फागुन २० गतेदेखि फागुन २६ गतेसम्मको राशिफल

- रामप्रसाद सिटौला (फलित ज्योतिष)

फाल्गुन २०, २०७३-  

मेष
प्रेमिकाको घुम्न जाने प्रस्ताव स्वीकार गर्दा अविस्मरणीय क्षण बिताउन पाइनेछ । सामान्य वादविवाद परे पनि तपार्इंको सिर्जनाशील कार्यलाई सबैले सर्मथन गर्नेछन् । खानपान तथा मनोरञ्जनमा सहभागी हुँदा संयमित रहनुहोला । स्वास्थ्यमा पर्याप्त ध्यान दिनु उपयुक्त हुन्छ ।

 

वृष
रचनात्मक कार्य गरी हितैषीहरूको मन जित्न सकिनेछ । अध्ययनको सिलसिलामा विदेशयात्राको अवसर जुर्न सक्छ । मनले नसोचेका स्थानको भ्रमण गर्दै स्वादिष्ट परिकारको आनन्द लिन पाइनेछ । मनोरञ्जनमा रमाउने समय छ । साताको अन्त्यमा खर्च वृद्धि भै ऋणको चपेटामा पर्न सकिन्छ ।

 

मिथुन
लामो समयदेखि रोकिएको कार्य आकस्मिक रूपमा समाधान हुनेछ । नयाँ क्षेत्रमा आर्थिक लगानी गर्ने अवसरसमेत प्राप्त होला । साता मनोरञ्जन, भेटघाट तथा भ्रमणमा व्यतीत हुनेछ । प्रेमिकाले विभिन्न कुराको चाहना राख्न सक्छिन् । सवारी साधन चलाउँदा संयम अपनाउनुपर्नेछ ।

 

कर्कट
आफूभित्रको भय उत्साहमा परिवर्तन भै समाजसेवातर्फ आकर्षित भइनेछ । लामो समयदेखि रोकिएका काम सम्पन्न हुनेछन् । प्रतिस्पर्धामा इनाम वा सम्मानजनक स्थान प्राप्त हुनेछ । सेतो रंगको रचनात्मक प्रयोगले लाभ पुर्‍याउनेछ । सवारी चलाउँदा विशेष ध्यान दिनुहोला ।

 

सिंह

रोकिएको अध्ययनले निरन्तरता पाउनेछ । मेहनत गर्दा जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । सरोकार नभएका विषयमा चासो राख्दा दु:ख पाइनेछ । धन अभावको स्थिति यथावत् रहनेछ । साताको अन्त्यमा फजुल खर्चले सताउन सक्छ । चियोचर्चा गर्नेहरूबाट सावधान रहनुहोला ।

 

कन्या
योजना कार्यान्वयनमा ढिलाइ गर्नाले पछि परिनेछ । सिर्जनात्मक कामले धैरेको मन जित्न सकिनेछ । प्रतिस्पर्धाको दौडमा सहपाठीहरू पछि पर्नेछन् । विदेशयात्राको योग छ । भ्रमण तथा खानपानमा राम्रै धन खर्च गर्नुपर्ने हुनसक्छ । साताको अन्त्यमा मांगलिक कार्यमा सहभागी हुने अवसर प्राप्त होला ।

 

तुला
उच्चपदस्थ अधिकारीहरूसँग घनिष्ठ सम्बन्ध स्थापित भै आकस्मिक लाभ प्राप्त हुनेछ । आर्थिक भार बढ्नाले सोमबारपछि धनको अभाव महसुस होला । टाउको तथा आँखासम्बन्धी समस्या सिर्जना हुनसक्छ । साताको अन्त्यमा स्वास्थ्यको विशेष ख्याल गर्नुपर्नेछ ।

 

वृश्चिक
रोजगारीका लागि दौडधूप गर्नुपर्ने हुन सक्छ । अभिभावकहरूसँग मतभेद उत्पन्न भै आफूप्रति गुनासो बढ्न सक्छ । यात्रा हुने सम्भावना छ । ध्यान पुर्‍याएर गरिएका कार्य लाभदायक रहनेछन् । धैर्य धारण गर्दै परिपक्व निर्णय गरे राम्रै परिणाम हात लाग्नेछ ।

 

धनु
रोकिएको अध्ययन प्रक्रियाले परिणाम प्राप्त गर्ने हुँदा हर्षित भइनेछ । मन पराउने मानिसले दिएको सुझाव अनुसरण गर्दा समय बचत हुन सक्छ । भ्रमण गर्दा बढी खर्च भै व्यवहारिक झमेला आइलाग्न सक्छ । घरायसी व्यवहारमा विशेष होस पुर्‍याउनुपर्नेछ ।

 

मकर
प्रयासलाई निरन्तरता दिन सके अवसर हातबाट फुत्कनेछैन । सामाजिक कार्यमा अपजस आइलाग्न सक्छ । बोलीको मधुरताले बिग्रिएको कामलाई पुन: उचाइमा पुर्‍याउनेछ । राति अबेरसम्म यात्रा गर्दा स्वास्थ्यको ख्याल राख्नुहोला । साताको अन्त्यमा सवारी साधन खरिद गर्न उत्सुक भइनेछ ।

 

कुम्भ
आफ्नो कार्यदक्षताको चौतर्फी प्रशंसा हुनेछ । चुरो कुरा पत्ता लगाई असहज परिस्थतिको सामना गर्न सकिनेछ । लगनशीलताले विविध अवसर जुटाउनेछ । मन मिल्ने साथीको सुझावमा विश्वास गर्दा पछि परिएला । अवसरलाई निरन्तरता दिन सके भविष्यको चिन्ता सहजै निर्मूल हुनेछ ।

 

मीन
समस्या समाधानमा पारिवारिक सहयोग जुट्नेछ । विपन्न आर्थिक समुदायमाझ सहयोगीको भूमिका निर्वाह गरेर आफ्नो परिचय स्थापित गर्न सकिनेछ । उपहारका साथ भेट्न आउनेहरूसँग सावधान रहनुहोला । बोलीमा थप प्रभाव पार्न पहेंलो रंग प्रयोग गर्न सकिन्छ ।

प्रकाशित: फाल्गुन २०, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्