अन्तर्राष्ट्रिय अपराधको दुनियाँमा यसरी पुगे होदा

  • प्रहरीले तोड्यो एक नेपालीको अन्तर्राष्ट्रिय अपराधिक समूहसँगको कनेक्सन

- शंकर आचार्य

फाल्गुन १२, २०७३- 

बाराको करैया–८ स्थित सहजनाथ सामुदायिक वनमा १३ पुसमा बारा प्रहरीले भारत बिहार पूर्वी चम्पारण आदापुर लक्ष्मीपुर पोखरियाका युवक दीपक राम र अरुण रामको शव फेला पार्‍यो । दुवैको घाँटी रेटेर क्रूरतापूर्वक हत्या गरिएको थियो । यो घटनाको जिल्ला प्रहरी कार्यालय बारा, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो तथा मध्यक्षेत्रीय प्रहरी कार्यालय हेटौंडाबाट खटिएको विशेष अनुसन्धान टोलीले सूक्ष्मतापूर्वक अनुसन्धान गर्‍यो भने त्यस क्रममा पक्राउ परेका कलैया, रंगपुरका ३५ वर्षीय मोजाहिर अन्सारीको बयानले यो घटनाको कनेक्सन अन्तर्राष्ट्रिय आतंकवादसँग जोडिएको सनसनीपूर्ण तथ्य पत्ता लाग्यो ।

 

रामद्वयको हत्याको घटनामा संलग्न रही घटनाको योजनाकार समेत मानिएका बारा महागढीमाई नगरपालिका सेमरातेगछियाका २६ वर्षीय गिरी बाबा भनिने वृजकिशोर गिरीलाई प्रहरीले पर्साको बिजबनियाबाट २४ पुसमा पक्राउ गरेको थियो । आफन्तको घरमा महिलाको भेषमा लुकिछिपी बसेका गिरी भाग्न खोज्दा प्रहरीले गोलीसमेत चलाएको थियो । घाइते अवस्थामा राजधानीको टिचिङ अस्पतालमा उपचाररत गिरीको बयानले यो घटनामा संलग्नहरू गिरीमार्फत नै परिचालन भएको कुरा उल्लेख छ । गिरीकै बयानपछि कलैयाका २४ वर्षीय आशिष सिंह र २३ वर्षीय उमेशकुमार कुर्मी माघ १ गते पक्राउ परे । 

यो घटनाका अर्का मतियार वृजकिशोर गिरीका साला कलैया–१५ का लड्डु गिरी भनिने २५ वर्षीय राजकिशोर गिरी फरार छन् । पक्राउ परेकाहरूको कल डिटेल हेर्दा सबैको ‘कनेक्सन’ बारा प्रशुरामपुर–४ घर भै कलैया–८, विद्यानगर टोल बस्दै आएका ४८ वर्षीय समसुद होदासँग देखियो । संयुक्त अरब इमिरेट्सको एक कम्पनीमा काम गर्दै आएका होदा उक्त घटनापछि नेपाल फर्कने लख नेपाल प्रहरीले काटेको थियो । नभन्दै केही दिनमै होदाका गतिविधिमाथि निगरानी गरिरहेको प्रहरीले उनी दुबईबाट नेपाल फर्केर राजधानी काठमाडौंमा लुकिछिपी बसेको सुइको पायो । २३ माघमा प्रहरीले उनलाई राजधानीको महाराजगन्ज क्षेत्रबाट लुकिछिपी बसेको अवस्थामा पक्राउ गर्‍यो । 

 

समसुद नै रामद्वयको हत्याको मुख्य योजनाकार रहेको पनि प्रहरी अनुसन्धानबाट खुलेको छ । आर्थिक प्रलोभनका कारण अन्तर्राष्ट्रिय आतंकवादीहरूको सम्पर्कमा पुगेर उनीहरूका लागि भारतमा आतंकवादी गतिविधि गर्न समेत पछि नपरेका समसुदले आफ्नो अभीष्ट पूरा गर्न वृजकिशोर गिरीलाई नेपालमा आफ्नो मुख्य जिम्मेवार नियुक्त गरेका थिए । समसुद गिरीमार्फत नै अन्य व्यक्तिलाई आफ्नो आतंकवादी गतिविधिमा संलग्न गराउन सफल भएका थिए । 

अन्तर्राष्ट्रिय अपराध कनेक्सन

होदा डेढ वर्षअघि पर्यटक भिषामा दुबई पुगेका थिए । त्यहाँ पाकिस्तानी नागरिक सफीको सम्पर्कमा आएका उनी १० जुलाई २०१५ मा उनकै साथमा दुबईबाट सोझै पाकिस्तान पुगे । त्यस क्रममा २ दिन पाकिस्तान बसेका समसुदले त्यहाँ आतंकवादी समूहका व्यक्तिहरूसँग भेटघाट गरेको प्रहरी अधिकारीहरू बताउँछन् । त्यहाँ भेटिएका व्यक्तिहरूलाई उनले नचिने पनि समसुदले नेपालसँगको सिमाना जोडिएको भारतको आसपासका क्षेत्रहरूमा आतंकवादी तथा अराजक गतिविधि संचालन गर्ने जिम्मेवारी प्राप्त गरे । उक्त योजनाका लागि होदालाई पाकिस्तानी आतंकवादी संगठनबाट ३ करोड रुपैयाँसम्म रकम प्रदान गरिने आश्वासन दिएको बताइन्छ ।

 

