चर्चित अविवाहित महिला

- कृष्ण भट्टराई

फाल्गुन २२, २०७३-  

विवाहलाई जीवनको सबैभन्दा ठूलो निर्णय मानिन्छ । अधिकांश पुरुष तथा महिला एउटा निश्चित उमेर पुगेपछि वैवाहिक जीवनमा बाँधिनु सामान्य कुरा हो । परम्परागत विवाह होस् अथवा प्रेम विवाह, महिला तथा पुरुषलाई एउटै बन्धनमा बाँध्ने सूत्र विवाह नै हो । समाज आधुनिक हुँदै गएपछि विवाहका स्वरूप पनि अत्याधुनिक बन्दै गएका छन् । साप्ताहिकले प्रत्येक वर्ष समाजका केही चर्चित अविवाहितलाई प्रस्तुत गर्दै आएको छ । यो सूचीमा अघिल्ला वर्षमा समावेश गरिएका अविवाहित सेलिब्रेटीहरू अटाउँदैनन् । 

 

अस्मी श्रेष्ठ, मिस नेपाल–२०१६
मोडलिङमा स्थापित भएपछि वर्ष २०१६ मा मिस नेपाल वल्र्डको उपाधि जित्न सफल अस्मी यो वर्ष मिस वल्र्ड–२०१६ मा सहभागी भएपछि थप चर्चामा आइन् । आकर्षक व्यक्तित्वकी धनी अस्मी अबको केही महिनापछि पूर्वमिस नेपाल बन्ने छिन्, त्यसपछि उनको मोडलिङ सक्रियता बढ्नेछ भने विवाहको कुरा कसैलाई थाहा छैन । 

 

वर्षा लेखी, मिस अर्थ नेपाल–२०१६ 
थारु समुदायको प्रतिनिधित्व गर्ने वर्षा लेखी मोडलिङ क्षेत्रमा नयाँ नाम हो । वर्ष २०१६ को मिस नेपालमा मिस नेपाल अर्थको उपाधि जित्न सफल वर्षाले मिस अर्थमा नेपालको प्रतिनिधित्व गरिसकेकी छिन् । अब उनी मोडलिङमा थप सक्रिय हुने अपेक्षा गरिएको छ । 

 

मेलिना राई, गायिका
गायिका मेलिना राईको स्वर जति सुरिलो छ, उनको व्यक्तित्व त्योभन्दा बढी आकर्षक छ । कन्सर्टमा प्रस्तुत हुँदा उनी कुनै अभिनेत्रीभन्दा कम देखिन्नन् । सुन्दर मुहारकी धनी यी अविवाहित गायिकाले सुन्दर भएकैले प्रसस्त प्रशंसकसमेत कमाएकी छिन् । 

 

नम्रता श्रेष्ठ, अभिनेत्री 
यसै वर्ष प्रदर्शनमा आएको चलचित्र ‘गाँठो’ मार्फत रजतपटमा पदार्पण गर्ने अभिनेत्री तथा मोडल हुन्– नम्रता श्रेष्ठ । चलचित्र क्षेत्रमा नयाँ नम्रता श्रेष्ठका रूपमा परिचित नम्रताले मोडलिङमा पनि आफ्नो स्थान बनाइसकेकी छिन् । यी अविवाहित सुन्दरी कोरियोग्राफीमा समेत सक्रिय छिन् । 

 

आकांक्षा बस्याल, गायिका
कुनै बेला कान्छी गायिकाका रूपमा चिनिएकी आकांक्षा बस्यालले यतिबेला आफूलाई स्थापित गायिका बनाइसकेकी छिन् । यी अविवाहित गायिका चलचित्रको पाश्र्व गायनमा पनि उत्तिकै सक्रिय छिन् । पप तथा आधुनिक गायनमार्फत आफूलाई स्थापित बनाइसकेकी आकांक्षा सुन्दर मुहारका कारण पनि लोकप्रिय छिन् । 

 

सारा सिर्पाली, अभिनेत्री 
केही महिनाअघि छायांकन सम्पन्न भएको चलचित्र ‘रुद्र’ मार्फत अभिनय क्षेत्रमा पदार्पण गर्ने अभिनेत्री हुन्– सारा सिर्पाली । बेलायतमा अध्ययनरत सारा दसैंमा स्वदेश फर्किएका बेला अभिनेता निखिल उप्रेतीको नजरमा परेकी थिइन् । एउटा चलचित्रमा अभिनय गरेर बेलायत फर्कने तयारी गरिरहेकी सारा यतिबेला निखिलकै नयाँ चलचित्र ‘पिँजडा ब्याक अगेन’ मा मुख्य अभिनेत्रीका रूपमा अभिनय गरिरहेकी छिन् । 

 

सहारा कार्की, अभिनेत्री 
तुलसी घिमिरेद्वारा निर्देशित चलचित्र ‘दर्पण छायाँ–२’ बाट अभिनयमा आएकी नायिका हुन्– सहारा कार्की । झन्डै एक दशकअघि देखि अमेरिकामा बसोबास गर्दै आएकी सराहा त्यहाँ अध्ययनका क्रममा छिन् । सानैदेखि चलचित्रमा अभिनय गर्ने चाहना भएकाले उनी यतिबेला स्वदेश फर्किएर चलचित्रमा सक्रिय देखिन्छिन् । 

 

रोजिशा शाही ठकुरी, अभिनेत्री 
मिस नेपाल–२०१३ की फस्ट रनर्स अप रोजिशा शाही ठकुरी भिडियो जक्कीका रूपमा सक्रिय छिन् । कान्तिपुर टेलिभिजनसँग आवद्ध रोजिशा चाँडै नै चलचित्रमा नायिकाका रूपमा समेत पदार्पण गर्दैछिन्। 

श्रद्धा प्रसाईं, अभिनेत्री 
चलचित्र ‘दर्पणछायाँ–२’ बाट नेपाली चलचित्र क्षेत्रमा आएकी अभिनेत्री हुन्– श्रद्धा प्रसाईं । यो चलचित्रमा उनी प्रभावकारी भूमिकामा छिन् । पहिलो चलचित्र प्रदर्शन नहुँदै दोस्रो चलचित्र ‘प्रेमगीत–२’ मा अभिनय गरिरहेकी श्रद्धा आकर्षक व्यक्तित्वकै कारण दर्शकको नजरमा पर्ने अनुमान गरिन्छ । 

 

खुश्बु खड्का, अभिनेत्री 
मोडलिङमा स्थापित भएपछि चलचित्रमा आएकी खुश्बु खड्का सुन्दर अनुहारका कारण चर्चामा छिन् । निकै कम चलचित्रमा अभिनय गरेपनि खुश्बुले म्युजिक भिडियोहरूमा आफ्नो अभिनय कौशल प्रस्तुत गरिसकेकी छिन् । उनले अभिनय गरेको चलचित्र भ्रम केही समयअघि मात्र प्रदर्शन भयो भने अर्को चलचित्र ‘सुकुलगुण्डा’ प्रदर्शनको तयारीमा छ । खुश्बुले दुई वर्षअघि नै अभिनय गरेको चलचित्र ‘गोरे’ को प्रदर्शन मिति भने तय भैसकेको छैन । 

 

प्रकाशित: फाल्गुन २२, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्