ल्यान्डलक होइन, लक्की कन्ट्री हो नेपाल

- अश्विनी कोइराला

फाल्गुन १२, २०७३-  

आर्थिक कुरामा रुचि राख्ने उनका बुवा नेपाल सरकारका उपसचिव थिए । भूपरिवेष्टित भएका कारण नेपालको विकास हुन नसकेको उनका बुवाको ठम्याइ थियो । उता काठमाडौं विश्वविद्यालयबाट आईटीमा इन्जिनियरिङ गरेका विभूषण विष्टलाई आजको युगमा विकासका लागि समुद्रको पहुँच महत्वपूर्ण छैन भन्ने लागिरहन्थ्यो । उनको यही सोचले नै आइएटी कम्पनी योङ इनोभेसन्सले आज युरोप–अमेरिकासम्म आफ्नो पहुँच विस्तार गरेको छ । आठ वर्षअघि पाटनको गाबहालमा एउटा कोठा भाडामा लिएर विष्ट र उनका आठ जना साथी मिलेर खोलेको योङ इनोभेसन्सले आज करोडौंको व्यवसाय गरिरहेको छ । योङ इनोभेसन्सले विष्टले कल्पना गरेझैं व्यापार गर्न समुद्रको पहुँच आवश्यक छैन भन्ने प्रमाणित गरेको छ ।

 

कम्प्युटर इन्जिनियरिङ गर्दा नै आईटी कम्पनीको मालिक हुन्छु भन्ने कल्पना गर्नुभएको थियो ?
मैले सन् २००१ मा इन्जिनियरिङ पूरा गरेको थिएँ तर त्यसअघि नै मैले सामान्य काम गरेर आफ्नो पकेट खर्च निकाल्न थालिसकेको थिएँ । पढाइ पूरा गरेपछि योमोरी कम्पनीमा आईटी प्रोग्रामरका रूपमा काम सुरु गरेँ । त्यहाँ तीन वर्ष काम गर्दा पनि मैले आफ्नै कम्पनी खोल्ने कल्पना गरेको थिइन् ।

 

त्यतिबेला संसारभरका युवाहरू आईटी कम्पनी खोलेर अर्बपति बनिरहेका थिए, होइन ?
खासमा काम गर्दै जाँदा थाहा भयो, कलेजमा हामीले पढेको सैद्धान्तिक कुरा त व्यवहारमा कतै काम नलाग्ने रहेछ । हामीले पुस्तक पढेर आईटी उत्तीर्ण गरेका थियौं । आईटी त चौबीसै घण्टा इन्टरनेटमा खोज्नुपर्ने, अध्ययन गर्नुपर्ने र प्रयोग गर्नुपर्ने विषय हो भन्ने कुरा काम गर्दै गएपछि थाहा भयो । अध्ययनताका इन्टरनेटमा हाम्रो पहुँच त्यति राम्रो थिएन । डायलअप सिस्टममा इन्टरनेट चलाउँदा टेलिफोनको बिल धेरै आएर घरमा गाली खानुपर्ने अवस्था थियो । यस्ता धेरै कारणले आफै कम्पनी खोल्ने, प्रोग्राम बनाउने आँट आउँदैनथ्यो ।
 

आफ्नै कम्पनी खोल्नुपर्छ भन्ने सोच कसरी आयो ?
सन् २००४ मा क्यानाडाको सरकारी अनुदानमा चलेको कम्पनीले प्रविधिलाई कसरी विकाससँग जोड्न सकिन्छ भनेर एउटा अभियान सञ्चालन गरेको थियो । त्यसका लागि एसिया, अफ्रिका र दक्षिण अमेरिकाबाट प्रविधि र विकाससम्बन्धी काम सुरु गरिएको थियो । त्यही कार्यक्रमका लागि ग्लोबल प्रतिस्पर्धामा म छानिएको थिएँ । त्यही जागिरले मेरो सोच्ने तरिका परिवर्तन गरिदियो । त्यहाँ पाँच वर्ष काम गर्दा मैले अविकसित देशका लागि आवश्यक सूचनाहरू र त्यसलाई डिजिटलाइज्ड गर्दा हुने फाइदाका बारेमा राम्रो जानकारी संकलन गरें । म नेपालमै बसेर त्यो कम्पनीका लागि काम गर्थें । सँगसँगै काठमाडौं कलेज अफ म्यानेजमेन्टमा पढाउँथें । त्यही बेला मेरा विद्यार्थीहरूलाई सानोतिनो काम दिने क्रममा योङ इनोभेसन्स खुलेको हो । कम्पनी दर्ता नगरी फन्ड दिन नपाइने, कानुनी आधार पनि नहुने भएकाले विद्यार्थीहरूले यसलाई कम्पनीका रूपमा दर्ता गरेका थिए, जसमा म बाध्यताका कारण प्रवेश गरेको थिएँ ।

