संसारकै सबैभन्दा धनी मानिस हुँ

- अश्विनी कोइराला

बजारमा जति अध्यात्मका कुरा गर्नेहरू भेट्छौ, ती सबै उधारोमा माल बेचिरहेका छन् । म त्यस्तो माल बेच्ने पक्षमा छैन । उदाहरणका लागि कसैले हलुवा खाएको छ, अब हलुवाको स्वादका बारेमा उसले केही भन्यो भने सुन्ने मान्छेको पेट भर्छ ? भर्दैन ।

फाल्गुन १३, २०७३-  

आममानिसलाई जोगीको कुरा बुझ्न हम्मे–हम्मे पर्छ । तैपनि उनीहरूको कुरा सुनिरहूँ जस्ता हुन्छन् । शिवरात्रिमा भेला भएका सयौं जोगीका व्यक्तिगत कथा जति फरक छन्, त्यति नै उनीहरूका वेशभूषा पनि फरक–फरक छन् । कोही नेपालभित्रै वर्षौं तपस्या गरेर भर्खरै बाहिर आएका छन् भने कोही भारतका कुना–काप्चाबाट भेला भएका छन् । तीमध्ये केही विशेष योगीलाई साप्ताहिकले विभिन्न अवस्थामा फेला पार्दै आएको छ, जसमध्ये पनि साँच्चै अपत्यारिलो कथा भएका एक जना योगी छन्, टोड्के बाबा । २४ वर्षदेखि शिवपुरी राष्ट्रिय निकुञ्जको अनकन्टार जंगलभित्र बस्ने यी योगीले त्यहाँको एउटा रूखको टोड्कालाई आश्रय बनाएर वर्षौं तपस्या गरेका कारण उनको नाम टोड्के बाबा रहेको हो । लामो समयदेखि साप्ताहिक टिम शिवपुरी पुगेर उनको अन्तरवार्ता लिने प्रयास गरिरहेको थियो । पटक–पटक पत्रिकाका लागि कुरा गर्न अस्वीकार गर्ने टोड्के बाबा यसपटक भने नि:सर्त कुराकानी गर्न तयार भए । 

लगातार आग्रह गर्दा पनि हाम्रा पाठकका लागि कुरा गर्न तयार हुनुभएको थिएन, कुनै कारण थियो ?

म तिम्रो प्रेमपूर्ण आग्रहलाई सम्मान गर्छु, तर कुरा के छ भने तिम्रो प्रश्न र मेरो उत्तरको तारतम्य मिल्छ ? तिमीले गर्ने भौतिक प्रश्न र मैले दिने अभौतिक उत्तरबीच कतै मेल खान्छ ? तिम्रा पाठकले मेरा कुरा पचाउन सक्छन् ? कुनै पनि कुरा गर्न उचित पात्र चाहिन्छ । म यत्रो दिनसम्म तिमीभित्र उचित पात्र खोजिरहेको थिएँ, जसले मेरो कुरा ग्रहण गर्न सकोस् । 


जस्तो ?
बजारमा जति अध्यात्मका कुरा गर्नेहरू भेट्छौ, ती सबै उधारोमा माल बेचिरहेका छन् । म त्यस्तो माल बेच्ने पक्षमा छैन । उदाहरणका लागि कसैले हलुवा खाएको छ, अब हलुवाको स्वादका बारेमा उसले केही भन्यो भने सुन्ने मान्छेको पेट भर्छ ? भर्दैन । म कुरा गर्दा त्यस्तो मान्छे खोज्छु, जसले मैले खाएको हलुवाको स्वाद बुझोस् । त्यो स्वादले उसको पनि पेट भरोस् । पेट नभरिने कुरा गरेर किन समय बरवाद गर्ने ?


