मोबाइल वल्र्ड कंग्रेसमा नोकियाको चासो

- साप्ताहिक संवाददाता

फाल्गुन १५, २०७३-  

प्रत्येक वर्ष आयोजना हुने मोबाइल वल्र्ड कंग्रेस ग्याजेट प्रेमीहरूका लागि प्रतीक्षाको महोत्सव रहँदै आएको छ । यो कंग्रेसमार्फत् धेरै कम्पनीले आफ्ना नयाँ–नयाँ प्रविधिसार्वजनिक मात्र गर्दैनन्, आफ्ना आगामी उत्पादन कस्ता हुनेछन् भनेर चर्चासमेत गर्छन् । पछिल्ला मोबाइल वल्र्ड कंग्रेसहरूले सार्वजनिक गरेका अधिकांश प्रविधि धेरैका लागि चासो एवं प्रतीक्षाको विषय बन्दै आएका छन् ।
आज आइतबार फेब्रुअरी २६ देखि आयोजना हुने मोबाइल वल्र्ड कंग्रेसमा पनि कुन–कुन कम्पनीले के–कस्ता ग्याजेट सार्वजनिक गर्नेछन् भन्ने कुरामा अहिले विभिन्न पूर्वानुमान गरिन थालेको छ, जसमा सर्वाधिक चर्चा नोकियाको छ । नोकिया आफूलाई एन्ड्रोइड अपरेटिङ सिस्टममा ढाली स्मार्टफोनको बजारमा उत्रिसकेका कारण नोकियाका उत्पादनप्रति अझै पनि धेरैलाई आशा एवं विश्वास छ । विन्डोज अपरेटिङ सिस्टममा गएर भोगेको व्यापारिक क्षतिलाई अहिले नोकियाले एन्ड्रोइड अपरेटिङ सिस्टमका स्मार्टफोनमार्फत पूर्ति गर्नुका साथै आफूलाई स्मार्टफोनमा पनि अब्बल सावित गर्ने उद्देश्य लिएको छ ।

 

नोकियाले पछिल्लो पटक एन्ड्रोइड अपरेटिङ सिस्टमअन्तर्गतको नोकिया सिक्सलाई चीनको बजारमा उतारेको थियो । अनलाइन बुकिङ गरिएको केही समयमै उक्त सेटको स्टक सकिएको थियो । यस्तै नोकियाले मोबाइल वल्र्ड कंग्रेसमा पी वान मोडलको सेट उतार्ने तयारी गरिरहेको छ । यो सेटप्रति पनि ग्याजेटप्रेमीहरूको अत्यधिक आकर्षण छ । १ सय २८ तथा २ सय ५६ जीबी क्षमताको यो सेटमा ५ दशमलव ३ इन्चको डिस्प्ले छ । यसको स्क्रिन गोरिल्ला ग्लासले बनेको हँुदा हत्तपत्त कोरिने सम्भावना छैन । अनुमानअनुसार यो सेटमा ६ जीबी र्‍याम छ । यो सेटको अर्को विशेषता यसको क्यामेरा पनि हो । पी वानमा २२ दशमलव ६ मेगापिक्सेलको क्यामेरा हुनेछ भने ब्याट्री क्षमता पनि ३ हजार ५ सय एमएएच रहने बताइँदैछ ।

 

चर्चाअनुसार १ सय २८ जीबी क्षमताको नोकियाको पी वान सेटको ८० हजारभन्दा बढी तथा २ सय ५६ जीबी क्षमताको सेटको ९० हजारभन्दा बढी पर्ने अनुमान छ । मोबाइल वल्र्ड कंग्रेसमा यो सेट सार्वजनिक भए पनि पहिलो चरणमा चीनमै बिक्री गरिनेछ । माइक्रोसफ्टले खरिद गरेर विन्डो अपरेटिङ सिस्टमयुक्त फोन उत्पादन गरेपछि नोकियाप्रति प्रयोगकर्ताहरू विकर्षित भए, तर अहिले नोकियालाई फिनल्यान्डकै एचएमडी ग्लोबलले किनेपछि यसको सुधारका दिन आउन लागेको संकेत पाइँदैछ ।

 

मोबाइल वल्र्ड कंग्रेसमा नोकियाले सिक्स र पी वान सेट सार्वजनिक गर्ने अनुमान गरिए पनि त्योभन्दा बढी चर्चा भने नोकियाको ३३१० मोडलको सेटको छ । सन् २००० मा नोकियाले निकालेको यो सेट ग्राहकले सर्वाधिक रुचाएको सेट हो । त्यतिबेला १२ करोड ६० लाख प्रति बिक्री भएको यो सेटको उत्पादन फेरि गर्न लागिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । नोकियाले प्रयोगकर्ताहरूको मनोविज्ञानलाई मध्यनजर गरेर यो सेटको उत्पादन थालेको बताइन्छ । केही अनलाइनमार्फत अझै बिक्री भैरहेको यो सेट अहिले स्मार्टफोनको झन्झटिलो प्रयोग नचाहने प्रयोगकर्ताहरूप्रति लक्षित हुनेछ ।

 

यो सेट पहिलो पटक आउँदा यसको बलियोपन, ब्याट्री खपत र त्यसमा भएको सर्पको खेलका कारण निकै लोकप्रिय भएको थियो । अहिले नोकियाले फेरि उत्पादन गर्न लागेको ३३१० सेट पहिलेको भन्दा बलियो, इन्टरनल क्षमता बढी र स्क्रिनको रिजोलुसन पनि हाई हुनेछ । सम्भवत: ८ जीबी इन्टरनल मेमोरी भएको यो सेटको मूल्य सरदर साढे ६ हजार रुपैयाँ पर्ने बताइएको छ । यो सेट आगामी फेब्रुअरी २६ मा स्पेनको बार्सिलोनामा आयोजना हुने वर्ड मोवाइल कंग्रेसमा पुन: परिमार्जित रूपमा आउने अनुमान गरिएको छ ।

प्रकाशित: फाल्गुन १५, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्