क्रिकेट विवाद समाधानतर्फ ?

- साप्ताहिक संवाददाता

फाल्गुन १८, २०७३-  

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले नेपाली क्रिकेटका सम्बन्धमा हालै प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ– धेरै लामो समयदेखि रहेको विवादका सम्बन्धमा सकारात्मक वार्ता भएको छ । नेपाली क्रिकेटमा विवाद सुरु भएको लामो समय भैसकेको छ । नेपाली क्रिकेट स्वंय आईसीसीबाट निलम्बनको स्थितिमा छ । नेपाल क्रिकेट संघ (क्यान) अस्तित्वमा छैन । एक पक्ष भने आफूहरू नै वास्तविक क्यान भएको दाबीमा कायम छन् । आईसीसीको नजरमा भने अहिले नेपालमा सल्लाहाकार समिति मात्र छ । 
नेपाली क्रिकेटले ठूलो क्षति बेहोरिरहेको यो स्थितिमा आईसीसीको यो भनाइ अगाडि आएको हो । प्रश्न भने अझै कायम छ, के नेपाली क्रिकेटको विवाद समाधातर्फ अग्रसर हो अथवा विवाद अझ चर्कने स्थितिमा छ । पछिल्लो समय आईसीसीका हेड अफ ग्लोबल डेभलपमेन्ट विलियम ग्लेनराइट्ससहितको समूह काठमाडौं आएको थियो । उनीहरूको प्रयासमा सल्लाहकार समितिमा क्यानको अस्तित्वको दाबी गर्ने समूहको समेत सहभागिता थियो । 

 

सल्लाहकार समितिको बैठकमा भाग लिनेमा निर्वाचित क्यान भएको दाबी गर्दै आएको समूहबाट अध्यक्ष चतुरबहादुर चन्द तथा महासचिव अशोकनाथ प्याकुर्‍याल सहभागी थिए । उक्त बैठकमा सहभागी हुनेमा ग्लेनराइट्स र आईसीसीका एकाउन्ट शाखा प्रमुख अमर सेखससहित नेपालबाट चूडामणि पौडेल, पवन अग्रवाल र रोहित दाहाल थिए । विदेशमा भएकाले संयोजकद्वय विनयराज पाण्डे र वसन्त चौधरीसँगै दीपक कोइराला भने बैठकमा अनुपस्थित रहे । 

 

सल्लाहाकार समितिमा काम र जिम्मेवारीका सम्बन्धमा निश्चित भएपछि चन्द र प्याकुर्‍यालको नियुक्तिले आधिकारिता पाउनेछ । प्रश्न छ, उनीहरूको सहभागिता क्यान पदाधिकारीकै रूपमा हो अथवा स्वतन्त्र रूपमा ? उनीहरू दुवैले आफूहरू क्यानकै प्रतिनिधि भएको दाबी गरिरहेका छन्, तर आईसीसी मात्र नभएर राष्ट्रिय खेलकुद परिषद (राखेप) स्वयंले पनि क्यानको अस्तित्वलाई भने मानेको छैन । यस्तोमा औपचारिक आधारमा यो स्वतन्त्र सहभागिता हुन सक्छ । 

 

क्यानको अस्तित्व मान्ने हो भने नेपालमा एउटा होइन, दुई अथवा त्योभन्दा बढी क्यान छन् । अहिले तत्काल भने नेपाली क्रिकेट फेरि फर्केर पुरानै स्थितिमा पुगेको विश्लेषण भने गर्न सकिन्छ, जहाँ फरक धारणा र समूहको प्रतिनिधित्व गरिरहेकाहरू एउटै टेबलमा आएका छन् । अहिलेको सल्लाहकार समितिमा राखेप, निर्वाचित क्यान दाबी गर्ने समूह, यसअघि क्यान हाँकेको समूह, राखेपले बनाएको अर्को क्यानको प्रतिनिधिसँगै स्वतन्त्र व्यक्ति पनि अटाएका छन् । 
फेरि थपिएको प्रश्न हो, के उनीहरूले सँगै मिलेर काम गर्नेछन् अथवा फेरि विवाद त गर्ने छैनन् ? सरकारी हस्तक्षेप र निष्पक्ष चुनाव नभएको दुई गम्भीर मुद्दामा आईसीसीले क्यानलाई गत वैशाख १३ मा निलम्बन गरेको थियो । आईसीसीले सन् २०१४ को अन्त्यदेखि क्यानलाई दिने सबै खालका सहयोग एवं खर्च समेत रोक्दै आएको छ । यसले नेपाली क्रिकेटलाई गम्भीर धक्का पुर्‍याएको छ । यसबीच फागुन २८ र ३० मा नेपाल र केन्याबीच वल्र्ड क्रिकेट लिगको खेल काठमाडौंमा हुँदैछ । 

 

त्यसै दौरान फेरि आईसीसीका प्रतिनिधि काठमाडौं आउनेछन् र सल्लाहकार समितिको बैठक बस्नेछ । आईसीसीलाई मान्ने हो भने त्यही बैठकले नेपाली क्रिकेटको भविष्य निर्णय गर्नेछ । यस्तोमा नेपाल र केन्याबीचको खेलको नतिजा समग्र नेपाली क्रिकेटका लागि जति महत्त्वपूर्ण हुनेछ, सम्भवत: त्योभन्दा बढी महत्त्व उक्त बैठक र त्यसले तय गर्ने बाटोको हुनेछ । नेपाली क्रिकेटको विवाद समाधान गर्ने एउटा राम्रो अवसर तयार छ, के त्यसका लागि सबै तयार छन् ? प्रश्न धेरै छन् ।

 

प्रकाशित: फाल्गुन १८, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्