आकाशमा स्वतन्त्र चराझैं उड्ने रहर

- राजाराम पौडेल

फाल्गुन १२, २०७३-  

नकाम गर्नुपर्ने, न कसैले काम गरेन भनेर गाली गर्ला भन्ने डर । जे पायो त्यही खायो । जहाँ जान मन लाग्छ जान पनि पाइयो । स्वतन्त्र चराझैं आकाशमा उड्न पाए पो ! भन्दै सपना र कल्पनामा डुबेका हामीलाई साँच्चिकै आकाशमा चराझैं उड्न पाएपछि के नै चाहियो र ? प्याराग्लाइडिङले हाम्रो यो सपनालाई केही समयका लागि भए पनि साकार पार्ने काम गर्छ । त्यसैले त चराझैं उडेर स्वर्गीय आनन्दको अनुभूति गर्न लालायित हुनेहरूको भीड बढ्दैछ । एक समय विदेशीले मात्र पोखराको आकाशमा चराझैं उड्ने आँट गरे पनि हाल यसमा स्वदेशी पर्यटकको आकर्षणसमेत देखिन थालेको छ । सुन्दर नगरी पोखरामा उडेर सेतै टल्कने हिमाल, फेवाताल, कास्कीका सुन्दर गाउँ अनि समग्र पोखरा अवलोकन गर्न पाउनु आफ्नो अहोभाग्य भएको अनुभवीहरूले बताउने गरेका छन् । 

 

कसरी सुरु भयो प्याराग्लाइडिङ ?
नर्वेको एक समूहले सन् १९९५ मा पोखरामा एउटा कार्यशाला सम्पन्न गर्‍यो । उनीहरूको कार्यशाला केन्द्रित थियो साहसिक खेल प्याराग्लाइडिङमा । कार्यशालामा पोखराका पर्यटन व्यवसायीहरू पनि सहभागी थिए । तीमध्ये एक थिए— बिरु बमजन तामाङ । उनको ट्रेकिङ एजेन्सी थियो । कार्यशालाबाट प्याराग्लाइडिङसम्बन्धी जानकारी पाएका बमजमले पोखरामा प्याराग्लाइडिङ खेलको सम्भावना देखे । उनले केही साथीसँग सल्लाह गरे अनि प्याराग्लाइडिङलाई नेपाल भित्र्याउन कस्सिए । फलस्वरूप सन् १९९५ मा नेपालमै पहिलो पटक प्याराग्लाइडिङको उडान भरियो । तत्कालीन समयमा कास्की जिल्लाको घार्मीमाथिको ढिकीडाँडाबाट प्याराग्लाइडिङको उडान सुरु गरिएको थियो ।

 

केही समयपछि मात्र ढिकीडाँडाबाट ठाउँ परिवर्तन गरी सराङकोटबाट उडान भर्न थालिएको हो । पोखरामा प्याराग्लाइडिङको सम्भावना देखेरै यसको सुरुवात गरेको बिरु बमजम बताउँछन् । आकाशमा चराझंै उड्ने यो साहसिक खेलप्रति चासो राख्नेहरूको संख्या प्रशस्तै भए पनि त्यतिबेला नेपालीहरूले उडान भर्ने साहस गरेनन् । त्यतिबेला विदेशीलाई पोखरा ल्याउने र एकल उडान गर्न लगाउने चलन थियो । व्यवसायिक रूपमा यसलाई अघि बढाउन केही समय लाग्यो । प्रक्रियागत झन्झटका कारण अलमलिएको दर्ता प्रक्रिया सन् २००० मा मात्र बल्ल सफल भयो । नाम थियो— सनराइज प्याराग्लाइडिङ । सुरुमा पाँचवटा प्याराग्लाइडरबाट उनले कम्पनी चलाए ।

 

