मामा भनेर चिनाइन्

- साप्ताहिक संवाददाता

फाल्गुन ११, २०७३

 

अभिमन्यु निरवी (पटकथा लेखक)

मेरो पहिलो प्रेम ९ कक्षा पढ्दा भयो । हेटौंडाको श्री ज्योति उमाविमा म कक्षा ९ मा पढ्दा उनी ७ कक्षा पढ्थिन् । हाम्रो बसोबास फरक वडामा भए पनि पानी लिन जाने कुवा भने एउटै थियो । एक दिन म पानी लिन जाँदा एउटा सर्प रूखबाट झरेर कुवामा छिर्‍यो । मैले मन पराएकी युवती पनि त्यही बेला पानी भर्न आएकी थिइन् । मैले उनको भाँडोमा पानी झिकेर पठाइदिए । उनले ‘थ्यांक यु’ भनिन्, मुखले होइन, आँखाको चालले । 

 

त्यही दिनदेखि मप्रति उनको नरम दृष्टि सुरु भयो । त्यसपछि म स्कुलमा उनको अझ बढी ख्याल गर्न थालें । नीलो फ्रक र सर्ट उनलाई खुब सुहाउँथ्यो । काली–काली भए पनि उनी स्कुलभरिकै सबैभन्दा सुन्दरी थिइन् । उनका बुबा तराई मूलका र आमा पहाडी मूलकी थिइन् । उनी यति सुन्दर लाग्थिन् कि त्यसपछि म गोठालो जाँदा पनि उनकै घर आसपास जान थालें । बरौली खोलाबाट उनको घर देखिन्थ्यो । हाम्रो हेराहेर भैरहन्थ्यो । सामान्य सोधपुछ अनि कुराकानी सम्म हुन्थ्यो । एक वर्षसम्म यस्तै क्रम चल्यो। 

 

म आफ्नो एसएलसी सकिएको दिन भुल्भुले चौरमा फुटबल खेल्दै थिएँ । मैले उनलाई पर देखें । मैले उनका लागी प्रेम पत्र लेखेको थिएँ । एक जना भाइमार्फत त्यो चिठी उनको हात पुर्‍याउन खोजें । त्यो भाइको पछि लाग्दै तीन–चार जना अरू पनि गएछन् । सुराकी गरेछन् । झडपको स्थिति आयो । मेरो पहिलो र अन्तिम प्रेमपत्र त्यही थियो । लामो समयसम्म उनीसँग देखभेट भएन । एकैपटक सात वर्षपछि हेटौंडा बसपार्कमा जम्काभेट भयो । म घर जाने गाडी कुरिरहेको थिएँ । उनी आफ्ना बच्चाबच्चीसँग थिइन् । मलाई ‘मामा’ भनेर चिनाइदिइन् । हामी एउटै गाडीमा गयौं । फेरि त्यसपछि कहिल्यै हाम्रो भेट भएन ।

प्रकाशित :फाल्गुन ११, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्