साधुहरूको संसार

- अश्विनी कोइराला / जनक तिमिल्सिना

फाल्गुन १३, २०७३- 

पूर्वयुवराज पारस शाहका साथी हुन— प्रवज्जनबहादुर सिंह । एकदिन थाइल्यान्डमा पारसलाई हर्टअट्याक भएको खबर फैलियो, उक्त खबरसँगै उनको मृत्युको हल्लासमेत चल्यो । त्यस्तो दु:खद खबरबाट विचलित भएका सिंहलाई कसैले पूजापाठ गर्न सुझायो । उनी वनकालीस्थित गुरु गोरखनाथ गोरक्षपीठ आश्रममा पुगे । आश्रममा साधुहरूको संगतमा पुगेपछि उनको विचलित मन त शान्त भयो नै, त्यसपछि उनले आफ्नो विलासी जीवन नै परित्याग गरे । रोचक त के भने त्यही एउटा घटनाकै कारण छोरी र श्रीमती छाडेर उनी साधु ‘योगी ब्यग्र वेदनाथ’मा परिणत भए ।

 

अहिले शिवरात्रिमा कान चिरेर २१ दिन गुफाभित्र बसी मंगलबारमात्र बाहिरी दुनियाँमा निस्किएका छन्— उनी । व्यग्र वेदनाथसहित यो वर्ष कान चिरेर २१ दिन गुफामा बिताउने साधुमा योगी ब्रमनाथ, योगी आदित्यनाथ, योगी सुन्दरनाथ, योगी केचरनाथ, योगी स्वस्तिनाथ तथा योगी प्रवलनाथ पनि छन् ।

 

‘फूल प्रशस्त छन्, तर तिनले बास्ना दिँदैनन् भने त्यसको के अर्थ ?’ योगी देवनाथ, २८ ले साप्ताहिकको पहिलो प्रश्नमै भने । आध्यात्मिक जीवनलाई उनी बास्ना दिने फूल मान्छन् भने भौतिक जीवन उनका लागि बास्नाविहीन फूल हो । त्यसैले उनले किशोरवयमै बास्ना दिने फूल अर्थात साधु जीवन रोजे । गुल्मी स्थायी घर भएका यी तन्नेरी साधुले १९ वर्षकै उमेरमा घरबार त्यागी साधु जीवन बिताउन थालेका हुन् । ‘एसएलसी पास गरेको थिए, म त्यतिबेला १९ वर्षको थिएँ,’ योगी देवनाथ स्मरण गर्छन्, ‘देवघाट आएँ, साधुहरूको संगत भयो । योगी नरहरिनाथको संगत एवं प्रवचनले मलाई शान्ति मिल्यो र जोगी बने ।’

 

 

आजभन्दा झन्डै २० वर्षअघि बाबा अधु जगन्नाथ गिरी, ४२ ले सांसारिक सुखको संसार त्यागे । सुरुमा साधना रोजेका गिरीलाई त्यही बाटोले साधु जीवनसम्म ल्याइपुर्‍यायो । बनारस हिन्दु विश्वविद्यालयबाट इकोनोमिक्स र सोसोलोजीमा ग्राजुयसन गरेका छन्, उनले । राम्रो पारिवारिक विरासत तथा डिग्रीले मात्र खुसी दिन नसकेपछि उनी गेरुवस्त्रधारी बनेका हुन् । शिवलिङ साथमा कहिल्यै नछुटाउने अधु जगन्नाथ त्यसैले आफूलाई सबै कुरा दिएको बताउँछन् । ‘यसैले सबै थोक दिन्छ,’ अगाडि राखिएको शिवलिंग देखाउँदै उनले भने, ‘यसलाई छाडेर कसरी जिउने ?’ अरूलाई आर्शीवाद दिनु र खुसी तुल्याउनु उनको साधु जीवनको प्रमुख लक्ष्य हो ।

 