तपाईंको खास नाम के हो ?
नामलाई छाडिदेऊ, कामको कुरा गर । 


तपाईंलाई किन टोड्के बाबा भनिन्छ ?
शिवपुरी जंगलमा सयौं वर्ष पुराना बूढा रूखहरू छन् । मानिसजस्तै रूख बूूढो भएपछि उसले ठाउँ छाड्दै जान्छ । त्यस्ता रूखका बीचमा ओडार जस्तो ठूलो ठाउँ बन्छ । शिवपुरीमा ध्यान गर्ने ठाउँ खोज्दै जाँदा मैले आफू अट्न सक्ने रूखको टोड्का भेटेँ । त्यहाँ मज्जाले सुत्न पुग्थ्यो । त्यसले बर्खाको पानी र जाडोको चिसो छल्न मद्दत गर्छ जस्तो लागेर म त्यहीँ बस्न थालेँ । वर्षौं त्यहाँ बस्दा धेरैले मलाई देखे । त्यसैबाट मेरो नाम टोड्के बाबा भयो । 


त्यस्तो ठाउँमा वर्षौं कसरी बस्नुभयो, केका लागि बस्नुभयो ?
मैले पनि तिमी बस्ने यो संसार देखेको छु । यति धेरै झूट, बेइमानी र अप्ठ्यारो अवस्थामा तिमी कसरी बाँचिरहेका छौ ? तिमी र तिमीजस्ता मानिस कुन प्रारब्धले यति दु:खका साथ जीवन बिताइरहेका छौ ? यतिको पीडा सहेर किन बसिरहेका छौ भन्ने प्रश्न ममा पनि उब्जन्छ । जहाँसम्म मेरो कुरा छ, म मस्तीमा छु, आनन्दमा छु । केही शारीरिक कष्ट भए होलान्, तर मैले जे प्राप्त गरेको छु, त्यो प्राप्तिका अघिल्तिर यस्ता सामान्य कष्ट केही होइनन् । यो कुरा सुन्दा तिमीलाई कल्पनाझैं लाग्न सक्छ तर यो मैले भोगेको जीवन हो । मेरो जीवनलाई हेर, बुझ, म कुनै पीडामा छु भन्ने लाग्छ ? मैले जीवनमा जे पाएँ, त्यही टोड्काबाट पाएँ । म त्यो टोड्काप्रति, शिवपुरी निकुञ्जप्रति, समग्रमा त्यो तपोभूपिप्रति अत्यन्तै आभारी छु । 


टोड्कामा बसेर के पाउनुभयो ?
सम्राट भएँ । तिमीले यो धर्तीको राजाका बारेमा सुनेका छौ, देखेका छौ । मलाई हेर र बुझ, यो धर्तीमा मानिस अर्को तरिकाले पनि सम्राट् हुन्छ । 

 

टोड्कामा बसेको कति समयपछि तपाईंले आफू सम्राट भएको महसुस गर्नुभयो ?
त्यस्तै ६ महिनापछि हुनुपर्छ अथवा यसो भनौं ६ महिनादेखि एक वर्षको बीचमा मैले धेरै कुरा पाएँ । लाग्यो, म संसार सबैभन्दा धनी मानिस हुँ । मभित्र यति धेरै सम्पत्ति भेटियो, यो सम्पत्ति कसलाई दिऊँ, कसलाई बाँडौं भन्ने लाग्यो । 

 

त्यस्तो बेला मानिसले कसलाई सम्झँदो रहेछ ?