 

कस्तो बाध्यता ?
के भैदियो भने क्यानाडियन कम्पनीमा काम गर्दा पैसा थियो, स्वतन्त्रता थियो तर ह्वाट नेक्स्ट ? भन्ने लागिरहन्थ्यो । त्यसैले मैले उक्त जागिर छोडें । जागिर छाडेपछि सिलिकन भ्याली (अमेरिका) बाट वार्षिक झन्डै १ लाख डलरको जागिरको अफर आयो तर म पैसा कमाउन विदेश जानैपर्छ र भन्ने प्रश्नमा रुमल्लिरहेको थिएँ । अर्कातिर ‘योङ इनोभेसन्स’ खोल्ने साथीहरू थप अध्ययनका लागि विदेश जान थाले, कोही अर्को कम्पनीमा जागिर खान थाले । कम्पनी बन्द हुने अवस्था आयो । त्यसपछि कम्पनी बन्द गर्नुभन्दा केही साथीहरू मिलेर यसलाई सञ्चालन गर्नुपर्छ भन्ने लाग्यो । आखिर मैले त्यत्रो वर्ष विदेशी संस्थामा काम गरेर विश्वभरिका क्लाइन्ट चिनेको थिएँ, त्यो सम्बन्ध काम लाग्छ भन्ने लाग्यो । त्यसपछि मेरो विश्वविद्यालयका साथी अन्जेस तुलाधरसँग मिलेर फेरि शून्यबाट काम सुरु गरें ।

कम्पनी सुरु गर्दाको अवस्था कस्तो थियो ?
म सिलिकन भ्यालीमा वार्षिक झन्डै १ करोड नेपाली रुपैयाँ कमाउन जान ठिक्क परेको थिएँ तर आफ्नै कम्पनीमा ५ हजार रुपैयाँ पेट्रोल खर्च लिएर काम सुरु गरेँ । मेरो साथी अन्जेस इसिमोडमा नेपालमै महिनाको ७५ हजार रुपैयाँ कमाउँथे । उनी त्यो जागिर छाडेर मेरोभन्दा कम पैसा लिएर कम्पनीमा आउन राजी भए । यसरी सुरु भएको थियो हाम्रो कम्पनी ।

 

अहिले कम्पनीको अवस्था कस्तो छ ?
५० जना इन्जिनियर काम गर्छन् । संसारका धेरै देशमा हामी काम गरिरहेका छौं । मासिक लाखौं तलब बुझ्छौं । जति आम्दानी हुन्छ, कम्पनीमै लगानी गर्दै गएका छौं । हामीले तान्जानिया, केन्या, बेलायत, क्यानाडा तथा अमेरिकामा प्रत्यक्ष रूपमा काम गरिरहेका छौं भने अरू २५ देशमा हाम्रो सफ्टवेयर चलिरहेको छ । हामी विशेष गरी विकाससँग सम्बन्धित काम गरिरहेका छौं । हाम्रो दक्षता त्यसैमा भएका कारण होला, नेपालमा हाम्रा प्रतिस्पर्धी नै छैनन् भने पनि हुन्छ । तर, नेपालमा अझै पनि आईटी उद्योग कुन मन्त्रालयअन्तर्गत पर्छ भन्ने किटान हुन सकेको छैन । समस्याहरू धेरै छन् । कतिसम्म भने हामी घरेलु विभागमा दर्ता भएका छौं । हामीलाई उद्योग मन्त्रालयले मोनिटरिङ गर्ने हो कि विज्ञान तथा प्रविधि मन्त्रालयले ? स्पष्ट हुन सकेको छैन ।

 

आईटी कम्पनीमा कसरी अनुगमन हुन्छ ?
आईटी नबुझेका कर्मचारीहरू अनुगमनमा आउँछन् । केही समयअघि घरेलु उद्योगबाट अनुगमनका लागि एकजना कर्मचारी आउनुभएको थियो । उहाँको पहिलो प्रश्न के थियो थाहा छ ? तपाईंको केमिकल वेस्टेज के गर्नुहुन्छ ? उहाँलाई हामीले एक घण्टासम्म यो केमिकल निकाल्ने उद्योग होइन, आईटी उद्योग हो भनेर सम्झाउनुपरेको थियो ।

 