प्रेमको सुखद् अन्त्यमा जोड दिने यी बाबाले ब्रेकअप भोगेर साधु बनेका हुन् कि भन्ने जिज्ञासामा नकारात्मक जवाफ दिए— होइन । ‘प्रेमको सुखद् अन्त्य जरुरी छ, अन्त्य अन्तिम सिंढी हो,’ उनले भने– ‘त्योभन्दा पर अरू कुनै खुसी छैन ।’ यी गेरुवस्त्रधारी साधु विवाह वंश निरन्तरताका लागि आवश्यक भएको धारणा व्यक्त गर्छन् । योगी नरहरिनाथका उत्तराधिकारी योगी शशिनाथको कथा अझ रोचक छ । गुल्मीबाट कामको खोजीमा नयाँदिल्ली पुगेका थिए, उनी । त्यहीं उनको भेट योगी नरहरिनाथसँग भयो।

 

‘दिल्लीको सिल्ली हुन गएको थिएँ,’ हालैको एक बिहान उनले भने, ‘तुक्लावादको विशिष्ट किल्लाको शिवालयमा योगी नरहरिनाथजी बस्नुहुँदोरहेछ । उहाँसँग भेट भएपछि म सिल्ली बन्न छाडेर आध्यात्ममा लागे ।’ शशिनाथको विचारमा आफूलाई सरल रूपमा बुझ्ने र आत्माका सम्बन्धमा जान्ने बृहत् राजमार्ग भनेकै आध्यात्म हो ।‘हजारीबाबा’ का रूपमा चिनिने रामजीवनका लागि साधु जीवन रोज्नुपर्ने कुनै कारण थिएन् । प्रशस्त, सम्पत्ति, सुन्दर श्रीमती अनि भर्खरै जन्मिएकी छोरी— भरपुर परिवार थियो उनको । एकताका मंसिर महिना, धान काट्ने बेलामा उनको गाउँ छेउ ठूलो मेला लाग्यो । जुवाका खाल जमे । भारतबाट नटखट नर्तकीहरू मगाइए ।

 

ती नर्तकीहरू अश्लील नृत्य गर्थे र युवाहरू उनीहरूलाई लक्षित गर्दै पैसा फ्याँक्थे । राम्रो पैसा दिने साहू—महाजनले ती नर्तकीबाट शारीरिक सुख समेत प्राप्त गर्थे । त्यस्तो दृश्य चाख मानेर हेर्नेमा रामजीवन पनि थिए । त्यो बेला सबैलाई रमाइलो भयो तर गाउँका धेरै युवाले जुवाको खाल र नर्तकीको आँखा सन्काइमा ठूलो पैसा गुमाए । यसरी पैसा गुमाउनेमा रामजीवन पनि थिए । जुवामा उनले धान खेतबाटै दुई मन धान हारे । धान हारेको भोलिपल्ट रामजीवनका बुवाले उनलाई श्रीमतीकै अघि कुटिदिए । बस्, यही एउटा घटना उनलाई रामजीवनबाट ‘हजारीबाबा’ बनाउने कारण बन्यो । शिवरात्रिको अवसरमा पशुपतिमा जम्मा हुने हजारौं साधुको जीवन जति स्वच्छन्द र रंगीन देखिन्छ त्यसका पछाडि अनेकौ रोचक एवं विष्मयकारी कथाहरू जोडिएका छन् ।

 

कसैले शान्तिको खोजीमा आफ्नो शान सौकतको जीवन परित्याग गरेर निशाचर बाटो पछ्याएका छन् त कोही गरिबीको पीडाका कारण साधुपथमा हिंडिरहेका छन् । कसैले प्रेममा असफलताका कारण बैराग्य धारण गरेका छन् त कोही लहैलहैमा घरत्याग गरेर गेरुवस्त्रको संगतमा पुगेका छन् । कोही समाजको नीति, नियम एवं प्रक्रियासँग सहमत हुन नसकेर खरानी घस्न थालेका छन् त कतिलाई योगी र साधुहरूको संगतले परिवर्तन गरेको देखिन्छ । जे भए पनि उनीहरूले बाँचिरहेको स्वच्छन्द जीवन कुनै न कुनै कारणको परिणाम हो । राम्रो वा नराम्रो जस्तो भएपनि त्यही कारणले उनीहरूलाई यो जीवनसम्म ल्याइपुर्‍याएको छ ।

 