अरूले कसलाई सम्झन्छन्, मलाई थाहा छैन । मैले भने आमालाई सम्झिएँ । त्यो बेलासम्म घर छाडेको वर्षौं भैसकेको थियो । जब मैले आफूभित्र अनमोल खजाना फेला पारेँ, मजस्तो सम्राट्लाई जन्म दिने आमा कस्ती भइन् होली भन्ने लागेर भेट्न गएँ । उनी पहिले जस्तै अनपढ अनि सरल महिला नै थिइन् । छोरा सम्राट भएको कुरा उनलाई थाहा भएन । अरू आमाले जस्तै उनले पनि मलाई घरमै बस्न अनुरोध गरिन् । मैले मृत्युलाई जितिसकेको र अब अर्कै संसारमा प्रवेश गरिसकेको कुरा उनले कसरी बुझून् ? म करुणापूर्वक चुपचाप फर्कनुबाहेक अरू के नै गर्न सक्थे र ? तर हाम्रो परिवारमा त्यही कुरा भयो, जुन शास्त्रमा उल्लेख छ । जब कुलको एउटा छोरा सच्चा योगी हुन्छ, उसका कारण परिवारका सात पुस्तामा खुसीयाली छाउँछ । नभन्दै हाम्रो खानदानमा सबैको राम्रो भएको सुन्दै गएँ । 


सानैदेखि योगी बन्ने रहर थियो कि कुनै कारणले यतातिर आउनुभयो ?
चिना बनाउँदा पण्डितले मेरो घरवार हुँदैन भनेका थिए रे, तर यो कुरा सरकारी जागिर खाइरहेका मेरा बुवाले पत्याउनुभएको थिएन । म कान्छो छोरो भए पनि अरूजस्तो मोजमस्तीमा ध्यान गएन । अहिले हेर्दा त्यो मेरो प्रारब्ध थियो । म सानैदेखि खाटमा सुत्न छाडेर भुइँमा सुत्न थालेको थिएँ । शिवको मूर्ति स्थापना गरेर उनको आराधना गर्न थालेको थिएँ । यस्तो देखेपछि मेरो बुवालाई शंका लाग्न थाल्यो, म संसारको बाटो हिँड्ने केटा होइन ।

 

त्यो बेला तपाईंलाई किन अर्को बाटो रोज्न मन लाग्यो होला, कसैले योगी बन्दा राम्रो हुन्छ भन्ने लोभ देखाएका थिए अथवा परिवारमा कोही यो बाटोमा हुनुहुन्थ्यो ?
म भन्दा माथि पाँच दाजु तथा तीन दिदी थिए । तीमध्ये धेरै विवाह भएर छुट्टिसकेका थिए । मैले विवाहपछि दाजुहरूले आमा–बुवालाई गर्न थालेको अपहेलना महसुस गर्न थालेको थिएँ । मेरा आमा–बुवा उनीहरूसँग भेटघाट गर्दा नक्कली माया महसुस गर्थें । कतिपय परिवारसँग छुट्टिएर त गए, तर उनीहरू आफ्नो परिवारमा सुखी हुन सकिरहेका थिएनन्, न त आमा–बुवासँग अपनत्व महसुस गर्न सक्थे । यस्तो घटना उनीहरूको मात्र थिएन, सबै जोडी यो समस्यामा छन् भन्ने मलाई लाग्थ्यो । जुन बाटोमा सुख छैन, त्यो बाटो किन हिँड्ने ? म यस्तो बाटो हिँड्न चाहन्थेँ, जसमा दु:खको नाम नहोस् । त्यो बाटो योगीको हो भन्ने कसरी सुने थाहा छैन तर बेला–बेलामा म घर छाडेर हिँड्ने कुरा सोचिरहन्थें । 

 

त्यो बेला तपाईंकी एउटी बालसखा पनि थिइन् भन्ने सुनिन्छ, उनको मायाले तानेन ?
माया त लाग्थ्यो तर उनको माया पनि मेरा दाजु–दिदीहरूझैं सुखी हुन नसक्ने माया हो भन्ने थाहा पाउन मलाई गाह्रो भएन । जबसम्म म आफैं खुसी हुन्न, तबसम्म कसरी अरूलाई सुख दिन सक्छु ? त्यसैले पहिले म आफूलाई सुखी बनाउन चाहन्थेँ । 