संसारका धनाढ्यहरूमा आईटीसँग जोडिएका व्यक्तिहरू धेरै छन्, तपाईंहरू त्यही बाटोमा लाग्नुभएको हो ?
नेपालमा बसेर मार्क जुकरबर्ग वा बिल गेट्स बन्छु भन्नु कल्पना मात्र हो । हामी सानोतिनो काम मात्र गर्न सक्छौं । यसको अर्थ हामीमा क्षमता छैन भन्ने होइन, बरु वातावरण छैन भन्न सकिन्छ । नेपाल आईटीको हब हो, यहाँ काम दिँदा सस्तो पर्छ भन्ने सन्देश पुर्‍याएपछि एउटा वातावरण बन्छ । त्यसपछि विदेशी कम्पनीहरू आउँछन् । उनीहरूले नेपालमा मात्र होइन, संसारभरका तीक्ष्ण बुद्धि भएका मानिसहरूलाई काम दिन्छन् । त्यति मात्र होइन, उनीहरूले कमाएको सम्पत्ति विदेश लान सक्ने गरी कानुन बनाइदिनुपर्छ । यी सबै काम हुन सकेको छैन ।

 

अहिले त अवस्था कस्तो छ भने भएका एक/दुई विदेशी कम्पनीले पनि आउट सोर्सिङका लागि मात्र ५०–१०० इन्जिनियर राखेर काम गर्नुपर्ने बाध्यता छ । जबकि विदेशमा कम्पनीको केन्द्रीय कार्यलय खोल्न प्रोत्साहित गरिन्छ । धेरै किसिमका कानुनी झन्झट, पुँजीको अभाव, कन्सेप्टमा लगानी गर्ने संस्थाको अभाव आदिका कारण हामी धेरै माथि जान सकेका छैनौं । तैपनि उद्योग खोल्नुभन्दा आईटीमा लगानी गर्न सस्तो पर्छ । यस अर्थमा हामी लक्की कन्ट्री हौं ।
 

तपाईंको कुरा सुन्दा यसमा पनि समस्यै समस्या छन् भन्नुपर्‍यो हैन ?
एउटा कुरा त के भन्छु भने नेपालमा अन्य कुरा उत्पादन गर्दा कच्चापदार्थ ल्याउनुपर्छ । त्यसका लागि समुद्रसम्मको पहुँच चाहिन्छ । आईटी मात्र यस्तो क्षेत्र हो, जसको कच्चापदार्थ ल्याउन समुद्र पुग्नु पर्दैन । इन्टरनेटमै किन्न पाइन्छ । त्यति मात्र होइन, ती सामग्री बनाएर पुन: इन्टरनेटबाटै बेच्न पाइन्छ । यस अर्थमा नेपाललाई आईटीमार्फत राम्रो आम्दानी गर्ने र सरकारलाई कर तिर्न सक्ने क्षेत्र बनाउन सकिन्छ । अहिले यो क्षेत्रमा करिब ५ हजार व्यक्तिले रोजगारी पाइरहेका छन् । करोडौं रुपैयाँ आम्दानी भैरहेको छ । यसमा सरकारी वा संगठित क्षेत्रको त्यति ठूलो योगदान छैन । यो उद्योगलाई अघि बढाउने उपाय पनि कसैले सोचेका छैनन् ।

 

सरकारले विज्ञान तथा प्रविधि मन्त्रालय स्थापना गरेको छ । निजी क्षेत्रमा क्यान सक्रिय छ । यस्तो आरोप लगाउन मिल्छ ?
मैले कसैमाथि आरोप लगाएको होइन । नेपालमा सूचना प्रविधिको काम हुन थालेको ३५ वर्ष भयो । बैंकको सफ्टवेयर हामीले आफैं बनाएर चलाएका थियौं । आज हामीकहाँ छौं ? के न्युरोडका कम्प्युटर व्यापारी र आईटी उद्यमी एउटै हुन् ? त्यसरी सबैलाई एउटै बास्केटमा राखेर विकास सम्भव हुन्छ ?

 

के गर्नुपथ्र्याे ?
सबैभन्दा पहिले त हामीले आप्नो पहिचान बनाउन सक्नुपर्छ । हामी आईटीको कुन क्षेत्रलाई लिड गर्न सक्छौं, त्यसलाई राम्रोसँग मार्केटिङ गर्न सक्नुपर्छ । त्यसका लागि सरकार र आईटीसँग सम्बन्धित संस्थाहरूले त्यसमा चासो राखेर सहयोग गर्नुपर्छ । यो यस्तो क्षेत्र हो, जसका लागि युवा मस्तिष्कलाई थोरै सहयोग गरे पनि धेरै हुन्छ । आज हाम्रा लाखौं युवा विदेशमा छन् । तीमध्ये हजारौंले आईटी कम्पनीमा काम गरेर अरूलाई धनी बनाइरहेका छन् । उनीहरूका लागि आफ्नो देशमा अवसरको वातावरण बनाउनुपर्छ । यसका लागि धेरै काम पनि गरिरहनु पर्दैन । आज मैले सिलिकन भ्याली नगएर त यति गरेको छु भने अरूले पनि गर्न सक्छन्, खालि त्यसका लागि वातावरण मात्र चाहिन्छ ।

प्रकाशित: फाल्गुन १२, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्