शिवरात्रिको महामेला

शिवरात्रिलाई जसरी सर्वसाधारण ‘महाकुम्भ’ मान्छन्, साधुहरू भने यसलाई त्योभन्दा ठूलो महाकुम्भका रूपमा चित्रित गर्छन् । बाबा शिशनाथले साधुहरूका लागि शिवरात्रि दसंै–तिहारजस्तै भएको बताए । त्यसैले त नेपालबाट मात्र होइन, भारतबाट पनि ठूलो संख्यामा शिवरात्रि मेला भर्न साधुहरू पशुपतिमा ओइरिन्छन् ।

 

महाकाल बंगुचीबाट तीन दिनको यात्रा गरेर पशुपति क्षेत्रमा आइपुगेका हुन्, बाबा अधु जगन्नाथ गिरी । ४२ वर्षीय गिरी गंगा सागरबाट शिवरात्रि महोत्सव भर्न आउन थालेको तीन वर्ष भैसकेको छ । वनकाली नजिकैको उकालोको एक झारभित्र धुनी जगाउँदै पशुपतिमा शिवरात्रिको रौनक बढाउन तल्लीन

छन्, उनी । बाबा शिवपुरी भारतको उज्जैनबाट ५ दिनको यात्रा गरेर शिवरात्रिका लागि पशुपति क्षेत्रमा आएका हुन् ।

 

३५ वर्षीय पुरी पहिलो पटक आफ्ना गुरु बाबा दिगम्बर केदार पुरीसँगै शिवरात्रिमा पशुपति आएका थिए । त्यसयता शिवरात्रिमा पशुपतिको यात्रा उनका लागि नियमित कार्यक्रम नै भएको छ ।बाबा दिगम्बर केदारको निधारमा बुढ्यौली रेखाहरू स्पष्ट देखिन्छन्, तर उनका लागि शिवरात्रि र पशुपति दुवै अति प्रिय छन् । त्यसैले त विगत २६ वर्षदेखि शिवरात्रिका अवसरमा उनी पशुपति आउने क्रम तोडिएको छैन् । कतिसम्म भने उनले शिव पुरीजस्ता नयाँ पुस्ताका थुप्रै साधुलाई आफूसँगै ल्याएर पशुपति क्षेत्रमा शिवरात्रिको वातावरण जमाउन सिकाइरहेका छन् ।

 

श्रीब्रह्मऋषि नगानरेन्द्र बंज्रमठ नवलपुरबाट शिवरात्रिका लागि पशुपति आइपुगेका हुन् । आफ्नो उमेरसमेत सम्झना नभएका यी बृद्ध बाबा पशुपतिनाथसँग आफ्नो प्रेम भएको बताउँछन् । ‘शिवरात्रि और पशुपतिनाथ से हमार प्यार हो गया,’ हाँस्दै उनले साप्ताहिकसँग भने, ‘कुछ बरस से हम आ रहे है और जीवनका अन्ततक आते रहेगे ।’‘मंगल बाबा’ नामका नांगा बाबाको शरीरभरि केही छैन । उनको शरीरमा खरानी दलिएको छ, बस । मंगल बाबा धनुषाबाट पशुपति आइपुगेका हुन् । कठ्याङ्ग्रिँदो चिसोमा नांगो शरीरमा ताप भर्न धुनीमा शरीर सेकाइरहेका मंगल बाबाको शरीरमा भने जाडोको कुनै छनक भेटिदैन्थ्यो बरु शिवरात्रिको उत्सवले उनलाई लठ्याइरहेको थियो ।

 

भोलेबाबासँग भेट भएपछि १५ वर्षकै उमेरमा साधु जीवन प्रारम्भ गरेका ‘राधेबाबा’ पशुपति क्षेत्रका परिचित साधुहरूमध्ये एक हुन् । धनुषामा बस्ने ५० वर्षीय यी साधुको सिंगो शरीरमा खरानी दलिएको हुन्छ । आकर्षक लामो लटाधारी यी बाबा शिवरात्रिका अवसरमा सधैं काठमाडौं आउँछन् । आफ्नो जोगी रुप हेर्न झुम्मिएकाहरूलाई मनोरञ्जन प्रदान गर्छन्, उनीहरूसँग फोटो खिचाउँछन् । खुसीले कसैले दक्षिणा दिए त्यसलाई अस्वीकार गर्दैनन् ।

 