घर छाडेर कहिले हिँड्नुभयो, कहाँ जानुभयो ?
मेरो घर उत्तर प्रदेशको मेरठ सहरमा थियो । करिब १६ वर्षको उमेरमा म घर छाडेर हिमाञ्चल प्रदेश पुगेँ । त्यहाँ बालखनाथ बाबाको मन्दिर थियो । म त्यहीँ बस्न थालेँ । 


जोगी भएर ?
होइन, म संसार र संन्यासबीच लडाइँ गर्दै थिएँ । म मझधारमा थिएँ, कुन बाटोमा हिँड्दा मलाई राम्रो हुन्छ भनेर आफ्नै परीक्षा लिइरहेको थिएँ । बेला–बेलामा घर जान्थें र बेला–बेलामा मन्दिर फर्कन्थें । जुन दिन मलाई लाग्यो, म जस्तोसुकै अपमान पनि सहन सक्छु, त्यो दिन नै मैले आफूलाई संन्यासी हुने अवस्थामा पाएँ ।


जोगी हुनुको अर्थ हो, लोभलाई जित्नु । तपाईंले लोभलाई कहिले जित्नुभयो ?
जब म बालखनाथ मन्दिरमा पूर्ण रूपमा बस्न थालेँ, मेरा गुरुले मलाई बिस्तारै मन्दिरको सम्पूर्ण अधिकार दिन थाल्नुभयो । करिब ६ वर्षपछि उहाँले मलाई आफ्नो उत्तराधिकारी घोषणा गर्नुभयो । यसको अर्थ थियो, त्यहाँको अकूत सम्पत्तिको मालिक हुनु । म जुन कुराबाट भाग्न चाहिरहेको थिएँ, त्यही कुरा मेरो अघि आइपुग्यो । ज्ञान पाएको छैन, सन्तुष्टि पाएको छैन तर सम्पत्ति आयो । ओहो † यसले मलाई केही दिँदैन भन्ने लागेर म रातारात त्यहाँबाट हिँडें । अहिले सम्भँmदा लाग्छ, त्यो बेला मैले लोभलाई जितेको थिएँ । 


त्यहाँबाट नेपाल आउनुभयो ?
होइन, म अनेकतिर डुल्न थाले, धेरैजसो अमरनाथ जान्थेँ । विभिन्न ठाउँमा पुग्थें र गुरुहरूको आश्रय लिन्थें । म आनन्द खोजिरहेको थिएँ तर पाइरहेको थिइनँ । 


त्यो बेला भिक्षा मागेर खानुहुन्थ्यो कि ?
मैले जीवनमा चार दिन मात्र भिक्षा मागेको छु । त्यो पनि मभित्र अहंकार नपलाओस् भनेर अन्यथा मैले कहिल्यै भिक्षा मागिनँ । कसैले खान दियो खाइदिएँ, दिएन भोकै बसिदिएँ । यसले मलाई भोकलाई जित्न पनि मद्दत गर्‍यो । एकपल्ट लगातार ४ दिनसम्म पेटमा अन्न परेन । तैपनि भिक्षा माग्न सकिनँ । उसले भोक दिएको छ भने खाना पनि उसैले दिन्छ नत्र मृत्युको अधिकार छँदैछ भन्ने सोच्थें । आखिर जहाँ भोक छ, त्यहाँ भोजन रहेछ । यो कुरा पनि थाहा भयो । मानिसहरू भन्छन्— काम नगरी खान पाइँदैन । ती मुर्खहरूलाई थाहा छैन, भोक नभएको भएचाहिँ खान पाइँदैनथ्यो । 

 

