त्यसभन्दा माथि पढ्न नसकेको देखिन्छ । ३४ प्रतिशतले एसएलसी उत्तीर्ण गरेका छन् । उच्च शिक्षा पढेका दुव्र्यसनीको संख्या १ दशमलव ७ प्रतिशत छ ।

नेपालका दुव्र्यसनीमा एकै प्रकृतिको लागूऔषध प्रयोग गर्ने प्रवृत्ति छैन । जे पाइन्छ त्यही प्रयोग गर्ने प्रवृत्तिका कारण चरेस वा हेरोइनको अभाव भए त्यसका प्रयोगकर्ताले नियन्त्रीत लागूऔषधी प्रयोग गर्ने डिएसपी बोहोराले बताए । ‘सस्तो र सहजै उपलब्ध हुने हुँदा नियन्त्रीत लागूऔषधको दुव्र्यसनमा फसेका युवा वर्गको संख्या बढ्दो छ’ डिएसपी अपिल बोहाराले भने, ‘थोरै परिमाणमा ओसारपसार गरिने हुँदा कारोबारी पहिल्याउनसमेत कठिन छ ।’

मुख्य स्रोत बजार भारत

ब्युरोको तथ्यांकअनुसार नेपालमा दुव्र्यसनीले गाँजा, चरेस, हेरोइनसँगै मनोद्विपक औषधी प्रयोग गर्ने गरेका छन् । लागूऔषध बजारमा जुन सहज रूपमा पाइन्छ त्यही उपयोग गर्ने नेपालका दुव्र्यसनीको प्रवृत्ति देखिन्छ जो जोखिमपूर्ण हो । 

ब्युरोका अधिकारीहरूका अनुसार दुव्र्यसनीमध्ये सुईमार्फत लागूऔषध लिने र मुखबाट खानेहरूको संख्या बराबर छ । त्यसमा नियन्त्रित लागूऔषधीका प्रयोगकर्ताको संख्या उच्च छ ।

ब्युरोका डिएसपी बोहोराका अनुसार नेपालमा अधिकांश ब्रुपिनर्फिन, डाइजेपाम, एमफेतामाइन, एलएसडी मेथ फेला पर्ने गरेका छन् । यसको स्रोत भारत नै हो । खुल्ला सीमा हुँदै यस्ता लागूऔषधी नेपाल भित्र्याउन कतिपय भारतीय  तथा सीमाक्षेत्रका लागूऔषध कारोबारीहरू सक्रिय छन् । 

सीमाक्षेत्रबाट भित्रिएका लागूऔषध स्थलमार्ग हुँदै काठमाडौं, पोखरा, मकवानपुर तथा चितवनसम्म पुग्छन् । त्यहाँ रहेका थोक विक्रेताले दुव्र्यसनीसम्म पहुँच भएका खुद्रा विक्रेतामार्फत लागूऔषध दुव्र्यसनीसम्म पुर्‍याउने गरेका छन् । ब्युरोको अनुसन्धानमा दुव्र्यसनीले प्रयोग गर्ने नियन्त्रीत औषधीको कारोबारमा औषधीका कारोबारीसमेत रहेको खुलेपछि कारबाही प्रक्रिया अघि बढाएको थियो । 

चिकित्सकको सिफारिसमा मात्र बेच्न सकिने क्जोनोजोपाम, लोराजापाम, ओपिडोल, स्पास्मो ट्राफ्लास, क्लोनोज, स्पास्मो, ट्रमाडोल आदि नियन्त्रित लागूऔषधी सहजै दुव्र्यसनीले किन्ने गरेको खुलेपछि औषधी पसलमा छापा मार्दै हिँडेको ब्युरोले पाँचवटा औषधी पसलमाथि कारबाही नै गर्‍यो । 

अनुसन्धान अघि बढ्दै जाँदा औषधी बनाउन भन्दै नेपाल भित्रिने केमिकल्स लागूऔषध बनाउन प्रयोग भैरहेको खुलेपछी प्रहरीले आर्य फर्माका सञ्चालक रतन संघाईसहितको टोलीलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ ।

‘दुव्र्यसनी हो भन्ने जान्दाजान्दै विक्रेताले नियन्त्रित औषधी सहजै बिक्री गरेको खुलेपछि अनुगमन सुरु गरेका छौं,’ ब्युरोका डिआइजी जयबहादुरले चन्दले भने, ‘भारतबाट भित्रिने औषधीले जोखिम बढाइरहेका बेला औषधी व्यवसायीले खुल्लमखुल्ला बिक्री गरेर यस्ता औषधीमाथिको नियन्त्रणलाई थप जटिल बनाएका छन् ।’

तथ्यांकमा लागूऔषध

    काठमाडौं, सुनसरी, कास्की, मोरङ र झापामा बढी दुव्र्यसनी ।

    ७० प्रतिशतले आफ्नै साथीबाट लागूऔषध लिने ।

    २८ प्रतिशतले औषधी पसलमा किन्ने ।

    २० देखी २४ वर्ष उमेरभित्रका दुव्र्यसनीको संख्या उच्च ।

    १५ देखी १९ वर्ष उमेरमा पहिलो पटक लागूऔषध लिने ।

    ६५ प्रतिशत दुव्र्यसनी अविवाहित तथा २९ प्रतिशत विवाहित ।

    ५० प्रतिशत रोजगार, २९ प्रतिशत बेरोजगार तथा २१ प्रतिशत विद्यार्थी ।

प्रकाशित :फाल्गुन २३, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्