शिवरात्रिलाई आफ्नो विशेष कुम्भमेला मान्ने बाबा तथा साधु–सन्तहरूको पशुपतिमा ठूलै भीड लाग्छ । शिवरात्रिभन्दा केही दिनअघि नै भारतका वृन्द्रावन, हरिद्धार, अयोध्या आदि ठाउँ, नेपालका पहाडी, हिमाली एवं तराई भेगबाट समेत पशुपतिमा महात्मा एवं साधु सन्तहरू ओइरिन थाल्छन्, उनीहरू आउने क्रम शिवरात्रिको दिनसम्म नै जारी रहन्छ । ‘पोहोर साल झन्डै ४ हजार ५ सय बाबा आउनुभएको थियो,’ पशुपति विकास कोषका सदस्यसचिव गोविन्द टन्डन भन्छन्, ‘यसपटक उक्त संख्यामा वृद्धि हुने देखिएको छ । अहिले (आइतबार) नै पशुपति क्षेत्रमा झन्डै १ हजार साधु जम्मा भैसक्नु भएको छ ।’

 

साधुहरूकै लागि भनेर पशुपतिका स्वर्गद्धारी, अन्नपूर्ण, निर्मल, भष्मेश्वर, वैरागी आदि अखडामा खानपिनको प्रबन्ध गरिएको छ । सदस्यसचिव टन्डनले शिवरात्रिको अवसरमा पशुपतिमा साधुहरूको खानपिनका लागि कुनै समस्या नरहेको जानकारी दिए । ‘शिवरात्रिताका पशुपतिमा उहाँहरूकै राज चल्छ,’ टन्डनले भने ।

 

निर्मल अखडाका महन्त गोकुलानन्दले

आफूहरूले प्रत्येक दिन ३ सय देखि ५ सय जनासम्मलाई भोजन गराउँदै आएको बताए । ‘हामीले साधु सन्त महात्मा, तीर्थयात्री तथा गरिबहरूलाई हरेक दिन भोजन गराउँदै आएका छौं,’ उनले भने, ‘हाम्रो भण्डारमा हरेक दिन त्यस्ता व्यक्तिहरूका लागि भोजन पाक्छ, हामी खाने बेलामा आएका कसैलाई पनि त्यतिकै फर्काउँदैनौं ।’

 

हाइटेक बाबा

पहिरनका दृष्टिले प्राय:जसो बाबा सामान्य गेरुवस्त्र तथा गेरु रंगकै पगरीमा देखिन्छन् । गेरुवस्त्रधारी बाबाहरू आफ्नो पहिरनलाई उषाकालीन सूर्यसँग तुलना गर्छन् । ‘उषाकालीन सूर्यको रंग स्वर्णिम हुन्छ,’ साधु शशिनाथले गेरुवस्त्र धारण गर्नुको रहस्य खोल्दै भने, ‘कुनै प्रकारको मैलो र भडकाउ नदेखिने भएकाले हामीले यो वस्त्र प्रयोग गरेका हौं । यसमा मैलो छोप्न सक्ने गुण छ ।’ त्यसबाहेक रुद्राक्षका माला, लामो जटा, निधारभरी चन्दन एवं टीका उनीहरूका पहिचान हुन् ।

 

अहिले बाबाहरूको जीवनशैली पनि क्रमश: परिवर्तन हुँदै गएको छ । योगी देवनाथको हातमा लेटभी मोबाइल थियो । कुराकानीका क्रममा पनि उनको मोबाइल पटक—पटक बज्यो । ‘को सँग कुरा गर्नुहुन्छ ?’ हामीले सोध्यौं । ‘म यो गोरखनाथ मन्दिरको पुजारी पनि हुँ,’ उनले भने, ‘यहाँ धेरै कुरा मिलाउनुपर्छ, त्यसैले फोन आइरहन्छ । साधुहरूसँग कुरा गर्नुपर्छ ।’

 

हुवावेको फोन बोकेका थिए, साधु शीशनाथले । पशुपतिमा बस्ने देवनाथ र शिशनाथ मात्र होइन, नेपालका विभिन्न क्षेत्रहरू र भारतबाट आइपुगेका साधुहरूमध्ये केहीको हातमा मोबाइल, आइप्याडजस्ता ग्याजेट देखिन्थे । आइप्याड बोकेका एक बाबाले साथीहरूसँग कुरा गर्न र फोटो खिच्न आइप्याड प्रयोग गर्ने जानकारी दिए ।

 