योगीको अर्को जित भनेको डरको जित हो । तपाईंले डरलाई कसरी जित्नुभयो ?
जब म नेपाल आएँ, मलाई यो तपोभूमि हो भन्ने महसुस भयो । शिवपुरी निकुञ्ज घुम्न जाँदा मैले यतै कतै तपस्या गर्नुपर्छ भन्ने सोचिसकेको थिएँ, तर धेरैले यहाँ बाघ–चितुवा आउँछन् भनेर हतोत्साहित गरे । म एकपल्ट फेरि शिवपुरी आएँ र टोड्कामा तपस्या गर्न थालेँ । मेरो मनभित्र बाघ र चितुवाको डरचाहिँ राम्रैसँग पसेको रहेछ । पहिलो र दोस्रो दिन सुत्न लाग्यो, बाघ आइहाल्थ्यो । अरे यार, संसार त्यागेर तपस्या गर्न आएको, बाघको डर ? आफ्नो डरपोक मन देखेर आफैलाई अचम्म लाग्यो । शिवपुरीको घना जंगलको रात पनि भयङ्कर डरलाग्दो हुँदो रहेछ । यसरी दुई रात तपस्या भङ्ग भएपछि म तेस्रो रात टोड्काबाट बाहिर आएँ र चितुवा आउने बाटोमै सुतिदिएँ । म लक्का जवान थिएँ, उसका लागि दुई छाक खान पुग्छ भन्ने लाग्यो, तर त्यो रात चितुवा आएन । अर्को रात पनि आएन । त्यसपछि टोड्का छेउमा बाघले भेट्ने गरी निष्फिक्री सुतेँ । तब पो थाहा पाएँ, बाघले होइन, मलाई आफ्नै मनले तर्साएको थियो । त्यस दिनपछि मेरो ध्यान लाग्न थाल्यो, प्रगति हुन थाल्यो र आफू भित्रको खजाना प्राप्त हुन थाल्यो। 

 

अहिले टोड्का छाड्नुभएको छ । कुटी बनाएर बस्न थाल्नुभएको छ । तपस्या पूरा भएको हो ?
तपस्या गर्दा एउटा यस्तो वातावरण चाहिन्छ, जसमा आन्तरिक घटना घटोस् । एकपल्ट सम्राट भएपछि त्यो वातावरण नभए पनि हुन्छ । मलाई त्यस्तै भयो । पाँच वर्ष टोड्कामा बसेपछि ममा धेरै कुराको अन्तरवोध भयो । यसबीच शिवपुरी बाबाका भक्त विष्णु तिमल्सेनाले कुटीमा बस्नुहोस्, भनेर आग्रह गरेपछि मैले उहाँको कुरा मानेको हुँ । टोड्कामा धेरै वर्ष बसेका कारण कुटी त महल जस्तै फराकिलो पो लाग्यो । (हाँसो) 

 

अहिले तपाईंको कुटीमा विदेशीहरू पनि आउँछन्, उनीहरूलाई देख्दा कस्तो लाग्छ ?
स्वदेशीहरू पनि आउँछन् नि । उनीहरूको सेवा गर्न मन लाग्छ । आ–आफ्नो प्रारब्ध हो । कोही ज्ञानको खोजीमा, कोही गाँजाको खोजीमा त कोही समय बिताउन आउँछन् । शिवपुरी राष्ट्रिय निकुञ्जले मेरो कुटीमा धेरै भक्त आए, त्यसले निकुञ्जको वातावरण बिग्रियो भनेर पत्र काटेको छ । उनीहरूलाई के थाहा, यो तपोभूमि हो । यहाँ हजारौंले ज्ञान प्राप्त गरे भन्ने कुरा । उनीहरूलाई जनावरको चिन्ता छ, मानिस जनावर भएका छन्, उनीहरूलाई मनुष्य बनाउनु पर्छ भन्ने कुराको चिन्ता छैन । गज्जब छ, संसार । 

 

