विज्ञानको तयारी कसरी गर्ने ?

- भिषा काफ्ले

फाल्गुन १५, २०७३- 

भन्नलाई विज्ञान विषय कठिन भनिन्छ, तर यसलाई व्यवहारिक रूपमा तुलना गरेर अध्ययन गरे यो विषयजति सजिलो कुनै पनि नभएको बोडे माध्यमिक विद्यालयका विज्ञान शिक्षक निशिराज ढुंगेल बताउँछन् । विज्ञान विषयको अर्को राम्रो पक्ष भनेको प्रश्नअनुसार छोटकरीमा उत्तर दिन सके यसमा गणितझैं पूर्णांक बराबरको नम्बर आउन सक्नु पनि हो ।

 

शिक्षक ढुंगेलका अनुसार विज्ञान नयाँ विषयवस्तु अध्ययन गर्ने विषय हो, त्यसकारण मनमा कौतूहलता सिर्जना गरी अध्ययन गर्नुपर्छ । ‘व्यवहारिक रूपमा हेरेर यो विषय अध्ययन गरे साह्रै सजिलो छ, मनमा पहिले कौतूहलता जगाउन सक्नुपर्छ ।’ शिक्षक ढुंगेल भन्छन्– ‘यदि यसलाई प्राविधिक विषयका रूपमा मात्र बुझियो भने गाह्रो हुन्छ ।’ विषय व्यवहारिक भए पनि विद्यार्थीले उत्तर दिँदा भने प्राविधिक रूपमा दिनुपर्छ । त्यसरी उत्तर दिँदा विद्यार्थीले राम्रो नम्बर प्राप्त गर्न सक्छन् ।

 

एसएलसी परीक्षा दिने विद्यार्थीले कक्षा १० को पाठ्यपुस्तकका आधारमा तयारी गर्नुपर्छ । कक्षा १० को केन्द्रीय परीक्षा (एसएलसी) मा ५७ पूर्णांकको लिखित परीक्षा हुन्छ भने २५ पूर्णांकको प्रयोगात्मक परीक्षा हुन्छ । प्रयोगात्मक परीक्षा विभिन्न चरणमा लिइन्छ भने लिखित परीक्षा महत्वपूर्ण मानिन्छ, जसमा कम्तीमा पनि २४ अंक प्राप्त गर्नुपर्ने हुन्छ । अझ ग्रेडिङ प्रणाली सुरुवात भएसँगै विज्ञानमा राम्रो नम्बर ल्याउन सके माथिल्लो तहमा पनि यही विषय लिएर अध्ययन गर्न सहज हुने शिक्षक ढुंगेलले बताए ।

 

सरकारले अहिले विद्यालयको पाठ्यक्रमले कक्षा ८ देखि नै विषयहरू सिलसिलेवर रूपमा मिलाउँदँ गएको छ । कक्षा ८, ९, १०, ११ र १२ का विज्ञानका विषय पनि एक–अर्कासँग जोडिँदै गएका छन् । त्यही भएर कक्षा १० मा विज्ञानको अध्ययन राम्रोसँग गरेको छ भने कक्षा ११ र १२ मा यो विषयमा कुनै समस्या नपर्ने उनी बताउँछन् । ‘त्यहाँ समस्या नभएपछि विज्ञान नै लिएर अघि बढ्न सहज हुन्छ ।’ शिक्षक ढुंगेल भन्छन्– ‘यो विषयसँग सम्बन्धित अन्य विषयतर्फ जान पनि मद्दत मिल्छ ।’ कक्षा १० मा विज्ञानलाई चार भागमा विभाजित गरिएको छ, जसमा भौतिक, रासायन, जीव विज्ञान र भू तथा ज्योतिष विज्ञान छन् । यी सबै विषयमा पूर्णांकलाई मध्यनजर गरी तयारी गर्नुपर्ने शिक्षक ढुंगेल बताउँछन् ।

 

कुन समूहबाट कस्ता प्रश्न ?