पशुपतिनाथ क्षेत्रमा अहिले भौतिक एवं सांसारिक सुख–दु:ख परित्याग गरेका बाबाहरू सेल्फी खिचिरहेका र गीत सुनिरहेका रोचक दृश्य पनि देखिन्छन् । कतिपय बाबा फोनमा गफिइरहेका हुन्छन् भने कतिले आफ्ना साथीहरूलाई आफू बसेको लोकेसनका बारेमा जानकारी दिइरहेका हुन्छन् ।

गाँजा बेच्ने क्रम भने पशुपतिनाथ परिसरमा उति देखिएन । धेरै बाबाहरूले गाँजा मागिरहेका भक्तजनलाई लखेटेको दृश्य रोचक देखिन्थ्यो । यता केही बाबा भनिरहेका थिए, ‘नो मनी, नो फोटो ।’ बाबाहरूको एक समूहले त बिना अनुमति फोटो नखिच्न र डिष्टर्ब नगर्न भनेर सेतो कागजमा अंग्रेजीमा लेखिएका सूचना नै टाँसेका थिए ।

 

बाबाहरूले पशुपतिमा गाँजा तान्ने दृश्य नौला होइनन् । त्यसबाहेक कतिपय साधु आफूसँग फोटो खिचे वापत पैसा समेत मागिरहेका देखिन्छन् । अर्को रोचक पक्ष के भने केही बाबाले आफूमा अमेरिकाको यात्रा गर्ने ठूलो सपना भएको बताए । ‘अमेरिका घुम्ने ठूलो सपना छ,’ साधु अबु जगन्नाथ गिरीले भने, ‘अमेरिका विकसित छ, त्यहाँका मानिसहरूलाई ज्ञान बाँड्ने रहर छ ।’ उनीसँगै भारतबाट आएका अधिकांश बाबाले अमेरिका जाने चाहना व्यक्त गरे ।

 

यसपटकको शिवरात्रि विशेष हुनेछ

गोविन्द टन्डन सदस्य–सचिव, पशुपति विकास कोष

 

शिवरात्रिको तयारी कस्तो छ ?

महाशिवरात्रिका लागि हामीले मंसिर महिनादेखि नै तयारी सुरु गरेका थियौं । सुरक्षासम्बन्धी बैठक पनि सम्पन्न भैसकेको छ । अहिले समन्वयका कामहरू गर्दैछौं ।

 

यस पटक विगतका शिवरात्रिहरूभन्दा के फरक देख्न पाइनेछ ?

हामीले फरक ढंगले सोचेका छौं । खासगरी भक्तजनलाई सजिलोसँग दर्शन गर्ने व्यवस्था मिलाउन भरपुर प्रयत्न गरेका छौं । यस पटक पहिलेजस्तो मूल समिति बनाएनौं । त्यतिबेला १ हजारदेखि ५ सय जनासम्मको मूल समिति बन्थ्यो, मूल समितिका सबैलाई पास दिनुपथ्र्यो । त्यो पास लिएर मन्दिरभित्र सरासर जान पाइन्थ्यो, यसको आलोचना हुन थाल्यो । त्यसैले हामीले मूल समिति नै बनाएनौं । त्यसबाहेक विगतमा पहुँच एवं चिनेजानेका आफन्तहरूलाई दिइने विशेष पास बन्द गर्‍यौं । १ हजारको सशुल्क टिकटलाई पनि यस पटकबाट बन्द गरेका छौं । यसले भीडलाई केही सहज बनाउनुका साथै सबैलाई समभावले हेरेको भन्ने सन्देश पनि जानेछ ।

 

हजार रुपैयाँको विशेष टिकट किन हटाउनुभयो ?

शिवरात्रिका बेला आलोचना हुन्छ, पशुपतिनाथ धनीहरूका लागि मात्र भयो भनेर । यद्यपि त्यो व्यवस्था कसैलाई सेवा नै पुगोस् भनेर लागू गरिएको थियो, टीकाटिप्पणी र आलोचना भएपछि त्यसलाई हटाइयो । अर्काेतर्फ हामीले यस पटकदेखि विशेष पुजा पनि हटायौं । विशेष पूजा हटाएपछि त्यहाँ पनि सर्वसाधारणलाई सजिलो हुनेछ । यो आइसब्रेक नै हो, अहिलेसम्म हटाउने प्रयास कसैले गरेको थिएन । पशुपतिको प्रांगण सानो भएको र प्रत्येक दिन भक्तजन बढ्दै गएकाले भिड थेग्न पनि नयाँ व्यवस्था गरिएको हो ।

 

भीआईपीहरूका लागि कस्तो व्यवस्था हुनेछ शिवरात्रिमा ?