तपाईंको कुटीमा धेरैजसो विदेशी युवती आएको देखिन्छ । उनीहरूलाई देख्दा तपाईंको मन र शरीरले आफ्नो धर्म निर्वाह गरूँ भन्दैन ?
मनले त केही भन्नै छाडिसक्यो । शरीरले कहिलेकाहीँ धर्म निर्वाह गर्छ । लामो समय मलाई स्वप्नदोष हुन्थ्यो । एकपल्ट मैले डाक्टरसँग पनि सोधें । डाक्टरले भन्यो, ‘भित्र ट्यांकी भरिएपछि कहिलेकाहीँ पोखिन्छ, त्यो चिन्ताको कुरा होइन ।’ मलाई डाक्टरको कुरा ठीक लाग्यो । मनले पो केही माग्दैन तर शरीरले महिना–दुई महिनामा आफ्नो धर्म निर्वाह गर्छ भने ठिकै छ । यसमा मैले किन चिन्ता लिने ?


 

केही युवतीले तपार्इँसँग शारीरिक सम्पर्कका लागि आग्रह गरें, किन पछि हट्नुभयो ?
विदेशी युवतीहरू त्यही संस्कारमा हुर्किएका हुन्छन् । उनीहरूले सानैदेखि यौनसम्बन्ध स्वास्थका लागि आवश्यक हुन्छ भनेर पढेका हुन्छन् । महिनौं यता बस्दा उनीहरूको शरीर र मनले यस्ता सम्बन्धको चाहना गर्नु स्वभाविक हो । तीमध्ये एक–दुईले मसँग कुरा राखे । मैले स्पष्ट भनेँ, म जवान छु, योगी भएकाले स्वस्थ पनि छु, तर यस्ता कुरा म अस्वीकार गर्छु । कारण यो मेरो आवश्यकता होइन । मानौं, मैले तिम्रा लागि यो काम गरेँ, अहिले त तिमी खुसी हुन्छौं तर भोलिदेखि तिम्रो मनमा ग्लानि उत्पन्न हुन्छ । त्यसले सारा योगीप्रति तिम्रो नकारात्मक धारणा पैदा हुन्छ । मैले यस्ता कुरा बुझाएपछि उनीहरू साह्रै खुसी हुन्छन् । 


 

अहिले दिनभर के गरेर बस्नुहुन्छ, अल्छी लाग्दैन ?
जसको काम छ, उसलाई कहिलेकाहीँ अल्छी लाग्छ । जसको जीवनमा काम नै छैन, उसलाई अल्छी भन्ने कुरा थाहै हुँदैन । अर्कातिर मेरो काम परमात्माको प्राप्ति हो, यो काममा अल्छी लाग्ने होइन, उत्साह सिर्जना हुन्छ । यसमा एउटा विजय प्राप्त गरेपछि अझै अघि बढ्न मन लाग्छ । हिजो म एउटा गाउँको राजा थिएँ, अहिले नगरपालिकाको राजा भएको छु । भोलि यो साम्राज्यको राजा हुन्छु । 


भनेपछि साम्राज्य प्राप्त गरिसक्नुभएको छैन ?
छैन, त्यसपछि प्राप्त गर्ने कुरा केही बाँकी रहँदैन । म अन्तिम युद्ध लडिरहेको छु । युद्ध शब्दले तिमीलाई लाग्दो हो, म दु:ख गरिरहेको छु । अरे यार, यो यस्तो यात्रा हो, जसमा हार भन्ने हुँदैन, सधैं जित मात्र हुन्छ । 


अन्तिममा केही भन्न मन लागेको छ कि ?
तिमीलाई लागेको होला । मलाई त तिम्रो कुरा सुरु हुँदा पनि केही भन्न मन लागेको थिएन, अहिले पनि ठीकै छ । इच्छा गरिहाल्यौ, दुई–चार बात गरिदिउँm भन्ने मात्र हो । यति हो, तिमीले कति बुझ्छौ, बुझेको कुरा कति लेख्छौ अनि लेखेको कुरा कतिले बुझ्छन् ? कति सद्पात्रले यसबाट फाइदा लिन्छन्, त्यो भने प्रारब्धको कुरा हो । 

प्रकाशित :फाल्गुन १३, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्