पृथ्वीको तस्बिर अझ प्रस्ट

- एजेन्सी

फाल्गुन १२, २०७३-

गुगलले पृथ्वीका तस्बिर जून गुणस्तरमा प्रसारण गर्दै आएको थियो त्योभन्दा पनि बढी स्पष्ट तस्बिर दैनिक रूपमा प्रसारण गर्न भ्यालेन्टाइन डेको दिन भू–उपग्रहलाई अन्तरिक्षमा प्रक्षेपण गरिएको छ ।

अमेरिकाको सन्फ्रान्सिस्कोस्थित प्रधान कार्यालय रहेको प्लानेट इंकले पृथ्वीको स्पष्ट तस्बिर खिच्ने ८८ वटा साना भू–उपग्रहलाई अन्तरिक्षमा प्रक्षेपण गरेको हो ।

 

यसअघि प्लानेट इंकले ६० वटा जुत्ताको बाकस आकारको ‘डोभ’ लाई अन्तरिक्षमा प्रक्षेपण गरेको थियो । उक्त डोभले मध्यम आकारमा छाप्न मिल्ने तस्बिर पृथ्वीमा पठाएको थियो । त्यतिबेला डोभले दैनिक ५ करोड वर्गकिलोमिटर क्षेत्रफलका तस्बिर पृथ्वीमा पठाएको थियो । फेब्रुअरी १४ तारिखमा प्रक्षेपण गरिएका ८८ वटा साना भू–उपग्रहले पूरै पृथ्वीको तस्बिर दैनिक रूपमा खिचेर पठाउनेछन् ।

 

प्लानेटले पृथ्वीको स्पष्ट तस्बिर खिचाउने भू–उपग्रहको प्रक्षेपण भारतको सतिश धवन स्पेस सेन्टरबाट गरेको हो । यो उपग्रहको प्रक्षेपणपछि प्लानेटको १ सय ४३ वटा भू–उपग्रहले पृथ्वीका स्पष्ट तस्बिर खिच्न थालेका छन् । ५ सय किलोमिटरमाथि रहने उक्त भू–उपग्रहले केन्द्रमा दैनिक रूपमा तस्बिर पठाउनेछ ।

 

प्लानेटले पहिले प्रक्षेपण गरेको भू–उपग्रहले पठाएको तस्बिरहरू अन्तरिक्षबाट खिचेका अहिलेसम्मका तस्बिरहरूको तुलनामा बढी स्पष्ट थियो । यसपटक प्रक्षेपण गरिएको भू–उपग्रह दुई किसिमको छ । सानो आकारको डोभ छ भने अर्को भू–उपग्रह टेरा बेला हो । गुगलले खिचेको तस्बिरसँग टेरा बेलाले खिचेका तस्बिरहरूबीच तुलना गर्दा टेरा बेलाको तस्बिर स्पष्ट हुनुका साथै ठूलो आकारमा छाप्न मिल्ने किसिमको रहेको पाइयो । गुगल र प्लानेटबीच भएको सम्झैताका कारण प्लानेटले गुगललाई पृथ्वीका तस्बिर उपलब्ध गराउँदै आएको छ ।

 

सम्भवत: यी तस्बिरले पनि गुगलमै निरन्तरता पाउनेछन् । डोभ र टेरा बेलाले नियमित रूपमा तस्बिर पठाउन थालेपछि पृथ्वीमा हुने विभिन्न घटनाको जानकारी सजिलै प्राप्त हुनेछ । यस्ता तस्बिर घटनाअनुसार ठूलो र सानो आकारमा पठाउनसमेत मिल्ने छ । डोभले अनावश्यक भूभागको भन्दा बढी चासो रहेका क्षेत्रका तस्बिर अझ बढी स्पष्ट पठाउने प्लानेटले जनाएको छ । यसअघि प्लानेटको अन्तरिक्षमा रहेको ६० वटा भू–उपग्रहले दैनिक रूपमा ३ लाख तस्बिर पठाउने गरेको थियो ।

प्रकाशित :फाल्गुन १२, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्