पहिलो चरणमा उनले केही रकम पनि प्राप्त गरे । त्यसपछि समसुदले भारतको घोडासहन रेल्वे स्टेसन तथा आदापुरको नकरदेही रेल्वे स्टेसनमा प्रेसर कुकर बम विस्फोट गराउने योजना बनाए । त्यसका लागि वृजकिशोर गिरीमार्फत भारत, रक्सौलका अपराधी राजु भनिने उमाशंकर पटेललाई जिम्मेवारी दिइएको थियो ।

 

उमाशंकरले बारामा मारिएका युवकहरू अरुण र दीपकलाई ८ लाख रुपैयाँ दिई दुवै रेल्वे स्टेसनमा बम विस्फोट गराउने काम दिए । घोडासन स्टेसनमा बम राखिए पनि उक्त बम विस्फोट भएन भने नकरदेहीमा समसुल विस्फोट भए पनि खासै क्षति भएन । यसरी पटक–पटक दिइएको जिम्मेवारी पूरा गर्न नसकेपछि होदाको नेपालस्थित समूहले आन्तरिक बैठक गरी उमाशंकर र उनका दुवै सहयोगीलाई मार्ने योजना बनायो । त्यसका लागि उनीहरूसँग बैठक गर्ने बहाना बनाई होदा समूहले तीनै जनालाई पुस १० गते बारा बोलायो । चलाख उमाशंकरले त्यसको भनक पाएर उनी आएनन् भने अरुण र दीपक भने बैठकमा सहभागी हुन नेपाल आइपुगे । 

 

त्यसपछि होदाको समूहले उनीहरूको हत्या गरेको थियो । होदाले आफूलाई दुवैको हत्याको भिडियो क्लिप बनाएर दुबई पठाउन पनि भनेका थिए । पक्राउ परेका चारै जनालाई बारा प्रहरीले माघ २५ गते जिल्ला प्रहरी कार्यालय बारामा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो । ती युवाको हत्यको प्रमुख कारण आफ्नो परिचय खुल्ने भय रहेको बताइन्छ ।

 

को हुन समसुद होदा 

गाउँकै सरकारी स्कुलमा पढेका समसुदले एसएलसीसमेत पास गर्न सकेनन् । सन् २००१ देखि २०१२ सम्म निरन्तर वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा बसेका समसुद त्यसपछि स्वदेश फर्केर कलैयामा बस्न थाले । २०७० को संविधानसभा निर्वाचनमा जिल्लाको क्षेत्र नम्बर–२ बाट राष्ट्रिय मधेस समाजवादी पार्टीका तर्फबाट उम्मेदवार समेत रहेका समसुदले केवल ६३ मत ल्याएका थिए । कलैयामा बस्दा जग्गा प्लटिङको कारोबारमा हात हालेका थिए तर सफल भएनन् । यसबीच उनी २०१५ मा दुबई पुगेर नेचर गल्फ जर्नल ट्ेरडिङ कम्पनीमा मार्केटिङ्गको काम गर्न थाले ।

 

दुबईबाटै पाकिस्तान पुगेका समसुद कुन आतंकवादी संगठनका व्यक्तिहरूको सम्पर्कमा पुगे भन्ने कुराको भेउ प्रहरीले पाउन सकेको छैन । भारतीय संचार माध्यमहरूमा दैनिकजसो खबर आए जसरी उनी दाउद इब्राहिम गिरोहको सम्पर्कमा रहेको पनि यकिन साथ भन्न सक्ने अवस्था छैन । आफ्ना अधिकांश अपराध स्वीकार गरिसकेका होदाले पनि आफू हालसम्म दाउद गिरोहको सम्पर्कमा गएको कुरा स्वीकार गरिनसकेको बाराका प्रहरी उपरीक्षक नरेन्द्र उप्रेती बताउँछन् । ‘उनले आफू सफी नाम बताउने व्यक्तिको साथमा पाकिस्तान पुगेको र त्यहाँ केही अपरिचित व्यक्तिसँगको भेटवार्तामा भारतमा ठूलै खालको अराजक तथा आतंकवादी गतिविधि गर्ने जिम्मेवारी लिएर फर्किएको सम्म बताएका छन्,’ उप्रेती भन्छन्, ‘सफीले होदाको त्यहाँस्थित कुनै आतंकवादी संगठनको एउटा तह सम्मको व्यक्तिसँग मात्र चिनजान गराएका हुन सक्छन् वा सफीकै नाम पनि अर्कै हुन सक्छ, अन्र्तराष्ट्रिय आतंकवादी संगठनले आफ्ना काम अत्यन्त सजगताका साथ गर्छन् ।’ 

 

समसुदको हालसम्मको गतिविधिबाट उनी अन्र्तराष्ट्रिय आतंकवादी संगठनसँग जोडिएको देखिए पनि उनको बयान र प्रहरी अनुसन्धानबाट पनि उनको दाउद गिरोहसँग प्रत्यक्ष सम्पर्क नदेखिएको उप्रेतीले बताए । नेपाल प्रहरीको विशेष ब्युरो यो घटनाका सम्बन्धमा निरन्तर अनुसन्धान गरिरहेको र यो घटनामा भारतीय प्रहरीसंग पनि आवश्यक समन्वय भैरहेकाले चाँडै नै यस प्रकरणका केही नयाँ तथ्य बाहिर आउनेमा आफू आशावादी रहेको पनि उनले जानकारी दिए । 

 

भारतीय संचार माध्यमहरूमा आएका समाचार जस्तो कानपुर रेल दुर्घटनामा आफ्नो संलग्नता समसुदले अझै नस्विकारेको र प्रहरी अनुसन्धानबाट पनि त्यस्तो ठोस संकेत फेला परिनसकेको प्रहरी उपरीक्षक उप्रेती बताउँछन् ।

प्रकाशित :फाल्गुन १२, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्