राष्ट्रपति, प्रधानमन्त्री, सभामुखजस्ता महानुभावहरूलाई विशेष सुविधाको व्यवस्था गरिएको छ । राज्यका तर्फबाट नै त्यसको जिम्मेवारी लिइनेछ ।

 

यसपटक कति भक्तजन आउने अपेक्षा गर्नुभएको छ ?

करिब १३ लाख भक्तजन आउने अपेक्षा गरेका छौं । त्यसमध्ये साढे ६ लाख जति त पशुपति मन्दिरभित्रै जानुहुन्छ । त्यति धेरै भक्तजन दर्शन गर्न जाँदा त्यो साघुरो प्राणगणमा कसरी मिलाउने भन्ने क्रममा माथि उल्लेखित नयाँ प्रयास गरिएका हुन् । तीज तथा साउने ब्रतका बेला पनि हामीले यो प्रयोग गरेका थियौं, सहज भएको थियो । यसपटक यो अभ्यास सफल भयो भने २०–२५ वर्षसम्म पशुपतिनाथको प्रांगण सानो हुँदैन ।

 

बाबाहरूको उपस्थिति कस्तो छ ?

बाबाहरू आइरहनु भएको छ । उहाँहरू विभिन्न अखडाहरूमा जानुहुन्छ । बाबाहरू अन्नपूर्ण अखडा, स्वर्गद्धारी आश्रम, निर्मल अखडा आदि ठाउँमा बसिरहनुभएको छ । उहाँहरू एकादशीको दिनदेखि पशुपति मन्दिर प्रवेश गर्नुहुन्छ । त्यसदिनदेखि फिर्ता नभएसम्म पशुपतिनाथमा उहाँहरूकै हालीमुहाली चल्छ । पहिलेदेखिकै परम्पराअनुसार उहाँहरूलाई स्वतन्त्रता दिइएको छ ।

 

कतिजति साधु सन्तको उपस्थिती हुने देख्नुहुन्छ ?

यस पटक उहाँहरूको उपस्थिति अलि बढी हुने देखिन्छ । गएको वर्ष करिब ४ हजार ५ सय जति हुनुहुन्थ्यो । यस पटक चाँडै नै आउन थालेको देख्दा भेषधारीदेखि साधुसम्म ५ हजारभन्दा बढी पुग्नुहुन्छ कि ? त्यसमा मौसमले पनि प्रभाव पार्छ, मौसम सफा रह्यो भने उहाँहरूको संख्या अझ वृद्धि हुन्छ ।

 

साधुसन्तको खानपिनको प्रबन्ध कसरी मिलाइन्छ ?

उहाँहरूको खानपिनका लागि भ्याइनभ्याइ हुन्छ । एकातिर गुठी संस्थानले आफ्नो हिसाबले काम गरिरहेको हुन्छ, अन्नपूर्ण भण्डारबाट, शिवम भन्ने संस्था, माडवारी सेवा आदि विभिन्न संघ–संस्थाले खानपिनको प्रबन्ध गरिरहेका हुन्छन् । पशुपति क्षेत्रमा खानपिनका लागि कुनै दु:ख छैन ।

 

के—कस्ता परिवर्तन देख्न पाइएला ?

पहिले झिलिमिली बत्तीहरू जुन सिलुगुडीबाट ल्याउनुपथ्र्यो त्यसमा निकै पैसा खर्च हुन्थ्यो तर एकदिन मात्र बल्ने अवस्था थियो । यस पटक हामीले काठमाडौंमै यसको म्यानेजमेन्ट गर्ने तयारी गर्दैछौं । फरक ढंगले पशुपति क्षेत्रलाई झिलिमिली बनाउने प्रयास गर्दैछौं । भक्तजन एवं दर्शनार्थीहरूले छिटो तथा सहज ढंगले दर्शन गर्न पायौं भन्नु नै हाम्रा लागि सबैभन्दा ठूलो खुसीको कुरा हुनेछ । सभ्य, भव्य एवं सुरक्षित ढंगले शिवरात्रि सम्पन्न गर्न सक्नु नै हाम्रो चुनौती हो ।

 

बाबाहरू कहाँ–कहाँबाट आउनुहुन्छ ?