व्यवसायिक रूपमा उडान भर्ने काम पनि सन् २००० बाटै प्रारम्भ भयो । त्यतिबेला एउटा उडानको ६० डलर तिर्नुपथ्र्यो । पछि बमजनकहाँ नै काम गर्ने नारायण पराजुलीले समेत यसको सम्भावना देखे । उनले ब्ल्यू स्काई नाम राखेर नयाँ प्याराग्लाइडिङ कम्पनी सञ्चालनमा ल्याए । बिस्तारै अन्य कम्पनी स्थापना हुँदै गए । हाल धरान, सुर्खेत, बन्दीपुर, दाङ, स्याङ्जा आदि ठाउँमा समेत प्याराग्लाइडिङको उडान भर्न सकिन्छ । पोखराको तुलनामा अन्य ठाउँको प्याराग्लाइडिङले गति भने लिन सकेको छैन । 

 

पोखरामा सञ्चालित प्याराग्लाइडिङ कम्पनी
पोखरामा हाल सनराइज, ब्ल्यू स्काई, फन्र्टायस्, सराङकोट, पारानोभा, अन्नपूर्ण, एभिया क्लब नेपाल, फिस्टेल नेपाल, टिम फाइभ, फ्लाइ नेपाल, न्यू पारावल्र्ड, एभरेस्ट, फोनिक्स, माउन्टेन फ्लायर्स, माउन्टेन हाँक, पोखरा, फ्लाई निरभाना, माउन्टेन भ्यू, फ्लाई हिमालयन, पोखरा अल्टालाइट, ओपन स्काइ, शंकरपुर, ३६०, ह्याप्पी फ्लाई, एभरग्रिन, पिस हिमालयन, हनुमान तथा सुमी नेपाल प्याराग्लाइडिङ कम्पनीले प्याराग्लाइडिङको उडान भरिरहेका छन् । यसैगरी एरो लाइट, हाई फ्लाइरस्, ग्रिन वाल, क्लाउड बेस, हिमालयन फन्र्टायर्स, बुद्ध, बाबु एडभान्चर, नमस्ते, अग्नि, एडभान्स, विग स्माइल, कस्मिक, फ्लाई जोन, माउन्टेन ओभर भ्यू, स्काई राइडर्स, गोल्डेन हेवन, लेक भ्याली, फ्लाइङ मंकी, नेपाल फ्लाइङ स्कुल, मोनाल, हिमालय स्काइ, कुमलुस क्लाउड्स आदि प्याराग्लाइडिङ कम्पनीले समेत यो सेवा उपलब्ध गराइरहेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट ६२ वटा प्याराग्लाइडिङ कम्पनीले पोखरालाई आधार बनाएर स्वीकृति लिएका छन् । यसरी स्वीकृत लिएकामध्ये झन्डै ५५ वटा प्याराग्लाइडिङ कम्पनी नेपाल हवाई खेलकुद संस्थामा दर्ता छन् । केही भने नेपाल हवाई खेलकुद संस्थामा दर्ता नभै सञ्चालनमा छन् । 

 

प्याराग्लाइडिङ गर्नेहरूको संख्या बढ्यो
पोखराको प्याराग्लाइडिङ व्यवसाय अझै भूकम्पभन्दा अघिको जस्तो अवस्थामा फर्कन नसकेको नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष योगेश भट्टराई बताउँछन् । ‘पोखराको प्याराग्लाइडिङ व्यवसाय भूकम्पभन्दा अघिको जस्तो 

 

अवस्थामा फर्कन भने सकेको छैन, तर अघिल्लो वर्षभन्दा यो वर्ष प्याराग्लाइडिङ गर्नेहरूको संख्या बढेको छ ।’ प्याराग्लाइडिङ उडानको शुल्क विदेशमा भन्दा सस्तो रहेको पारानोभा प्याराग्लाइडिङ कम्पनीका सञ्चालक समेत रहेका भट्टराईले बताए । यहाँ फोन, इमेल तथा अनलाइनबाट समेत टिकट बुकिङ गर्न सकिन्छ । प्याराग्लाइडिङको उडान भर्न बाह्रै महिना मिल्ने भए पनि मुख्य सिजन सेप्टेम्भरदेखि डिसेम्बरसम्म हो । सराङकोटबाट उडान भर्न २० वटा कम्पनीले इजाजत पाएका छन् । बाँकी कम्पनीले तोरीपानीमा पुगेर उडान भर्छन् । व्यवसायिक प्याराग्लाइडिङको कुरा गर्दा नेपालको प्याराग्लाइडिङ विश्वकै तेस्रो नम्बरमा आउने गरेको छ । 

