अमर न्यौपानेको पहिलो प्रेम

- साप्ताहिक संवाददाता

फाल्गुन १४, २०७३- 

मनपर्ने केटीसँग मेरो सानैमा प्रेम भयो । ६ वर्षकै उमेर थियो होला । हामीले माटोको सिन्दूर अनि माटोकै खाना बनायौं । रूखका पातहरू पैसाका रूपमा प्रयोग गरियो । उनीसँग विवाह पनि गरियो । उनको जात राना थियो । हामी एउटै उमेरका थियौं । गोरी थिइन् उनी । स्कुल सँगै पढ्यौं । पानीमा लेखिएको नाम जस्तै यत्तिकै हरायो त्यो कुरा । तीन वर्षपछि सबै कुरा भुलियो । सानै उमेरमा भएको त्यो प्रेम सानै उमेरमै सक्कियो ।

 

बैंसको प्रेम चितवनमा स्नातक पढ्दा भयो । मलाई केटीहरूसँग बोल्न अप्ठयारो लाग्थ्यो । मलाई उनको बाटो हिँड्न मन लाग्थ्यो । हामीबीच दुई वर्षको मात्र फरक थियो । एक झलक हेर्न म उनकै घरको बाटो भएर जान्थें । नारायणघाट जाँदा पनि उनकै घरको बाटो भएर जान्थें । बरन्डा, झ्यालबाट उनले परसम्म पुग्दा पनि मलाई नै हेरिरहेझैं लाग्थ्यो । फर्कंदा कतिखेर फर्कन्छ भनेर कुरेर बसेजस्तो लाग्थ्यो । मेलाहरूमा भेट हुँदा हामी एक–अर्कालाई हेराहेर गथ्र्यौं । डेढ, दुई वर्षसम्म चल्यो त्यो क्रम ।

उनी पढाइमा एकदम राम्रो । कलेज फरक थियो । उनलाई नभेट्दा, नदेख्दा नमज्जा लाग्थ्यो । उनीसँगै जीवन बिताउन पाए हुन्थ्यो जस्तो लाग्थ्यो ।

 

बेला–बेला जम्काभेट हुँदा एक, दुई वाक्य बोलिन्थ्यो । त्यो पनि औपचारिक मात्र । आ–आफ्नो साइकलमै थियौं हामी । मैले तिमीसँग केही कुरा गर्नु छ भने । घरै आउनुस् न कुरा गर्न भनी रातो मुख लाएर गइन् उनी । उनले विवाहकै कुरा गर्न बोलाएजस्तो लाग्यो । मलाई उमेर नपुगे जस्तो लाग्यो । पाँच–छ महिनापछि उनको विवाहको कुरा चलेको थाहा पाएँ । उम्किन हो कि, डरले हो कि वा साहसी छ कि छैन भनेर पत्ता लगाउन हो । उनले मलाई घरमै बोलाएकी थिइन् ।उनको विवाह भएको एक वर्षपछि बसमा भेटें । खिसिक्क हाँसिन् । म पनि हाँसें तर दुवैजना बोलेनौं । त्यसको आठ वर्षपछि काठमाडौंमा टाढाबाट देखें, बबरमहलमा । सिंहदरबारअघिको बाटोमा तर बोलाइनँ ।

प्रकाशित :फाल्गुन १४, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्