गुलियो भाङ

- साप्ताहिक संवाददाता

फाल्गुन १५, २०७३

 

 नारद खतिवडा, अभिनेता/गायक

 

अतीत सम्झदा कोक्याउने केही सम्झना जो विशेषगरी सानो हुँदाका हुन्छन् । मेरो मात्र होइन, सबैको बाल्यकालका सम्झनाले पछिसम्म पनि मनमस्तिष्कमा जरो गाढेको हुन्छ । अहिलेको आफ्नो परिचयको विराट दायराले पनि अपुग भएको अनुभूतिसँग दाँज्दा बालापनको बिग्रिएको खेलौना र सरहरूको भाटे कारबाही खाने गरी उब्रिएको अपुरो होमवर्क नै रमाइलो लाग्छ । गुलियोप्रतिको बालआशक्ति त्यतिबेला यति धेरै हुन्थ्यो कि १ लाखको नोटको गड्डी र एक प्याकेट चकलेट वा उबेलाको मोटरदानामध्ये रोज्नुपर्दा सम्पूर्ण इन्द्रियले गुलियोकै प्याकेट रोज्थ्यो । 

 

उदयपुरको गाईघाटमा मेरो बालापन र त्यसपछिको किशोरावस्था बितेको हो । त्यतिबेला हाटबजारमा घरेलु रूपमा पकाइएका अहिले लागूऔषधको दायरामा पर्ने गुलियो मिसाइएका हरियो भाङका आयताकार मिठाईहरू बिनाशिवरात्रि र होली पनि निस्फिक्री बिक्री हुन्थे । त्यतिबेलाकै अलि छट्टू साथी थियो मेरो, रामजी लम्साल । गाउँका हाम्रै उमेरका अरू धेरै साथी आ–आफ्ना बाबुको बलियो आडभरोसामा हुर्किएका थिए, तर रामजीको बुवा बित्नुभएको र मेरो बुवा अर्की आमासँग राजधानीमै हुनुभएकाले हामी अरूभन्दा केही अनियन्त्रित अर्थात् बेलगाम थियौं । अहिलेका सय–हजारका नोट त एकाध प्लेट मस्मले नै केही मिनेटमै निमिट्यान्न पार्दिन्छ, तर त्यतिबेला पाँच रुपैयाँ हातमा हुँदा सिंगो बजारै मेरो हो भन्ने लाग्थ्यो ।

 

भयो के भने, घरको चार झुत्ता मकै छोडाएर पल्दारलाई बेचेको ७ रुपैयाँ दाम हात परेपछि वैकुण्ठ मानन्धरलाई उछिन्ने गरी दौडँदै रामजीकै उक्साहटमा बिहीबारे हाटमा हामीले भाङ किन्यौं । अहिले चार आना घडेरी किनेको भन्दा उबेला त्यो भाङ किनेको खुसी धेरै थियो । जब गुलियो भाङ कपाकप खाइयो, त्यतिबेला त गुलियोमा मात्र रमाइयो । जब आधा घण्टापछि त्यसले प्रभाव देखाउन थाल्यो तब हजुरबाउको बिहेको तयारी भयो । बिस्तारै नुन खाएको कुखुराझैं हुँदै गइयो । बाटोमा कुकुर–बिरालो त के, माउसुली र मुसै मात्र देख्दा पनि आफ्नैविरुद्ध आक्रमण गर्न आएझंै लाग्न थाल्यो ।

 

जुन विषयमा दिमाग गयो, त्यसैको गहिराइमा विचरण गर्न थालिने भइयो । रामजी र म दार्शनिकजस्तै एउटा सानो विषयको विहंगम व्याख्या गर्ने चाणक्यकै साढुभाइझैं भएछौं । मध्यरातसम्म त पानीको तिर्खा र भोकले घरका काँचो प्याज, मेवा र आलु धरी उसिनेर भुसुक्कै पारेछौं । भाङले रातभर जाग्राम गरायो र अन्तमा हामी दुवैले के खाएर यस्तो भयो भन्ने बिर्सिएछांै । आफूहरू अब पागल भएको मान्दै, कुन जग्गा बेचेर भोलि आमाहरूलाई राँची उपचार गर्न सुझाउने निर्णय गरेर हामी बिहानीपखतिर निदाएछौं ।

प्रकाशित :फाल्गुन १५, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्