भौतिक विज्ञान समूह– यो समूहबाट परीक्षामा ३० पूर्णांकको प्रश्न सोधिन्छ जसमा गणित र विषयगत प्रश्नहरू हुन्छन् । विषयगत प्रश्नको उत्तर दिँदा जहिले पनि छोटकरीमा दिनुपर्छ, सम्भव भएसम्म स्पष्ट खुल्ने खालको उत्तर एक वाक्यमा दिनुपर्छ । अझ कुनै–कुनै त एक शब्दमा मात्र उत्तर दिँदा पनि पर्याप्त हुन्छ । यसरी दिइएको उत्तरमा नम्बर काटिने सम्भावना हुँदैन । हिसाव गर्दा सूत्रलाई सही मात्रामा प्रयोग गर्नुपर्छ । यस्तो हुँदा हिसाब बिग्रिए पनि नम्बर थोरै मात्र काटिन्छ । अर्को कुरा हिसाब आधा मात्र आयो भने त्यति नै पनि गर्नुपर्छ । जति हिसाब गरेको छ त्यही अनुसार नम्बर आउँछ । विज्ञानमा जुनसुकै समूहको पनि हिसाब गरिसकेपछि एकाइ लेख्न बिर्सनु हुँदैन । (जस्तै–आयतन निकाल्दा एकाइ क्युब (mघ) लेख्न भुल्नु हुँदैन ।) यदि त्यो भुलियो भने शून्य दशमलब ५ नम्बर काटिन्छ । राम्रो नम्बर आशा गर्ने विद्यार्थीको एउटा हिसाबमा त्यति नम्बर काटिनु भनेको ठूलो घाटा हो ।

 

रसायन विज्ञान समूह– यो समूहबाट परीक्षामा २२ दशमलव ५ नम्बरको प्रश्न सोधिन्छ । विशेष गरी अणु सूत्रको गठन, हिसाब र छोटो उत्तर दिने प्रश्न नै हुन्छन् । हिसाबका सूत्र तथा रसायनहरूको गठन प्रक्रियालाई बिर्सनु हुँदैन भने विषयगत प्रश्नहरूको उत्तर पनि छोटकरीमा दिनुपर्छ । जीव विज्ञान समूह– यो समूहबाट १५ नम्बरको प्रश्न सोधिन्छ । जसमा चित्रात्मक प्रश्न तथा तिनीहरूको नामांकनजस्ता कुरा प्राथमिकतामा पर्छन् । जीव विज्ञानका प्रश्न विषयगत पनि हुन्छन् ।

 

चित्रात्मक प्रश्नमा राम्रो चित्र बनाउने र तिनीहरूमा सोधिएको नामांकनलाई राम्रोसँग प्रस्तुत गर्नुपर्छ । यदि नामांकन आधा मात्र आउँछ भने पनि त्यति नै दिनुपर्छ, त्यसो गर्दा पनि आधा नम्बर आउँछ ।

भू तथा ज्योतिष विज्ञान–यो समूहबाट ७ दशमलव ५ नम्बरको प्रश्न सोधिन्छ । ब्रह्माण्ड र सौर्यमण्डलसँग सम्बन्धित विज्ञान भएको हुँदा यसलाई व्यवहारिक रूपमा बुझेर तयारी गर्नु आवश्यक हुन्छ । यसमा पनि छोटो उत्तर दिनुपर्ने हुन्छ ।

 

कसरी तयारी गर्ने ?

  • विज्ञानको परीक्षामा राम्रो नम्बर ल्याउन सहज छ तर त्यसका लागि परीक्षाको समयमा मात्र नभएर दैनिक रूपमा वर्षैभरि अध्ययन गर्नुपर्छ ।
  • फर्मुला, केमिकल रियाक्सन (अणुसूत्र) जीव विज्ञानको वर्गीकरण (गुण र वैज्ञानिक नाम) अनिवार्य रूपमा कण्ठ गर्नुपर्ने हुन्छ ।
  • भौतिक विज्ञान एवं रसायन विज्ञानमा सोधिने गणितीय प्रश्नका लागि बारम्बार अभ्यास जरुरी छ ।
  • अन्य विषयगत प्रश्नका लागि व्यवहारसँग तुलना गरी बुझेर अध्ययन गर्नुपर्छ । कुनै पनि विषयको अध्ययन सुरु गर्नुअघि मनमा उत्सुकता जगाउने प्रश्न गर्नुपर्छ । जस्तै सूर्यको विषयमा अध्ययन गर्नु छ भने त्योभन्दा अघि–सूर्य किन पूर्वबाट उदाएको होला ? दिन र रात किन हुन्छ ? सूर्य नभएको भए के हुन्थ्यो जस्ता प्रश्न आफैंमा सिर्जना गर्नुपर्छ ।

प्रकाशित :फाल्गुन १५, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्