 

नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष भट्टराईले पोखराको प्याराग्लाइडिङ विस्थापन हुने हल्ला सही नभएको बताए । ‘प्याराग्लाइडिङलाई विस्थापन गर्न अहिलेसम्म कुरा पत्र आएको छैन,’ उनले भने । विदेशमा एयरपोर्ट र प्याराग्लाइडिङको उडान नजिकै हुने गरेकाले पनि यसलाई विस्थापन गर्नु नपर्ने भट्टराईको तर्क छ । पोखरामा दुई पटक प्याराग्लाइडिङको प्रि–वल्र्डकप सम्पन्न भैसकेको र अब छिट्टै वल्र्डकप सञ्चालन गर्ने तयारीमा आफूहरू रहेको उनले जानकारी दिए । 

आकाशमा उड्न कति लाग्छ रकम ?
विदेशीका लागि १५ देखि ३० मिनेटको १० हजार रुपैयाँ, ३५ देखि ६० मिनेटको १३ हजार रुपैयाँ तथा फोटो तथा भिडियो डिभिडीका लागि २ हजार रुपैयाँ तोकिएको छ । नेपालीको हकमा १५ देखि ३० मिनेटको ६ हजार ५ सय रुपैयाँ, ३५ देखि ६० मिनेटको ९ हजार रुपैयाँ तथा फोटो एवं भिडियो डिभिडिको १ हजार ५ सय रुपैयाँ लाग्छ । 

 

प्याराग्लाइडिङमा नेपाली युवायुवतीको आकर्षण बढ्दै गएको छ । विदेशी पर्यटकको हकमा चाइनिज पर्यटकको आकर्षण यो साहसिक खेलतर्फ बढी देखिन्छ । नेपालीको हकमा १८ वर्षदेखि ४० वर्षसम्मका युवा बढी मात्रामा आकर्षित छन् । विदेशी पर्यटकको हकमा भने उमेर बढी भएकाहरूको समेत उत्तिकै आकर्षण देखिन्छ । पोखराबाट झन्डै १० किलोमिटर टाढा पर्ने सराङकोट झन्डै २५ मिनेटमा पुगिन्छ । झन्डै १५ किलोमिटरको दूरीमा रहेको तोरीपानी ४५ मिनेटमा पुगिन्छ यातायातको साधनमा । सराङकोट र तोरीपानीबाट उडान गरी फेवाताल किनार खपौदीमा अवतरण गरिन्छ ।

 

उडान स्थलसम्म लाने र अवतरण स्थलबाट ल्याउने व्यवस्था कम्पनीले नै मिलाउँछन् । प्याराग्लाइडिङ शुल्कमा यातायात, कर तथँ २० हजार डलरको इन्स्युरेन्स समावेश हुन्छ । यसमा सिजनामा दैनिक तीन फ्लाइट हुन्छ । फ्लाइटका लागि बिहान १० बजे, ११.३० बजे तथा दिउँसो १.३० बजेको समय तोकीएको छ । मौसमका कारण कहिलेकाहीं समय हेरफेर हुनसक्छ । 

 

के–के चाहिन्छ ?
प्याराग्लाइडिङ गर्न जुत्ता लगाउनुपर्ने अनिवार्यता छ । कपडा मौसमअनुकूल लगाउनुपर्छ । चस्मा लगाउँदा राम्रो हुन्छ । बान्ता हुने समस्या छ भने खानेकुरा नखाएकै राम्रो । बमिट नहुनेहरूको हकमा हल्का खानेकुरा खान मिल्छ । १२ वर्षमाथिकाले मात्र यो उडान भर्न सक्छन् ।

 