केही त हाम्रै नेपाली बाबाहरू हुनुहुन्छ । उहाँहरू कोही पहाडका हुनुहुन्छ, कोही तराईका । त्यसबाहेक भारतबाट धेरै बाबाहरू आउनुहुन्छ । उहाँहरूले भारतका विभिन्न तीर्थस्थलको प्रतिनिधित्व गर्नुहुन्छ । उहाँहरूको जीवनक्रम नै वर्षभरि घुमिरहने हुन्छ । गंगा सागरमा अस्ति भर्खर मेला सकियो, त्यसपछि पशुपतिमा आयो यसपछि कहाँ मेला लाग्छ, त्यो ठाउँमा गयो । धेरैजसो हरिद्धार, अयोध्या, वैष्णु वृद्धावनबाट आउनुहुन्छ, साधु तथा नागाबाबा हरिद्धारबाट आउनुहुन्छ, निरञ्जना अखडाबाट पनि धेरै बाबा आउनुहुन्छ ।

 

तिलकले चिन्न सकिन्छ साधुलाई

साधु–सन्तहरूलाई कसरी चिन्ने ? उनीहरूको स्वभाव र पहिचान कसरी पत्ता लगाउने ? यी दुवै कुरा पक्कै सहज छैनन् । यद्यपि साधु–सन्तहरूको पहिचान ठम्याउन उति गाह्रो पनि छैन । उनीहरूको पहिचान तिलकसँग जोडिएको हुन्छ । सुन्दा अचम्म लाग्न सक्छ तर यही सत्य हो ।

हिन्दू धर्म–संस्कृतिको पहिचान मानिन्छ— तिलक । तिलक केवल एक–दुई प्रकारको हुँदैन, यसका ८० भन्दा बढी प्रकार हुन्छन्, जसमध्ये ६४ प्रकारका तिलक वैष्णव साधुहरूले लगाउँछन् । हिन्दू धर्मका जति पनि साधुका मत, पथ एवं सम्प्रदाय छन्, ती सबैका अलग–अलग प्रकारका तिलक हुन्छन् ।

 

शैव

निधारमा चन्दनको तीनवटा रेखा कोरिएको हुन्छ । त्यसका साथै त्रिपुण्ड पनि लगाउँछन् । धेरैजसो शैव साधु यस्तै तिलकमा हुन्छन् ।

 

शाक्त

शक्तिको आराधना गर्ने साधुहरू चन्दन र सिन्दूरको तिलक लगाउँछन् । भनिन्छ, सिन्दूरले साधकको शक्ति बढाउने काम गर्छ र त्यो उसको उग्रताको प्रतीक पनि हो ।

 

वैष्णव

तिलक लगाउने सबैभन्दा धेरै प्रकारका साधु वैष्णवमा पाइन्छन् । यिनीहरू करिब ६४ प्रकारका तिलक लगाउँछन् । जसमध्ये केही प्रमुख तिलक निम्न छन् :

१. लालश्री तिलक

यस प्रकारको तिलकमा चन्दनको तिलक लगाएर बीचमा सिम्रिक वा बेसारको रेखा बनाइन्छ ।

२. विष्णुस्वामी तिलक

निधारलाई चौडा दुई घेरा बनाइन्छ र बीचमा सिम्रिकको लामो रेखा कोरिन्छ ।

 

३. रामानन्द तिलक

यो तिलक लगाउनु पहिले विष्णुस्वामी तिलक लगाइन्छ, त्यसपछि त्यसको बीचमा सिम्रिकको ठाडो रेखा बनाइन्छ ।

 

४. श्यामश्री तिलक

यो तिलक भगवान् श्रीकृष्णका उपासकहरूले लगाउँछन् । यो तिलक लगाउनुपूर्व आसपासमा गोपी चन्दन लगाइन्छ र निधारको बीचमा कालो रंगको मोटो रेखा बनाइन्छ ।(एजेन्सीको सहयोगमा)

प्रकाशित :फाल्गुन १३, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्