सपना देख्न उमेर चाहिँदैन

- किशोर नेपाल

फाल्गुन १२, २०७३

 

मंगलबार बिहानै कुनै सामाजिक सन्जालमा पढियो, ‘वाहियातहरू, भ्यालेन्टाइन डेको अर्थ प्रेम वा प्रणय दिवस त हुँदै होइन । सिल्ली नेपालीहरूले कहाँबाट सिके यो सबै वित्पाते चलन ?’अलिकति हाँसो उठ्यो । हामी कति उपदेशवादी भएका हौं । भ्यालेन्टाइन डेको अर्थ प्रेम वा प्रणय दिवस नभएर के भो त ? यो दिनलाई नेपालीले प्रेम दिवसका रूपमा मनाएर केचाहिं बिगार गरे ? ठीकै छ त । भ्यालेन्टाइन डेमा प्रेम दिवस नमनाउने हो भने कृष्ण जन्माष्टमीमा मनाए भैहाल्यो । भ्यालेन्टाइन डेमा वर्गर खानेले जन्माष्टमीमा वर्फी खाइहाल्छन । आखिर कृष्ण र भ्यालेन्टाइन दुवै प्रेमका प्रतीक पुरुष हु्न । यसमा गडबड नै के छ र ?

 

माया गर्नु र माया पाउनु सजिलो छ नेपालमा । गुलाफको फूल पाइएन भने पनि केही छैन । सयपत्रीले काम चलिहाल्छ । गुलाफको ठाउँमा लालुपाते भए त सुनमा सुगन्ध । यसो फूलपातीमा मुन्टो लुकाएर लिप–संसर्ग गरे भइगो । एक–अर्कालाई फूलको उपहार दिएर किसको उपहार लिने यो रमाइलो चाडमा नेपालको जवान पींढी रमाएको छ भने त्यसमा खुसी हुनुपर्छ । तुक न ताकको टिप्पणी लेखेर विरोध गर्नु भनेको आफ्नो सानो चित्तको प्रदर्शन मात्र हो ।

 

प्रेममा आफूलाई कसैले वाल नदिएकोमा चित्त दुखाउनेहरूको मनमा मल्हम लगाउँदै शाहरूख ‘किंग’ खानले भनेका छन्– ‘कसैले वास्ता गरेन वा स्वीकार गरेन भन्दैमा मन खराब नगर । संसारमा जुन वस्तु जति बढी मूल्यवान हुन्छ त्यसलाई साधारण जनताले त्यति नै रिजेक्ट गर्छ । यो त दुनियाँको रीतै हो ।’ हाम्रा ठिटाहरू कति मूर्ख छन् । उनीहरूलाई थाहा छैन, सहरमा असी प्रतिशत राम्रा केटीहरू अविवाहित छन् तर उनीहरू सोच्छन्— निश्चय पनि, तीमध्ये सबका सबको ब्वाइफ्रेन्ड होलान । यहींनिर त मार खायो नेपाली जवान । हिसाबमा कति कमजोर छ हाम्रो जवानी । सहरमा केटाहरूको अकाल छ । केटीहरूको बढ्दो भीडमा केटाहरू हराएका छन् । तैपनि, उनीहरू असी प्रतिशत केटीको ब्वाइफ्रेन्ड भएको मान्छन् भने हाम्रा जवानले नै त मार खाने होला नि । होइन र ?

 

हाम्री सुशिक्षित अभिनेतृ केकी अधिकारीले सामाजिक सन्जालमा लेखिछन्, ‘बोलीको रुखो मान्छे मनको नरम हुन्छ ।’ तर, मान्छे नरम मात्र भएर पुग्दैन गरम पनि हुनुपर्छ । हो, केकीले आफ्नो स्टाटसमा यस्तो लेखिन् भने सहरमा पक्कै राइट हुन्छ । दंगामा को नरम हुन्छ ? को गरम हुन्छ ? थाहा हुँदैन । मानिसलाई भ्यालेन्टाइन डेको सात दिनअघिदेखि नै गजबको चौ–चौ लाग्छ । के गरौं, कसो गरौं । किनभने, हिन्दीमा भन्नुपर्दा सात दिनअघिदेखि नै महिला र पुरुष दुवै थरीको मनमा, ‘खुजली करता है और कुछ कुछ होता है ।’

 

भ्यालेन्टाइनको पूर्वसन्ध्यामा इन्दिरा जोशी उध्रेको चोली लगाएर पोखरामा चिलिन्...प्रियंकाको ‘तान्सिङ’ मा सुटिङ । हतारमा प्रियंकाले तानसेनलाई तान्सिङ लेखिन् भनेर कसो बाबाल भएन । तर, जो जहाँ भए पनि भ्यालेन्टाइन अहिले सँघारमा छ । तपार्इंले यो राइटअप पढ्दासम्म यसले डाँडो काटिसकेको हुनेछ । यो वर्ष तपाईंले आफ्नी भ्यालेन्टाइन भेट्नुभएन भने चिन्ता नगर्नुहोस्, अर्को साल पक्कै भेट्नुहोला । ती कतै हुर्किंदै र फत्रिँmदै होलिन । हामीकहाँ लालीगुराँस समयभन्दा पहिले नै फुल्न थालेको छ । अर्को वर्षदेखि गुलाफको फूल छाडेर गुराँसको फूललाई पो प्रमोट गर्ने हो कि ? गुराँसको निख्खर रातो रंग नेपालीहरूलाई खुबै मन पर्छ ।

 

प्रेमको प्रतीक दिवस । मानिसका लागि सपना देख्नु महत्वपूर्ण हो । सपना कुन उमेरको मानिसले देख्ने हो ? त्योसँग कुनै सरोकार हुँदैन सपनाको ।

प्रकाशित :फाल्गुन १२, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्