नेपाली आकाशमा उड्ने पहिलो नेपाली प्याराग्लाइडर
बिरु बमजमले नेपालमै साहसिक खेल प्याराग्लाइडिङ सुरुवात गर्ने काम गरे पनि उनले आकाशमा उड्ने साहस भने गरेनन् । बिरु अरूलाई उत्पेरित मात्र गर्थे । यसै क्रममा उनले छोरा राजेश बमजन तामाङलाई सन् १९९७ मा आकाशमा उड्न हौसाए । राजेश त्यतिबेला १८ वर्षका थिए । बाबुको आग्रह एवं प्रेरणाका कारण उनी उडान भर्न तयार भए । उनले सराङकोटबाट उडान भरेका थिए । राजेश पहिलो दिनमै ५ घण्टा ४५ मिनेट उडान गरी पहिलो सोलो नेपाली प्याराग्लाइडिङ पाइलटको रेकर्ड राख्न सफल भए । 

 

पाइलटको भने अभाव 
नेपालमा प्याराग्लाइडिङ गर्ने पाइलटको भने कमी छ । हाल एउटा कम्पनीले ६ वटासम्म पाइलट राख्न पाउँछन् । व्यवसायिक रूपमा १ सय ७५ खजनाले लाइसेन्स लिएका छन् । एकल उडान गर्ने थप १ सय ५० पाइलट छन् । व्यवसायिक पाइलटमा ६ जना महिला छन् । पाइलट उत्पादन गर्न भन्दै हाल स्याङ्जाको स्वरेक र तनहुँको बन्दिपुरमा स्कुलनै स्थापना गरी पाइलट कोर्स गराइँदै आएको छ । 

 

सात जना सोलो पाइलटको ज्यान गयो
स्याङ्जाको स्वरेकमा प्याराग्लाइडिङ गर्दा पोखरा ६ लेकसाइडका २५ वर्षीय शैलेस पहारीको ज्यान गयो । शैलेस चार दिदी अमृता, मधुमाया, रञ्जना तथा गंगाका एक्ला भाइ थिए । अघिल्लो शुक्रबार दिउँसो करिब ३ बजे स्वरेक मैदानबाट एक्लै प्याराग्लाइडिङ गरेका पहारी अनियन्त्रित भै रूखमा ठोक्किन पुग्दा दुर्घटनामा परेका थिए । घाइते पहारीको उद्धार गरी अस्पताल लाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनी पोखराको ब्ल्यू स्काई प्याराग्लाइडङ कम्पनीबाट १५ दिने कोर्स गरिरहेका थिए । १५ दिने प्रशिक्षणका क्रममा १२ औं दिन स्वरोक मैदानबाट प्याराग्लाइडिङ गर्दा दुर्घटना भएको कम्पनीले जानकारी दिएको छ ।

 

विद्यार्थी पाइलटका लागि स्याङ्जा स्वरेकस्थित सिर्कोट अत्यन्तै खतरनाक भएको बताइन्छ । उक्त स्थानमा तीव्र गतिमा हावा चल्ने हुँदा व्यवसायिक पाइलटहरूलाई समेत प्राविधिक रुपमा गाह्रो पर्ने पाइलटहरू बताउँछन् । त्यस्तै प्याराग्लाइडिङ सिकाइने अर्काे स्थान तनहुँको बन्दिपुर पनि प्रशिक्षार्थीहरूका लागि उत्तिकै जोखिमपूर्ण भएको दाबी गरिन्छ । अहिलेसम्म सात जना सोलो पाइलटले प्याराग्लाइडिङ दुर्घटनामा ज्यान गुमाएका छन् । अधिकांश दुर्घटना प्याराग्लाइडिङ सिक्ने क्रममा हुने गरेको छ । प्याराग्लाइडिङ व्यवसायलाई राज्यले उचित व्यवस्थापन गर्न नसकेको नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष भट्टराईको गुनासो छ । व्यवसायिक उडानमा भने घाइते भए पनि अहिलेसम्म ज्यान भने नगएको उनले जनाए । चुनौतीहरूमा राज्यको ध्यान जान सके प्याराग्लाइडिङ व्यवसायको भविष्य राम्रो रहेको भट्टराई बताउँछन् ।

 

प्रकाशित: फाल्गुन १२, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्