अब एक वर्ष चलचित्रमा काम गर्दिनँ

- नरेन्द्र बस्नेत

फाल्गुन १४, २०७३

 

नाजिर हुसेन नेपाली रजतपटमा उदाएका आशालाग्दा कलाकार हुन् । चलचित्र होस्टेलबाट ठूलो पर्दामा देखिएका हुसेन उक्त चलचित्रमा मधेसी समुदायका युवाको चरित्रकै कारण लोकप्रिय भए । त्यसपछि उनलाई थुप्रै अफर आए । यद्यपि हुसेनले केही चलचित्रमा मात्र काम गरे । भर्खर २४ वर्ष टेकेका हुसेन आफू जस्तोसुकै अभिनय गर्न पनि सक्षम रहेको बताउँछन्।

 

तपाईंको व्यस्तता बढेको हो ?

अलि–अलि व्यस्त नै छु । चलचित्र तथा नाटक दुवैलाई समय दिइरहेको छु । अहिले चाहिँ म चलचित्रलाई थाती राखेर नाटकमै बढी केन्द्रित छु ।

 

नाटकमा के त्यस्तो छ, जसले तपाईंलाई आकर्षित गर्‍यो ?

मेरो मुख्य विधा नै नाटक हो । मैले नाटकबाटै आफ्नो करियर सुरु गरेको हुँ । मेरो नशा–नशामा नाटक दौडिरहेको छ । मैले चलचित्रमा जुन अभिनय गरेँ नाटकमा मेहनत नगरेको भए त्यो सम्भब हुने थिएन ।

 

अब शुभचिन्तकहरूले तपाईंलाई चलचित्रमा देख्न पाउँदैनन् त ?

होइन, अबको एक वर्षचाहिँ म चलचित्रमा काम गर्दिन । एक वर्षसम्म नाटकमै रमाउँछु । किनभने मैले नाटकमै केही गर्नु छ । त्यसपछि मात्र म चलचित्रमा फर्कन्छु । यस क्रममा मैले आएका केही अफरसमेत रिजेक्ट गरेको छु ।

 

छोटो समयमै आफ्नो बढी चर्चा भएजस्तो लाग्दैन ?

पटक्कै लाग्दैन । मैले जुन काम गरेँ, त्यो कामको चर्चा भएको हो । मैले निर्वाह गरेको चरित्रप्रति न्याय गरे छु त्यसैले सबैले मन पराउनुभयो । म जुन चरित्र निर्वाह गर्छु, त्यसमा अन्याय गर्दिनँ । चाहे मधेसी चरित्र होस् वा पहाडी चरित्र ।

 

प्रेमप्रस्तावचाहिँ कत्तिको आउँछन् ?

हा...हा...हा...अँ....अँ ...आउँछन् अलि–अलि । यो बेला पनि नआएको प्रेम प्रस्ताव कहिले आओस् त ? भर्खर त जवान भएको छु । यो कुरा भन्नै पर्छ र ? यो त स्वभाविक कुरा हो नि !

प्रकाशित :फाल्गुन १४, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्