Teej banner

झुमा लिम्बू— भन्ज्याङ कुर्नु गाह्रो भो

- किशोर नेपाल

फाल्गुन १९, २०७३

 

उनी गायिका हुन्, तर सामान्य अर्थमा गायिका मात्र होइनन् । भन्छिन्, गाउनु नै त त्यति ठूलो कुरा भएन । गाउनु भनेको संगीतसँग जोडिनु हो । साधना हो— संगीत र गायन त्यसैको एक हिस्सा ।

झुमा लिम्बू । चर्चित छिन् । सोझो कुरा गर्छिन् । अहिलेसम्म जीवनमा आरोह–अवरोह आएको छैन । आफ्नो आत्मीय सुखका लागि संगीत र गायनसँग जोडिएकी झुमाले गाउन थालेको त १५ वर्ष भैसक्यो, तर उनको सिर्जनामा २ सयभन्दा बढी गीत फुलेका छैनन् । उनले आफ्ना गीत ‘जिन्दगी जिन्दावाद’ र ‘भन्ज्याङ कुर्नु गाह्रो भो’ लाई लोकप्रिय नम्बरमा राखेकी छिन् । ती दुई गीत उनी आफैंलाई मन पर्छन् । जनताले मन पराउने नै भए ।

 

अनि, झुमालाई मुड आउँछ किचनमा । कति रमाइलो † कि खाना डढ्ला, कि गीत । एक थोक न एक थोक त डढ्नै पर्‍यो, तर उनको मुड शान्त नै रहन्छ । यसै पनि झुमा कुल छिन् । आफ्नो संगीतको साधना र दायरामा उनी कसैको प्रवेश रुचाउँदिनन् । साधना प्रदर्शनको कुरा होइन । यो अरूलाई देखाउन पनि हुँदैन— उनको मान्यता हो यो ।

 

उनले संगीतको शिक्षा लिइन अम्बर गुरुङसँग । चन्दन श्रेष्ठले सिकाए उनलाई शास्त्रीय संगीत । संगीतको रहस्यमय संसारभित्र छिर्दा झुमाले बुझेकी थिइन् शास्त्रीय संगीत मात्र । पछि थाहा भयो, जातीय संगीतका बारेमा । उनी पटक–पटक आहत भएकी छिन् वेस्टर्नबाट । वेस्टर्नवालाले सार्‍है हेप्ने । हाम्रो भाषामा क्वायर बनाउन भन्दा उनीहरूले सोधे, ‘के गीत–संगीत छ र नेपालीको ?’ उनीहरूले रेशम फिलिलीलाई छाडेर अरू सबै गीत हिन्दुस्तानका, हिन्दीका भनिदिए । झुमालाई विस्मात लाग्यो । विस्मातभन्दा पनि चोट थियो यो, अपमान । उनी त्यसपछि मौलिक संगीतको अध्ययनमा जुटिन् ।

अहिले झुमासँग गीत गाउनका लागि टाइम छैन । गीत गाउनु भनेको अडियन्समा जानु हो । त्यसका लागि सांगीतिक आधार चाहियो । त्यो आधार तयार नभएसम्म झुमासँग गीत गाउने टाइम छैन । उनी अहिले त्यही सांगीतिक आधार निर्माणमा लागेकी छिन् ।

 

मुन्धुम गायन, मुन्धुम अनुभव र मुन्धुम अध्ययन— पछिल्लो समय उनी यसैमा व्यस्त छिन् । उनले लिम्बूहरूसँग मुन्धुमको धुनमा नाचिन् । उनीहरूको पाइलालाई पछ्याइन् । मुन्धुमका विद्वान्हरूसँग कुरा गरिन् । लिम्बूहरू खुसी छन्, भन्छिन् झुमा । मुन्धुमको त्यो सांगीतिक कोर्समा बनेको भिडियोमा आफू देखिने कुराले उनीहरू आनन्दित छन् । झुमाले मुन्धुमको सांगीतिक लय बुझेकी छिन् । उनको अनुभव विस्तारित छ । मुन्धुममा जे फलाकिन्छ त्यसलाई संगीतमा लयबद्ध गर्नुपर्छ । मुन्धुम भाषा शास्त्रसँग जोडिएको छ । यसको भाषा र संगीत मिलाउने काम कठिन छ ।

झुमाको निष्कर्ष छ— मुन्धुम यति व्यापक छ, एउटा जुनीले केही पनि गर्न र बुझ्न सकिँदैन ।

मुन्धुमको मेलोडी धान नाच र च्याब्रुङमा लोकप्रिय छ । साइनोमा जोडिएका केटाकेटीले धान नाच नाच्न हुँदैन । यो नाता नजोडिएका केटाकेटीहरूबीचको रोमान्टिक नाच हो ।

 

अहिले हामीले जति पनि कर्णप्रिय संगीत सुनेका छौं ती सबैमा भारतीय संगीतको फलोअप गरिरहेका छौं हामीले । हामीकहाँ गीत नयाँ आएको छ, संगीत आएको छैन । हामीकहाँ संगीतकार आफैंले भन्न सक्दैन, धुन र स्वरको बीचमा कहाँ के तार जोडिएको छ ? सुरु–सुरुमा झुमालाइ पनि लाग्थ्यो— शास्त्रीय राग मात्र संगीत हो । उनले पछि मात्र थाहा पाइन, ओहो † त्यसो होइन रहेछ । अहिले उनी भन्छिन्, ‘यसैका लागि विभिन्न जाति र संस्कृतिका संगीतको अध्ययन गर्नु जरुरी छ । त्यसो भए मात्र संगीतमा आउँछ मौलिकता । म त्यही मौलिकताको खोजीमा छु ।’

 

स्वच्छन्दताको हदैसम्म स्वतन्त्र छिन् झुमा । उनका लागि अब्लिगेसनको त्यस्तो कुरा केही छैन । बिहे गरिन । सुरुमा राम्रो लाग्यो । पछि लागेन । डिभोर्स गरिन् । बिहेमा संगीतले अलिकति अब्स्टेकल पारेकै हो । उनले संगीत छोडिदिएको भए अब्स्टेकल हट्थ्यो, तर उनले त बिहे नै छोडिदिइन् ।

‘म सत्य सीधा छ भनेर हिँड्ने मान्छे, तर सत्य त दायाँ–बायाँ पो हुँदो रहेछ,’ झुमा मुक्त हाँसो हाँसिन् । २०७३ को जेठमा उनले आफ्नो स्टेज प्रोग्राम गरेकी थिइन्, ‘मूच्र्छना विथ झुमा लिम्बू ।’ कतिपय तालको झंकारले मान्छेको आत्मा जगाउन सक्ने संगीत थियो मूच्र्छना । त्यस्तो संगीत यो वर्ष पनि आउला । हो, फेरि आउला । आशा गरौं ।

प्रकाशित :फाल्गुन १९, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्